५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्य

विद्यालयको जग्गा अतिक्रमण गरेको आरोप

जनकपुरधाम–२५ स्थित रहेको श्री कण्टिर झा उच्च माध्यमिक विद्यालय । तस्बिरः कमलेश ठाकुर/नागरिक

धनुषा–धनुषाको एक सामुदायिक विद्यालयको जग्गा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको आरोप लागेको छ। जनकपुरधाम उप–महानगरपालिका–२५ स्थित रहेको श्री कण्टिर झा उच्च माध्यमिक विद्यालयको जग्गामा केही स्थानीय व्यक्तिले घर बनाई सुखभोग गरी अतिक्रमण गरेको जग्गा दाता परिवारले आरोप लगाएको छ। विद्यालयको ८ बिघा जग्गामा स्थानीय व्यक्तिले घर बनाई तथा सुखभोग गरी अतिक्रमण गरेको दाता परिवारका चन्दनकुमार झाले आरोप लगाएका हुन्।

विद्यालय व्यवस्थापक समितिका अध्यक्ष मोहमद कमरुद्दिन र प्रधानाध्यापक श्रीचन्द्र साहको मिलोमतोमा स्थानीय व्यक्तिले अतिक्रमण गरेको दाता परिवारका चन्दनकुमार झाले बिहीबार जनकपुरमा पत्रकार साम्मेलन गरी जनाएका छन्। स्थानीय मोहमद साबिर, रविना खातुन, गुलाबदेवी राउत र कपिल मुख्याले करिब ८ कट्ठा जग्गा कब्जा गरी घर बनाएको आरोप लगाए। चन्दनकुमार झाका अनुसार विद्यालयको करिब अढाई बिघामा रहेको पोखरीसमेत पुरेर स्थानीय व्यक्तिले कब्जा गरेको र अन्य जग्गा प्रकृया मिचेर लिजमा आफ्नै नातेदारहरूलाई दिएका छन्। लिजमा दिएको जग्गावापत भरपाइ उनीहरूले केही पनि विद्यालयलाई नदिएको उनको भनाइ छ।

‘विद्यालयलाई पूर्वजले दिएको २९ बिघा जग्गामध्ये करिब २१ बिघा उब्जाउ जमिन ठेक्का लागेको छ,’ उनले भने, ‘तर त्यसको आम्दानी कहाँ जान्छ कुनै हरहिसाब विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिले राखेको छैन। विद्यालयमा डेढ वर्षदेखि लेखापाल नराखी आर्थिक हिनामिना गरेको छ।’ विद्यालय शैक्षिक गुणस्तरीय र भौतिक पूर्वाधारका लागि बर्सेनि सरकार र विभिन्न दाताबाट लाखौं रुपैयाँ अनुदान आइरहेको तर करिब एक दशकदेखि आम्दानी खर्चलगायत हर हिसाब सार्वजनिक नगरेको उनले आरोप लगाए।

विद्यालयको जग्गा कौंडीको भाउमा

विद्यालयको २४ बिघा जग्गा कौंडीको भाउमा व्यवस्थापक समितिले लिजमा लगाएको छ। विद्यालयको २४ बिघा उब्जाउ जमिन व्यवस्थापक समिति र प्रधानाध्यापकको मिलोमतोमा आफ्नै आसेपासेलाई लिजमा दिएको छ। प्रतिबिघा ५ हजार आठ सय तैतिस रुपैयाँको दरले वर्षौंदेखि लिजमा लगाएको हो। ‘ठेक्का लगाइएको २४ बिघा जग्गाबाट बर्सेनि १ लाख ४० हजार रुपैयाँ र सरकारबाट भवन मर्मत सम्भार, खेलकुद सामग्रीलगायत शीर्षकमा लाखौं रुपैयाँ आइरहेको छ,’ चन्दनले भने, ‘तर पटक पटक हिसाब सार्वजनिक गर्न माग गर्दा उल्टै झर्केर बोल्ने गर्छन्।’

यता विद्यालय व्यवस्थापक समिति र प्रधानाध्यापकमाथि लागेको आरोपको खण्डन गर्न उनीहरूले पनि पत्रकार सम्मेलन गरेका थिए। पत्रकार साम्मेलनमा आफूहरूमाथि लगाइएको सबै आरोप उनीहरूले अस्वीकार गरेका छन्। गाउँका केही व्यक्तिलाई नोकरी र जग्गा लिजमा नदिँदा उनीहरूले आरोप लगाएको व्यवस्थापक समितिका अध्यक्ष मोहमद कमरुद्दिनले बताए। ‘जग्गा अतिक्रमण भएको छ भने देशमा कानुन छैन,’ उनले भने, ‘सबै प्रकृया पूरा गरी जग्गा लिजमा लगाइएको छ। टेण्डर आह्वान भएको थियो, त्यसैअनुरुप लिजमा लिनेहरूले भुक्तानी गरिरहेको छ।’ आठ कठ्ठा जग्गामा स्थानीय व्यक्तिले घर बनाएको बारे उनले स्वीकार गर्दै भने, ‘वर्षौं पहिले दाता परिवारका अध्यक्ष हुँदा सहमतिमा गाउँमा गरिब परिवारलाई दान दिइएको थियो।’

विद्यालयका प्रधानाध्यापक श्रीचन्द्र साहले प्रकृया मिचेर विद्यालयमा अहिलेसम्म कुनै कार्य नभएको दाबी गरे। विद्यालयको शौचालय निर्माणमा आर्थिक हिनामिना गरेको आरोपलाई खण्डन गर्दै विद्यालयको सबै हरहिसाब समयमा पारदर्शिता गरेको र कुनै प्रकारको लोभलालच आफूलाई नरहेको उनले बताए। ‘विद्यालयको प्रगति हेर्न नचाहने एक समूहले पटक पटक विना कारण विवाद गरेको छ,’ उनले भने, ‘विद्यालयको उन्नति प्रगतिका लागि इमान्दारीपूर्वक काम गर्दै आएको छु।’ लिजमा लगाइएको जमिनको भुक्तानी म विद्यालयमा आउनुभन्दा पहिलाकै बाँकी रहेको उनले बताए। आफू विद्यालयमा आइसके यता कुनै बाँकी बक्यौता नरहेको उनले उल्लेख गरे।

प्रधानाध्यापक साहका अनुसार विद्यालयको जग्गा लिजमा लगाएवापत १ लाख ४० हजार र शुल्कवापत तीन लाख गरी विद्यालयको वार्षिक आम्दानी ४ लाख ४० हजारको हाराहारी छ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App