९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

यसकारण बढ्दै छन् डिमेन्सियाका बिरामी

तस्बिर स्रोत: न्युरो साइन्स न्युज डटकम

डेढ दशक अघिसम्म वीर अस्पतालको न्युरो मेडिसिन विभागमा डिमेन्सियाका बिरामी खासै आउँदैन्थे। तर केही वर्षयता भने यस्ता बिरामीको संख्या बर्सेनि बढ्दो छ।

वीर अस्पताल न्युरो मेडिसिन विभागका अनुसार अहिले दैनिक औसत सातजना बिरामी विभागमा उपचारका लागि पुग्छन्। ‘पहिला डिमेन्सियाका बिरामी फाट्टफुट्ट आउँथे तर अहिले बढ्दै गएका छन्’, विभागका प्रमुख डा. सुनिलराम कोइरालाले भने।

मानसिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार ६० वर्ष उमेरमाथिका ७ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको डिमेन्सिया देखिएको छ। सन् २०२३ मा धरानमा समुदाय स्तरमा गरिएको एक अध्ययन सर्वेक्षणअनुसार ६० वर्ष उमेरमाथिका १० प्रतिशत मानिसमा डिमेन्सिया पाइएको छ।

अल्जाइमर्स तथा विस्मृति समाज नेपाल र न्युक्यासल युनिभर्सिटीको सहकार्यमा उक्त अध्ययन भएको थियो। अध्ययनमा एक हजार ९ जनालाई सहभागी गराइएको थियो। यो हिसाबले नेपालमा ६० वर्ष उमेरमाथिका तीन लाख मानिसमा डिमेन्सिया छ।

अर्को एक सर्वेक्षणअनुसार सन् २०११ मा नेपालमा ६० वर्ष उमेरमाथिका ९ प्रतिशत मानिसमा डिमेन्सिया थियो। ६० वर्ष उमेरमाथिका १० प्रतिशत मानिसमा कुनै न कुनै तहको डिमेन्सिया भएको विश्व स्वास्थ्य संगठनको अनुमानित तथ्यांक छ। विश्वमा कुल जनसंख्याको ५ करोड ५० लाख डिमेन्सियाबाट प्रभावित भएको अनुमान गरिएको छ।

पाटन अस्पताल मेमोरी क्लिनिकका प्राध्यापक डाक्टर निदेश सापकोटाका अनुसार नेपालमा मानिसको औसत आयु वृद्धिसँगै ज्येष्ठ नागरिकको संख्या बढ्दै गएपछि डिमेन्सिया हुनेको संख्या पनि बढ्दै गएको छ। ‘ज्येष्ठ नागरिकको औसत आयु पनि बढ्यो। पहिला नेपालीको औसत आयु ६८ वर्ष मात्र थियो’, उनले भने।

चिकित्सकका अनुसार विभिन्न कारणले मस्तिष्कको स्नायु तथा कोषमा असर परी स्मरण क्षमतामा ह्रास आउने अवस्थालाई डिमेन्सिया भनिन्छ। डिमेन्सिया मस्तिष्कमा नयाँ सूचना भण्डारण गर्न नसक्ने र आवश्यक परेका बेला प्रतिक्रिया दिन नसक्ने अवस्था हो।

यो समस्या बढ्दै गएमा आफ्नै नजिकका व्यक्तिलाई पनि नचिन्ने, आफ्नै घर पुग्ने बाटो भुल्ने, कुनै विषयमा प्रतिक्रिया दिन नसक्ने, शरीरको सन्तुलन बिग्रने, कान नसुन्नेलगायत समस्या देखिन्छन्।

डिमेन्सियाकै एउटा अवस्था अल्जाइमर्स (स्मृति क्षय) रोग हो। चिकित्सकका अनुसार विभिन्न कारणले मस्तिष्कमा रहेको एमिलोइड नामक प्रोटिनले गर्दा नसाहरू जेलिएर बन्द हुन्छन्। नसाहरू बन्द भएपछि मस्तिष्कले राम्रोसँग सूचना प्रवाह गर्न सक्दैन। यो अवस्थालाई स्मृति क्षय भनिन्छ।

डिमेन्सिया मस्तिष्कसँग सम्बन्धित भएकाले यो रोग लागेपछि सोच्ने क्षमता र स्मरण शक्तिमा ह्रास आउँछ। चिकित्सकका अनुसार भिटामिन बी–१२ को कमी, मधुमेह, उच्चरक्तचाप, पोष्ण तत्वको कमी, तनावयुक्त जीवनशैली, मोटोपन, निष्क्रिय जीवनशैली, एक्लोपन जस्ता कारणले डिमेन्सिया हुन्छ।

 यसबाहेक मस्तिष्कमा रहेका स्मरण गर्ने कोष सुक्दै गएमा पनि डिमेन्सिया हुन्छ। आरामदायी जीवनशैलीका कारण पनि डिमेन्सिया बढ्दै गएको डा. सापकोटा बताउँछन्। उनको अनुसार आरामदायी र मस्तीको जीवनशैली अपनाउने व्यक्तिहरूमा यो रोगको जोखिम बढी हुन्छ। स्मृति क्षय रोग मुख्य चुनौतीका रूपमा रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीरादेवी निरौला बताउँछिन्।

डिमेन्सिया नियन्त्रणमा राख्न सकिन्छ?

जुनसुकै कारणले डिमेन्सिया भएको भए पनि नियमित औषधि सेवन, व्यायाम, म्युजिक थेरापी, सामाजिक गतिविधिमा सक्रियाता जनाउने, सन्तुलित खाना खाने र हेरचाह पुगेमा डिमेन्सिया छिटो जटिल अवस्थामा पुग्नबाट रोक्न सकिने डा. सापकोटा बताउँछन्। ‘पारिवारिक सहयोग, सामाजिक सद्भाव, प्रेम, औषधिउपचार र स्वास्थ्य संस्था सबैको सहयोग भएमा डिमेन्सियाका बिरामीले पनि सहज जीवनयापन गर्न सक्छन्’, उनले भने।

नेपालसहित विश्वभरी बढ्दो डिमेन्सियाका बिरामी बढ्दै गएको अवस्थामा यसबाट जोगिन बेलैमो सचेत हुनुपर्ने विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा. राकेश पाण्डेय बताउँछन्। ‘डिमेन्सिया जनस्वास्थ्य समस्याको रूपमा आइसकेको छ, यो समस्यासँग जुध्न सबै पक्षबीच हातेमालो आवश्यक छ’, उनले भने।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगिता मिश्रले अहिले पनि आमनागरिकमा डिमेन्सियाबारे जानकारी नभएकाले व्यापक जनचेतना आवश्यक भएको बताइन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले आगामी योजनामा डिमेन्सियालाई सम्बोधन गर्ने कार्यक्रम ल्याइने बताए। उनले भने, ‘१६औं योजनामा यो विषय छ, अब कार्यान्वयन चरणमा अघि बढ्छौं।’

ज्येष्ठ नागरिकलाई परिवारमा माया र सम्मान दिने सभ्यताले डिमेन्सिया नियन्त्रण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंह बताउँछन्।

उनले भने, ‘नेवारी समाजमा वृद्धावृद्धहरूको सम्मान गर्ने संस्कृतिकै कारण सत्यमोहन जोशीले सक्रिय लामो जीवन बिताएको देखिन्छ।’

हरेक वर्ष सेप्टेम्बर २१ मा विश्व डिमेन्सिया तथा अल्जाइमर्स दिवस मनाइन्छ। यो वर्ष नेपालमा ‘डिमेन्सिया तथा अल्जाइमर्स क्रियाशिलता’ भन्ने नारासहित यो दिवस मनाइने भएको छ।

प्रकाशित: ५ आश्विन २०८१ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App