सबैभन्दा पछिल्लो समय खुलेको अर्थात् कान्छो बैंकको रुपमा परिचित सेन्चुरी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हाल्न पुगेका तुल्सीराम गौतमको बैंकिङ क्षेत्रमा करिब साढे तीन दशकको अनुभव छ २०३९ सालमा नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका गौतमले तत्कालीन इन्डोस्वीज बैंक (स्ट्याण्डर्ड चार्टर्ड)मा सात वर्ष, नेपाल एसबिआई बैंकमा साढे १० वर्ष, सिइओको भूमिकामा रहेर माछापुच्छ्रे बैंकमा चार वर्ष काम गरिसकेका छन्। १५ महिनादेखि सेन्चुरी बैंकको सिइओको जिम्मेवारीमा रहेका गौतम गाउँघरका सानातिना चिया पसल हुने चोकसमेत बजारमा रुपान्तरण भएपछि ऋणको माग बढेको बताउँछन्। बैंकिड क्षेत्रको वर्तमान अवस्था, बैंकले भोगिरहेका समस्या, निक्षेपको तुलनामा ऋणको माग बढ्नुको कारण, सेन्चुरी बैंकको अवस्था लगायतका विषयमा केन्द्रित भएर नागरिक परिवारका लागि विष्णु बेल्वासेले गौतमसँग गरेको कुराकानीः
बैंकिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
कलेजमा मास्टर्स पढ्दै गर्दा जागिरको खोजीमा थिएँ। त्यसबेला नेपाल बैंकमा रोजगारीका लागि विज्ञापन निस्कियो। आवेदन दिएँ, नाम पनि निस्कियो। त्यसपछि जागिर सुरु भयो। त्यसबेला अहिले जस्तो जागिरको छनोट थिएन। म यस्तो वा त्यस्तो बन्छु भन्दा पनि जागिर जेमा पाइन्छ त्यसैमा गरिहाल्ने चलन थियो।
तपाईंलाई त्यसबेला अहिलेको जस्तो नाम कहलिएको बैंकर बन्छु भन्ने कत्तिको थियो?
त्यतिबेला यो वा त्यो हुन्छु भन्ने मेरो उद्देश्य नै थिएन। नेपाल बैंकमा राम्रो काम गर्दै गएँ, अनि एकपछि अर्को बैंक हुँदै सिइओको पदमा पुगेँ।
तपाईंसँग बैैंकको उच्च पदमा रहेर लामो समय काम गरेको अनुभव छ। अहिलेको जस्तो बैंकलाई लगानी गर्ने रकम (तरलता)को अभाव यसअघि कहिले भएको थिएन भनिन्छ। के कारणले यस्तो भएको हो?
पछिल्लो समय ऋणको माग अत्यधिक बढेकोे छ। यसअघि स्थानीय तहको चुनाव हुन सकेको थिएन। त्यसैगरी लोडसेडिङको चर्को समस्या थियो। दैनिक १८ घण्टा लोडसेडिङका कारण उद्योगधन्दाहरु चल्न सकेका थिएनन्। अहिले निर्वाचित सरकार बनेको छ। प्रत्येक सदरमुकाममा बैंकमा शाखा पुगेका छन्। त्यसरी पुगेका शाखामा ऋणको माग पनि बढेको छ। निक्षेपको तुलनामा ऋणको माग अत्यधिक बढेको छ। निक्षेप बढ्न नसक्नुमा विकास खर्च नहुनु पनि हो।
चैत महिनामा आएर निक्षेप केही बढेको छ भनिन्छ। यसले त बैंकमा लगानीयोग्य रकमको अभाव केही कम भयो होला नि?
पछिल्लो समयमा निक्षेपमा केही सुधार आएको छ। आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका काम बढी हुने भएकाले पनि निक्षेपमा क्रमशः सुधार हुँदै गएको हो। आगामी दिनमा केही सहज हुने सम्भावना बढेको छ।
लगानीयोग्य रकममा आएको सुधारले चर्को ब्याजदरमा कमी आउने सम्भावना कत्तिको देख्नु भएको छ?
निक्षेपमा केही सुधार आए पनि लामो समय लगानीयोग्य रकमको अभावको खडेरी परेकाले तत्कालै कर्जाको ब्याजदर घट्ने सम्भावना त म देख्दिनँ। अहिले पनि निक्षेपको भन्दा कर्जाको माग बढी छ। कर्जाको माग भन्दा निक्षेप कम भएपछि त ब्याज घट्ने सम्भावना नै हुँदैन। माग र आपूर्तिले ब्याजदर निर्धारण गर्ने हो।
कर्जाको ब्याज २२/२३ प्रतिशत पनि पुग्दैन र घटेर १० भन्दा तल आउने सम्भावना पनि म देख्दिनँ।
लगानीयोग्य रकमको अभाव सबै २८ वाणिज्य बैंकले नै भोग्नु परेको छ कि केही बैंकले मात्र त्यस्तो समस्या भोग्न बाध्य भएका हुन्?
नयाँ र साना बैंकलाई बढी मात्रमा लगानीयोग्य रकमको अभाव भएको हो। ठूलालाई त्यति धेरै असर परेको छैन।
यसपटक तरलताको अभाव अघिल्लो वर्षभन्दा बढी समय बैंकहरुले खेप्नु प-यो भनिन्छ। तपाईं यसबारेमा के भन्नु हुन्छ?
यसपटक लामो समय लगानीयोग्य रकमको अभाव हुन पुग्यो। पहिले एउटा सिजनमा मात्रै तरलताको अभाव हुन्थ्यो। यो वर्ष त झन्डै ८/१० महिना नै बैंकमा लगानीयोग्य रकमको अभाव हुन पुग्यो।
विदेशमा पनि तरलताको अभाव हुने गर्छ कि नेपालमा मात्रै यस्तो समस्या हुने हो?
अन्तर्राष्ट्रिय स्तरमा नै अर्थतन्त्रमा मन्दी आउँछ तर यहाँजस्तो यति लामो समय आउँदैन।
लगानीयोग्य रकमको अभावको समस्या हटाउने उपाय के हुन सक्छ?
विकास निर्माणको खर्च वर्षको अन्त्यमा मात्र गर्ने चलन बढी छ। त्यस्तो परिपाटीको अन्त्य गर्दै हरेक महिना विकास खर्च गर्दै जानुपर्छ। यसले गर्दा सरकारी ढुकुटीमा भएको रकम बैंकिङ प्रणालीमा आउँछ र अहिलेको जस्तो निक्षेपको समस्या लामो समय बैंकले भोग्नु पर्दैन।
तपाईंलाई बैंकमा कर्जाको माग बढ्नुको कारण के हो जस्तो लाग्छ?
पहिला अहिलेको जस्तो स्कुलमा चाउचाउ, कुरकुरे, बिस्कुटको माग थिएन। अहिले ती वस्तुको माग बढेको छ। मागअनुसार उत्पादन बढाउनु पर्ने हुन्छ। यसका लागि लगानीको आवश्यकता पर्छ। लगानी बढाउन बैंकबाट ऋण लिनु पर्ने हुन्छ। यस्ता धेरै क्षेत्र छन्, जसले ऋण मागिरहेका छन्। पहिलेको भन्दा अहिले अर्थतन्त्रको साइज नै ठूलो भयो। गाउँगाउँमा बाटो नपुगेको ठाउँ छैन। ती क्षेत्रमा आर्थिक गतिविधि बढेका छन्। स्थानीय गाउँको सम्बन्ध विश्व बजारसँग गाँसिन पुगेको छ। हिजो टिभी, रेडियो, नेट, फेसबुक केही थिएन। अहिले प्रत्येकको हातमा मोबाइल पुगेको छ। त्यसले विश्व बजारमा भएको सूचनाको सन्देश दिएको छ र कहाँ के भइरहेको छ भन्ने देखाउँछ। त्यो उपयोग गर्न गाउँका मानिस पनि तयार हुन्छन्। विश्वको कुनै बजारमा उत्पादन भएको मदिरा नेपालको सानो गाउँको बजारमा पनि किन्न सकिने भएको छ। त्यो पिउन सक्ने क्षमतामा नेपाली पुगेका छन्। यो क्रम घटेर जाँदैन, बढ्छ। पहिला सानो कपडा किन्न पनि इन्द्रचोक असन पुग्नु पर्ने अवस्था थियो। त्यो अवस्था अहिले अन्त्य भएको छ। काठमाडौको जुनसुकै ठाउँमा पनि कपडा पाउन सकिने भएको छ। बाटो पुगेको ठाउँमा चाउचाउ पुगेको छ। त्यसलाई राख्न गोदाम चाहिने भएको छ। गोदाम बनाउन बैंकबाट ऋण लिनु पर्ने अवस्था छ। गाउँका साना तिना चोकहरु बजारमा परिणत भएका छन्। त्यस्ता क्षेत्रमा घर बनाउने क्रम बढेको छ। फर्निचर, फ्रिज, गाडीको माग बढेको छ। तिनीहरुलाई पनि बैंककै ऋण चाहिएको छ। बजार बढेका कारण जग्गाको भाउमा पनि वृद्धि भएको छ। देश विदेश घुमेर वा सञ्चारका माध्यमबाट देखेर त्यहीको जस्तो रहन सहन र विलासिताका सामान उपभोग गर्नतिर समाज लागिरहेको छ। नेपालमै सञ्चालन भएका चिनियाँ, जापानी रेस्टुराँतिर जाने संस्कृतिको विकास भएको छ। ऋण लिएरै भए पनि देखासिकीमा बाँच्नु पर्ने भएकाले पनि ऋणको माग बढेको हो। सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ८ प्रतिशत पुग्ने अनुमान छ। आर्थिक वृद्धिको लक्ष्य भेट्टाउन पनि सरकारले मात्रै होइन निजी क्षेत्रले पनि त्यतिकै लगानी बढाउनु पर्छ। त्यसैले पनि आर्थिक वृद्धिसँगै ऋणको माग पनि बढेको हो।
नेपालमा बैंकहरुको संख्या ज्यादै बढी भए भन्ने कुरा आइरहन्छ। तपाईंको विचारमा बैंकहरुको संख्या वास्तवमै धेरै भएकै हो?
कसैले २८ वटा वाणिज्य बैंक किन चाहियो १२/१५ वटा भए भइहाल्यो भन्ने गर्छन्। कति संख्यामा राख्ने भन्ने कुरा सरकारकै कुरा हो। यति धेरै चाहिँदैन भन्ने जस्तो लाग्छ भने सरकारले संख्या घटाउन सक्छ। भारतमा पनि सरकारले केही बैंकलाई राष्ट्रियकरण गरेको थियो। वास्तवमा भन्ने हो भने बैंकहरु सञ्चालन गर्नका लागि अर्थतन्त्रले धान्नै पर्दैन। बैंकहरु सञ्चालन गर्न बजेट छुट्याउनु पर्ने होइन। निजी क्षेत्रले चलाइरहेका छन्। कर्मचारी खर्च र राज्यलाई कर पनि बैंकले कमाएर नै तिरेका छन्। २० प्रतिशत रिजर्भमा राखेर १२/१५ प्रतिशत प्रतिफल दिइरहेका छन्। आठ अर्ब चुक्ता पुँजी पु-याएका बैंकले २० प्रतिशत प्रतिफल दिन सक्ने अवस्थामा पुगेका छन्।
अर्थतन्त्रको साइज पनि सानो भएको बेलामा त धानेका थिए। अर्थतन्त्रको साइज बढेको छ। यस्तो अवस्थामा अर्थतन्त्रले धान्दैन भन्ने होइन। अर्थतन्त्रको साइजले हिजो पनि धानेको थियो, आज पनि धानेको छ र भोलि पनि धान्ने छ। गत वर्ष नै प्रतिव्यक्ति आम्दानी एक हजार डलर थियो। अब प्रतिव्यक्ति आम्दानी १५ सय पुग्दैछ।
तपाईंले नेपालको अर्थतन्त्रको आकारसँगै बैंकिङ गतिविधि पनि बढेको छ भन्न खोज्नु भएको हो?
नेपालमा विकासले गति लिँदैछ। पूर्वको काकरभिट्टादेखि पश्चिमको महेन्द्रनगरसम्म दर्जनौ शहर बनेका छन्। जहाँसुकै शहरीकरण भएको छ। पूर्वपश्चिम राजमार्गका ठाँउठाँउमा कमर्शियल हव बनेका छन्। पूर्वकै कुरा गर्ने हो भने विराटनगरभन्दा इटहरी ठूलो भएको छ। गाउँमै पनि स्थानीय बजार धेरै छन्। काठमाडौं उपत्यकाबाट बाहिरिने अनेक बाटा छन्। ती बाटाका अनगिन्ती ठाउँमा बजार छन्। काठमाडौंमा भन्दा चरिकोटको बजारमा जग्गा महँगो छ। जंगलबाहेक सबै घर भएका छन्। शहरीकरणले उपभोग्य वस्तुमा नै परिवर्तन ल्याइदिएको छ।
पछिल्लो समय अर्थतन्त्रदेखि सामाजिक परिवर्तन पनि त्यतिकै मात्रामा भएको छ। यसले आर्थिक गतिविधि बढाउन मद्दत गरेको छ। युवा पुस्ता स्वदेशमा नबस्ने विदेशमा जाने क्रम बढेको छ। यसले कृषि उत्पादनमा कमी आएको छ। गाउँमा मलामी जाने र जोत्ने मानिस छैनन्। पहिला पहिला धान निर्यात हुने गर्दथ्यो। अहिले वार्षिक ४० अर्बको चामल आयात गरिँदैछ। सबैतिर घरैघर बन्ने अवस्था आएको छ।
तपाईं सेन्चुरी बैंकको नेतृत्व तहमा बसेको पनि १५ महिना पुग्न लाग्दै छ। सेन्चुरी बैंकको वित्तीय अवस्था कस्तो छ?
सेन्चुरी बैंकले ६३ अर्ब निक्षेप संकलन गरेर ६० अर्ब ऋण प्रवाह गरेको छ। अहिले ९ सय जना कर्मचारी छौं। शाखा संख्या ११९ वटा पुगेका छन्। ६० वटा एटिएम छन्। व्यवसायका हिसाबले राम्रै छ। बैंकका सबै वित्तीय सूचकहरु कम्फर्टेबल अवस्थामा छन्। ऋणबाहेक कार्डबाट पनि बैंकले आम्दानी गर्छ। ९० प्रतिशत सर्वसाधारणको रकम हुने हुनाले पनि त्यसमा आँच आउने काम गर्नु हुँदैन। कर्जा प्रवाह गर्दा जोखिम हुन्छ। जोखिम भएका क्षेत्रमा कर्जा कम प्रयोग गर्नु नै बुद्धिमत्ता हुन्छ। नेपाल राष्ट्र बैंकले ल्याएका नीति, नियम र निर्देशनलाई पालन गर्दै अगाडि बढिरहेका छौं। संसारमा चलेका राम्रा चलनको पालना गर्दै अगाडि बढ्दै गएका छौं। व्यापारका नियम पालना गर्ने काममा कुनै कसर बाँकी राखेका छैनौं। निक्षेप संकलनलाई तीव्रता दिने र ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्नलाई २० देखि ३० प्रतिशत लगानी गर्नुपर्छ। राष्ट्र बैंकले गत आर्थिक वर्षमा भन्दा २०/२२ प्रतिशत ऋण बढाउन भनेको थियो। त्यही सीमाभित्र रहेर ऋण प्रवाह गरिरहेका छौं।
पहिला बैंक खोज्दै सर्वसाधारण जाने गर्थे तर अहिले ग्राहक खोज्दै बैंक जाने गरेका छन् भनिन्छ। यसमा तपाईंको भनाइ के छ?
पहिला बैंक पनि कम थिए। सानो ठाउँमा वाणिज्य बैंक र नेपाल बैंक मात्र पुगेका थिए। ग्राहकहरुले खाता खोल्न पनि ती बैंकमा नै जानु पर्ने बाध्यता थियो। पहिला तीन बैंकको मनोपोली थियो। खाता खोल्न आऊ भनेर भन्नु पर्दैन थियो । अहिले सानो ठाउँमा पनि धेरै बैंकका शाखा पुगेका छन्। बैंकबीच प्रतिस्पर्धा बढेको छ। सानो ठाउँमा पनि १५/२० वटा बैंकका शाखा छन्। विदेशमा बैंकका शाखाको महत्त्व कम हुँदै गएको छ भने यहाँ त्यस्ता शाखाको महत्त्व बढ्दै गएको छ। बैंकहरुबीच प्रतिस्पर्धा हुँदा मेरो बैंकका खाता खोल्न आउनुस् भन्नु स्वभाविकै पनि हो। यसलाई अन्यथा लिन मिल्दैन।
अवैधानिक रकम धेरैजसो सहकारी संस्थामा हुने गर्छ भनिन्छ। तपाईंलाई कस्तो लाग्छ?
सहकारी संस्थामा रहेको रकमलाई पूर्ण रुपमा अवैधानिक भन्न मिल्दैन। तिनीहरुलाई पनि नियमन गर्ने निकाय छ। सहकारीलाई छूट र छाडातन्त्र छैन।
परिवारमा को को हुनु हुन्छ?
परिवारमा २ छोरी, आमा र श्रीमती छौं। छोरीहरुको नाम अरुणा र अनुपात, आमाको नाम डिकमाया र श्रीमतीको नाम ममता हो।
तपाईंको दैनिकी कसरी बित्छ?
बिहानमा खासै समय हुँदैन। बिहान सबेरै उठ्छु। सामान्य मोर्निङ वाक र एक्ससाइज गर्छु। ९ देखि ९.३० सम्ममा अफिस पुग्छु। त्यसपछि रेगुलर मिटिङ र ग्राहकहरु भेट्ने काम हुन्छ। शाखाहरुमा के भइरहेको छ, त्यहाँ जाने पनि गर्छु। राष्ट्र बैंकले ल्याएका नयाँ नीति नियमको बारेमा अपडेट पनि कार्यालय समयमा नै हुन्छ।
तपाईंको रुचि?
किताब पढ्न रुचि लाग्छ। गार्डेनिङ, घुमघाम मलाई मन पर्छ।
सिइओहरुले त परिवारलाई समय दिनै भ्याउँदैनन् भन्ने गरिन्छ नि?
त्यति विधि त व्यस्त हुँदैनौं। समय नदिएकै कारण पारिवारिक लाइफ नै भत्कियो भन्ने हुँदैन।
बैंक सञ्चालकहरुले सिइओलाई निकै दबाब दिन्छन् भनिन्छ। यसमा वास्तविकता कति छ?
दबाब पनि दुई खालको हुन् । एउटा चाहिने खालको दबाब र अर्को नचाहिने। सरकारी कार्यालय जस्तो गरेर बैंक चल्दैन। यो वर्ष १५ अर्ब कर्जा बढाउनु पर्छ भनिन्छ भने त्यो चाहिने खालको दबाब हो तर फलानोलाई ५० करोड ऋण दिनु पर्छ नदिई हुँदैन भनेर कसैले भन्छ भने त्यो नचाहिने खालको दबाब हो। चाहिने खालको दबाबलाई स्वभाविकै रुपमा लिनु पर्छ तर नचाहिने खालको दबाब दिइयो भने त्यो मान्नु पर्छ भन्ने पक्षमा म छैन। चाहिने खालको विषयमा दबाब दिइएन भने काम हुँदैन तर नचाहिने खालको काममा दबाब दिइयो भने भएको काम पनि बिग्रन्छ।
प्रकाशित: २२ वैशाख २०७६ १०:३६ आइतबार