१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

सरसफाइमा ‘अति उत्तम’ छैनन् होटेल

धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अर्बौं लगानीमा तारे होटेलहरू सञ्चालनमा छन्। तर, पनि सरसफाइ र मापदण्डअनुसारको खानपिनमा भने ती होटेलले ध्यान नदिएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले होटेल तथा रेष्टुरेन्टमा गरेको अध्ययनअनुसार यहाँका होटेलमा विभिन्न कमजोरीहरू देखिएको हो।

सरसफाइ र स्वच्छतामा सबै मापदण्ड पालना गरेको अति उत्तम वर्गमा कुनै पनि होटेल धनगढीमा छैनन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले लामो अध्ययन अनुसन्धानपछि धनगढीमा सबै कुरा मिलेको स्वच्छताका हिसाबले अति उत्तम होटेल नै नपाइएको बताए। ‘होटेल सरसफाइ र स्वच्छताका बारेमा दुई पटकसम्म सुझाव दिँदा पनि स्तरीय होटेल नै भेटिएन,’ उनले भने, ‘हामीले विभिन्न ५० वटा सूचाङ्कका आधारमा होटेलको मूल्याङ्कन गर्दा पनि एउटा होटेलसम्म अति उत्तमको वर्गीकरणमा परेन।’ खानेकुरामा फ्रिजिङ गर्दा अपनाउनु पर्ने विधि, भान्साको सरसफाइ, कुकले पोसाक लगाएर अपनाउनु  पर्ने तरिका, खानेकुराको लेवलीकरणलगायतका सूचाङ्कमा यहाँका होटेलमा कमजोरी देखिएको उनले बताए।

सरसफाइ र स्वच्छतामा सबै मापदण्ड पालना गरेको अति उत्तम वर्गमा कुनै पनि होटेल धनगढीमा छैनन्।

‘यिनै सूचाङ्कका आधारमा हामीले होटेलको वर्गीकरण ग-यौँ,’ उनले भने। धनगढीमा स्टारदेखि थ्रि स्टारसम्मका होटेलहरू सञ्चालनमा छन्। तर, यी स्टार होटेलहरू दोस्रोस्तरमा समेत पर्न सकेनन्। सुदूरपश्चिममा करिब चार अर्ब रूपैयाँ होटेलमा लगानी लागेको छ। होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले होटेल व्यवसायीलाई दुई पटक तालिम दिएर खाद्य स्वच्छताका आधारमा अध्ययन गरेर वर्गीकरण गरेको बताए। ‘यसमा भौतिक संरचना नहेरेर, ऊ भित्रको भान्सा, भान्साको सेरोफेरो, कर्मचारीको सरसफाइ, पकाउने तरिका, भण्डारण गर्ने तरिका, फ्रिजमा राख्ने तरिका र पकाएको खानेकुरा दिने तरिकासम्मका आधारमा मूल्याङ्कन गरिएको हो,’ उनले भने, ‘विभिन्न ५० वटा सूचाङ्कका आधारमा चारवटा स्तर निर्धारण गरिएको छ।’ ठूला होटेलहरूले लगानी राम्रो गरे पनि कर्मचारीको स–सानो लापर्बाहीका कारण उनीहरू स्तरमा पछाडि देखिएको उनले बताए।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले होटेलको यो मूल्याङ्कन गरिनुले सुधार गर्न दबाब पुग्ने बताए। ‘एउटा होटेल पनि सबै मापदण्ड पुगेको भेटिएन,’ उनले भने, ‘यहाँका होटेलमा धेरै लापर्बाही देखियो।’ पटकपटक अनुगमन र अध्ययन गरेमा होटेलले सरसफाइमा ध्यान दिन सक्ने उनी बताउँछन्।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले होटेल तथा रेष्टुरेन्टले दिने सेवा प्रवाह, सरसफाइ, खानेकुराको स्वच्छतालगायतका ५० वटा सूचकको मूल्याङ्कनका आधारमा होटेलहरूको वर्गीकरण गरेको हो। वर्गीकरणमा कैलालीमा १६ वटा होटेलले स्तरीकरण लोगो पाएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीस्थित होटेल तथा रेष्टुरेन्टहरूको अध्ययन गरी उनीहरूको अवस्थाको मूल्याङ्कनका आधारमा होटेलहरूको वर्गीकरण सुरु गरेको हो। होटेल तथा रेष्टुरेन्टले उपभोग्य वस्तुको बिक्रीवितरण गर्ने भएकाले उनीहरूले प्रदान गर्ने सेवा मानिसहरूको स्वास्थ्यमा प्रत्येक्ष प्रभाव पार्ने भएकाले सोहीअनुसार वर्गीकरण गरिएको कुँवरले बताए। खाद्य स्वच्छताको आधारमा होटेल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका–२०७४ मा तोकिएको प्रावधानअनुसार ५० वटा सूचक पारी ४ भागमा विभाजन गरिएको हो। ९० अंकभन्दा माथि ल्याउने होटेल ‘अति उत्तम’ अर्थात् हरियोमा ३ वटा तारा, ८० देखि ८९ अंक ल्याउने होटेल ‘उत्तम’ अर्थात् हरियोमा २ वटा तारा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटेल ‘सन्तोषजनक’ अर्थात् हरियोमा एक वटा स्टार राखिएको छ। ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटेल तथा रेष्टुरेन्ट ‘सामान्य’ अर्थात् पहिलो रङको लोगो भएको स्टिकर टासिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बतायो। होटेल तथा रेष्टुरेन्टलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्यगरी चार भागमा विभाजन गरिने प्रावधान अनुसार पहिलो चरणमा धनगढीका १६ वटा होटेलको बर्गीकरण छुट्याएर स्टिकर टाँसिएको उनले बताए।

प्रकाशित: २१ वैशाख २०७६ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App