१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

नाममात्रको नगरकोट बसपार्क

भक्तपुरको कमलविनायकमा रहेको नगरकोट बसपार्क अस्तव्यस्त छ। नगरकोट बसपार्क प्रसिद्ध कमलविनायक पोखरीको उत्तरपट्टि रहेको छ।

तीन वर्षदेखि भक्तपुरबाट नगरकोट जाने बस चलाउँदै आएका बसचालक आर्यन ढकालका अनुसार बसपार्कमा जम्मा दुई मात्रै बस अट्ने बताए। तर, नगरकोट बसपार्कमा बस भने २० वटा रहेका उनले जानकारी गराए।

उनले नगरकोट बसपार्कबाट नगरकोट मात्र नभई देउपुर, नयाँ गाउँसम्म बस जाने बताए। नगरकोट बसपार्कमा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बस हुने ढकाल बताउँछन्। बसपार्क सानो भएको कारण अहिले नगरकोट बसपार्कको बस कमलविनायक भत्केको पाटीनेर रहेको खुला जग्गामा बस राख्ने गरेको उनले बताए।

अहिलेसम्म बसपार्कको अरु विकल्प नभएको उनले बताए। एक वर्षअगाडि बसपार्क सानो भएको कारण बसपार्क कमलविनायक भत्केको पार्टी नजिकैको जग्गामा सारेको उनले जानकारी गराए। तर, यात्रुले त्यहाँ बसपार्क हुँदैन भनेर विरोध गरेपछि फेरि बसपार्क यतै राखेको उनले सुनाए।

सहचालक सन्त तामाङ नगरकोट बसपार्कलाई व्यवस्थित गर्नेबारे चिन्ता पोख्छन्। उनी भन्छन्, ‘नगरकोट बसपार्कमा २० गाडी त राख्ने ठाउँ छैन, फेरि बस थपे कसरी व्यवस्थित हुन्छ?’

अहिले भत्केको पाटीमा राखेको जग्गा पनि निजी जग्गा रहेको उनले बताए। अब कुन बेला त्यहाँ पनि राख्न नपाउने थाहा नभएको उनले सुनाए। त्यसैले अहिलेको समस्या भनेको त्यहाँ गाडी राख्न नदिएपछि कहाँ राख्ने भन्ने चिन्ता रहेको उनले बताए। अहिले समितिले नगरकोट बसपार्कको लागि बसपार्कको व्यवस्था मिलाउनुपर्ने उनले बताए।

कमलविनायक बसपार्क नजिकै पसल सञ्चालन गरिरहेकी व्यापारी राधिका परियार बसपार्क अस्तव्यस्त भएको कारण धेरै समस्या भएको बताउँछिन्। बसपार्क साँघुरो भएको र साथै साँघुरो बसपार्कमै बाइक पार्क गर्ने भएपछि झन् समस्या भएको उनी बताउँछिन्। त्यसमाथि पसलको अगाडि बाइक राख्ने बेलामा त पसलको शोभा नै घट्ने उनी सुनाउँछिन्। त्यसकारण पसलमा ग्राहक छिर्नलाई पनि ठाउँ नहुने उनी सुनाउँछिन्।

भक्तपुरको नगरकोट बसपार्क नजिकै कस्मेटिक्स पसल थापेर बसेकी प्रभा श्रेष्ठले पनि बसपार्कको कारण पसललाई एकदम समस्या भएको बताइन्। साथै पसललाई मात्र नभई बाटोमा हिँड्ने बटुवालाई पनि हिँडडुल गर्न गाह्रो भएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘कुनै बेला बसपार्कमा गाडी तथा अरु प्राइभेट साधन पार्क हुने बेलामा त झन् मान्छे हिँड्ने ठाउँ नै नहुने हुन्छ।’

बसपार्क पनि सानो त्यसमाथि ठूलो ट्रक आउने बेलामा त यहाँ पूरै जाम हुने उनी सुनाउँछिन्। बसपार्क साँघुरो नगरकोट जाने बाटो पनि साँघुरो त्यहि साँघुरो बाटोको साइडमा बाइक, प्राइभेट गाडी, साइकलमा मधेसी पसल राखेर बस्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘यसले यहाँ दिनमा दुई–तीन चोटी जाम हुने गर्छ, दिनको दुई चोटी जाम नहुने त दिन नै हुँदैन।’ यसको लागि बसपार्कको विकल्प बनाउनु पर्ने उनी बताउँछिन्।

त्यस्तै जितपुर, र कलमसीको बसपार्कको हालत पनि त्यस्तै छ। कमविनायकबाट नगरकोट जाने बाटोमा नै बस पार्क गर्ने गरिएको छ। यसले गर्दा व्यापारी तथा बटुवा समस्या भएको छ।

नगरकोट बसपार्क व्यवस्थापनको उत्तर–पूर्वी यातायात व्यवसायी समितिका पूर्वअध्यक्ष जीवन खत्री अनेक प्रयासका बाबजुत पनि बसपार्कलाई व्यवस्थित बनाउन नसकेको सुनाए। बसपार्कको मुख्य समस्या नै दुई वटा मात्रै वस राख्न मिल्ने गरी सानो हुनु उनले बताए। सहरको बीचमा परेकाले चाहेर पनि बसपार्कलाई फैलाउन नसकेको बाध्यता उनले पोखे। आफनो पालामा स्थानान्तरण गर्ने अनेक प्रयास गरे पनि त्यो पनि ठाउँ अभावमा हुन नसकेको उनले खुलाए। अहिले समिति नै भंग भए पनि व्यावसायी व्यवस्थित बसपार्कको प्रयासमा रहेको उनले सुनाए।

प्रकाशित: १६ वैशाख २०७६ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App