अमृत भादगाउँले
नेपाली खाना भन्ने वित्तिकै धेरैले ‘दालभात र तरकारी’ मात्र सम्झन्छन्। एकैछिन् सोचौं, के दालभात र गुन्द्रुक ढिँडो मात्र हाम्रो खानाको पहिचान हो त ? होइन, हाम्रो देशमा सय भन्दा बढी जातजाती छन्। उनीहरूका आआफ्नै परिकार छन्। सबै रैथाने खाना नेपालीको पहिचान हो।
गाउँघरमा सिमित खानालाई रेष्टुराँको मेनुमा ल्याउने काम चुनौतीपूर्ण हुन्छ। त्यसका लागि केही सकारात्मक पहल भैरहेको छ। त्यही कर्ममा जुटेका भान्छे हुन्–सुरेशचन्द्र बस्नेत। हिमाल, पहाड र तराईका खानालाई एउटै मेनुमा ल्याइसकेका छन् उनले। त्यसलाई ‘सिक्स कोर्स मेनु’का रुपमा ल्याएका हुन्। यसमा स्टाटरका रुपमा बटुक, फूल्की चुकौनी र पिँडालु हुन्छ। सुपमा हिमाली थेन्थुक दिइन्छ।
तेस्रोमा पूर्वी नेपालको भक्कासँग माछाको चटनी हुन्छ। चौंथोमा हिमाल–तराई शीर्षकमा फापरको रोटी रोल र तराईको मासु दिइन्छ। पाँचौंमा कोर्समा नेपाली खाना सेट (दालभात, ढिँडो, तरकारी आदि) हुन्छ। र, अन्त्यमा डेजर्टका रुपमा सिर्कनी (दहीमा काजु, किसमिस, मह वा चिनी ) हुन्छ।
यसरी एक जनालाई करिब सात सय ग्राम खाना दिइन्छ। जसरी पश्चिमाहरूले लन्च वा डिनरमा फूल कोर्स लिन्छन् त्यही हिसाबले बस्नेतले नेपाली मौलिकता झल्कने फूल कोर्स डिजाइन गरेका हुन्। यसमा भौगोलिक विविधताको फरकफरक स्वाद चाख्न पाइन्छ।
दालभात तरकारी मात्र होइन, विभिन्न जातजातीका मौलिक खाना पनि उत्तिकै स्वादिला र स्वास्थ्यबर्धक छन्। राम्रोसँग पस्कन जान्यो भने हाम्रो खाना संसारभर लोकप्रिय बन्न सक्छन्। तिनै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा छन् नेपाली भान्छे सुरेशचन्द्र बस्नेत।
खानाले भुगोल र संस्कृतिलाई जोड्न सक्छ। जोड्नु पनि पर्छ। त्यसैले मेनुमा विविधता चाहिन्छ। यो सत्य राम्रोसँग बुझेका छन् उनले। एउटा भान्छे भएर खुरुखुरु चल्तिका परिकार मात्र पकाउने कि, नयाँनयाँ सृजना पनि गर्ने ? यही प्रश्नमा घोत्लिँदाघोत्लिँदै बस्नेतले नेपाली फूल कोर्स डिजाइन गरे। सन् २०१६ मा उनले यसको डिजाइन गरेका हुन्। यतिले मात्र संतुष्ट छैनन् उनी, थप रैथाने परिकारहरूलाई पनि मेनुमा ल्याउने जर्मको गर्दैछन्।
उनी नेप्लीज वल्र्डवाइड सेफ्स एशोसियसन, अमेरिकाका एशिया शाखा उपाध्यक्ष हुन्। उनको संस्थाले मुलुकभित्रका सातै प्रदेश चिनाउने खाना प्रदर्शनी शुभारम्भ गरेको छ। उसले काठमाडौंको ठमेल र कालीमाटीमा प्रदर्शनी गरिसक्यो।
त्यहाँ प्रदर्शित परिकारहरूको परिकल्पनाकार बस्नेत नै हुन्। ‘हामी आउँदो सेप्टेम्बरभित्र सातै प्रदेशका राजधानीमा यी खाना प्रदर्शन गर्नेछौं’, उनी खुलाउँछन्, ‘मौलिक खानामा गर्व गर्ने र खाना पनि संस्कृतिको अभिन्न अँग भएको सञ्देश दिन हामी लागि परेका हौं।’
यसमा प्रदेश नं १ को भक्का, प्रदेश नं २ को कडीपकौडी, प्रदेश नं ३ को चटामरी, प्रदेश नं ४ को साँधेको पिँडालु र तरुल, प्रदेश नं ५ को चुकाउनी, प्रदेश नं ६ को फापरको रोटी र प्रदेश नं ७ को डुक्पा र बटुक सहितका परिकार राखिएका थिए।
रैथाने परिकारहरूमा हाम्रो जिब्रो रमाउँछन्। तिनै खाना विदेशीलाई बानी पार्न समय लाग्छ। त्यसका लागि परम्परागत खाना प्लेटमा पस्कने शैलीमा परिवर्तन ल्याउनु पर्छ। अनि होटल तथा रेष्टुराँ सञ्चालक र भान्छेहरूले खानालाई माया गर्नु पर्छ। उनीहरूले आफ्ना ग्राहकलाई त्यसको महत्व बुझाउन सक्नु पर्छ। विगत २८ वर्षदेखि भान्छे पेशामा समर्पित बस्नेत पछिल्लो समय भोजन पर्यटन अभियन्ता बनेका छन्।
के हो त भोजन पर्यटन ?
‘पर्यटकलाई हामीले हिमाल, पहाड र तराई मात्र देखायौं’, उनी प्रस्ट्याउँछन्, ‘तर हामीले उनीहरूलाई हाम्रो खाना चखाएनौं। पर्यटकलाई परम्परागत नेपाली खाना खुवाउने अभियान नै भोजन पर्यटन अभियान हो।’ त्यही अभियान अन्तर्गत सातै प्रदेशका खानाको मेनु बनेको छ। नेपाली फूल कोर्स मेनु बनेको छ। उनलाई विश्वास छ राम्रोसँग पस्कन सके विदेशीले हाम्रा खाना मन पराउँछन्।
‘हाम्रो खानामा विविधता छ। मसलाको प्रयोग कम हुन्छ। ताजा ताजा बनाएर पस्कने नेपालीको चलन छ’, उनी भन्छन्, ‘हाम्रो खानामा पोषणका सबै तत्व पाइने भएकाले पनि विदेशी माझ लोकप्रिय बन्न सक्छ।’ उनी सेफ्स एशोसियसन अफ नेपालका पूर्व उपाध्यक्ष हुन्। यही वर्ष मात्र अमेरिकामा केन्द्रीय कार्यालय रहने गरी ‘नेप्लीज वल्र्ड वाइड सेफ्स एशोसियसन (एनडब्लुसीए)’ खुलेको छ। यसका संस्थापक नेपाली मुलका अमेरिकी लिंकन एभरेष्ट हुन्। उनी नेपाली परिकार बनाउने भान्छेका साथै रेष्टुरेण्ट सञ्चालक पनि भएको बस्नेतले जानकारी दिए।
यही संस्था मार्फत नेपालको खाना संसारभर पु¥याउने अभियानमा जुटेका छन् बस्नेतहरू। बस्नेत आफैं कुशल भान्छे त हुँदै हुन्, त्यसबाहेक कुशल प्रशिक्षक पनि हुन्। उनी कहिले होटल व्यवस्थापन तालिममा सक्रिय हुन्छन् त कहिले होमस्टे तालिममा। बरोबर गाउँघरतिर डुलिरहन्छन्।
बेलाबेलामा विदेशमा आयोजना हुने फुड फेस्टिभलमा समेत नेपालको प्रतिनिधित्व गर्छन्। गत अगस्टमा बेइजिङ सहरको मिञ्जु होटलमा जापानका पूर्व प्रधानमन्त्री योकियो होतायमालाई पनि नेपाली परिकार चखाएको क्षण सम्झँदा रोमाञ्चित बन्छन् उनी।
भान्छे भएरै उनी दुईदुई पटक अमेरिका पुगिसके, अमेरिकन कुलिनरी फेडरेशन र ग्लोबल फुड टुरिजम एशोसियसनको निम्तोमा। देश/विदेश डुलेर धेरै ज्ञान बटुलेका छन्। हामी सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै छौं। पर्यटक बढाउने अभियानमा भान्छेहरूको योगदान महत्वपूर्ण हुन्छ, आएका पर्यटकलाई मीठो खाना खुवाउन।
भ्रमण वर्षकै अबसरमा उनीहरूले संसारका चालिस देशका भान्छेहरूलाई सगरमाथा आधारशिविरमा पु-याएर ‘एभरेष्ट टेक्सचर, कुकिङ इन बेस क्याम्प’ कार्यक्रम गर्दैछन्। त्यहाँ सहभागी देशको मौलिक खाना पकाइने छ। यस कार्यक्रमको निम्तो बाँड्न सेफ्स एशोसियसनका पदाधिकारीहरू आउँदो मे २४ मा थाइल्याण्ड जाँदै छन्। यसरी बस्नेत आफ्नो अन्तराष्ट्रिय चिनारी बनाउन संघर्ष गर्दैछन्। यहाँसम्म आउन उनले धेरै पापड बेल्नु प-यो। जन्मथलो दमौली (तनहुँको सदरमुकाम)बाट करियर बनाउन उनी विसं २०४६ माघमा काठमाडौं आएका थिए।
त्यतिवेलै उनले एक वर्षे कुक तालिम लिए। लगत्तै होटल ब्लुस्टारमा जागिर पाए। त्यो जागिर छाडेर ठमेलमा साथीसँग मिलेर ‘काठमाडौं ब्रासरी’ रेष्टुराँ चलाए। सँगैसँगै होटल तालिम केन्द्र पनि। समयसँगै उनले प्लस टुमा होटल म्यानेजमेन्ट पढाए। टेलिभिजनमा ‘फुड एन्ड फन यात्रा’ कार्यक्रम चलाए। उनी सेन्चुरी मसलाको ब्राण्ड एम्ब्यासडर पनि हुन्।
अचेल उनी कुकिङ गुरुका रुपमा काम गर्दैछन्। नेपाली भान्छेहरूको त्यही अन्तराष्ट्र्रिय संस्था एनडब्लुसीएले उनलाई ‘नेप्लीज फुड गुरु’ उपाधि दिएको छ। उनी ४९ वर्षका भए। बाँकी जिन्दगी पनि नेपाली खाना प्रवद्र्धनमै विताउने उनको इच्छा छ।
प्रकाशित: १४ वैशाख २०७६ ०२:२३ शनिबार