१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

दुष्ट धुवाँधुलो

मिलनटोलका केटाकेटीहरू धुलेचौरमा फुटवल खेलिरहेका थिए। सञ्जय पनि त्यही समूहमा थियो। खेल्दाखेल्दै सञ्जयलाई एक्कासि सास फेर्न अप्ठेरो भयो। खेल्नै छोडेर घरमा गएर सुत्यो। ‘आम्मै नि, मेरो बाबुलाई के भो’ आमाले भन्नुभयो, ‘लौ न सञ्जयका बा अब के गर्ने !’

सञ्जय घाँटी दुख्यो भन्दै रोयो। स्याँस्याँ गर्न थाल्यो। उसलाई लगातार सुक्खा खोकी लागिरह्यो। बाबाआमा आत्तिनुभयो। बाबाआमाले सञ्जयलाई अस्पताल लैजानुभयो। ‘के हुन्छ बाबुलाई ?’ ‘डाक्टरले सोध्नुभयो।
‘छिटोछिटो रुघा लाग्छ। नाक बन्द हुन्छ। सास फेर्न गाह्रो हुन्छ। घाँटी घ्यारघ्यार गर्छ। सुक्खा खोकी पनि लाग्छ’, रोगका लक्षणबारे बाबाले डाक्टरलाई जानकारी गराउनुभयो। स्वास्थ्य जाँच गरेपछि डाक्टरले भन्नुभयो, ‘धुलोको कारण छाती खराब भएछ। नाक वा मुखबाट धुवाँधुलो छिरेपछि स्वास नली सुनिने रोग लाग्छ। यसलाई ‘ब्रोङ्काइटिस’ भनिन्छ। यसको कारण मानिसको दम बढ्छ। यसलाई ‘आस्तामा’ भनिन्छ। कहिलेकाहीँ नाक सुनिने गर्छ। यसलाई ‘राइनाइटीस’ भनिन्छ।’

‘धुवाँधुलोले मानिसको फोक्सो र स्वाससम्बन्धी विकासमा अवरोध गर्छ। छाला, आँखा र नाकमा एलर्जी हुन्छ। थकाइ लाग्छ। कुरा गर्दा झिँजो मान्छन्। तनाव लिन्छन्। बालबालिकालाई त झन् छिटो असर गर्छ,’ डाक्टरले भन्नुभयो। सञ्जयलाई झन् अप्ठेरो भयो। अक्सिजन दिनुपर्ने भयो। अक्सिजन मास्क मुखमा राखेपछि सञ्जयको आँखाबाट बरर आँसु झरे। आमाबाबाले पनि आआफ्ना आँखाको आँसु पुछ्नुभयो।
डाक्टरले भन्नुभयो, धुवाँधुलोका कारण बालबालिकामा शारीरिक विकास हुन्न। उमेरअनुसार तौल पनि कम हुन्छ। छिटोछिटो बढ्न सक्तैनन्। बुद्धिको विकास छिटो हुँदैन। मानसिक तनाव हुन्छ। राम्रोसँग पढ्न सक्तैनन्।’ डाक्टरले धुवाँधुलोबाट लाग्ने रोगबाट कसरी बँच्ने भन्ने उपायबारे पनि बताइदिनुभयो।
‘बालबालिकालाई त धुवाँधुलोबाट पो बचाउनु पर्ने रैछ है डाक्टर !’ बाबाले भन्नुभयो, ‘जहाँ पायो त्यहीँ खेल्न जान दिएर हामीले गल्ती गरेछौं। अब त्यसो गर्न दिन्नौं।’
डाक्टरले भन्नुभयो, ‘ठीक भन्नुभयो। चैतको महिना जताततै धुवाँधुलो छ। त्यस्ता ठाउँमा बालबालिकालाई जानै दिनु हुन्न। जानै परे मुखमा मास्क, आँखामा चस्मा लगाउनुपर्छ। छाताको प्रयोग गरे केही हदसम्म बच्न सकिन्छ।’
‘मैले त अब सञ्जयलाई धुलेचौरमा खेल्न पठाउँदिन,’ आमाले भन्नुभयो। ‘सञ्चो भएर फर्केपछि म पनि धुलो नभएको चौरमा मात्र खेल्छु। बाटोमा हिँड्दा मास्क लगाउँछु,’ सञ्जयले भन्यो, ‘धुलो नराम्रो चिज रैछ। दुष्ट धुवाँधुलो छि छि !’ बाबाले भन्नुभयो, ‘स्याबास छोरा। कति छिटो कुरा बुझ्छ है मेरो छोराले। धुलोबाट बँच्न अबदेखि डाक्टरले सिकाएझैं गर्नुपर्छ है।’ ‘हस् बाबा’, सञ्जयले स्वीकृतिसूचक टाउको हल्लायो।

प्रकाशित: ३० चैत्र २०७५ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App