३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्य

यसरी चढिन्छ सगरमाथा

संसारकै सर्वोच्च शिखर हो सगरमाथा। सन् १९५३ मा पहिलोपटक स्वर्गीय तेन्जिङ शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथामा पाइला राखेका थिए। त्यसयता संसारभरका पाँच हजारभन्दा बढीले सगरमाथाको शिखर चुमिसकेका छन्।

आरोहीले एकपटक होइन्, २२ पटकसमेत आरोहण गरिसकेको रेकर्ड छ। २२ पटक आरोहण गर्ने आरोही हुन् कामीरित्ता शेर्पा। ती आरोही यसपटक पनि सगरमाथा आरोहणमा जाने तयारीमा छन्।

खासगरी सगरमाथा आरोहणको सिजन वैशाख र जेठलाई उपयुक्त मानिन्छ। यो सिजनमा अनुकूल मौसम हुन्छ सगरमाथा आरोहणका लागि। आरोहणको तयारी गर्न आरोहीहरु चैत महिनामै सगरमाथातर्फ लागिसकेका हुन्छन्।

सगरमाथा आरोहण गर्नका लागि पहिलो ६ हजार मिटर हारहारीको हिमाल आरोहण गरिसकेको हुनुपर्दछ। त्यो बाहेक आरोहीले रक क्वालमिङ, वाल क्वालमिङ लगायतको तालिम  प्राप्त हुनुपर्दछ।

सगरमाथा आरोहण गर्न अनुमति लिनुपर्छ। पर्यटन विभागले दिने आरोहण अनुमति ७५ दिनको हुन्छ। अनुमति लिनका लागि नेपालीले ७५ हजार शुल्क बुझाउनुपर्छ। विदेशीले भने ११ हजार अमेरिकी डलर शुल्क बुझाएपछि मात्रै अनुमति पाउँछन्। तर, आरोण सहयोगी तथा शेर्पा (गाइड) लाई भने शुल्क लाग्दैन। सगरमाथा आरोहण गर्न एक्लै जान पाइँदैन। समूहमा मात्रै जानुपर्ने नियम छ। आरोहण गाइड तथा शेर्पाले आरोहण गराउँछन्।

सगरमाथामा आरोहण चीनको तिब्बततर्फबाट पनि गरिन्छ। तर, नेपालतर्फको बाटो बढी प्रसिद्ध छ। तिब्बती बाटो असाध्यै गाह्रो छ। त्यसैले संसारका आरोहीहरूको रोजाइमा नेपालतर्फको आरोहण पर्दछ।

तस्बिर सौजन्य: पीक प्रमोशन, गत वसन्तकालीन समयमा सगरमाथा आरोहण गर्दै गरेकी दिकी शेर्पा।

सगरमाथा आरोहण यात्रा काठमाडौंबाटै सुरु हुन्छ। काठमाडौंबाट लुक्लासम्म हवाई यात्रा गर्नुपर्छ। लुक्लालाई सगरमाथाको प्रवेशद्वार पनि मानिन्छ। लुक्लाबाट पैदल हिँड्नुपर्छ। लुक्लादेखि आधार शिविरसम्म पुग्न आरोहीलाई कम्तीमा ९ दिन लाग्छ। लुक्ला पुगेर आरोहीहरु फाक्दिङसम्मको पैदल यात्रा गर्छन्। यो पहिलो दिनको यात्रा हो। फाक्दिङ लुक्लाबाट तीन घण्टाको पैदल दूरीमा छ। उचाइको हिसाबमा फाक्दिङ २८ सय मिटर हारहारीमा पर्छ।

दोस्रो दिन फाक्दिङबाट नाम्चे पुगिन्छ। ३४ सय मिटरको उचाइमा छ नाम्चे बजार। फाक्दिङबाट ११ किलोमिटर दूरीमा रहेको नाम्चे बजार पुग्न ६ घण्टा हिँड्नुपर्छ। नाम्चे ठमेलजस्तै छ। कतिले यसलाई मिनी ठमेल भन्ने गर्छन्।

नाम्चेमा एक दिन आराम गरिन्छ। उचाइमा घुलमिल हुन प्रत्येक हजारको उचाइ पार गरेपछि आराम गर्नु राम्रो मानिन्छ। त्यसैले नाम्चेमा दुई रात बिताउने गरिन्छ।

चौथो दिन नाम्चेबाट तेङ्बोचेको यात्रा हुन्छ। नाम्चेबाट ११ किलोमिटरको टाढा छ, तेङ्बोचे त्यहाँ पुग्न ५ घण्टा पैदल हिँड्नुपर्छ। ३८ सय मिटरको उचाइमा छ तेङ्बोचे। पाचौं दिन तेङ्बोचेबाट दिङ्बोचेको यात्रा हुन्छ। यो १२ किलोमिटर टाढा छ। तेङ्बोचेबाट दिङ्बोचे पुग्न ५ घण्टा पैदल हिँड्नुपर्छ। ४२ सय मिटरको उचाइमा छ दिङ्बोचे।

छैटौं दिनको यात्रा हुन्छ लोबुचेको। यो ४९ सय मिटरको उचाइमा छ। यहाँ पनि आरोहीहरुले दुई रात बिताउने गर्छन्। यो ठाउँ लोबुचे हिमालको काखमा छ। कुनै आरोहीले त्यही ६११९ मिटरको अग्लो हिमाल आरोहण गरेर सगरमाथाका लागि अभ्यास गर्छन्।

लोबुचेबाट आधार शिविर (बेसक्याम्प) पुग्न १५ किलोमिटरको दूरी छ। करिब ८ घण्टा हिँड्दा आधार शिविर पुगिन्छ। आधार शिविर सगरमाथा शिखरको प्रस्थान बिन्दु हो। आरोहण सिजनमा यहाँ करिब २ हजार मानिसहरुको जमघट हुन्छ। टेन्टले बजार जस्तै रंगीन देखिन्छ आधार शिविर। आधार शिविरमा आरोहीहरु करिब एक हप्ता आराम गर्छन्।

सगरमाथा आरोहणमा जाँदा शिर–पाउ कुल्चिइन्छ भनेर क्षमा–पूजा गर्ने चलन छ । लामा बोलाएर भव्य पूजा गरिन्छ, आरोहण सफलताको कामना गर्दै।  आधार शिविरमाथि पिउने पानीका लागि हिउँ तताउनुपर्छ। त्यसमाथि चार ठाउँमा हिउँमै क्याम्प बनाउनुपर्छ। क्याम्प टूसम्म एसपीसीसी भन्ने संस्थाका आइसफल डाक्टरले बाटो बनाउने तथा डोरी टाँग्ने काम गर्छन्। त्यसमाथि भने आरोहीहरुकै टिमले बाटो बनाउने तथा डोरी टाँग्ने काम गर्छन्। त्यही बाटो पछ्याउँदै डोरीका सहायताले अरु आरोही  आरोहण गर्छन्।

पहिलो क्याम्प ६ हजार १ सय मिटर उचाइमा छ। खुम्बु आइसफलको बाटो हुँदै जानुपर्दछ। सामान्यतयाः बेसक्याम्पबाट क्याम्प वान पुग्न ३–५ घण्टा लाग्छ। दूरीको हिसाबमा त्यस्तै ४ किलोमिटर छ। बाङ्ंगोटिङ्गो, उबडखाबड, नागबेली आकारको छ बाटो। हिँड्नलाई खुब गाह्रो। संसारकै अप्ठ्यारो बाटो मानिन्छ खुम्बु आइसफललाई। डोरी टाँगेर बनाइएको हुन्छ बाटो। पाइलैपिच्छे खतरनाक खरपस भेटिन्छन्। कतै आल्मुनियमका भ-याङबाट पार गर्नुपर्दछ दुवैतिर डोरी समातेर।

क्याम्प वानभन्दा टूको बाटो केही सजिलो छ। तर, क्याम्प टूको बाटोमै विश्वबिख्यात आरोही बाबुछिरी शेर्पा खरपसमा परेर ज्यान गएको थियो। त्यसैले पाइला पाइलामा मृत्यु छल्नुपर्ने हुन्छ हिमालमा। ६४ सय मिटर उचाइमा छ क्याम्प टू। आरोहीहरु उचाइसँग घुलमिल हुन क्याम्प  वान, क्याम्प टु पुग्दै बेसक्याम्प आउँछन्।

क्याम्प टुबाट क्याम्प थ्रीसम्म तीन किलोमिटर होला। तर, बाटो ज्यादै कठिन छ। पाइलै सार्न गाह्रो हुन्छ। क्याम्प थ्रीमाथि अल्टिच्युड सिकनेसको सम्भावना बढ्छ। ७३ सय मिटरको उचाइमा छ, क्याम्प थ्री। ठाडो भिरालो ठाउँमा टेन्ट टाँगेर बस्नुपर्छ।

क्याम्प फोरको यात्रा गर्दा पनि डोरीकै सहायता लिनुपर्छ। आरोहीकै टिमले डोरी पहिल्यै टाँगिसकेका छन्। बाटोको दूरी अन्दाजी तीन किलोमिटर छ। त्यति छिचोल्न ६ घण्टा हारहारी लाग्छ। जति माथि गयो, त्यति सास फेर्न कठिन हुन्छ अक्सिजन नपुगेर। त्यसैले चौथो क्याम्पदेखि आरोहीहरुले अक्सिजन प्रयोग गर्छन्।

क्याम्प फोर आराम गर्ने ठाउँ जस्तो हो। त्यहाँबाट चुचुरोको बाटो तय हुन्छ। क्याम्प फोरलाई साउथ कोल पनि भनिन्छ। यो ७९ सय मिटरको दूरीमा छ। यहाँ अपराह्नतिर पुग्छन्। चौथो क्याम्पदेखि चुचुरोमा चढ्न सबैभन्दा उपयुक्त बेलुकीको ९ बजेदेखि बिहान ११ बजेसम्म हो। त्यसैले चौथो क्याम्पमा केही समय आराम गरेपछि बेलुका ९, १० बजेतिर चुचुरोको  यात्रा तय हुन्छ। यहाँबाट सगरमाथाको शिखरमा पुग्नका लागि १६ देखि १८ घण्टा लाग्छ। शरीर थाकेको हुन्छ। यहाँबाट माथि भने समिट सुट लगाउनुपर्छ। अनिवार्य अक्सिजन लगाउनुपर्छ।

सबैभन्दा गाह्रो चौथो क्याम्पदेखि माथि बाल्कोनी र हिलारी स्टेप भन्ने ठाउँमा हुन्छ। अघिल्लो दिन बेलुकातिर हिँडेका आरोहीहरु बिहान उज्यालो हुँदातिर चुचुरो पुग्न थाल्छन्। चुचुरोमा पुगेपछि भने खुसी, उमंग, उत्तेजना, भावुकता सबै एकैचोटी हुन्छन्। चुचुरोमा त्यस्तै पाँच सातजना उभिन मिल्ने ठाउँ छ। सगरमाथाको चुचुरोबाट चोओयु र मकालु हिमाल नजिकै देखिन्छन्। चुचुरोबाट मौसम खुलेको बेला हिउँले भरिएका टाकुरा देखिन्छन्। कसैले यसलाई पपकोणको संज्ञा दिन्छन्, कसैले यसलाई चाँदीको फूलको रुपमा लिन्छन्। चुचुरोमा १०/१५ मिनेट बिताएपछि आरोही फर्किन्छन्। त्यो दिन आरोहीहरु चौथो क्याम्पमा आएर बस्छन्। कुनै आरोही भने दोस्रो क्याम्पमा पनि आइपुग्छन्।

चुचुरो चढ्दा क्याम्प÷क्याम्पमा दुई दिन चार दिन बिताउँदै चढ्नुपर्दछ। तर, झर्दा भने सिँधै झर्न नि सकिन्छ। तर, चढ्दा जतिकै गाह्रो ओर्लँदा हुन्छ। ओर्लँदा शरीर थाकेको कारणले गर्दा पनि आरोहीहरुको ज्यान चढ्दाभन्दा ओर्लँदा जाने  सम्भावना रहन्छ।

आरोहण गरेर काठमाडौं फर्केपछि चुचुरोमा पुगेको फोटो चुचुरोमा पुगेको प्रमाणसहित पर्यटन विभागलाई बुझाउनुपर्छ। अनि मात्रै नेपाल सरकारले सगरमाथा आरोहण गरेको आधिकारिक प्रमाणपत्र दिन्छ।
नोट: एक दर्जन आरोहीसँगको कुराकानीमा यो सामग्री तयार गरिएको हो।

प्रकाशित: २५ चैत्र २०७५ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App