रामभरोस कापडि ‘भ्रमर’
आफ्नो आस्थाको परिणामस्वरुप मानिस अनेकौं काम गर्दछन्। यो आस्था व्यक्ति–व्यक्तिमा हुन सक्तछ। कुनै परिवार, समाज, राष्ट्रप्रति हुन सक्तछ। तर जब भक्तिको कुरा आउँछ। यो अन्य सबै खाले आस्थाभन्दा फरक हुन जान्छ –आराध्यदेवप्रतिको समर्पण भावबाट प्राप्त हुने आस्था र यसका लागि पनि निरन्तर भजन–कीर्तन र दर्शन–पूजामा लागिरहने मानवीय प्रवृत्ति उनलाई आत्मसुखको अनुभूति गराउँछ।
यस पाली भारतको इलाहावादको संगम तटमा लागेको अर्धकुम्भमा घोषित तिथिहरुमा करोडौं श्रद्धालुहरु एकै चोटी स्नान गर्दथे, भक्तिभाव प्रदर्शित गर्दथे। यसका लागि सयौं–हजारौं माइलको यात्रा गरी पुग्ने गर्दथे। त्यतिकै मात्र हैन नेपाल–भारतका विभिन्न भागमा रहेका आस्थाका मन्दिरहरुमा दिनहुँ करोडौं श्रद्धालु त्यहाँ दर्शनार्थ पुग्ने गर्दछन्। यसमा समय र धन दुवैको प्रशस्त व्यय हुन्छ। तर जब श्रद्धालु आफ्नो तीर्थ यात्राबाट घर फर्कन्छन् त्यसले कुनै ठूलो सम्पत्ति आर्जन गरेको सुखको अनुभूति गर्दछन्। मन शान्ति र कार्यमा उत्साह थपिन्छ। आध्यात्मिक आस्थाको यो सबै भन्दा प्रबल पक्ष हो।
यस्तै आध्यात्मिक आस्थाका अत्यन्त कठोर अनुष्ठान हुन् जनकपुरधाम अर्थात् तत्कालीन मिथिलाको परिक्रमा। जहाँ लाखौं पदयात्री नांगै खुट्टा सीताराम नाम जप्दै आफ्ना आराध्यदेवको भक्तिमा लीन हुन पुग्दछन्–‘मन मिथिला झुमे रसिक रसिया।’
परिक्रमा के हो?
परिक्रमा भनेको कुनै खास व्यक्ति, समूह वा स्थलको चारैतिर फन्को मारेर घुम्नु। कैलाशको एक प्रसंगमा गणेश र कार्तिकेयबीच भएको संसार घुम्ने प्रतियोगितामा गणेशद्वारा आफ्ना माता–पितालाई विश्व मानी परिक्रमा गरेको अति प्राचीन उदाहरण हाम्रो अगाडि रहेको छ। परिक्रमा शब्दको उत्पत्ति उतैबाट भएको होला कि!
जे होस् अहिले जनकपुरधाममा हुने परिक्रमा पहिला तीन थरीका हुन्थे। प्रथम बृहत्, दोस्रो मध्यम र तेस्रो अन्तर्गृह। बृहत् विष्णु पुराणअन्तर्गत मिथिला महात्ममा परिक्रमाबारे विष्तृत वर्णन गरिएको छ। यस ग्रन्थको भाषालाई हेर्दा यो अठारौं शताब्दीको हुन सक्ने अनुमान गरिएको छ। त्यसै आधारमा बृहत् परिक्रमा, कोशीमा स्नान गरी गंगा छेउ हुँदै हिमालय (सम्भवतः पहाडकै लागि प्रयोग भएको शब्द हुन सक्दछ।) को तल तिर हुँदै यात्रा गर्नु पर्दथ्यो। यो निकै लामो दूरीको र त्यस समयका लागि संकटपूर्ण हुन्थ्यो। त्यसपछि मध्यम परिक्रमा जसलाई विहारको कल्याणेश्वरबाट प्रारम्भ गरी नेपाल–भारतका विभिन्न स्थानमा घुम्दै पुनः कल्याणेश्वरमा आई यात्राको समाप्ति हुन्थ्यो। अन्तिम अन्तर्गृह परिक्रमा हुन्थ्यो जो जनकपुरधाममा अवस्थित जानकी जन्म स्थानको परिक्रमा हुन्थ्यो। यो एक दिनको हुन्थ्यो।
अर्थात् बृहत् परिक्रमा राज्यको, मध्यम राजधानीको र अन्तर्गृह राजदरबारको हुन्थ्यो। पहिला प्रारम्भिक समयमा परिक्रमाको बृहत् र मध्यम पथ अत्यन्त कठिन बाक्लो जंगल र खतरनाक पशुहरुको बास भएर जानु पर्दथ्यो। पछि समयअनुसार यसमा सुधार हुँदै गयो र अहिले दुई स्तरको परिक्रमा मात्रै हुने गर्दछ–मध्यम र अन्तर्गृह।
जनकपुरधामको चारवटै कुनामा पूर्वदेखि नै अवस्थित मंगलकामनाका प्रतीक भगवान् शिवका सिद्ध मन्दिरहरु छन्–कल्याणेश्वर, जलेश्वरनाथ, क्षीरेश्वरनाथ र सप्तरेश्वर महादेव। यिनै महादेवहरुको दर्शन र प्रदक्षिणाका साथ परिक्रमा गरिने चलन रहेको छ। एउटा परिक्रमा १५ दिनको हुन्छ भने अर्को एक दिनको।
कसरी गरिन्छ परिक्रमा
जनकपुरधामको चारवटै कुनामा पूर्वदेखि नै अवस्थित मंगलकामनाका प्रतीक भगवान् शिवका सिद्ध मन्दिरहरु छन्–कल्याणेश्वर, जलेश्वरनाथ, क्षीरेश्वरनाथ र सप्तरेश्वर महादेव। यिनै महादेवहरुको दर्शन र प्रदक्षिणाका साथ परिक्रमा गरिने चलन रहेको छ। एउटा परिक्रमा १५ दिनको हुन्छ भने अर्को एक दिनको। १५ दिने मध्यम परिक्रमाले नै अहिले निकै महत्व पाएको छ, जसमा लाखौं श्रद्धालु नाँगो खुटा जनकपुरधाम र यस क्षेत्रका आध्यात्मिक सम्पदाहरुलाई केन्द्र मानी वृताकार रुपमा परिक्रमा गर्दछन्। परिक्रमाभरि एक छाक असिद्ध र एक छाक सिद्ध खाना खाने गरिन्छ। पूर्ण सात्विक भै पालमा वा खुला चौरमा बस्नुपर्ने हुन्छ। रातिमा विभिन्न खालसा अर्थात मण्डलीहरुमा भगवत्चर्चा र संकीर्तन भइरहन्छ। यसले गर्दा बासको असुविधा त्यति पीडक हुँदैन।
मध्यम परिक्रमा
फागुन अमावस्यादेखि नै औपचारिक रुपमा शुभारम्भ भै पूर्णिमा (यस पाली चैत्र ६ गते) मा सम्पन्न हुने यो परिक्रमा कचुरी मठ बाट मूल मिथिला विहारीको डोला उठाएर रत्नसागरमा लगिन्छ। त्यसपछि जानकी मन्दिर र त्यहाँ विधि व्यवहार सम्पन्न गरी सकेपछि जनकपुरधाम नजिकै कुवामा रहेको हुनमानगढी (हनुमान मन्दिर) मा पु-याइन्छ। शुभकाज प्रारम्भ गर्दा हनुमानको आशीर्वाद लिने चलनअनुसार यहाँ बास बस्ने र भजन–कीर्तन गर्ने चलन चलाइएको हुन सक्तछ। त्यहाँबाट प्रतिपदा दिन कल्याणेश्वर (भारत) डोला जान्छ। परिक्रमामा मूलडोला कचुरी स्थानको मिथिला विहारीको हुन्छ भने सहायक डोला किशोरीजीको हुन्छ। त्यसपछि अनेकौंं मठ–मन्दिरका डोला, संंकीर्तन मण्डलीहरु पदयात्रामा रमाइलो गर्दैै राम–नाम कीर्तनमा मग्न हुँदै जाने गर्दछन्। दोस्रो दिन गिरिजा स्थान जसलाई फुलहर पनि भनिन्छ त्यहाँ पुग्दछ। जन विश्वास छ यहाँ प्रत्येक दिन सीताजी फूल टिप्न आउने गर्नु हुन्थ्यो। तेस्रो दिन राम–सीता विवाहका लागि मैथिली विधिअनुसार हुने मटकोरका लागि माटो ल्याउने ठाउँ मटिहानी, चौथो दिन पानीभित्र बास बस्ने गरेका महादेवको मूर्ति भएको ठाउँ जलेश्वर, पाँचाैं दिन शिव मन्दिर भएको ठाउँ मडई, छैटौं दिन भगवान् भक्त ध्रुवको तपस्या स्थल ध्रुवकुण्ड, सातौं दिन भगवान् रामले रंग खेल्नु भएको स्थल कंचनबन, आठौं दिन क्षीरेश्वरनाथ महादेवको दर्शन गर्दै यात्रा टोली पर्वतामा बास बस्छन्। त्यस्तै नवौं दिन सीता स्वयम्वरमा रामद्वारा तोडिएको शिवधनुषको एउटा खण्ड रहेको जनविश्वासले पवित्र स्थल धनुषाधाममा, दसौं दिन सप्तऋषि भएको स्थान सतोषर, एघारौं दिन औरही–हौरसाहा, बाह्रौं दिन करुणा (भारत) र तेस्रो दिन कल्याणेश्वरमा पुगिन्छ। त्यहाँ आफैँले परिक्रमा प्रारम्भ गर्दा लेखेको चिनो मेटाउने काम पनि गरिन्छ। त्यहाँबाट जनकपुर आउने चौधौं दिनमा विश्वामित्र मुनिको बास रहेको स्थान विसौल (भारत) मा रात्रि बास हुन्छ। पन्ध्रौं दिन जनकपुरधाममा आई गंंगासागरको पश्चिमी डीलमा मूल र सहायक डोलाको बास हुन्छ र सहयात्री लाखौं श्रद्धालु आ–आफ्नो सुविधाअनुसार आफ्नो घरबाहेकका स्थानमा रात्रि बास बस्दछन्। यो पन्ध्र दिनको परिक्रमाको चक्र अर्को बिहान पख प्रारम्भ हुने अन्तर्गृह परिक्रमामा सामेल भएपछि मात्र पूरा हुने गर्दछ।
अन्तर्गृह परिक्रमा
गंगासागरलगायतका पवित्र पोखरीमा स्नान गरी अन्तर्गृह परिक्रमा सुरु गर्ने पन्ध्रदिने परिक्रमावासीका अतिरिक्त सामान्य श्रद्धालुहरु आ–आफ्नो सुविधाअनुसार स्नान गरेर अन्तर्गृह परिक्रमा गर्दछन्। यसमा पनि लाखौंको सहभागिता हुन्छ जो बिहान २–३ बजेदेखि प्रारम्भ भई ११–१२ बजे सम्म निरन्तर जारी रहन्छ।
विशेष परिक्रमा
१५ दिने परिक्रमा चलेको ४० वर्षपछि केही साहसी धर्मानुरागीहरु फेरि २००४ सालमा मिथिला महात्मकै आधारमा पाँचदिने परिक्रमाको सुरुवात गरे जसलाई पञ्चायणी परिक्रमा भनिन्छ। यो पर्सा–पतैलीका कूलानन्द झाद्वारा प्रारम्भ गरिएको थियो। यो परिक्रमा सप्तमीदेखि सुरु गरी द्वादशीका दिन समाप्त गरिन्छ। पाँच दिनको बासमा कल्याणेश्वर, गिरिजा स्थान, जलेश्वर, क्षीरेश्वर, धनुषा र फेरि कल्याणेश्वर पुग्दछन्। अन्तर्गृहमा पनि मात्र कुण्ड, सरोवरहरुको प्रदक्षिणा गरी परिक्रमा चक्र पूरा गरिन्छ। पूर्णिमाका दिन हुने यो अन्तर्गृह परिक्रमाको दोस्रो दिन मिथिलाञ्चलमा होली पर्व मनाउने चलन छ।
परिक्रमाको सुरुवात
परिक्रमाको सुरुवात सम्बन्धमा प्रामाणिक दस्तावेजको अभाव छ। तर अहिले सम्म अठारौं शताब्दीको ग्रन्थ श्रीविष्णु पुराणमा उल्लेखित मिथिला महात्मकै आधारमा यसको प्रारम्भ भएको भनिएको छ। पछि उहाँका शिष्य कचुरी मठका महन्थ लारलीशरणले परिक्रमालाई व्यवस्थित गर्दै चलाए। त्यस कारण पनि आजसम्म मुख्य डोला कचुरी मठको नै हुने गर्दछ।
सुरुमा यो पाँच दिनको हुन्थ्यो। सोतीमठका सीताप्रसाद र बराही मठका सुरदास नामक दुई साधु मिथिला महात्मको आधारमा जब बाटो पत्ता लगाई परिक्रमा सुरु गरे तब यो पाँच दिनकै थियो –कल्याणेश्वर, गिरिजा स्थान, क्षीरेश्वरनाथ, धनुषाधाम र पुनः कल्याणेश्वरमा पूर्णाहुति भयो। जब यो सुरु भयो, मात्र केही साधुसन्त नै सहभागी हुन्थे। बाक्लो जंगल, र जंगली जनावरको डरले गृहस्थ जान चाहँदैन थियो। साधु सन्त पनि थोडै मात्रामा हुन्थे। र यो डरले परिक्रमा बन्द पनि भयो। निकै पछि जनकपुरधामस्थित सीता कुण्डका रामदास अचारी नामक साधुको सत्प्रयासबाट स्थानीय र प्रवासी साधुहरु संंगठित गरी घुम्न लगाइयो। पछि उहाँका शिष्य कचुरी मठका महन्थ लारलीशरणले परिक्रमालाई व्यवस्थित गर्दै चलाए। त्यस कारण पनि आजसम्म मुख्य डोला कचुरी मठको नै हुने गर्दछ।
पाँच दिनको परिक्रमालाई रामानन्दीय वैष्णव सम्प्रदायका साधुहरु सीतामढीबाट आएका स्थानीय ज्ञानकुप निवासी सिद्ध साधु प्रेमलताको नेतृत्वमा यसलाई विक्रम सम्बत् १९६४ ई. मा पन्ध्र दिवसीय बनाइयो। प्रेमलताले ५० जना साधुसन्तबाट सुरु गराइएको यो परिक्रमालाई आफ्नो संगठन क्षमताबाट परिक्रमा महत्वप्रति आकर्षित गर्दै गृहस्थहरुलाई पनि यसमा सामेल गराए। आज यो परिक्रमामा भक्तिभावले सामेल हुनेहरुको संख्या लाखौंमा पुगेको छ।
परिक्रमा पथको वर्तमान स्थिति
मध्यम परिक्रमा पथ १३० कि.मि. रहेको छ। भारतमा ३३ कि.मि. र नेपालमा ९७ कि.मि.। पन्ध्र दिनमा प्रतिदिन तीन–चार घण्टा मात्र हिँडेर अर्को आवासमा पुग्न सकिन्छ। बाटोको व्यवस्थापन नहुँदा खेत, कमजोर र बालुवाले भरिएका सडकबाट हिँड्नुपर्ने बाध्यता रहेको छ। यात्रीहरुलाई सहज बनाउन बासस्थानहरुमा धर्मशाला, शौचालय र खानेपानीको उचित प्रबन्धबारे अनेकौं योजना प्रस्तावित रहेका छन्। अहिले यसको सामान्य रुपमा व्यवस्था हेर्ने वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ अर्बको त्यसबापतको योजना केन्द्रमा पठाए पनि त्यो स्वीकृत भने हुन सकेको छैन। विद्युत्, खानेपानीको व्यवस्था वृहत्तरले गर्ने प्रयास गरे पनि त्यो हजारौंको बास स्थलका लागि पर्याप्त हुन सकेको छैन।
जनकपुरधामभित्रको अन्तर्गृह परिक्रमा पक्की बनाइ सकिएको छ। पन्ध्र दिने परिक्रमाको नेपालतिरको ९७ किमिका लागि पटक–पटक योजना बनाइए पनि कार्यान्वयन हुन सकेको छैन। अब प्रदेश सरकारले यो सडकलाई आफ्नो योजनामा राखेर अगाडि बढाउन सके यो आध्यात्मिक र आस्था धारकहरुको विशाल यात्रा पथलाई धार्मिक पर्यटनका लागि पनि आकषर्णपूर्ण बनाउन सकिन्छ।
फागुन आउँदै होलीको शुभारम्भ मानिन्छ, तर यस पाली यो होली चैतमा पर्ने भएकोले यसको सुरुवात परिक्रमाको कंचनवनबाट औपचारिक रुपमा हुने विश्वास गरिएको छ।
rbkapari@hotmail.com
प्रकाशित: २४ चैत्र २०७५ ०८:३० आइतबार