शिवरात्रिमा मेला भर्न आउने साधुलाई पानीले सताउने कुनै नौलो होइन। यसपटक भने थुप्रै साधुले फागुनको दोस्रो सातामा पनि हिउँको सिरेटो खेप्नुपरेको छ। बुधबार रातभरि परेको पानीसँगै उपत्यकामा बिहीबार बिहान भएको हिमपातले पातला कपडामा मेला भर्न आएका साधुलाई पनि लपेटेको छ।
‘म बुधबार राति वीरगन्जबाट हिँडेको थिए,’ भारत उत्तरप्रदेश आएका ५५ वर्षीय छेदीलाल इलाहवादीले बिहीबार दिउँसो भने, ‘काठमाडौंमा ओर्लनेबित्तिकै गज्जबको चिसो भेटे।’ गमर चढिसकेको होला भनेर सामान्य कपडामा आएका उनले बिहीबार बिहान डरलाग्दो भएको बताए।
‘वरिपरि डाँडा सेताम्मे देखिए,’ उनले सुनाए, ‘बसेको ठाउँमा परेको पानी पनि निकै चिसो थियो।’ ३५ वर्षदेखि साधु जीवन जिउँदै आएका उनले केही समय त चिसो सहन निकै सकस भएको सुनाए। १० वर्षदेखि शिवरात्रि मेला भर्दै आएका उनले यसअघि यति चिसो महसुस नगरेको सुनाए। उनी मात्र होइन, सोमबार शिवरात्रि मेला भर्न आएका थुप्रै साधु बुधबार राति र बिहीबार बिहान चिसोबाट पीडित बने। नांगो शरीरमा खरानी घसेर रात कटाउने सुर गरेका उनीहरू कम्बल ओढेर आगोको मुढा ताप्दै गरेका भेटिन्थे।
‘हाम्रो लुगा भनेको खरानी हो,’ नांगा बाबा महन्थ रमन गिरीले भने, ‘पानीले शरीरको खरानी बगाएपछि चलेको हिउँको हावाले जाडो गरायो ।’
‘सोचेकोभन्दा निकै चिसो भयो,’ अलिगढबाट आएका नांगा बाबा प्रताप गिरीले भने, ‘पानीले भिजाएको शरीरमा हिउँको चिसो निकै कडा थियो।’ ३५ वर्षदेखि नांगा जीवन बिताउँदै आएका उनले काठमाडौंमा चिसो अकस्मात भएको सुनाए।
‘हाम्रो लुगा भनेको खरानी हो,’ महन्थ रमन गिरीले भने, ‘पानीले शरीरको खरानी बगाए पनि चलेको हिउँको हावाले निकै जाडो गरायो।’ पानी रोकिएपछि धुनी तापेर जिउ तताएको उनले सुनाए । यस्तै, चिसोको चपेटामा परेका थुप्रै साधु शुक्रबार लागेको घाममा आफ्नो शरीर सेकाउँदै थिए। बिहीबारको चिसो कडा भएरै होला कति त घाममा पनि मूढा ताप्दै गरेका भेटिए। ‘अब केही राहत मिलेको छ,’ हरेन्द्र दासले भने, ‘घाम लागेको छ, दाउरा पनि मिलेको छ।’
साधु–सन्तको रौनक बढ्यो
मौसममा चिसो भए पनि शिवरात्रि नजिकिँदै गर्दा पशुपति परिसरमा साधु–सन्तको भीड लागेको छ। नेपाल तथा भारतका विभिन्न आश्रम तथा मन्दिरबाट आएका साधु–सन्तको जमघट र आगोको धुनीले पशुपती क्षेत्रको माहोल फेरिएको छ। विभिन्न स्थानबाट शिवरात्रिमा मेला भर्न आएका जोगीको जमघटले माहोल रंगीन देखिन्छ।
पशुपति क्षेत्र परिसरमा कोही हातमा त्रिशुल र चिम्टा बोक्दै ‘जय शम्भो’ भन्दै छन् त कोही आगन्तुकलाई देख्नेबित्तिकै पैसाका लागि हात फैलाउन थालेका छन्। यहाँ कोही मोबाइलमा गीत सुन्दै बात थिए भने कोही लट्टा फिजाएर घाममा सुकाउँदै थिए। यहाँ कोही भने ऐना हेर्दै अनुहार सिंगार्नमा मस्त छन् भने कोही तस्बिर खिँचाउन। गाँजाको कडाइ गर्ने पशुपति क्षेत्र विकास कोषको सूचनाको बेवास्ता गर्दै गाँजा मल्दै गरेका साधुका अगाडि युवा झुम्मिनेक्रम विगतझैं यसपाला पनि देखियो।
के हो शिवरात्रि ?
शिवजी उत्पति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोÈ भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ।
को हुन् शिव ?
शिव संस्कृत भाषाको शब्द हो, जसको अर्थ हो– कल्याणकारी अथवा शुभकारी। यर्जुवेदमा शिवलाई ‘शान्तिदाता’ बताइएको छ। शि अर्थात् पाप नाश गर्ने वाला। व अर्थात् दाता।
के हो शिवलिंग ?
शिवको दुई शरीर मानिन्छ। एउटा स्थुल र अर्को सुक्ष्म। सुक्ष्म शरीरलाई लिंगको रूपमा बुझिन्छ। लिंगका अर्थमा धेरैलाई भ्रम छ। संस्कृतमा लिंगको अर्थ चिन्ह हो। यसै अर्थमा शिव लिंगको प्रयोग भएको हो। शिवलिंग अर्थात् शिव चिन्ह।
अर्धनारीश्वर
शिवलाई अर्धनारीश्वर पनि भनिन्छ। आधा पुरुष र आधा महिला। आधुनिक समयमा पुरुष र नारीबीच जति विभेदका कुरा गरिन्छ, प्राचीन समयमा भने नारीलाई पुरुषकै एक अंशको रूपमा सम्मान गरिएको यो दृष्टान्तले देखाउँछ।
कथा
शिवपुराणमा सिकारीको कथा छ। जंगलमा ढिलो भएपछि सिकारीले बेलको रुखमा रात बिताएछन्। रुखमा निदाइएकाले उसले जाग्नका लागि रातमा एक–एक पात चुँड्दै फ्याँक्न थालेछ। संयोगले त्यही रुखको तल शिवलिंग रहेछ। यसबाट शिवजी प्रसन्न भएर सिकारीलाई वरदान दिएको कथामा उल्लेख छ।
प्रकाशित: १८ फाल्गुन २०७५ ०३:४७ शनिबार