२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

सबैको प्रिय लक्ष्मण दाईको चिया

वरिपरि घेरिएर बसेका केही मानिसहरु, कोही चियाको चुस्कीको मजा लिइरहेका थिए भने, कोही चियाको प्रतीक्षामा कुरिरहेका थिए। पानीलाई छेक्न पलास्टिकको ओत लगाइएको थियो। हेर्दा सानो झुप्रो जस्तो देखिन्थ्यो। बिचमा एउटा स्टोभमा दम दिँदै चिया उमाल्न व्यस्त थिए लक्ष्मण खड्का (६०)। बुधबार सिमसिम झरी परेका समयमा वीर र अस्पताल नजिकैको चिया पसलको दृश्य हो यो।

लक्षमण बिहानै ४ बजे वीर अस्पताल र ट्रमा सेन्टरको गल्लीमा आइपुग्छन्। एक खेप दूधका पोकाहरु लिनु, स्टोभ बाल्नु, चियाको भाडा बसाल्नु र चिया बनाउनु उनको दैनिकी नै हो। उनी चिया बनाउने ठाँउमा पुग्दानपुग्दै उनले बनाएको चियाका पारखीहरु उनको प्रतीक्षा गरेर बस्ने उनी बताउँछन्। बिहान चियासँग दुनोट र पाउरोटीको मजा लिनेदेखि चिया मात्र पिएर दैनिकी सुरु गर्नेहरुको भीड लाग्ने उनी अनुभव सुनाउँछन्।

अधिकांश नेपालीहरुको बिहानीलाई शुभ बनाउने कारक तत्वको रुपमा लिने गरिन्छ चियालाई। चिया पिउने रुचाउनेहरुमा सबै उमेर समूहका पर्छन्। चिया र बेकरी आइटम अधिकांश नेपालीहरुको बिहानी खान्की हो। चिया पिएर मुड फ्रेस गर्नेदेखि चियालाई अम्मलको रुपमा लिनेको जमात पनि दिनानुदिन बढ्दै छ। चियाको स्वादमा रमाउने पारखी मध्ये एक हुन्, हरिबहादुर कार्की। उनी महाबौद्धमा समान ओसारपसार गर्ने काम गर्छन्। बिहान दाम्लो हातमा बोकर वीर हस्पिटलको गल्ली तिर लाग्छन्। बिहानीको सुरुवात उनी दूधको चिया पिएर हुने उनी बताउँछन्। दिनको ४ कपसम्म चिया पिउने उनले भने। ‘बिहान चिया र दोनोट खान्छु, दिउँसो र बिहानको खाजा नै यही हो मेरो,’ उनले भने।

वीर अस्पतालमा पलम्बरको काम छाडेर चिया बनाउने व्यवसायमा लागेका लक्ष्मण चिया व्यवसायमा खुसी छन्। थानकोटमा घर भएका उनी महाबौद्धमा नै बस्छन्। चिया बनाउन भ्याइनभ्याई उनी भन्छन्, ‘चिया पिउन सबैलाई मनपर्छ, कसैको अम्बल नै हुन्छ।’ चिया व्यापार सुरु गर्दा उनले दुई प्रकारको चिया बनाएको अनुभव सुनाउँछन्। लोकल र स्पेसल चिया खान सुरुदेखि नै मानिसको भीड लाग्ने उनी अनुभव सुनाउँछन्। उनी भन्छन्, ‘उ बेलामा लोकल अर्थात दूधमा पानी मिसाएर बनाइएको चिया धेरैले खान्थे भने स्पेसल अर्थात दूधबाट मात्र बनाइएको चिया केहीले पिउँथे।’ लोकल चियाको मूल्य एक रुपैयाँ र स्पेसल चियालाई ५ रुपैयाँ लिएको अनुभव उनले सुनाए।

वीर अस्पताल र ट्रमा सेन्टरबीचको गल्लीमा रहेका लक्ष्मणको चिया पसल निकै परिचित छ। अस्पतालको गेटबाट चिया बेच्न सुरु गरेका उनी अहिले भने सरेर केही दूरी माथी चिया पसल चलाउँदैछन्। ‘यता सरेको एक वर्ष भयो, गेटमा अस्पतालको कामले गर्दा  असहज भएपछि पसल यहाँ सारेको हुँ,’ उनले भने।

काठमाडौं हरेकका लागि सपनाको शहर रहेको उनी सुनाउँछन्। धेरैले सपना पूरा गर्न जम्मा हुने थलो भएकाले अवसरहरु धेरै रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘भारी बोक्ने ज्यामीदेखि अस्पतालका डाक्टर र इन्जिनियरसम्म चिया पिउन आउँछन्।’ उनले यसो भनिरहँदा तीन जना डाक्टरले ट्रमा सेन्टरको पर्खाल पारीबाट चिया मगाए। लक्ष्मणले उम्लिदै गरेको थोरै चियामा दुध खनाए। चाङ मिलाएर राखिएको इट्टामा थियो ध्वाँसे डब्बा। डब्बामा थियो चियामा हाल्ने ल्वाङ, सुकुमेल, दालचिनीको चिया मसाला। दूध उम्लिदै गर्दा चिनी, चियापत्ती र चिया मसला हाले। एक छिन् उम्लिएपछि कागजको कपमा चिया हाले। पर्खाल पारी उनको चिया कुरेर बसेका डाक्टरहरुलाई चिया पुर्याइदिए। ‘हाड जोर्नीका डाक्टरहरु हुन्, बिहान, दिउँसो र बेलुकी मैले बनाएको चिया पिउँछन्,’ उनले हास्ँदै भने।

एक पटक चिया खाएपछि फेरिफेरि खान आउँने उनी बताउँछन्। दैनिक चिया व्यापारबाट २५ सय रुपैयाँ कमाई हुने उनी बताउँछन्। प्रायःको रोजाइमा दूधको चिया माग भए पनि कालो चियाका पारखीको संख्या धेरै रहेको उनले बताए। स्पेसल र लोकल चिया बेच्ने उनी अहिले भने कालो र दूध चिया बनाउने गर्छन्। कालो चियाको १५ रुपैयाँ र दूध चियाको २० रुपैयाँ लिने गरेको उनले बताए। दैनिक एक सय प्याकेट दूधको पोकाको चिया बनाउने उनी बताउँछन्। ‘चिया व्यापार सुरु गर्दा दिनको ३ सय पोका दूधको चिया बनाउँथे। अहिले चिया पसल धेरै भए,’ उनी भन्छन्। घरपरिवारका सदस्य पनि उनको चिया पसलमा आएर चिया पिउँछन्। ‘घरकै चिया पसल छ। चिया पिउन अन्त जाने कुरा भएन। घरकामान्छे पनि यहिँ आएर पिउँछन्,’ उनले भने।

समयअनुसार हरेक चिजबिज परिवर्तन भएको उनी सुनाउँछन्। ‘हरेक समानको मूल्य बढेको छ, खानपान, रहनसहनमा परिवर्तन आएको छ। चिया पिउने शैलीमा पनि परिमार्जन भएको छ,’ उनले भने। कफी, चिसो जे जती पेयपदार्थ आए पनि नेपालीको रोजाइमा चिया नै पर्ने उनी बताउँछन्।

प्रकाशित: ११ माघ २०७५ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App