११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

फेसन कन्सस बन्दै नेपाली

जेन्टस आइटम सिभिल मलस्थित ‘च्वाइस’ पसलका /लेडिज आइटमः सिभिल मलस्थित ‘मिलानो’।  तस्बिरः कृष्पा/नागरिक

मैतीदेवीस्थित न्यु ड्रेस एन्ड डिजाइनमा घट्टेकुलामा बस्ने शान्ति कार्की भेटिइन्। उनी जाडोमा लगाउने ज्याकेट छान्न आएकी हुन्। उनको रोजाइमा नयाँ डिजाइनको ज्याकेट खोज्दै थिइन्। उनले भनिन्, ‘भने जस्तो डिजाइनको भेटिदैन भेटिए पनि मनपर्ने कलरको हुँदैन। अझ मूल्य त छोइसक्नु हुँदैन।’ काठमाडौँमा जाडो बढेसँगै बजारमा पनि जाडोमा लगाउने कपडाको व्यापार बढेको छ। शान्तिजस्तै धेरै ग्राहक जाडोको  कपडा छान्न थालिसकेका छन्। व्यापारीहरुले पनि त्यहीअनुसार इन्डिया, चाइना र अन्य देशबाट मगाउन थालिसकेका छन्। 

कस्तो फेसन चलेको छ ?
बजारमा वर्षैपिच्छे नयाँ लुगा नआउने हैनन् तर मलाई यही लुगा ल्याइदिनु भन्ने ग्राहक नेपालमा कमै भएको बताउँछन् विशालबजारस्थित न्यु रेडिमेडका सञ्चालक रोहित  काफ्ले। उनी भन्छन्, ‘मैले यहाँ पसल गर्न थालेको १५ वर्ष भइसक्यो। आजसम्म कुनै पनि ग्राहकले मलाई यो डिजाइनको ल्याइदिनु भनेको थाहा छैन। हिजोआज ग्ल्यामर क्षेत्रको मान्छेले फेसन डिजाइनरलाई भन्लान् तर पसलमा आएर यस्तो कपडा मगाइदिनु भन्ने ग्राहक मैले भेटेको छैन।’

विगत १३ वर्षदेखि जेन्सको कपडाको व्यापार गर्दै आइरहेका सिभिल मलस्थित च्वाइस पसलका सञ्चालक सरोज अधिकारीले जाडोयाममा बजारमा धेरै चल्ने लेदर–फिदरका पहिरन नै भएको बताए। धेरै जसो सामान भारतबाट ल्याउने गरेको र आफूले बढीजसो ज्याकेटभन्दा जम्पर, स्वेटर बिक्री गरेको बताए। उता लेडिज आइटम राख्ने सिभिल मलमा नै रहेको मिलानोकी सञ्चालिका दीपिका खड्काले महिलाहरुले जाडो याममा कोट बढी रुचाउने गरेको बताइन्। उनले भनिन्, ‘जाडोमा लगाउने ज्याकेट जम्परको तुलनामा लामो लङ कोट र जिन्समा फर भएको बढी बिक्री भइरहेको छ यतिबेला।’

ब्रान्डेड सामानमा जेन्सको आर्कषण 
ब्रान्डेड सामान राखेको बताउने च्वाइसका सञ्चालक सरोज अधिकारी भन्छन्, ‘नेपालीहरु बढी फेसन कन्सस छन्। मैले पसल गरेको १३ वर्ष भइसक्यो। पहिले र अहिलेको तुलानामा नेपालीहरुमा बढी फेसन कन्सस भएको पाएको छु तर त्यो समूह भने निकै कम छ।’ उनकोमा किलोमिटर र क्याप्स जस्ता ब्रान्ड बढी चलेको छ। मिलानोकी सञ्चालक दीपिकाले भने लेडिजहरुले प्रायः ब्रान्डमा उति ध्यान नदिने बताइन्। उनले भनिन्, ‘हामीले पसल गरेको ९÷१० वर्ष भइसक्यो। मैले आजसम्म लेडिजहरुले कपडामा यो ब्रान्ड भनेको थाहा छैन, बरु ब्यागमा चाहिँ बढी कन्सस भएको पाएकी छु।’

दीपिकाका अनुसार, ब्रान्ड भन्दा पनि लेडिजहरुले भेराइटीहरु खोज्ने बताइन्। केही दिन अघि मात्रै सामान ल्याएको बताउने दीपिकाले कोटको भेराइटी मात्रै १६ प्रकारको ल्याएको बताइन्। 

मध्यम मूल्यका बढी खोजिन्छ
विशाल बजारका व्यापारी रोहित काफ्लेले ज्याकेटको मूल्य औसतमा ३ देखि ४ हजार रहेको बताए। ‘योभन्दा धेरै पैसा पर्ने पनि नआउने त होइन तर त्यो संख्या निकै न्यून हुने गरेको छ,’ रोहितले भने। ब्रान्डेड सामानहरु ९ देखि १० हजार सम्म पर्ने बताउने उनले नन् ब्रान्डेड सामान ३ हजार ३५ सयसम्म पर्ने गरेको जानकारी दिए। दीपिकाले लङ कोटको मूल्य ६ हजारदेखि सुरु हुने बताइन्। सरोजका अनुसार पहिले र अहिलेको तुलना गर्दा अहिले ग्राहक कम बार्गेनिङ गर्ने बताए। उनले भने, ‘अहिलेका ग्राहक बार्गेनिङ नै नगर्ने त हैन तर ब्रान्डको महत्व र सामान चिन्ने ग्राहकको संख्या बिस्तारै बढ्न थालेको छ। १० हजार मूल्य पर्ने सामग्रीलाई दुई हजारमा दिनुस् न भन्ने चैँ क्रमशः घट्दै जान थालेका छन्।’

दीपिका भने ‘विन्डो सपिङ’ अर्थात् पसलमा आउने, सामान हेर्ने अनि नकिन्ने ग्राहकबाट हैरान भएकी रहिछन्। उनले भनिन्, ‘पसलमा आउने सामान हेर्ने ओल्टाइपोल्टाइ गर्ने अनि नकिनी जाने ग्राहक धेरै छन्। केमा चित्त बुझ्दैन, त्यो पनि भन्दैनन् अनि खुरु खुरु जान्छन्।’ दैनिक रुपमा आफूले न्यूनतम पनि २५ हजार रुपैयाँसम्मको व्यापार गरिरहेकी छन् हुने उनले बताइन्। सरोजले पनि न्यूनतम ३० हजार हाराहारीको व्यापार गरिरहेको बताए।  

प्रकाशित: १ माघ २०७५ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App