१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

‘समान शैक्षिक पहुँच पुर्‍याउने सपना छ’

ध्रुवनारायण मानन्धर, वडा अध्यक्ष, काठमाडौं महानगरपालिका–१३

जनप्रतिनिधि भएर आएपछि जनताले महसुस गर्ने गरी के के काम गर्नुभयो ?
२० वर्षको दौरानमा स्थानीय तह निकै अस्तव्यस्त थियो। वडामा जनप्रतिनिधि नहुँदा विकास निर्माणले गति लिएको थिएन। जताततै हिलो, सडकमा खाल्डाखुल्डी, बत्ती र  पानीको समस्या थियो। निर्वाचित भएर आएको डेढ वर्ष  भइसक्यो। जनप्रतिनिधि आएपछि वडामा विकास निर्माण भएका छन्। वडाको १३ ठाउँमा पिच गरेका छौं। अन्य पाँच ठाउँमा पिच हुने प्रक्रियामा छ।

जनप्रतिनिधि भएर आउँदा सडकमा बत्ती थिएन। जनताले माग गरे अनुसार आवश्यक सबै ठाउँमा सडक बत्ती राखिएका छौं। मैले १३ वडालाई उज्यालो बनाउने अभियान सुरु गरेँ। त्यसका लागि महानगरका मेयर विद्यासुन्दर शाक्यलाई प्रस्ताव राखे। र, बत्तीकै लागि पाँच लाख रूपैयाँ महानगरले निकासा गर्यो। त्यही रकमले बाँकी रहेको ठाउँ सडक बत्ती राख्ने काम हुँदैछ। विभिन्न सामाजिक संजालमा जनताहरूले टंकेश्वर–कालिमाटी सडक पिच नभएको जन गुनासो आयो। त्यसपछि आफै स्थलगत निरीक्षण गरी पिच गर्ने काम सुरु गरिसकेको छु। अस्तव्यस्त रहेका सबै ढललाई व्यवस्थित गरेका छौं।

नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?  
उपत्यकाको खाल्डाखुल्डी पुर्न नसकेको काठमाडौं महानगरपालिकाका स्थानीयले मेयर विद्यासुन्दर शाक्यको आलोचना गरे। खाल्डाखुल्डी पुर्नको लागि मेयरसा’बले यथेष्ठ बजेट उपलब्ध गराउनुभएको छ। वार्षिक तीन करोड रकम खाल्डाखुल्डी पुर्ने, प्रत्येक गल्लीमा ब्लक छापिरहेका छौं। १३ वडा सबैभन्दा ठूलो वडामा पर्छ। अब १३ वडा खाल्डाखुल्डी रहित बनाउने हाम्रो लक्ष्य हो। मेयरसा’ब पनि यसमा लागि रहनुभएको छ। उहाँको सहयोग र सहकार्यले वडा नम्बर १३ राम्रो र व्यवस्थित हुँदैछ।

तपार्इँको वडामा खानेपानी समस्या छ ? कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हाम्रो वडामा खानेपानीको समस्या छ। पूर्वबाट पानी आउने सबै सोर्स बालाजु पर्यो। चाबहिलबाट आउने र दक्षिणकालीबाट आउने पानी सबै उतै जाने भयो। हाम्रो वडा सबैभन्दा अन्तिममा परेकाले यता पानी आउनै पाउँदैन। यो समस्या हल गर्न धेरै पहल गरेको छु। नेसनल म्युजियम बायोहिटीमा सार्वजनिक जग्गामा ड्रिप बोरिङ गरेको थियो। त्यसलाई निरन्तरता दिएर उत्तरी भेगमा पर्याप्त पानी पुर्याएको छु। बाफल पानी नै नआउने ठाउँ हो। त्यहाँ पानी पुर्याउन मैले हालै खानेपानी लिमिटेडसँग समझौता गरेर पाइपलाइन बिछ्याइरहेका छौं। त्यसका लागि चार लाख रकम छुट्टाएको छु। सोल्टीमोडबाट सिधै पाइप जोड्ने कार्ययोजना छ।

तपार्इँको वडामा प्राचीन बस्ती तथा सम्पदाहरू छन् ? संरक्षणका कस्ता योजना अघि सार्नुभएको छ ?
सम्पदा खासै छैनन्। तर, प्राचीन मठमन्दिरहरू छन्। जीर्ण मन्दिरहरूमा तामाको छाना राख्ने, ग्रिल हाल्ने, चर्पी निर्माण,  मन्दिर मर्मतसम्भार तथा जीर्णोद्धार भइरहेको छ।

तपार्इँको वडामा भूकम्पपीडितका कस्ता समस्या छन् ?
हाम्रो वडामा भूकम्पपीडितको त्यति समस्या छैन। भत्काउनुपर्ने अवस्थाका घर वडाले निःशुल्करूपमा भत्काउने गरेको छ। ‘क’ वर्ग प्रमाणित भएका घरका धनीलाई १५–५० हजार रूपैयाँ उपलब्ध गराएको छु। नक्सा पास भएको हकमा घर ठड्याउन दुई लाख दिएका छौं। केहीले नेपाल सरकारबाट पाउने कर्जा पनि पाएका छन्।

तपार्इँको वडामा कति सार्वजनिक विद्यालय छन् ? सार्वजनिक शिक्षा सुधारका कार्यहरू के–के गर्दै हुनुहुन्छ ?  
हाम्रो वडामा चार सार्वजनिक विद्यालयहरू छन्। राष्ट्रिय पुरस्कार पाएका देशकै उत्कृष्ट विद्यालय ज्ञानोदय मावि र निलबाराही मावि हाम्रो वडाका नानीहरूलाई स्तरीय शिक्षा दिएर हामीलाई गर्वको अनुभूति गएको छ। यसका साथै जनप्रभात मावि र पंचकन्याको शैक्षिक गुणस्तर बढाउन वडाले हरेक सहयोग गरिरहेको छ। हाम्रो वडाका सबै बालबालिका सामुदायिक स्कुलमा आकर्षण भइरहेका छन्। यसका लागि वडाले पनि पहल गरिरहेको छ। निलबारहीमा स्थानीयका बालबालिकाहरू पढ्ने वातावरण बनेको छ। स्कुलमा छात्र र छात्राका लागि छुट्टाछुट्टै चर्पी बनाउन सहयोग गरिरहेको छु। म, रामकृष्ण महर्जन र प्रिन्सिपल जानुका नेपालको प्रयासबाट आज निलबारहीमा स्थानीयको आकर्षण बनेको हो। हाल निलबारही र ज्ञानोदय स्कुलमा टनाटन विद्यार्थी भएको देख्दा गर्व लाग्छ। अहिले ज्ञानोदय र निलबाराही माविमा अन्तरवार्ता लिएर विद्यार्थी भर्ना गरेको देख्दा गर्व महसुस हुन्छ। पंचकन्या र जनप्रभातको स्तरवृद्धि गर्न काम गरिरहेको छु।

कालिमाटी क्षेत्रमा बाटोमै ढल बगिरहेछ कहिले व्यवस्थापन हुन्छ ?
म वडा अध्यक्ष भएपछि ति बाटो सफा गर्न लगाएको हुँ। तर, सडक विस्तार विवाद र आउटलेट नभएकाले समस्या आएको हो। अब सडक बनाउने कुरा चलिरहेछ। सडक बनेपछि ढलको समस्या समाधान हुन्छ। म वडा अध्यक्ष नहुँदा पनि महेन्द्ररत्न र कालिमाटीसम्मको दोबाटोसम्म ११ मिटरको फराकिलो पिच गराएँ। मनमति खोला नजिकैका बासिन्दाहरूको घरमा हरेक वर्ष ढल मिसिएको बाढी पसेर धनजन क्षति हुन्छ। तर, म वडा अध्यक्ष भएपछि १२ लाख रूपैयाँ खर्च गरेर फोहोर निकाले। अब घरघरमा पानी पस्ने समस्या छैन। सांसद जीवनराम श्रेष्ठ र प्रदेश सांसद राजेश शाक्यले हरेक वर्ष ५०–५० लाख गरी तीन वर्षसम्म तीन करोड खर्च गर्ने प्रतिवद्धता जनाउनुभएको छ। यो रकमले मनमति खोला वरिपरि रिटेरिङ बाल लगाउने काम अघि बढाएको छु।

फुटपाथ कब्जा गरी व्यापार गर्ने र ट्राफिक जाम समस्या १३ वडाका प्रमुख समस्या कसरी समाधान गर्दै हुनुहुन्छ ?
कालिमाटी–टंकेश्वर सडकपेटीमा तरकारी, कपडा, फलफूल लगायतका सामग्री बेच्नेलाई नगर प्रहरी लगाएर हटाउन थालेको छु। यसमा आंशिकरूपमा सफल भएको छु। टंकेश्वर पुलको दायाँबायाँ पसल राख्न नदिने व्यवस्था गरेको छु। बाटोमा १० वटा सडक बत्ती हालेको छु। रात्रि बत्ती बल्न थालेपछि रात्रि यात्रुहरू समेत खुसी भएका छन्। पूर्णरूपमा फुटपाथ पसलहरू हटाउने प्रयास भइरहेको छ। पुलपेटी बनाउन स्वीकृत भइसकेको छ। अब ट्राफिक समस्या छिट्टै समाधान हुन्छ।

भर्खरै ‘वल्र्ड बडी विल्डिङ च्याम्पियन’ महेश्वर महर्जनको सम्मान र खेलकुद प्रवद्र्धनका लागि तपाईँका नयाँ योजना के छन् ?
खेलकुद प्रवद्र्धनका लागि एक लाख बजेट छुट्याएको छ। महेश्वर महर्जनको सम्मानका लागि नगदसहित एक कार्यक्रम राखेर गर्ने योजना छ।

विष्णुमति नदी वरिपरि हरियाली बनाउने कस्ता कार्यक्रम छन् ?
पक्के पनि खोला छेउ हरियाली बनाउनका लागि वडाका सबै ढल एक ठाउँमा राखेर जाने योजना छ। वडामा  व्यवस्थित ढल राख्न सुरु गरिएको छ। यति भएपछि वृक्षारोपण गरी विष्णुमति हरियाली बनाउने योजना छ।

वडावासी युवालक्षित रोजगार सृजना हुने तालिमका कस्ता योजना छन् ?
महिलालक्षित कार्यक्रमहरूमा अचार बनाउने, ब्याग बनाउने, जुत्ता बनाउने, दालमोट, चिप्स लगायतका बनाउने, व्यक्तित्व र नेतृत्व विकास गर्ने लक्ष्यसहित उद्घोषण कार्यक्रम संचालन गरिरहेका छौं। यसका लागि वर्षेनी एक लाख रकम खर्च भइरहेको छ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
म सामाजिक कार्यकर्ताको रूपमा स्थापित छु। ०४८ सालमा मात्र एमालेको सदस्यता लिए। म आफ्नो कार्यकालमा खानेपानी, ढल, सडक, बिजुली, पुल निर्माण गर्नेछु। ५० प्रतिशत काम सम्पन्न गर्न सफल पनि भएको छु। हाम्रो वडामा आर्थिक अवस्था कमजोर भएका बालबालिका तथा  कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहुने नमुना वडा बनाउने सपना छ। प्रत्येक स्कुलमा निःशुल्क शिक्षा र निःशुल्क खाजाको व्यवस्था गर्ने लक्ष्य छ । आफनै व्यक्तिगत पैसा समेत राखेर खाजाको व्यवस्था गरेको छु।
                                                  प्रस्तुति : रुबी रौनियार

प्रकाशित: २७ पुस २०७५ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App