‘हामी विकास निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ,’ स्थानीय तहका सबै प्रमुखले भन्ने गरेका ‘रेडिमेड’ जवाफ हो यो। काठमाडाैंको पूर्वोत्तरस्थित शंखरापुर नगरपालिकाका मेयरको दाबी पनि यस्तै छ। हो पनि, यो नगरपालिका विकासको यात्रामा लम्किरहेको देखिन्छ। तर, अरु नगरपालिकाभन्दा पृथक बाटोमा।
झण्डै ३३ सय वर्ष पुरानो ऐतिहासिक नगरी साँखु पुग्ने जो–कोहीले देख्न सक्छ– बनिरहेका घर पुरातन शैलीका छन्। धेरैलाई लाग्दो हो, सडकमा भएर पनि सटर किन नहालेको होला ? कस्तो मूर्ख रहेछ। तर, उनीहरूलाई राम्रोसँग थाहा छ– किसटरले प्राचीनता थेग्न सक्दैन। त्यसैले आधुनिकतामा मात्र रमाउँदा प्राचीनता मर्छ।
हो, नगरपालिकाले नगरलाई ‘सम्पदा बस्ती’का रूपमा विकास गर्ने निर्णय लिएपछि साँखुको पहिचान पुनरागमनको बाटोमा छ। भूकम्पले रसातलमा पुर्याएको यहाँको कला र संस्कृति यतिबेला आफ्नै थातथलोमा फर्कँदैछ, नगरपालिकाको हात समातेर। जसका लागि नगरपालिकाले छुट्टै भवन संहिता नै तयार पारेको छ।
भनाइको मतलव, नगरभित्र अर्थात् सम्पदा बस्तीमा पर्ने घर पुनर्निर्माणका लागि यो भवन संहिता पालना गर्नैपर्छ। जसले पालना गर्छ उसले सरकारले भूकम्पपीडितलाई उपलब्ध गराउने तीन लाख रूपयाँबाहेक ५० हजार बढी पाउँछ सरकारबाट। त्यति मात्र हैन, छुट्टै एक लाख रूपैयाँ पनि दिन्छ नगरपालिकाले। अहिलेसम्म १७ जनाले यस्तो सुविधा लिइसकेको मेयर सुवर्ण श्रेष्ठको भनाइ छ।
झण्डै ३३ सय वर्ष पुरानो ऐतिहासिक नगरी साँखु पुग्ने जो–कोहीले देख्न सक्छ– बनिरहेका घर पुरातन शैलीका छन्। धेरैलाई लाग्दो हो, सडकमा भएर पनि सटर किन नहालेको होला ? कस्तो मूर्ख रहेछ। तर, उनीहरूलाई राम्रोसँग थाहा छ– किसटरले प्राचीनता थेग्न सक्दैन। त्यसैले आधुनिकतामा मात्र रमाउँदा प्राचीनता मर्छ।
साँखुको पहिचान घरमा मात्र सीमित छैन। नगरको बीचबाट, त्यो पनि प्रत्येक घरलाई पायक पर्ने गरी सललल बग्ने कुलो यहाँका रैथानेको ‘जीवन रेखा’ नै सावित हुँदै आएको छ। भाँडा सफा गर्न होस् वा करेसाबारीमा लगाउन, अनि बच्चालाई कागजको डुंगा चलाउन होस् वा नगरको शोभा बढाउनै किन नहोस्, यसको भूमिका भनी साध्य छैन। अनि बजारका पोखरी, सत्तल र सार्वजनिक स्थलहरूको संरक्षणलाई पनि नगरपालिकाले व्यवस्थित गरिरहेको छ पुनर्निर्माणकै क्रममा। जसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सघाउने आश्वासन दिएको मेयर श्रेष्ठ बताउँछन्।
ऐतिहासिक शंखरापुर नगरपालिकाको ध्यान सम्पदा बस्ती बनाउनेमा मात्र सीमित छैन। कृषिलाई पनि आफ्नो नगरको काँचुली फेराउन सक्ने तागतका रूपमा देखेका छन् मेयर श्रेष्ठले। ‘परम्परागत घर अब आधुनिक कृषि–औजारले सजिने छन्,’ मेयर सुवर्ण भन्छन्, ‘साँखु अब प्राचीनता र आधुनिकताको संगम बन्नेछ।’
राजधानी, अझ त्यसमा पनि काँठ क्षेत्रका जमिन प्लटिङका नाममा गैरकृषि प्रयोजनमा रूपान्तरण हुने क्रम बढ्दो छ। तर शंखरापुर मात्र यस्तो नगरपालिका हो जहाँको ८० प्रतिशत जमिन अहिले पनि खेतीका लागि तयार छ। यही जमिन आँखामा झल्झल्ती आइरहने मेयर सुवर्ण यसैबाट आफ्नो नगरपालिकामा ‘कृषि–क्रान्ति’ गर्न सकिने विश्वास व्यक्त गर्छन्।
गफमात्र गरेर हुन्न, कृषि–क्रान्तिका लागि काम पनि गर्नुपर्छ भन्ने उनलाई राम्रैसँग थाहा छ। त्यसैले त मेयर श्रेष्ठ नगरपालिकाले अब किसानलाई यान्त्रिकीकरणतर्फ डो¥याउने बताउँछन्। र, यस अभियानमा सामेल हुनेलाई नगरपालिकाले सहयोग गर्ने कामसमेत सुरु गरिसकेको छ। पक्कै हो कि अब हाते ट्रयाक्टर किनुन् वा आलु रोप्ने मेसिन वा कृषि–कर्मलाई सहज तुल्याउने अन्य उपकरण, किसानले आधामूल्य नगरपालिकामा बुझाएपछि उसैले दिन्छ चाहेको उपकरण। यसका लागि नगरपालिकाले किसानलाई आफूलाई आवश्यक उपकरणसहित आधा पैसा जम्मा गर्न सूचना समेत दिइसकेको छ। त्यो पनि सार्वजनिकरूपमै।
कृषिका लागि सिँचाइको महत्व पनि बुझेको छ नगरपालिकाले। त्यसैले त वडा नं. १ को सल्लेपाखामा दुई करोड रूपैयाँ खर्चिएर सिँचाइको काम सुरु हुँदैछ। जसबाट यस क्षेत्रको झण्डै हजार रोपनी जमिन सिँचित हुने दाबी छ मेयर श्रेष्ठको। उत्पादन मात्र हो र ? यस क्षेत्रमा बागवानी विश्वविद्यालय खोल्ने प्रस्तावसमेत पेश गरेका छन् उनले प्रदेश सरकारसामु।
नगरमा रहेका सात माध्यमिक विद्यालय यतिबेला धमाधम बनिरहेका छन्। प्रायः सबैजसो विदेशी सहयोगमा बनिरहेका भए पनि कार्यान्वयन भने नगरपालिकाले गरिरहेको छ। देख्दै चिटिक्क परेका तथा भूकम्प प्रतिरोधी यस्ता भवनले यहाँको पठनपाठन संस्कृति सुधार्न सहयोग पुग्ने अपेक्षा पनि नगरपालिकाको छ।
यो त्यस्तो नगरपालिका भएको छ जसले सबै क्षेत्रलाई समानान्तर महत्वका साथ काम अघि बढाइरहेको छ। ९ वडा रहेको यस नगरपालिकाका तीन वडामा स्वास्थ्य केन्द्र थिएनन्। अहिले भने ती बाँकी वडामा पनि स्वास्थ्य केन्द्र भवन बनिरहेका छन्। मेयर श्रेष्ठ गर्वसाथ सुनाउँछन्– अबको एक वर्षभित्र ९ वटै वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र हुनेछन्।
गर्व गर्न लायक अरु पनि धेरै कुरा छन् यो नगरसँग। अरु नगरपालिकाले आफ्नो नगरको फोहोर उठाउन र व्यवस्थापनकै लागि लाखौँ खर्चिरहेका छन् हरेक महिना। तर शंखरापुर नगरपालिकाले भने यसका लागि सुको खर्च गर्दैन। ब्लु बेस्ट नामक कम्पनीले आफैँ उठाउँछ नगरको फोहोर। अनि आफैँ गर्छ व्यवस्थापन। उसले यस्तो फोहोर संकलन गरेर कम्पोस्ट मल बनाउने भनेपछि उसलाई नगरपालिकाले मात्र एक रोपनी जग्गा उपलब्ध गराएको भनाइ मेयर श्रेष्ठको छ।
पर्यापर्यटन र धार्मिक पर्यटन– पर्यटनका दुई आधार देखेका छन् उनले यो नगरलाई सुहाउँदो। शालि नदी, मणिचुड, वज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्र एकातिर छन् भने अर्कोतिर जहरसिंह पौवा जस्ता रमणीय स्थल यहाँका पर्यटक लोभ्याउने माध्यम हुन्। त्यसबाहेक पनि धेरै स्थल उपलब्ध छन् यहाँ जो सांग्रिलाको खोजीमा मरिहत्ते हाल्नेलाई मोहित तुल्याउन सक्षम छन्।
यति बेला चावहिल–साँखु सडक विस्तार भइरहेको छ तीव्ररूपमा। ५० प्रतिशतभन्दा बढी काम भइसकेकाले चैत–वैशाखसम्म सडक निर्माण पूरा हुने र त्यसले शंखरापुरको मुहारमा चमक ल्याउने विश्वास पनि उनको छ।
‘आधुनिकता’अहिले सबै नेताको मुखबाट निस्कने ‘फेसन’ बनेको छ। तर, शंखरापुरका मेयर सुवर्ण श्रेष्ठलाई भने आधुनिकता त मन पर्छ नै, तर यसैका नाममा प्राचीनताको सती भने कुनै हालतमा स्वीकार्य छैन। त्यसैले उनी यतिबेला आउँदै गरेको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शाली नदीमा लाग्ने मेलाका दर्शनार्थीलाई सहज होस् भनेर बजारदेखि नदीसम्मको बाटो त्यसअघि नै पिच गराउन कम्मर कसेर लागेका छन्।
शाली नदी मेला त्यो सत्य युगसँग जोडिएको छ जसलाई स्कन्द पुराणको केदार खण्डले समेत लावण्य देशका रूपमा वर्णन गरेको छ। मेयर श्रेष्ठ त्यही सत्य युगको लावण्य देशको जगमा कलीयुगको साँखुलाई जीवन्त तुल्याउन लागिपरेका छन् यतिखेर।
प्रकाशित: २७ पुस २०७५ ०४:१२ शुक्रबार