२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

सहरी स्वाद : चिसोमा तात्तातो ‘कफी’

तस्बिर : स्पोर्टस् क्याफे हाउसको फेसबुक वालबाट

कफी खाने प्रचलन १६ औैं शताब्दिदेखि सुरु भएको मान्न सकिन्छ। युरोपको माल्टा (टापु)मा पहिलोपटक कफी प्रस्तुत गरिएको थियो। नेपालमा पाँच–सात वर्षदेखि कफी खाने प्रचलन निकै बढेको व्यापारी बताउँछन्। चिया पसलदेखि स्टार होटल सम्म कफीलाई ‘मेन्यु’का रूपमा राखिएको पाइन्छ। यसो त चियामा पनि कफी राखेर पिउने चलन यदाकदा देख्न सकिन्छ।

बिहान तथा साथीभाइसँगको भेटघाटमा कफी पिउनेहरू बढेको बताउँछन्, पाटनस्थित स्पोर्टस् कफी हाउसका म्यानेजर अर्जुन थापा। पछिल्लो समय कफी खानेहरू बढ्दै गएको उनको बुझाइ छ। उनका अनुसार कफी पारखी युवाहरू बढी छन्। ‘कफी पिउनेहरूमा १६–४० वर्ष उमेर समूह नै बढी छन्,’ उनी भन्छन्। अधिकांशले मिल्क कफी पिउन रुचाउने गरेको उनी बताउँछन्।

कफी चिसोमा मात्र होइन, गर्मी मौसममा पनि पिउन सकिन्छ। गर्मीमा कोल्ड र चिसोमा हट कफी पिउन रुचाउने गरेको थापा बताउँछन्। ‘हाम्रो कफी हाउसमा खाजाको पनि व्यवस्था भएकाले प्रायः खाजा खाइसकेपछि कफी मगाउँछन्,’ उनले भने।

उनको कफी हाउसमा विदेशी ग्राहक पनि आउने गरेका छन्। विदेशीहरूले प्रायः अमेरिकानो फ्लेवरको कफी खान रुचाउने उनी बताउँछन्। विदेशी र नेपालीले खाने कफीको भेराइटी फरक भएको उनले सुनाए। ‘नेपालमा कफी खाने प्रचलन बढे पनि धेरैलाई कफीको स्वादबारे जानकारी नै छैन,’ उनी भन्छन्, ‘कतिपयले त पिउनका लागि पिएजस्तो गर्छन्।’ यद्यपि, कफी रुचाउने जमात बढ्दै गएको उनको बुझाइ छ।

कतिपयले भने दुव्र्यसनको लत छुटाउन कफी पिउने गरेको बताउँछन्, साथी कफी हाउसमा कार्यरत नाइडुप दोर्जे गुरुङ। ‘कफीले स्वास्थ्यलाई फाइदा पनि गर्छ। त्यसैले यसलाई अम्मलको रूपमा भन्दा पनि मिलाएर पिउनुपर्छ,’ उनले भने।

नेपालीले रुचाउने कफीका फ्लेबरहरू
नेपालीले साथीभाइसँगको भेटघाटमा प्रायः कफी पिउने गरेका छन्। अधिकांश युवापुस्ताले रुचाएका केही प्रचलित कफीका फ्लेबरहरू यसप्रकार छन्।

क्यापचिनो
यो विश्वभर लोकप्रिय रहेको कफीको फ्लेबर हो। इटालियनहरूले नास्ता खाने समयमा यही फ्लेबरको कफी पिउने गरेको पाइन्छ। ‘कफी भन्नेबित्तिकै नेपालीको मुखमा ‘क्यापचिनो’ भन्ने नै हुन्छ,’ उनले भने।
क्यापचिनोमा कफी आर्ट कम हुने गुरुङ बताउँछन्। यसको स्वाद निकै फरक हुने उनको भनाइ छ। सामान्यतया क्यापचिनोको मूल्य कफी हाउस अनुसार फरक पर्ने उनको भनाइ छ। अधिकांश कफी पारखीहरूको रोजाइमा क्यापचिनो नै पर्ने उनी बताउँछन्। लाजिम्पाटकी रेखा शाह कफीकी पारखी हुन्। उनी हरेक समयमा कफी खाने बताउँछिन्। ‘मलाई क्यापचिनो निकै मनपर्छ, कफी खाएर नै काम गर्छु, फ्रि समयमा कफी नै पिउँछु,’ उनले भनिन्।

लाटे
नेपालीहरूको रोजाइमा पर्ने कफीमध्ये लाटे पनि एक हो। यो अधिकांश टिन एजको रोजाइमा पर्ने व्यापारी बताउँछन्। स्पोट्र्स कफी हाउसका म्यानेजर थापा ग्राहकले लाटे फ्लेबरको कफी मगाउने गरेको बताउँछन्। लाटेमा कफी आर्ट धेरै गरिने उनको भनाइ छ। उनी भन्छन्, ‘लाटेमा ह्याभ्भी कफी आर्ट हुन्छ, हेर्दा निकै आकर्षित देखिने भएकाले पनि यसको माग धेरै छ।’ नेपालमा यो फ्लेबर धेरैले रुचाएको उनी बताउँछन्। ‘नेपालमा अधिकांश कफी पारखीको रोजाइमा लाटे पर्नुको कारण यसको मीठो स्वाद पनि हो,’ उनले भने। एस्प्रेसोको एक शट, दूध र त्यसपछि फोमलाई माथिबाट कलात्मक तरिकाले सजाइएर लाटे तयार गरिएको हुन्छ।

अमेरिकानो
कफीको स्वाद लिन आउनेहरूमध्ये रोजाइमा अमेरिकानो पनि रहेको गुरुङ बताउँछन्। यो फ्लेबरको कफी प्रायः विदेशीले मगाउने गरेको उनको अनुभव छ। कफी पिउन आउनेहरूले मिल्क र अमेरिकानो छुट्टाछुट्टै मगाउने गरेको उनी बताउँछन्। उनका अनुसार अमेरिकानो कफीलाई एक्सप्रेसोको डबल सट खानेको संख्या धेरै छ। ‘अमेरिकानो कफीमा प्रायः डबल सट रुचाउने बढी भए पनि सिंगल सटको पनि राम्रो माग छ,’ उनले भने।

मोचा
सामान्यतया मोचा ‘यमु यमन’ मा भएको कफीको बिन्सबाट बनाइएको हुन्छ। मोचा एक  लोकप्रिय एक्सप्रेसो पेय पदार्थ हो। मोचामा अन्य कफीमा राखिने भन्दा बढी दुधको मात्रा राखेर बनाइएको हुन्छ। यो चकलेट सिरप अथवा कोको पाउडर, दुध, फोम र हट चक्लेटको समिश्रणबाट तयार पारिने गुरुङ बताउँछन्। दूध चकलेटको स्वाद रुचाउनेहरूले यो फ्लेबरको कफी पिउने गरेको थापा बताउँछन्। पाटनकी रञ्जिता महर्जनलाई मोचा फ्लेबरको कफी मनपर्छ। उनी कफी हाउसबाट कफी मगाउने बताउँछिन्। ‘खास भन्ने हो भने चक्लेट मनपराउने भएर नै मैले मोचा फ्लेबरको कफी खाने गर्छु। अरु कफीमा खासै रुचि छैन,’ उनले भनिन्।

प्रकाशित: २० पुस २०७५ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App