दक्षिण ललितपुरको माझखण्डस्थित रमेश बोम्जनको परिवारले तीन वर्ष एकनाले टहरोमै कटायो। नयाँ घर बनाउने सपना बुन्दाबुन्दै तीन वर्ष कठिनले बिताएका यो परिवार बल्ल घर बनाउन जुटेको छ। परिवारकै मिलिजुलीमा घर बनाउने आधा–आधि काम सकिएको छ। अहिले बन्दै गरेको उनको घरको शैली पुरानैे किसिमको छैन।
घरको आकार–प्रकार केही बदलिएको छ। ढुंगामाटो प्रयोग गरेर बनाइएको घरले हेर्दै होमस्टेको छनक दिन्छ। निर्माण नसकिँदै घरभित्र र बाहिर पाहुना बस्न मिल्ने चिटिक्कको देखिन्छ। गाउँपालिका र छिमेकीले यस्तै शैलीमा घर बनाउन सुझाव दिएकाले त्यसैलाई अपनाएको बोम्जनले बताए।
‘गाउँपालिकाले यस्तो घर बनाउनु भनेर हामीलाई केही तालिम दिएको थियो, तालिम लिएपछि घरको ढाँचा होमस्टेमा बदलेका छौं, अब हामीले घरभित्र पनि व्यवसाय गर्न सक्छौं भन्ने लागेको छ,’ उनले भने, ‘परिवार मिलेर गारो लगाउने, काठ बोक्ने, ढुंगा ओर्साने काम गरिरहेका छौं, राहत रकममध्ये दुई लाख खर्च भइसकेको छ। बाँकी नगरपालिकाले दिन्छ भन्ने आस छ।’
उनको जस्तै ज्योतिमाया बोम्जनको परिवाले पनि होमस्टे शैलीमा घर बनाउँदैछ। पर्यटकीय सम्भावना देखिएको गाउँमा पर्यटक आउलान् र जीवनस्तर सहज होला भन्ने सोचेमा होमस्टे आकारको घर बनाउन लागेको बोम्जनले बताइन्।
‘हामीले स्थानीय उत्पादन खुवाएर बाहिरबाट आएका पर्यटकलाई आनन्द र गाउँलेपनको आभास दिलाउन सक्छौं,’ उनले भनिन्, ‘घर तयार नहुँदै काठमाडौं र तराईदेखि आउने स्थानीय पर्यटकको भीड लाग्न थालेको छ।’ होमस्टे आकारको घर तयार पार्न दुई देखि पाँच लाख रूपैयाँसम्म लाग्ने उनको अनुमान छ।
अहिले बन्दै गरेको घरको शैली पुरानैे किसिमको छैन। घरको आकार–प्रकार केही बदलिएको छ। ढुंगामाटो प्रयोग गरेर बनाइएको घरले हेर्दै होमस्टेको छनक दिन्छ। निर्माण नसकिँदै घरभित्र र बाहिर पाहुना बस्न मिल्ने चिटिक्कको देखिन्छ।
ज्योतिमाया र रमेशको परिवार मात्रै होइन, अहिले माझखण्डमा नयाँ घर बनाउन स्थानीयलाई भ्याइनभ्याई छ। कसको घर चिटिक्क र बलियो बन्छ भनेर स्थानीयमा हानाथाप चलेको छ। उनीहरूले घर होमस्टे आकारमा बनाउनुको कारण पनि छ। यो क्षेत्रले प्रशस्त पयर्टकीय सम्भावना बोकेको छ। पर्यटन विकासको अर्को आधार माझखण्ड पर्यटन विकास परियोजनाले छपेली–माझखण्ड केबलकार (२.८ किमी) सञ्चालन गर्ने योजना अघि बढाएको छ।
केबुलकारको प्रारम्भिक वातावरणीय परीक्षण (आइई रिपोर्ट) अन्तिम चरणमा पुगेपछि यहाँको चर्चा चल्न थालेको छ। केबलकार सञ्चालन भएपछि पर्यटकको ओइरो लाग्ने अनुमान गरिएको छ। केबलकार मात्रै होइन, यो प्राकृतिकरूपमा भरिपूर्ण पडाही डाँडो मानिन्छ। यहाँ रमिते भ्युटावर, रुद्रेश्वर महादेव, बुद्ध विहारलगायत धेरै पर्यटन आर्कषणका ठाउँहरू छन्।
शारदा शिक्षा सदन माझखण्डका प्रधानध्यापक प्रकाश श्रेष्ठ यातायात सहज र प्रचारप्रसार भए यी ठाउँमा होमस्टेमात्रै नभएर अन्य व्यवसाय पनि फस्टाउने बताउँछन्। उनले यो क्षेत्रमा होमस्टे सञ्चालन गर्दा उल्लेखीय रूपमा फाइदा पुग्ने बताए।
‘उपत्यका नजिकको यति राम्रो र सुन्दर ठाउँ अन्त छैन। तर, यसबारे सरकारी निकायले खासै चासो दिएन,’ उनले भने, ‘उपत्यकामा त्यति धेरै पयर्टक आउँछन्, तिनलाई यहाँसम्म ल्याउन सकियो भने ओझेलमा परेको माझखण्ड चर्चामा आउने थियो।’
ललितपुरको ग्रामीण भेगमा पर्ने माझखण्डबाट तराई र हिमशृंखला अवलोकन गर्न सकिन्छ। यहाँका डाँडापाखा दुर्लभ मानिन्छन्। अहिले यो पहाडी भेग सबैभन्दा विकट गाउँ मानिन्छ। बाटोघाटो पुगे पनि यहाँ सरकारी सेवा सुविधा पर्याप्त पुगेको छैन। पछिल्लो समय यस क्षेत्रको पर्यटन विकासको लागि जनप्रतिनिधि, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, ललितपुर उद्योग वाणिज्य संघ, गाउँपालिकालगायत संघसंस्थाले चासो दिएका छन्।
पयर्टनको आवातजावत बढेकाले वैदेशिक रोजगारमा गएर युवाहरू पनि फर्कन थालेका छन्। गाउँमा पर्यटनको सम्भावना रहेकाले धेरैजसो युवाहरू कृषि र होमस्टे सञ्चालनको तयारीमा जुटेका हुन्। तिनैमध्येका एक हुन् – तेजबहादुर पासाङ। उनी चार वर्ष वैदेशिक रोजगारीका सिलसिलामा कतार र युएईमा बिताए। तर, वैदेशिक रोजगारको क्रममा कमाएको पैसा त्यति बचत भएन। आफ्नै गाउँमा पैसा फलाउन सक्ने सम्भावना हुँदाहुँदै विदेशी गएका पासाङ अहिले बाख्रा पालन, कुखुरा पालन र खेतीपातीमा जुटेका छन्।
‘गाउँमा उत्पादन भएको हरेक कुरा अहिले खोसाखोस हुन्छ,’ उनले भने, ‘रुद्रेश्वर महादेव स्थानमा वर्षको एक पटक मात्रै पर्यटक आउँथे, अहिले हरेक दिन आउँछन्। पर्यटक बढ्न थालेपछि होमस्टे सञ्चालन गर्ने योजना बनाएको छु।’
डेस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष गोपाल सञ्जेलले पर्यटक विकासको लागि यो क्षेत्रले मुख्य भूमिका खेल्ने हुदा केबुलकारमार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यमा रहेको बताए। उनले उपत्यका नजिकै रहेको प्राकृतिक माझखण्ड ओझेलमा परे पनि त्यसलाई उठाउने र पर्यटन विकास गर्ने आधारस्तम्भ धेरै रहेको बताए।
‘माझखण्ड ओझेल परेको गन्तव्य हो, यसलाई उजागर गरेर दुवै पक्षबाट फाइदा लिन सकिन्छ,’ उनले भने, ‘एकातिर गाउँलेको जीवनस्तर सुध्रन्छ अर्काेतिर पर्यटन क्षेत्रको विकास हुन्छ।’
उनका अनुसार होमस्टे सञ्चालनमा ल्याउन बाग्मती गाउँपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ। माझखण्डबाट पदमार्ग हुँदै गोटीखेलको त्रिवेणी वैतरणीधाम र घडघडा नदी पुग्न सकिन्छ। वैतरणीधामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व डरेको खोर नामक टापु पनि छ। माझखण्ड हुँदै गिम्दीको चमेरे गुफा, भारदेउको गुप्तेश्वर गुफा, गोटीखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, गिम्दीको चमेरे गुफा र प्युटारको नागगुफा पुग्न सकिन्छ।
प्रकाशित: २८ मंसिर २०७५ ०५:०५ शुक्रबार