१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

मादले दाइ

झण्डै वर्ष दिन अघि त्रिपुरेश्वरस्थित नेपाली लोकबाजा संग्रहालयमा बाजा बिशेषज्ञ रामप्रसाद कँडेलले हामीसँग प्रेमदेव गिरीको योगदान सुनाएका थिए–‘यति धेरै ताल र सुरमा मादल बजाउने अर्को मादले मैले देखेको छैन। उनी त लिजेन्ड नै हुन्।’

त्यही दिन कँडेल दाइसँग उनको सम्पर्क नम्बर मागेर कल गरेको थिएँ। ‘काठमाडौं आएका बखत भेट्नु पर्छ है दाइ’ भनें। गत वर्षको माघमा सम्मान ग्रहण गर्न उनी काठमाडौं आउँदा म घुमफिरमा निक्लेको थिएँ, भेट हुन पाएन। यसपाली बल्ल भेट्ने साइत जु-यो त्यो पनि उनकै शहर विरेन्द्रनगरमा।   

तिहारको रमझम सुरु हुनै लाग्दा हामी दैलेख जिल्लाका पञ्चकोशी तीर्थस्थल घुमेर फर्किंदैथ्यौं। नेपालगञ्ज फर्केनेक्रममा कवि दीपेन्द्रसिंह थापा र म उनकोमा पुग्यौं। सरसर्ती उनको जीवन कथा सुन्दा तीन घन्टा वितिहाल्यो। छोटो समयमै धेरै ज्ञान बटुल्यौं हामीले।  

सुर्खेतमा बसेर नेपाली वाङमय गोडमेल गरिरहेका माली हुन्–प्रेमदेव गिरी। उनले रंगमञ्चमा ५० वर्ष विताइसके। लोकगीत, नाटक र बाद्यबादनमा सिंगो जीवन अर्पण गरेका गिरीले कमाएको सम्पत्ति भन्नु नै आत्मसंतुष्टि हो। हरपल त्यही सन्तुष्टि झल्किन्छ उनको मुहारमा।  

समग्र नेपाली वाङ्मयको उन्नयनमा प्रेरणादायी भूमिका निवार्ह गरेका छन् उनले। उनको रंगमञ्च यात्राले पाँच दशक पार गरिसक्यो। नाटक अभिनय, बाद्यवादन र लोकगीत संकलन उनका प्रमुख काम हुन्। बुढ्यौलीमा समेत उत्तिकै सक्रिय छन्–प्रेरक कर्ममा।

आज पनि सुर्खेतकै इन्टरनेशनल कोअपरेटिभ उच्च माविमा संगीत शिक्षकका रुपमा कार्यरत छन्। यसरी बुझौं उनले जीवन बाँच्ने बाटो समातेका छन्। सरल ढंगमा बाँच्न जानेका छन्।

फर्केर हेर्दा आफ्नै जीवन कथा जस्तो लाग्छ उनलाई। सांस्कृतिक संस्थानले आयोजना गरेको १४ अञ्चल नृत्य प्रतियोगितामा भेरी अञ्चलको प्रतिनिधित्व गरेर सुर्खेतबाट काठमाडौं आइपुगेका थिए बालकृष्ण मानन्धर, भिमबहादुर कार्की, टेकराज भारती, गोपाल बस्नेत, बिमला गन्धर्ब र प्रेमदेव गिरी। मानन्धर संरक्षक थिए भने कार्की टोली प्रमूख। त्यसैगरी नृत्यमा भारती र बस्नेत थिए भने गायन र नृत्यमा गन्धर्ब। अनि त्यो टोलीमा बाद्यबादनको जिम्मा पाएका थिए प्रेमदेवले।

नृत्यमा भेरी अञ्चल पहिलो भयो। संस्थान स्थापना भएदेखि नै हरेक वर्ष फागुन ७ गते यस्तो प्रतियोगिता गरिन्थ्यो। पछि पुस १ गते गर्न थालियो। प्रेमदेवको समूहले चल्तिको भन्दा पनि गतिवान बेगमा नाचगान देखायो। काठमाडौं छक्क प-यो। लगत्तै त्यो समूहका ५ जना मध्ये भारती, बस्नेत र गिरीले संस्थानमा जागिरको मौका पाए। प्रथम भएपछि  संस्थानका हाकिमहरूले अनुरोध गरे, ‘तिमीहरु जाँगरिला छौं, प्रगति गर्न सक्छौ, संस्थानमा जागिर खानु पर्छ है।’  

बादी समुदायका मितबाले सानैमा उपहार दिएको मादल खेलाउँदाखेलाउँदै उनी कुशल बाद्यबादक बने। उनको जीवन संघर्ष प्रेरणादायी छ। ६५ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्। यतिबेला उनको मनमा आफ्नो जीवनकथा उधिनेर आत्मकथाको पुस्तक प्रकाशन गर्ने हुट्हुटि चलेको छ।

त्यो प्रतियोगितामा बस्नेतले सुर्खेत बुलबुल ताल.. ख्याली गीतमा शान्त्वना पुरस्कार पाएका थिए। पछि यो गीत ०३४ सालतिर रत्न रेकर्डिङ संस्थानमा गणेश रसिक, नविन किशोर राई, गंगा राणा र कमला श्रेष्ठको स्वरमा रेकर्ड गरियो।  

संस्थानमा ०२९ फागुनदेखि जागिरे भएपछि उनले कहिले बाजा बजाए, कहिले अभिनय गरे। जागिरे जीवन चलिरह्यो। करारको जागिर थियो जो। संस्थानले ३० असारमा मञ्चन गरेको पहिलो नाटक ‘हरिशचन्द्र’ मा उनले बटुवाको भूमिका जमाए। हरिश्चन्द्रको भूमिकामा पुरुषोत्तम सापकोटा, रानीको भूमिकामा शुभद्रा अधिकारी, ऋषिको रुपमा सिद्धान्तराम जोशी लगायत थिए। नाटकका निर्देशक थिए गोपीकृष्ण अर्याल।

त्यसपछि उनले नाटक, गीतिनाटक र भाव नाटकमा अभियन गरिरहे। तर उनको रंगमञ्चको यात्रा भने त्यो भन्दा धेरै पहिल्यै सुरु भैसकेको थियो। उनको गाउँमा बडा दशैंका बेला हिलेखाली युवा समूहले नाटक देखाउँथ्यो। ‘सौतेनी आमाको छोरा’ शीर्षक नाटकमा उनले छोराको रोल पाएका थिए। यो कथा ०२५ सालको हो, त्यतिबेला उनी १४ वर्षका मात्रै थिए। त्यस हिसाबले ०७५ सालसम्म आइपुग्दा रंगमञ्च यात्राले ५० वर्ष पुरा गरिसक्यो।

कलाकार हरिप्रसाद रिमालको सामिप्यमा रहेर उनले रेडियो नेपालमा ०३२ देखि ०४० सालसम्म रेडियो रूपक (श्रब्य नाटक)मा काम गरे। नाचघरमा चाहिँ मुनामदन, मुटुको व्यथा लगायत दर्जनौं नाटकमा अभिनय गर्ने अबसर पाए। उनले नाट्यकर्ममा मञ्च सजाउने, बत्ति बाल्नेदेखि सहयोगी भएर काम गरेको अनुभव सुनाए।

प्रज्ञा प्रतिष्ठानले ६० को दशकमा आयोजना गरेको राष्ट्रिय नाटक महोत्सवमा उनी बागीना समूह सुर्खेतका तर्फबाट ‘दागबत्ती’ नाटक निर्देशकका रुपमा काठमाडौं आएका थिए।

सृजनामा निरन्तर क्रियाशील छन् प्रेमदेव। घरायसी कारणले उनले ०४१ सालमा जागिर छाडिदिए। जन्मथलो सुर्खेत फर्के। पछि ०४३ सालमा फेरी रेडियो नेपालमा फर्के। तिनताका पाण्डव सुनुवारले रेडियो नेपालमा ‘रोधी प्रतिभा साँझ’ कार्यक्रम चलाउँथे। उनले त्यहाँ मादल बजाउन प्रस्ताव गरे। यसरी ०४५ सालसम्म बजाए मादल। रेडियो कार्यक्रम चौतारीमा पनि युक्त गुरुङ, नारायण रायमाझी, बमबहादुर कार्कीहरूसँगको साथमा मादल बजाए।  

बजाउन त उनलाई डम्फु, खैंजडी, ढोलक लगायत थुप्रै बाजा बजाउन आउँछ। तर कुशल मादलेका रूपमा उनको ख्याती चुलिएको छ।  

सजिलो छैन काठमाडौंमा बाँच्न। हिजो पनि सजिलो थिएन। स्वास र्फेन बाहेक हरेक कुरा किन्नु पर्छ। विशुद्ध कलाकार भएर यहाँ टिक्न सकेनन् उनी पनि। ‘घर व्यवहारले पनि थिच्यो’, उनी सम्झन्छन्, ‘त्यसैले ०४५ साल माघमा म फेरी सुर्खेत फर्के।’

उनले ०२७ सालमा सुमित्रासँग विवाह गरे। छोरा देवराज र छोरी हीमा छन्। छोराबुहारीसँग बस्दै आएका छन्। देवराज उनको बिँडो थाम्दैछन्, मादल बजाएर।  

जिन्दगी चलाउन केही कमाउनु पर्छ। जसले जे जानेको छ त्यसबाटै आर्जन गर्ने हो। सुर्खेत फर्केपछि ०४६ सालदेखि ०५८ सालसम्म उनी इगर ब्रीज माध्यमिक विद्यालयमा अतिरिक्त संगीत शिक्षक बने। नाट्यकर्मलाई अघि बढाउन उनकै संरक्षकत्वमा ५० को दशकमा बागीना समूह, सुर्खेत गठन गरियो। त्यसले संगीत र नाट्य विकासमा नयाँ र पुराना सर्जकबीच पुल हाल्ने काम ग-यो।   

लोकगीत संकलकका रुपमा उनको चिनारी फैलिएको छ। विसं ०३१ देखि ०४५ सालसम्म उनका संकलनका लोकगीत गाउनेहरुको सूचि लामै छ। त्यो लहरमा गणेश रसिक, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, कमला श्रेष्ठ, गंगा राणा, नविन किशोर राई, कुमार बस्नेत, ज्ञानु राणा, साबित्री शाह, नारायण रायमाझी, लोकबहादुर क्षेत्री, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, प्रविण गुरुङ, कविता आले, उमा गुरुङ, माया गुरुङ, तारा थापा, नविना श्रेष्ठ, गणेश परियार आदि पर्छन्।   

त्यस्तै ०४५ सालपछि सुर्खेतस्थित रेडियो नेपालको क्षेत्रिय प्रशारण केन्द्रबाट भिमबहादुर कार्की, गंगा केसी, शिव खड्का, कमल निर्मोही, श्याम कँडेल, निलमणि भारती, टीकाभत्त भारती, चन्द्रा गिरी, चन्द्र राजी, डम्बर आचार्य, मानुु गुरुङ, मनु मन्दिर लगायतले गाएका छन्।

सयौं लय र भाका संकलन गर्न सफल बने उनी। सुर्खेत आफैंमा रंगीन फूलबारी हो जहाँ थरिथरिका जातजाति मिलेर बसेका छन्। हिउँदमा जाजरकोट, सल्यान, जुम्ला, हुम्लादेखि तराईसम्मका मान्छेको भिड लाग्थ्यो। तिनकै संगतले र मेलापर्वमा सुनेर, देखेर अनि बुझेर प्रेमदेव लोकगीत संकलन गर्थे। अझै गर्छन्।  

आखिर लोकमा गृुञ्जिने भाका नै लोकप्रिय बन्छन्। उनले संकलन गरेका दर्जनौं गीतले लोकप्रियताको शिखर चुमेका छन्। नृत्यप्रधान गीतलाई स्थापित गराउने श्रेय पनि प्रेमदेवको समूहलाई जान्छ। जस्तो कि कमला श्रेष्ठ र भुवन चन्दले गाएको ‘जाउँ माया बुलबुले, लोकबहादुर क्षेत्रीले गाएको ‘हाँस्ने, खेल्ने मनैमा थियो’, नारायण रायमाझीले गाएको ‘नैर पानी धारा आउने’ र कुमार बस्नेत, तारा थापा र मधु क्षेत्रीले गाएको ‘हाँसौंला÷खेलौंला’ बोलका गीत प्रेमदेवकै संकलन हुन्।

गाउँघर डुलिराख्ने र गामबेसीकै कथाव्यथा सुन्ने÷सुनाउने भएकाले चाँडै घुलमिल हुन्छन् उनी। बाजे पुस्तादेखि नाती पुस्तासँग मिल्छन्।

यतिबेला सुर्खेतको रंगमञ्च इतिहास खोतल्दैछन् प्रेमदेव। उनका अनुसार सार्बजनिक मञ्च बनाएर नाटक प्रदर्शन गरिएको विसं २००२ सालमा हो। त्यो बेला सुर्खेतको गोठीकाँडा, टुँडिखेलमा हरिशचन्द्र नाटक देखाइएको थियो। ‘त्यहाँ २४ सालसम्म बेलाबेलामा नाटक मञ्चन गरेको पाइन्छ’, उनले सुनाए, ‘२५ सालदेखि नाटकले गति लिएको देखिन्छ।’

त्यसो त कटकुवास्थित नारायण मन्दिरमा विसं १९९४ मै नारायण पूरी महाराजले धार्मिक नाटक देखाएको इतिहास छ। त्यहाँ रामायण र महाभारत कथालाई नाटकका रुपमा ढालिन्थ्यो। विसं २००२ सालतिर खुल्ला रंगमञ्च पाएसँगै नाट्यकर्मले व्यापकता पाएको हो।

अथक यात्री हुन् प्रेमदेव। उनी झैं गायक भिमबहादुर कार्की, संगीतकार गंगा केसीले निरन्तर संगीतकर्ममा लागिरहेकै छन्,ओदानका तीन खुट्टा झैं। संगै रंगमञ्च यात्रा थालेका मानन्धर, बस्नेत र भारती वितिसकेको प्रेम दाइले सुनाए।  

सानैदेखि बाद्यबादनमा लागेका हुन् उनी। त्यसो हुनुमा बादी समुदायको सांगीतिक माहौलको प्रभावले प्रेरित गरेको छ। बादी मितबाले उनी ७–८ वर्षको छँदा मादल उपहार पाएका थिए। त्यही मादल खेलाउँदा खेलाउँदै उनमा संगीतमा टक बस्यो।

उनका बाले वादीसँग मित लगाउनुमा एउटा कारण छ। उनकी जेठी आमाबाट एक दाइ जन्मेका थिए। आमा बितेपछि दाइ पनि बिते। बाले अर्की बिहे गरे। अब जन्मने सन्तान बचोस् भनेर उनले वादी समुदायसँग मितेरी साइनो गाँसे। प्रेमदेव जन्मिए। उनको जन्म सार्थक बन्यो। उनी लोक वाङमयमा सुवास छरिरहेका छन्, कुशल माली बनेर।

सिंगो जीवन सृजनात्मक कार्यमा विताएका प्रेम दाइले केही पुरस्कार पाएका छन्। उनी सांस्कृतिक संस्थान, संगीत नाट्य प्रतिष्ठान, नविन कला मन्दिर, दोहोरी गीत प्रतिष्ठान, नेपाली लोकबाजा संग्रहालय, बागीना समूहबाट सम्मानित भैसके। राज्यले दिने कुनै विभुषण वा तक्मा उनले पाएका छैनन्। राज्य त राजनीतिको भ¥याङ चढ्नेहरूलाई मात्र सम्मान गर्छ हाम्रो देशमा।  

आत्मसंतोषका लागि रंगकर्ममा जुटेका हुन् उनी। त्यसैले उनमा असन्तुष्टि देखिँदैन। कुराकानीको सिलसिलामा उनले अनौठो कुरा सुनाए, ‘५० सालदेखि दिनमा साँझ १ छाक मात्रै खाना खाँदै आएको छु। बिहान २ कप जति चिया खान्छु। दिउसो खाजा खान्न।’

अचेल पनि मादल बजाउने निम्तो आइरहन्छ। मिलेसम्म बजाउन पुग्छन्। ‘परि आएमा अझै पनि लगातार ४ घन्टासम्म आनन्दले मादल बजाउन सक्छु’, उनको आत्मविश्वास बलियो छ।

जीवनमा विभिन्न भूमिका निर्वाह गरे पनि उनी आफूले आफैंलाई एउटा संकलक मात्रै ठान्छन्। कुनै घमण्ड छैन उनमा। धेरै मान्छेको सहयोगले मात्र आफू कलाकार प्रेमदव गिरी बनेको सुनाउँछन् उनी।

हामीले कुराकानीको बिट मार्नु अघि उनलाई सोध्यौं, ‘जीवनमा कुनै रहर बाँकी छन् कि प्रेम दाइ ?’
उनले लगाइराखेको पावर चश्मा फुकालेर हातमा लिँदै भने, ‘आफ्नो जीवन यात्रा लेखेर एउटा किताब बनाउने रहर बाँकी छ।’

उनको आत्मकथा चाँडै पढ्न पाइयोस। धेरै धेरै शुभकामना !

प्रकाशित: २२ मंसिर २०७५ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App