४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

झलक्क पञ्चासे

अग्ला पाँचवटा डाँडाहरुको संगम हो पञ्चासे। डाँडाका ति टाकुरामा शिद्धबाबा, धर्मशाला,  महादेव, भ्यू टावर, चौबिसे राज्यकालीन गढी र बुद्धका मूर्ति छन्। खासमा कास्की, पर्वत र स्याङ्जाको संगमलाई पञ्चासे भनिन्छ।

पञ्चासे क्षेत्र ५,५०० हेक्टरमा फैलिएको छ जुन ७८४ देखि २,५१७ मिटर उचाइमा छ। स्वभाविक छ अग्लो डाँडा भएकाले त्यहाँबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, हिउँचुली, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालको लर्कन देखिन्छ। सूर्योदय र सूर्यास्त त देखिने नै भयो।

डाँडामा पञ्चशिल ताल छ। बराह मन्दिर छ। डाँडामा पहिला ऋषिमुनि बस्थे। विसं २०२३ सालमा जंगलमा आगलागी भएपछि उनीहरू बिस्थापित भए। जे होस् योग र ध्यानका लागि पञ्चासे पवित्र भूमि मानिन्छ।  

पञ्चासेबाट हिमालको लामो लर्कन देखिन्छ। छोटो दुरी र सजिलो पदमार्ग भएकाले सबै उमेरका पदयात्री पञ्चासे यात्रा गर्न सक्छन्। दिनको दुई हजार रुपैयाँ भयो भने बेड, ब्रेकफास्ट, लन्च र खाजालाई पुग्छ।   

जैबिक फूलबारी मानिएको पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइन्छ भने  त्यहाँको जंगलमा जंगली जनाबर भेटिन्छन्। फेवातालको मुहान हर्पन खोला, आँधीखोला, रतीखोला, जरेखेला र सेतीखोलाको मुहान पनि पञ्चासे नै हो।

पञ्चासे काखमा करिब ७० हजार जनसंख्या बस्छ। त्यहाँ गुरुङ, मगर, बाहुन, क्षेत्री, विश्वकर्मा, परियार, नेपाली र नेवार लगायत जातजाति बस्छन्। पञ्चासे काखका गाउँहरु कालाबाङ, चित्रे, भदौरे, देउराली, तालिवराङ, आर्थर र सिधाने लगायत गाउँमा होमस्टे सुविधा छ। ख्याल गर्नुस् है होमस्टेमा पहिल्यै खबर गरेर जानु पर्छ। घाम नअस्ताउँदै गाउँ पुगिसक्नु पर्छ।

सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ। उसले ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने घोषणा गरेको छ। उसले प्रदेश नं १ मा सन्दकपुर, प्रदेश नं २ मा जनकपुर, प्रदेश नं ३ मा इन्द्रसरोवर, प्रदेश नं ४ मा पञ्चासे, प्रदेश नं ५ मा देवदह, प्रदेश नं ६ मा राराताल र प्रदेश नं ७ मा भादा गाउँको विकास गर्ने योजना बनाएको छ।
पञ्चासे घुम्ने यो राम्रो सिजन हो। यतिबेला हिमाल खुलेका छन्। त्यसैले न्याना कपडा बोकेर यात्रा थाल्ने कि ! पदयात्रा गर्दा फेवातालबाट कालाबाङ हुँदै भुम्दीमा गएर पहिलो बास। दोस्रो दिन करिब ५ घन्टामा पञ्चासे भञ्ज्याङ पुगिन्छ। भञ्ज्याङमा आधा दर्जन होटल छन्। त्यहाँबाट डेढ घन्टा उकालो चढे पञ्चासे शिखरमा पुगिन्छ जहाँ एउटा मात्रै होटल छ।

अर्को दिन सूर्योदय दर्शन पछि खाना खाएर पञ्चकोशी ताल हुँदै पर्वत जिल्लाको चित्रे गाउँ झर्नु बेस हुन्छ। डाँडाबाट ४ घन्टामा चित्रे झरिन्छ। त्यहाँ सामुदायिक होमस्टे छ। भोलिपल्ट चित्रेबाट पाउँदुरसम्म पदयात्रा गरेर साँझ पोखरा झर्न सकिन्छ। अथवा चित्रेबाटै गाडीमा पोखरा फर्कन मिल्छ।

पोखराबाट नजिकैको, छोटो दुरीको सुन्दर पदमार्ग हो पञ्चासे। आन्तरिक पर्यटकका लागि समेत आकर्षक देखिन्छ। दिनको दुई हजार रुपैयाँ भयो भने बेड, ब्रेकफास्ट, लन्च र खाजालाई पुग्छ। किशोरदेखि बुढापाकासम्म हिँड्न सक्छन् पञ्चासे मार्गमा।  

कसरी पुग्ने : काठमाडौं–पोखरा २१० किमि बसमा ६ घन्टा अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रा। पोखराबाट पञ्चासे जाने मुख्यतः ४ बाटा छन्। पोखराको हल्लनचोकदेखि पञ्चासे भञ्ज्याङसम्म २९ किमि। भञ्ज्याङसम्मै कच्चि सडक छ। हल्लनचोकबाट घाँटिछिनासम्म सार्बजनिक बस चल्छ। घाँटीछिनाबाट ५ घन्टा पदयात्रामा पञ्चासे। पोखरा–नाउडाँडा–सेती दोभान–आर्थर डाँडाखर्क ४६ किमि बसमा। आर्थरबाट ४ घन्टा पदयात्रामा पञ्चासे। त्यस्तै पोखरा–काँडे–देउराली–चित्रेसम्म बसमा। चित्रे–पञ्चासे ४ घन्टा पदयात्रा। र, पोखरा–काँडे–भदौरे देउराली बसमा। देउराली–पञ्चासे ४ घन्टा पदयात्रा। अथवा फेवाताल किनारबाटै दुई दिन पदयात्रा। 

चित्रेमा स्वागत  
सुशिलादेवी गुरुङ
अध्यक्ष, चित्रे सामुदायिक होमस्टे

पञ्चासे पदमार्गमै पर्छ हाम्रो गाउँ। हामीले पर्यटकलाई सस्तोमा खाना र बास सुविधा दिँदै आएका छौं। चित्रेबाटै पञ्चासे पदयात्रा शुरु गर्दा पनि हुन्छ अथवा चित्रे गाउँमा  पदयात्रा समापन गरे पनि हुन्छ। एक रात चित्रेमा बस्ने गरी आउनुस् है।  
सम्पर्क : ९८४७७९१९८६

प्रकाशित: १५ मंसिर २०७५ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App