११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

भण्डारखालमा बन्दैछ पुरातात्विक बगैँचा

ललितपुर पाटन दरबारको पछाडिपट्टि करिब ८ रोपनी भागमा फैलिएको भण्डारखाल पुरातात्विक बगैंचा (आर्कियोलोजिकल गार्डेन)मा परिणत हुने भएको छ। सम्पदा क्षेत्रमा रहेको उक्त जग्गा प्रयोगविहिन र अव्यवस्थित भएकाले त्यसलाई सम्पदा संग्रहित गरेर राखिने सुन्दर बगैंचाको रूपमा तयार गर्ने योजना अघि सारिएको हो।

संस्कृतिविद् सत्यमोहन जोशीले यसलाई कला संस्कृति भण्डार गरेर राखिने बगैंचा बनाउन पटक–पटक आग्रह गर्दै आएका थिए । उनको पहलमा करिब ४० वर्षअघि यो ठाउँ ‘आर्कियोलोजिकल गार्डेन’समेत बनेको थियो । तर, सरकारी निकायको बेवास्ताले उक्त गार्डेन मासिएको थियो। अहिले फेरि त्यसको महत्व र आवश्यकतालाई ध्यानमा राख्दै बगैँचा बनाउने तयारी अघि बढेको हो।

कुनै बेला ऐतिहासिक वस्तु र सामग्री संग्रहीत गरेर राखिएको उक्त जग्गा अहिले भण्डारखाल नामले परिचित छ । त्यहीँ ठाउँमा विभिन्न टहरा बनाई काठ राखिएको छ भने केही जग्गा अलपत्र अवस्थामा छ । त्यसलाई बगैंचा बनाउँदा छरिएर रहेका संस्कृतिको संरक्षण र पर्यटन विकास हुने संस्कृतिविद् जोशीको भनाई छ । सोही अनुसार आफूले त्यसलाई बगैंचाको रूपमा रूपान्तरण गर्न सरकारी निकाय समक्ष अपिल गर्दै आएको उनले बताए।

‘सम्पदा क्षेत्रको यति राम्रो जग्गालाई एउटा बगैंचा बनाइदिएको भए विदेशी रमाउँथे, संस्कृतिको संरक्षण हुन्थ्यो, आम्दानी पनि बढ्थ्यो,’ उनले भने, ‘तर, यो जग्गालाई व्यवस्थित पार्नुपर्छ भनेर कसैले पनि त्यति धेरै चासो नदिएकाले नै बगैँचा बन्न सकेन, पहिलेको त्यति सुन्दर पुरातात्विक बगैंचाको अस्तित्व पनि संकटमा प-यो।’

जोशीको आग्रहपछि ललितपुर महानगरपालिले त्यसलाई  बगैँचा बनाउने अवधारणा तय गर्न लागेको छ। महानगरले छिट्टै काम थाल्ने जनाएको छ । त्यसको निम्ति केही रकम विनियोजन समेत गरेको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले संस्कृतिविद्बाट आएको आग्रह सांस्कृतिक जर्गेनाको लागि अनुकरणीय हुने भएकाले सोही अनुसार अघि बढ्ने प्रतिबद्धता जनाए । ‘यो कुरामा महानगर सधैं सहमत रहन्छ, ललितपुरवासी मात्रै नभएर यसले सबैको भलो गर्छ, त्यसले कला संस्कृति जोगाउन जति नै लगानी गर्नुपरे पनि पछि हट्नुहुन्न,’ उनले भने।  

संस्कृतिविद्हरूका अनुसार साउथ एसियामा जति पनि म्युजियम छन्, त्यसमध्येमा पाटन संग्रहालय पनि एक मानिन्छ । तीमध्ये यो संग्रहालयले भिन्न विशेषता बोकेको संस्कृतिविद् जोशीको ठम्याई छ । उनका अनुसार हिजोको कला संस्कृति हेर्न पाटन पाटनसँगै उपत्यका अन्य अभिलेखपूर्ण दरबारलाई नियाले पुग्छ । तर, पछिल्लो समय मानवीय रूपमा भएका कमजोरीप्रति जोशी अलि असन्तुष्ट भए । उनले कला संस्कृति जर्गेना गर्ने विषयमा सरकारी पक्ष पनि त्यति धेरै जिम्मेवार नभएको गुनासो गरे । ‘नेपाल अनुपम कला कौशलको खानी भएको मुलुक हो, यहाँ संसारलाई नै पछि पार्ने परम्परागत संस्कृति र ऐतिहासिक पक्ष छन् । तर, हामीले पछिल्लो समय तिनको महत्व अलि बिर्सियौं कि भन्ने लाग्छ,’ जोशीले थपे।

तरकारी बगैंचा थियो भण्डारखाल
२०१५ सालअघिसम्म भण्डारखालबाट उठेको रकम राणामध्येका एक व्यक्ति ब्रिगेडरी जेनरलले उपभोग गर्थे । त्यतिबेला यो जग्गामा काउली मात्रै रोपिन्थ्यो । त्यसैले यसलाई ‘काउली बगैँचा’ पनि भनिन्थ्यो।

सम्पदा क्षेत्रको आडैमा रहेको जग्गा कुनै संस्कृतिको संरक्षणमा प्रयोजन नभएपछि बेला–बेलामा जनस्तरबाट गुनासो आउने गथ्र्याे । तर, राणाहरूको पालामा यो जग्गाबाट पाटनमा ब्रिगेडरी जेनरलले फाइदा लिने गरेका थिए। त्यतिबेला यो जग्गालाई भाडामा लगाएर त्यसवापत्को पैसा खाने गर्थे । राणाकालमा पाटनमा कसैले कालोमाटो (खेतीयोग्य माटो) ल्याउँदा तीन भागको एक भाग त्यहाँ दिनुपर्ने व्यवस्था थियो । त्यतिबेला बालकुमारी क्षेत्रमा सबैतिर कालिमाटी थियो । पाटनका किसानहरूले यहीँबाट कालिमाटी उठाएर ल्याउने गर्थे।

जोशीले नै बनाएका थिए पुरातात्विक बगैँचा
संस्कृतिविद् सत्यमोहन जोशी पुरातत्व÷संस्कृति विभागको निर्देशकको रूपमा काम गर्दा पुरातात्विक बगैँचा बनाउन पहल थालेका थिए । उनले नयाँ अवधारणा सुरु गरेपछि नै अहिले भण्डारखालको जग्गाबाट फाइदा लिने क्रम तोडिएको थियो । उनकै पालामा पुराना ऐतिहासिक सामग्री संग्रहित गरेर राख्ने बगैंचा पनि बनेको थियो । ‘मैले पुरातत्व÷संस्कृति विभागमा काम पाएपछि त्यसलाई राम्ररी बुझेँ, आफू पाटनवासी भएकाले नै यहाँका सम्पदा र ऐतिहासिक पक्षको मर्म सानैदेखि बुझेको थिएँ, जिम्मेवार निकायमा पुग्दा पनि मैले संस्कृतिको कदर गर्दै पुरातात्विक बगैँचा बनाउनुपर्छ भने आवाज उठाएर काम फत्ते गरेको थिए,’ जोशीले भने।

उनका अनुसार त्यतिबेलादेखि नै पुरातात्विक बगैँचाको आवश्यकता थियो । त्यतिबेला शिक्षामन्त्री परशुनारायण चौधरी थिए । जोशीको आग्रहलाई उनले अस्वीकार गरेनन् । क्याबिनेटको निर्णयपछि बगैचा बनाउने कुरो पास भयो । माथिल्लो निकायबाटै सहज बाटो बनाइदिएपछि जोशीले बगैँचा सुरु गरेका थिए । त्यो काम पुरातत्व विभागको थियो । छरिएका मूर्ति, काष्ठकलाका सामान ठाउँ–ठाउँमा राख्न थालियो।

तर, अहिले त्यसको अस्तित्व मेटिएको छ । ‘एउटा सम्पदा संरक्षण गर्ने बगैँचा बनाउन पाइयो भने साह्रै सुगन्ध हुने थियो, संस्कृति पनि बच्ने थियो, भोलिका पुस्तालाई हेर्न जान्न र बुझ्न सहज हुने थियो,’ जोशीले थपे, ‘तर, केही समय सञ्चालनमा आएको बगैंचा पछि हरायो, अझै पनि त्यसलाई ब्युँताउने मेरो धोको छ।’

उनको भनाइमा पुरातात्विक बगैँचा बनाउँदा राष्ट्रकै लागि गौरव हुन्छ । अन्तका मान्छे हेर्न आउँछन् । अध्ययन अनुसन्धानको पाटोमा मद्दत पुग्छ । त्यसको लागि सम्पदा क्षेत्रको यो ठाउँ ज्यादै उपयुक्त मानिन्छ । बगैचाको सोभासँगै संस्कृति पनि हेर्न आउने पयर्टकको संख्या बढ्छ।

के–के राखिनेछ पुरातात्विक बगैंचामा?
यो बगैंचामा पुरिएका, ढुंगाको रूपमा रहेका, अवशेष मात्रै बाँकी रहेका, भेटिएका पुराना मूर्ति, अभिलेख नभएका साना–ठूला मूर्ति लगायत संकटमा परेका सांस्कृतिक सामग्री राखिनेछ । ठाउँ–ठाउँमा हरियाली पारिनेछ । आकर्षकरूपमा मौलिक र सांस्कृतिक सामग्री सजाइने छ।

सबैभन्दा पुरानो मूर्ति यही राखिएको थियो
त्यतिबेला यो बगैँचामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको घर नजिकै फेला परेको पुरानो मूर्ति राखिएको थियो । त्यो मूर्तिमा सम्बत एक सय सात लेखिएको थियो । त्यो दोस्रो सताब्दिको मूर्ति रहेको प्रमाणित भएको छ । त्यसमा राजा जय बर्माको पालामा बनेको स्पष्ट अभिलेख भेटिएको संस्कृतिविद् जोशीको भनाई छ । उनका अनुसार त्यो मूर्ति पनि यहीँ बगैंचामा ल्याएर राखिएको थियो । त्यतिबेला नियम नै थियो– जहाँ फेला परे पनि ऐतिहासिक सामग्री ल्याएर यहीँ राख्नुपर्छ भन्ने । तर, पछि बगैंचा नै मेटियो । अहिले जय बर्माको मूर्ति राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ । त्यो मूर्ति अति नै महत्वपूर्ण मानिन्छ । यो भन्दा राम्रो मूर्ति कहीँ नभेटिएको जनाइन्छ । मानव निर्मित मानव आकारको मूर्ति छ त्यो । त्यो आधिकारिक र प्रमाणित गर्ने खालको भएकाले अति नै महत्वपूर्ण मानिन्छ।

जोशीको भनाइमा पुरातत्व विभागमा कर्मचारी फेरिएपछि बगैँचा हेपिएको थियो । यही ठाउँमा अनावश्यक रूपमा मण्डप पनि कर्मचारीले बनाइदिएका थिए । ‘अहिले सबै भत्काइसकिएको छ । आर्कियोलोजिकल गार्डेनको नामनिसाना छैन । भण्डारखाल कुरूपजस्तै बनेको छ । अनेक टहरा बनेका छन्,’ उनले भने, ‘त्यतिखेर पुरातात्विक बगैँचा भनेर नाम पनि मैले नै राखेको थिएँ, पछि पुरातत्व विभागमा कर्मचारी फेरिँदै जाँदा त्यसको अस्तित्व संकटमा परेर उक्त बगैँचा लोप भएको थियो।’

ललितपुरको पाटन दरबारको पछाडिपट्टि रहेको भण्डारखाल जग्गा।

प्रकाशित: ३ मंसिर २०७५ ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App