भक्तपुर सुकुल ढोकामा कस्मेटिक पसल चलाउँदै आएका ७८ वर्षीय निरन्जनलाल कर्माचायले पत्रिका पढ्न थालेको पाँच दशकभन्दा बढी भइसक्यो । सुरुका समय ‘गोरखापत्र’ पढ्दै आएका उनी पछिल्ला समय देशबाट निस्कने विभिन्न राष्ट्रिय दैनिकसँगै स्थानीय पत्रपत्रिका नियाल्छन्।
पत्रिकामा छापिएका समाचारलाई रुचिका साथ नियाल्ने उनलाई त्यहाँ छापिने समाचारले निकै प्रभावित पार्छ । ‘राम्रा कुरा हेर्न पाए दिन खुसीले बित्छ,’ उनले भने, ‘नराम्रा घटनाले नरमाइलो बनाउँछ।’
पसले भएर होला, उनी पत्रिकाको आर्थिक खवरलाई निकै रुचिका साथ नियाल्छन् । ‘जहाँ÷जसले राम्रो कमाई गरे पनि खुसी मिल्छ,’ उनले भने, ‘इमान्दारपूर्वक गरेको राम्रो कमाइले देशलाई फाइदा पु-याउँछ ।’ हरेक दिन पत्रिकाबाट देशको अवस्था बुझ्न पाइने भएकाले नछुटाइकन पत्रिका पढ्ने गरेको उनी बताउँछन्।
देशमा भएका राम्रा कामको खवरले आनन्दित तुल्याउने उनले बताए । उनको जस्तै धारणा राख्छन्, ७६ वर्षीय केशवप्रसाद गौतम पनि । पशुपति क्षेत्रको चारशिवालयमा रहेको अग्निशालाका अग्निहोत्रीसमेत रहेका उनी पनि हरेक बिहान पत्रिका पढ्छन् । उनी पनि पत्रिकामा सुखद् खबर खोज्छन् । धार्मिक प्रवृत्तिका उनी राशिफल पनि नछुटाइ पढ्छन् । ‘हुन त मेहनतले भाग्य बदलिने हो,’ उनले हाँस्दै भने, ‘राशिफल हेर्न पनि छुटाउदिनँ ।’ पत्रिका नपढ्दा के–के न छुटेको जस्तो भान हुने उनी सुनाउँछन् । ‘तस्बिर सहितका समाचार हेर्दा त्यहि पुगेजस्तो लाग्छ,’ उनले भने, ‘राम्रा र सुखद् समाचारले खुसी दिन्छ।’
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग पनि पत्रिकामा सुखद् समाचार पढ्न पाइयोस् भन्ने चाहना राख्छन् । साहित्य र कला संस्कृतिका रचना मन पराउने ग्वंग आफ्ना समाचार मात्र होइन, अरुले लेखेका समाचार र लेख पनि उत्तिकै रुचिका साथ पढ्ने गर्छन्।
‘लेख्नेले झनै धेरै पढ्नुपर्छ,’ उनी भन्छन्, ‘साहित्य र लेख रचना पढ्दा खुसी मिल्छ ।’ पत्रिका हेरेलगत्तै देशका ताजा समाचारमा दृष्टि जाने गरेको उनी सुनाउँछन् । उनी सुखद् समाचारले खुसी दिने उनको भनाइ छ । ‘सुख–दुःख दुवै समाचार हुन्,’ उनी थप्छन्, ‘तर, सुखका कुरा पढ्ने रहर हुन्छ।’
चोभारका ७५ वर्षीय बद्री पोखरेल पनि पत्रिकाका नियमित पाठक हुन् । लामो समय सरकारी सेवामा जागिर खाएका उनी पत्रिका ‘फुर्सदको साथी’ भएको टिप्पणी गर्छन्।
राजनीतिप्रति खासै चासो नराख्ने उनी देशमा भएका घटनाहरू भने सुक्ष्म ढंगले नियाल्ने गर्छन् । समाजमा घटेका अपराधिक घटना र तिनमा सरकारले देखाएको उदासिनताले उनी दुःखी छन् । ‘पीडकका खवर मात्र होइन, दोषीलाई कठघरामा उभाइएका समाचार पढ्ने रहर छ,’ उनी भन्छन्, ‘अपराधी समातिएका समाचारले हामीलाई खुसी दिन्छ।'
सानै उमेरदेखि फुटबलमा रुचि राख्ने उनी अहिले पनि खेलकुद पेजमा फुटबलका समाचार पढ्ने गरेको बताउँछन् । ‘अन्य खेलभन्दा फुटबलमा बढी चासो छ,’ उनले भने, ‘राशिफल पनि नछुटाई हेर्छु।’
भक्तपुर थिमीका ७५ वर्षीय बुद्धिराम प्रजापती भने अक्षर राम्रोसँग नचिने पनि पत्रिका पढ्न रहर लाग्ने सुनाउँछन् । ‘सानोमा विद्यालय गइएन, अलिअलि अक्षर मात्र चिनिन्छ,’ उनले भने, ‘पत्रिकामा भएका चित्र र ठूला अक्षरले हेर्दा पनि रमाइलो लाग्छ।’
कागेश्वरी मनोहरा नगरपालिका–७ का बाबुकाजी विष्टले पत्रिका पढ्न थालेको पनि दशकौं कटिसक्यो । उनी हरेक बिहान पत्रिका एक अक्षर पनि नछोडी पढ्ने गरेको सुनाउँछन् । ‘बिहानको खाना खाएर घाम ताप्दै पत्रिका पढ्नुको रमाइलो बेग्लै छ,’ उनी भन्छन्, ‘घामको आनन्दसँगै देशको खबर थाहा हुन्छ।’
केही वर्षअघि सेवाबाट अवकाश पाएका उनी राजनीतिमा रुचि राख्छन्। उनी हरेक नेताले बोलेका कुरा लामो समयदेखि पढ्दै आएको बताउँछन् । ‘आफूले बोलेका कुरामा अडिक रहने नेता विरलै पाए,’ उनले भने, ‘कति नेता त वर्ष दिनअघि बोलेको मात्र होइन, एक साताअघि बोलेको कुरा समेत फेर्छन्।’
त्यसो त उनलाई समृद्धिको समाचार पढ्ने रहर नभएको होइन । तर, काम गर्ने नेता असल नभएसम्म त्यो सम्भव नभएको उनी सुनाउँछन् । ‘नेताले बोलेका कुराभन्दा गरेको काम पढ्न रमाइलो लाग्छ,’ उनले भने, ‘तर, अहिलेसम्म पनि कामभन्दा कुरा नै बढी छापिने गरेको छ।’
प्रकाशित: १ मंसिर २०७५ ०२:५० शनिबार