१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

‘उद्यम–व्यवसायमा स्वर्णकाल आएको छ’

विवेक दुगड
उपाध्यक्ष/एमभी दुगड ग्रुप

नेपालमा करिब एक सय ४० वर्षदेखि व्यापारमा लागेको दुगड ग्रुपको चार पुस्ताले पनि त्यही परम्परालाई धान्दै आएको छ । एमभी (मोतिलाल, विवेक) दुगड ग्रुपले अहिले अटो व्यापार र हाइड्रोपावरमा बढी लगानी गरेको छ । अटो व्यापारको अवस्था, हाइड्रोपावर निर्माण गर्दाका अवसर र चुनौती, एमभी दुगड ग्रुपको आगामी योजनालगायतका विषयमा एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडसँग नागरिक परिवारका लागि विश्वमणि पोखरेल र विष्णु बेल्वासेले गरेको कुराकानी:

दुगड ग्रुपले कहिलेदेखि व्यापार व्यवसायमा हात हालेको हो ?
दुगड ग्रुले नेपालमा एक सय ४० वर्षदेखि व्यापार व्यवसाय गर्दै आएको छ । अहिले चार पुस्तासम्म आउँदा पनि त्यही व्यापार व्यवसायलाई नै निरन्तरता दिएको छ । बुबाहरु चार दाजु भाइ हुनुहुन्छ । उहाँहरु सगोलमा हुँदा विभिन्न थरिको व्यापार गर्नुहुन्थ्यो । पछि आफू आफूले छुट्टा–छुट्टै व्यापार गर्न थाल्नु भयो । अहिले हामीले एमभी (मोतीलाल, विवेक) दुगड ग्रुप भनेर सञ्चालन गरेका छौं । पहिले बुबाहरु चार दाजु भाइले जुट, स्टिल, राइस, दाल, मेसिनरीको व्यापार, मिनिरल वाटर, जुसलगायतका १६–१७ थरीको व्यापार व्यवसाय गर्दै आउनुभएको थियो । अहिले बुबाहरुले आ–आफ्नो व्यवसाय गर्दै आउनुभएको छ । हामी (एमभी) दुगड गु्रपले अहिले अटोमोबाइल, हाइड्रोपावर र बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिएर लगानी गरिरहेका छौं।

एमभी दुगड ग्रुपले कुन क्षेत्रमा लगानी गरेको छ ?
हामीले अटोमोबाइल्स, सनराइज बैंक, गुराँस लाइफ र १५६ मेगावाट क्षमताका तीन आयोजना निर्माण गर्दैछौं । व्यापार व्यवसायमा आफूले निगरानी गर्न सकिएन भने सफल हुन सकिँदैन । त्यसैले पनि केही व्यवसायबाट हामी हात झिक्न पुग्यौं । खाद्यान्नको व्यापारलाई हामीले बन्द नै गर्याैं । बुबा पनि ७० वर्षको हुनु भयो । छोराहरु सानै छन् । उनीहरु व्यापार व्यवसायमा आउन अझै लामो समय लाग्छ । व्यापार नियमित रुपमा हेर्नुपर्छ । समय दिन सकिएन भने सफल हुन सकिँदैन । हामीले सबै धन हाम्रा लागि मात्रै होइन भन्ने सोचेर पनि बन्द गर्न पुगेका हौं।

त्यसमध्ये पनि एमभी ग्रुपले अटोमोबाइल्सलाई बढी प्राथमिकता दिएको हो ?
अटोमोबाइल्समा बढी ध्यान दिएका छौं । यो व्यापार सबैभन्दा पुरानो हो । महिन्द्रासँग काम गरेको करिब तीन दशक भएको छ । त्यस्तै, रोयल इन्फिल्ड, हाइभा लगायतका विभिन्न ग्रुपसँगको साझेदारी छ । हामीले बेला–बेलामा बिजनेस स्ट्राटेजी चेन्ज गर्छौँ । हामीले कहिल्यै पनि परम्परागत व्यवसायलाई यो मेरा बाबु बाजेले गरेको व्यवसाय हो भनेर अगाडि बढाएनौँ । त्यसलाई चेन्ज गरेर बेला–बेलामा समयको मागअनुसार नयाँ–नयाँ व्यवसायमा हात हाल्यौँ । हाम्रो गु्रपको पहिलेको मुख्य व्यवसाय भनेको कृषि क्षेत्रमा थियो । हामीले त्यसैलाई मात्रै प्राथमिकता दिएनौँ।

भावि पिँढीहरूले पनि सजिलै अगाडि बढाउन सकून् भन्ने उद्देश्यका साथ हामीले अटोमोबाइल्स तथा हाइड्रोपावर लगायतका क्षेत्रमा हात हालेका हौं र हामी सफल पनि छौं । हामी १९७२ देखि नै अटोमोबाइलको क्षेत्रमा छौं । मलाई यसको गर्व पनि छ । हामीले अटोमोबाइलको क्षेत्रमा केही त योगदान गर्न सक्यौँ । हामीले हाइड्रोपावरमा फोकस गर्नुको कारण हाम्रो देशमा यो क्षेत्रमा नेचुरल बेनिफिट छ । हाम्रो देशको पानी खेर गइरहेको छ । त्यो पानीलाई सदुपयोग गरेर हामी फाइदा लिन सक्छौं भने किन नगर्ने भन्ने हाम्रो बुझाइ हो । यो क्षेत्रमा अनलिमिटेड सोर्स छ भनेर हामीले यसलाई रोजेका हौँ। 

अटोमोबाइल्स व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?

विगत चार–पाँच वर्षयता अटोमोबाइल्सको ग्रोथ धेरै राम्रो देखिएको छ । देशका हरेक सडकमा धेरै गाडीहरू गुडिरहेका छन् । यसले बजारको भोलुम बढेको देखाउँछ । त्यो त भयो कन्जुमर रिलेटेड अटोमोबाइल । निर्माणसम्बन्धी इक्विपमेन्ट यी हाम्रो देश निर्माणका लागि अति आवश्यक छन् । सार्वजनिक यातायात (पब्लिक ट्रान्सपोर्ट) पनि उत्तिकै महत्वपूर्ण छ । हाम्रो देशमा सार्वजनिक क्षेत्रमा आज पनि धेरै कमजोरीहरू छन् । सार्वजनिक यातायातमा सुधार गर्नुपर्ने धेरै कामहरू बाँकी छन् । सरकारले हालै मात्रै यातायात क्षेत्रको सिन्डिकेट तोडेको छ । मलाई लाग्छ, यसपछि सार्वजनिक यातायातको क्षेत्रमा अझै विकास हुन्छ । व्यवसाय बढ्छ । बढी गाडीहरू भएपछि सार्वजनिक यातायातमा पनि यात्रा गर्न अलि सहज हुन्छ । अहिले सार्वजनिक यातायातको आपूर्तिभन्दा माग बढी छ । पब्लिक ट्रान्सपोर्टको डिमान्डभन्दा सप्लाई कम छ । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । पब्लिक ट्रान्सपोर्टमा धेरै राम्रो ग्रोथ आउँछ भन्ने मलाई लागेको छ।

बैंक तथा वित्तीय संस्थाको अवस्था कस्तो छ ?
हामीले बैंकिङ तथा फाइनान्सिङमा पनि प्रमोट गरेका छौं । सनराइज बैंक, सानीमा जनरल इन्स्योरेन्सको पनि प्रमोट गरेका छौं । यी विभिन्न क्षेत्रका व्यवसायमा हामीले अरू व्यावसायिक घरानासँग मिलेर अगाडि बढेका छौं । गुराँस लाइफ इन्स्योरेन्समा म अध्यक्ष छु । यसरी विभिन्न क्षेत्रमा अगाडि बढिरहेका छौं।

व्यवसायमा कसरी लाग्नुभयो ?
मेरो पारिवारिक पृष्ठभूमि र व्यक्तिगत रुचि पनि व्यवसायमै थियो । त्यसैले, व्यवसायमा लागेँ । हाम्रो पारिवार नै व्यावसायिक भएकाले परिवारमा बुबा, ठूलो बुबालगायत परिवारका सबैजसो सदस्यहरूबीच व्यवसायकै विषयमा बढी जसो छलफल हुने गथ्र्याे । व्यावसायिक पृष्ठभूमिका कारण पनि मलाई व्यवसायमा प्रवेश गर्न मद्दत मिल्यो। 

तपाईं व्यवसायमा एक सफल व्यक्तित्वका रूपमा रहनुभएको छ, सफलताको कारण के हो ?
कुनै पनि मानिसलाई चाहे त्यो व्यवसाय होस् या अरू कुनै क्षेत्र होस्, सफल हुन सबैभन्दा ठूलो हात परिवारकै हुन्छ र चाहिन्छ । परिवारको साथ र सहयोगबिना कसैले पनि कुनै प्रगति गर्न सक्दैन भन्ने मेरो बुझाइ छ । मेरो सफलताको श्रेय मेरो परिवारलाई नै जान्छ । र, अर्काेतर्फ दुगड ग्रुपसँग सम्बन्धित सबै कर्मचारीहरूको सहयोग र साथले आज हामी सफल भएका छौं । म एक्लैले केही गर्न सक्दिनथेँ । सबै कर्मचारीको एकएक सहयोग र मिहिनेतका कारण हामी अटोमोबाइल्स क्षेत्रमा सफल भएका छौं । हामीसँग १ हजार चार सय ५० भन्दा बढी स्टाफ छन् । ती हाम्रो परिवार हुन्, हाम्रो जरा हुन्।

जराबिना रूख नअडिएजस्तै स्टाफको सहयोगले हामी आज अडिन सकेका छौं, यहाँसम्म पुग्न सफल भएका छौं । यो भयो आन्तरिक कुरा । बाहिरी रूपमा हेर्ने हो भने हाम्रा उत्पादनका प्रयोगकर्ता छन् । उनीहरू सन्तुष्ट नभैकन पनि हामी सफल भयौं भन्न सकिन्नँ । हामीले प्रयोगकर्तालाई सन्तुष्ट पारेका छौं । त्यसैले, उनीहरूले हाम्रा उत्पादन मन पराएका छन् । त्यो पनि हाम्रो सफलताको अर्काे कारण हो । कुनै पनि कम्पनीको सफलताको मुख्य कारण नै प्रयोगकर्ता (कस्टमर) हो । जब प्रयोगकर्ताले हाम्रा उत्पादन मन पराउँछन्, तब हामी सफल हुन्छौं । यदि प्रयोगकर्ता सन्तुष्ट छन् भने व्यवसाय आफैँ बढेर जान्छ । यो मेरो धारणा हो । हामीले कम्पनीको पोलिसी बनाउँदा ग्राहक (कस्टमर) को इच्छा र चाहनालाई ध्यानमा राखेर बनाउँछौं।

उत्पादनदेखि प्रयोगकर्ता कत्तिको सन्तुष्ट छन् ?
हाम्रा प्रयोगकर्ताहरू निकै सन्तुष्ट पाएका छौं । हाम्रा उत्पादन प्रयोग गरेर प्रयोगकर्ता सन्तुष्ट भएर त हामी आज सफल हुन सकेका छौं।

तपार्इंहरु जलविद्युत आयोजना निर्माणमा जुट्नु भएको छ । तर, जलविद्युत आयोजना निर्माण गर्न निकै कठिन छ, हगि ?
कुनै पनि काम गर्दा सजिलो त हुँदैन । हाइड्रोपावर निर्माण गर्न पनि कठिन छ नै तर पनि आयोजना बनाएरै छाड्छौं । हामीकहाँ हाइड्रोपावरमा अथाह सम्भावना छ । त्यही सम्भावना देखेर नै हामीले यस क्षेत्रमा हात हालेका हौं । जुन देशमा जे को उपलब्धता छ त्यही प्रयोग गरेर देश धनी हुन सक्छ । सिंगापुरले सोच्यो कि सिपिङ र इन्टरनेसनल व्यापार गरेर धनी बन्न सकिन्छ । त्यसैअनुसार काम गर्दै गयो र अहिले सिंगापुर त्यो अवस्थामा पुग्यो । त्यसैगरी, चीनले आफ्नो त्यत्रो जनशक्तिको सहयोगबाट उत्पादन क्षेत्र (मेनिफेक्चरिङ) लाई प्राथमिकता दियो । अहिले मेनिफेक्चरिङको हब चीन बनेको छ । प्रशस्त मात्रामा रहेको जनशक्तिलाई रोजगारी दिएर चीनले मेनिफेक्चरिङमा गरेको प्रगतिलाई कम मूल्यांकन गर्न सकिँदैन । त्यसैगरी, मलेसियाले तेल उत्पादनलाई प्राथमिकता दिएको छ।

मलेसियाको पाम तेल अहिले विश्वमा प्रख्यात छ । खाडी देशमा पेट्रोलियम पदार्थ भएकाले त्यही बेचेर धनी भएका छन् । हामीले पनि सिंगापुर, चीन, मलेसिया र खाडी मुलुकको सिको गर्न सक्नुपर्छ । हामीकहाँ अथाह जलस्रोत छ । त्यसलाई दोहन गर्न सकिएको खण्डमा देश धनी हुन सक्छ । हामीले उत्पादन गरेको बिजुली भारत, चीन, बंगलादेश निर्यात गर्न सक्छौं । हामीले ६५ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छौं । त्यसमा पनि ५० हजार मेगावाट नाफा गर्न सकिने (प्रोफिटेबल) छन् । अहिले हामीले कुल जलविद्युत उत्पादनको १० प्रतिशत पनि बिजुली उत्पादन गर्न सकेका छैनौं । अहिले तीन हजार मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण गर्नका लागि वित्तीय व्यवस्थापन भइसकेका छन् । बैंकहरुले जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने न्यूनतम सीमा पनि पुगेको छैन । एउटा आयोजनालाई १५ वर्षसम्म बैंकले लगानी गर्नुपर्ने हुन्छ । त्यो अवधिका लागि बैंकले लगानी गर्न पनि गाह्रो मान्छन् । एउटा आयोजना निर्माण गर्न ७ देखि १० वर्ष लाग्ने गरेको छ।

बैंकमा लगानीयोग्य पुँजी (तरलता) को अभावले पनि जलविद्युत आयोजनामा लगानी गर्न सकिरहेका छैनन् भनिन्छ नि ?
सरकारले गर्ने खर्चमा एकरुपता नभएका कारणले पनि केही समस्या आएको हो । वर्षको अन्त्यमा मात्र बढी लगानी गर्ने अन्य समय नगर्ने भएकाले पनि यस्तो समस्या आएको हो । सरकारले नियमित रुपमा खर्च गर्दै जाने हो भने यो समस्या पनि केही हदसम्म समाधान हुन्छ।

लगानीको वातावरण तयार भएको छ भनिन्छ । वास्तवमै लगानीको वातावरण तयार भएको हो ?
राजनीतिमा स्थायित्व देखिएको छ । स्थायी सरकार बनेको छ । मुलुक संघीय संरचनामा गएको छ । संघीय स्तरबाट काम गर्न सुरु भइसकेको छ । सबैतिरबाट हेर्दा अब मुलुकले आर्थिक प्रगति गर्न सक्ने देखिन्छ । डराउनुपर्ने अवस्था मैले देखेको छैन । नीतिनियम पनि त्यहीअनुसार निर्माण हुँदैछन्। 

राजनीति स्थायित्व भए पनि नीति स्थायित्व भएन भन्ने गुनासो छ नि ?
नीति स्पष्ट भएको छैन । सरकार निर्माण भएको धेरै समय भएको छैन । राम्रो काम गर्दैछ । अहिले पनि पुरानो विरासत कायम छ, त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने समस्या छ । अहिले पनि काम गर्न नदिने, रोक्ने, धक्की दिनेजस्ता काम हुन्छन् । यसलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

स्थायी सरकारलाई सहयोग गर्न स्थायी नीति आउनु जरुरी भएको हो ?
व्यवसायीलाई सपोर्ट गर्ने नीति आउनु पर्छ । सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ । काम गर्ने वातावरण तय हुनुपर्छ । सरकारले निजी क्षेत्रलाई सपोर्टिङ हेन्ड दिनु पर्छ । समाजमा विकृति फैलाउने तत्वहरुलाई हतोत्साहित गर्नुपर्छ ।

जलविद्युत निर्माण स्थलसम्म सडक बनाउँदा स्थानीय समस्या कत्तिको खेप्नु पर्याे ?
स्थानीय समस्या थुप्रै आए । त्यसलाई समाधान गर्दै गयौं । समाजको आवश्यकता पूरा पनि गर्दै गयौं । सबैको साथ र सहयोग गरेकै कारण आयोजना निर्माणले गति लिएको हो । नेपाल विद्युत प्राधिकरण र सरकारको सहयोगबिना पनि काम गर्न सकिँदैन। 

नेपालका युवा पिँढीलाई के सन्देश दिन चाहनु हुन्छ ?
नेपाल गोल्डन इरामा प्रवेश गरेको छ । पहिला माओवादी द्वन्द्व थियो । त्यो समाधान भएको छ । नयाँ संविधान निर्माण भएको छ । अहिले सबैतिरबाट राम्रो हुँदै आएको छ । अब अवसर नै अवसर आएको छ । चालु आर्थिक वर्षमा ८ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने सम्भावना मैले देखेको छु । सरकारले पनि ७ प्रतिशतभन्दा माथि आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । धेरै अवसर प्राप्त भएको छ । यो अवसरलाई समात्न सक्नुपर्छ । एउटा आयोजना निर्माण हुँदा त्यसले धेरैलाई रोजगारी दिन सक्छ । जलविद्युत आयोजना निर्माण गर्दा स्थानीयले काम पाउँछन् । आयोजना निर्माण गर्नका लागि चाहिने सिमेन्ट उद्योग आउन सक्छन् । मालवाहक यातायात सञ्चालन हुन सक्छन् । तिनले रोजगारी बढाउन सक्छन् । त्यसैले मैले गोल्डन इरा सुरु भएको छ भनेको हुँ । युवाले हिम्मत देखाएर अगाडि बढनुपर्छ । निराश भएर विदेशमा काम गर्न जाने होइन।

जलविद्युतमा अझै लगानी बढाउने योजना बनाउनुभएको हो ?
अहिले निर्माणमा गएका १५६ मेगावाटका तीन आयोजनाबाट २०२० को अन्त्यसम्म बिजुली उत्पादन हुन्छ । त्यसपछि १८० मेगावाट आयोजना निर्माण तुरुन्तै थाल्दै छौं । आगामी ५, ७ वर्षमा ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्य बनाएका छौं।

ठूला व्यापारी घरानामा कर्पाेरेट कल्चरको कमी छ भनिन्छ नि ?
पछिल्लो समय कर्पोरेट कल्चरको विकास हुँदै गएको छ । कर्पोरेट कल्चरविना विकास गर्न गाह्रो छ । हाम्रोमा कर्पोरेट कल्चरको विकास गरेका छौं । त्यसै कारण व्यापारको साइज बढेको छ । पारिवारिकभन्दा कर्पोरेट कल्चरमा बढी ध्यान दिनुपर्छ । जुन ग्रुपमा कर्पोरेट कल्चर छ, त्यो ग्रुपको प्रगति बढी भएको छ । 

तपाईं अति व्यस्त हुनुहुन्छ । तपाईंको दैनिकी कसरी बित्छ ?
बिहानै उठछु । नित्यकर्मपछि घरमै योगा गर्छु । ब्रेक फास्ट आमाबुबा र श्रीमती सबैको सँगै हुन्छ । त्यसपछि १० बजे अफिस पुग्छु । दिउँसोको खाना सबैजना परिवार सँगै हुन्छ । बेलुका ७.३० सम्म घर पुग्छु । बेलुकाको खाना सबैजना सँगै खान्छौं।

घरमा को–को हुनु हुन्छ ?
बुबा मोतीलाल दुगड, आमा सरोज दुगड, श्रीमती उर्भी दुगड र दुई छोरा सुभव र नमन छन् । जेठो छोरा सुभव दुगड कक्षा १२ मा पढ्दै छ । सानो छोरा नमन कक्षा १० मा पढछ्।

श्रीमतीले के काम गर्नुहुन्छ ?
उनी पनि बिजनेसमै व्यस्त छिन् । अफिसको एडमिनिस्ट्रेसन हेर्ने काम उनको हो । अफिसलाई इन्पुट दिने काम गर्छिन् । अहिले पनि देशभर ८–९ ठाउँमा नयाँ अफिस खोल्ने काम भइरहेको छ । त्यसका लागि निर्देशन लगायतको काम गर्छिन् । 

तपाईंहरुको मागी विवाह कि लभ मेरिज हो ?

हाम्रो एरेन्ज मेरिज हो । म भन्दा उनी ५ वर्ष कान्छी छिन् । उनका बुबा कलकत्तामा हुनुहुन्छ।

तपाईंको खानपिन ?
भेजिटेरियन हुँ । हप्ताको २,३ पटक सपरिवार बाहिर खाना खान्छौं । कहिलेकाहीँ साथीभाइको परिवार र हाम्रो परिवार मिलेर पनि खाना खान जान्छौं।

उद्यमी र व्यापारीको जीवन तनावै–तनावमा हुन्छ भनिन्छ नि ?
म तनाव धेरै लिन्नँ । पिस माइन्ड भएन भने काम गर्न सकिँदैन । व्यापारको टेन्सन परिवारमा ठोकिनु हुँदैन । यसमा परिवारको भूमिका पनि सबैभन्दा ठूलो हुन्छ। 

तपार्इंको यो ग्रुपले कति जनालाई रोजगारी दिएको छ ?
अहिले १४५० जना जति हाम्रा स्टाफ छन् । यो वर्ष भित्र १८,१९ सय पुग्छन् होला । स्टाफको ग्रोथ बढेको छ।

तपाईंको विचारमा सफलताको सूत्र के हो ?
क्लियर भिजन आवश्यक हुन्छ । अल्पकालीन, मध्यकालीन, दीर्घकालीन योजना बनाउनु जरुरी छ । २ वर्षे, ५ वर्षे र १० वर्षे योजना बनाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि कहिलेकाहीँ कठिन निर्णय पनि लिनुपर्छ । रोडम्याप बनाउने र त्यसलाई फलो गर्दै अगाडि बढ्नुपर्छ । त्यसका साथसाथै आफूले गरेका कामको समीक्षा गर्दै पनि जानुपर्ने हुन्छ । सफलता प्राप्त गर्न स्टाफले पनि साथ दिनुपर्छ । उनीहरुलाई यो मेरो हो भन्ने भावना जगाउनुपर्छ । हामीसँग एउटै परिवारको तेस्रो जेनेरेसनले पनि काम गर्दै आएका छन्।

अहिलेको दसैंमा कता जाँदै हुनुहुन्छ ?
पहिलो चोटि होला हामी यसपालिको दसैंमा काठमाडौंमा नै मनाउँदै छौं । ठूला छोराको जाँच छ । त्यसैले पनि यहीँ बस्नु पर्नेछ । पहिलोपटक दसैं काठमाडौंमा मनाउन पाउँदा खुसी लागेको छ।

सानोमा दसैं कसरी मनाउनु हुन्थ्यो ?
दसैं आउनु २० दिन पहिला नै चङ्गा उडाउने गरिन्थ्यो । चङ्गा चेट गर्दा निकै आनन्द र डर पनि लाग्थ्यो । तर, अहिले त सम्झना मात्र बाँकी छ, चङ्गा उडाउन मन लाग्दैन ।

तपाईंका बच्चाले तपार्इंको सानोको सिको गरेर चङ्गा उडाउँछन् होला नि अहिले ?
उडाउँदैनन्, उनीहरुले । अहिले त कम्प्युटर, मोबाइलमै गेम खेल्न व्यस्त हुन्छन्।

तपाईंको भावी योजना के छ ?
मैले अघि नै भनिसकेँ कि अरू व्यवसायको तुलनामा अटोमोबाइल र हाइड्रोपावरमा हामी अलि बढी केन्द्रित छौं । त्यस क्षेत्रलाई बढी प्राथमिकताका साथ अगाडि बढाउने योजना छ । साथै यस ग्रुपलाई पहिलो नम्बरको व्यावसायिक ग्रुप बनाउने योजनामा हामी लागेका छौं।

अझै गर्न बाँकी गर्नुपर्ने काम पनि त होलान् नि ?
नेपालमा अझै अटोमोबाइल्समा धेरै अवसर छन् । नेपालमा पूर्वाधार निर्माणको काम गर्न धेरै बाँकी छ । यसैमा नेपालको भविष्य अडिएको छ । अहिले हामीसँग ठूला सडक बनाउने इक्विपमेन्टको कमी छ । हामी पुरानो प्रविधिबाट काम गरिरहेका छौं । त्यसैले सडक कमजोर बनिरहेका छन् । हामी आगामी दिनमा यो क्षेत्रमा धेरै काम गर्दै छौं।

प्रकाशित: ५ कार्तिक २०७५ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App