बालाजु औद्योगिक क्षेत्र अगाडिको खाली जग्गा । सवारी साधनको ट्वाँट्वाँटुँटुँ। प्रचण्ड गर्मी सहँदै धुलाम्मे सडकमा बसेर बुटवलको २६ वर्षीय पिन्टु कुसबारिया एकोहोरो घन र छिनो चलाइरहेका छन् । नाम मात्रको एउटा ठूलो छाता छ त्यहाँ।
अगाडि लहरै राखिएका लोहोरो र सिलौटा देखाउँदै कुसबारियाले सिलौटा बनाएर जीवन निर्वाह गरेको बताए । घन र छिनो मेरो सानैदेखिको साथी हो । पुर्खाले यसैलाई कमाइ खाने भाँडा बनाए । मैले पनि यो कामलाई छोड्न सकिनँ । दिनमा तीन÷चार जोडी मसला पिस्ने लोहोरो र सिलौटा बनाउँछु । कहिले बिक्री हुन्छ, कहिल्यै हुँदैन । उनले भने, ‘बुटवलबाट ढुंगा झिकाउँदा ढुवानी खर्च ८ हजार रूपैयाँ लाग्छ । एक चोटिमा ६० ओटा जति ढुंगा आउँछ । यहाँ आइपुग्दा एउटा बराबर तीन सय रूपैयाँ पर्न जान्छ । लोहोरो र सिलौटा ५ सय रूपैयाँमा बेच्ने गरेको छु।’
आफ्नो पेसा अपनाउँदा धेरैले दुःख दिएको कुसबारियाले गुनासो गरे । चाबहिलमा हुँदा नगरपालिकाले छाता र त्रिपालै जलाइदियो । भाँडाकुँडा फालिदियो । मुखमुखै लाग्छस् भन्दै बोल्नै दिएनन् । उनले भने, ‘कसैले दुःख बुझ्दैनन् । बगरको ढुंगा यति महँगो भन्दै निहुँ खोज्छन्। जाडो महिनामा त कति चोटि घनले हातै कटिन्छ र रक्ताम्मे हुन्छ । तर, के गर्नु, पेट पाल्ने अरू उपाय छैन?’
पिन्टुले कमाइभन्दा धेरै खर्च गर्नेहरू हरेस खाएर आत्महत्या गर्ने बताए । ‘समस्याबाट भागेर कहाँ जानु ? पुर्खाले यही पेसा अपनाए । अर्काको देशमा नोकरी गर्नुभन्दा आफ्नै देशमा सुख–दुःख गर्नु धेरै राम्रो हुन्छ,’ उनले भने, ‘विदेशमा ट्वाइलेट सोहोरेर यहाँ सुटबुटमा ठाँटिएका युवाहरू देख्दा मलाई हाँसो उठ्छ।’
काठमाडौ महानगरपालिका–१६ का चन्द्र धानुकले सीपमा बाँच्नेहरूलाई राज्यले कुनै सहयोग नगरेका गुनासो गरे । राज्यले सीपको सम्मान गर्नुपर्छ । विदेश पलायन हुनबाट युवाहरूलाई रोक्न उनीहरूको जीवनशैली उकास्नुपर्छ । उनले भने, ‘सीपमूलक कार्यमा राज्यको लगानी हुनुपर्छ । यसले मुलुकलाई माथि पु-याउनेछ।’
जडीबुटीको ढुंगेधारामा बसेर सर्लाहीका २८ वर्षीय अर्जुन थवाइ सिलौटा बनाउँछन् । उनी मात्रै होइन, सिलौटा बनाउने अरु धेरै छन् त्यहाँ । उनले त्यहीँ बसेर सिलौटो बनाउन थालेको १७ वर्ष भयो । उनले यो कामबाट दैनिक गुजारा मात्रै चलाएका छैनन्, एक छोरा र एक छोरीलाई पढाउँदै पनि छन् । उनले सिलौटा बनाउने पेसा गरेरै छोराछोरीलाई सरकारी जागिर बनाउने लक्ष्य लिएको बताए । आफूले त पढ्न पाइएन । छोराछोरीलाई यही काम गरेर पढाउँछु र सरकारी जागिरे बनाउने छु । कहिले बिक्री हुन्छ कहिले हुँदैन । जे भए पनि महिनामा १० हजार रूपैयाँ बचत गर्दै आएको छु । उनले भने, ‘हाम्रो खेतीपाती भनेकै यहीँ हो । बनारसबाट ढुंगा झिकाउँदा धेरै खर्च हुन्छ । नगरपालिकाले हाम्रो दुःख बुझ्दैन ।’ आफ्नै देशमा गरेर खान्छौंभन्दा सधैं लखेटिरहनुपर्छ।’
प्रकाशित: २६ आश्विन २०७५ ०३:५८ शुक्रबार