१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

त्रिविका सबैभन्दा खराब विद्यार्थी !

तस्बिर : कृष्पा श्रेष्ठ

‘टंगालनजिकै छ नाट्य संगीत प्रतिष्ठान यतै कुरा गरौँ हुन्न र ?’ नाटक, कथा, कविता तथा उपन्यासमा कला चलाउन माहिर साहित्यकार सरुभक्तलाई कलेज पढ्दाको आफ्नो जीवनीबारे कुराकानी गर्न समय मागेपछि प्रतिष्ठानमै बोलाए। हामी दुईजना पुगेको केही बेरमा उनी आइपुगे र भने, ‘हेर्नु न, बिमस्टेकको दोस्रो दिन बाटो जाम भएर हैरान भयो! अघि नै निस्केको मान्छे, जाममा पो परेँ!’ 

भदौ २० गते ४ वर्ष पूरा भइसकेको छ, उनले संगीत तथा नाट्य प्रतिष्ठानको कुलपति पद सम्हालेको। हामी कुरा गर्न जाँदा मात्रै ४ दिन बाँकी थियो, कार्यकाल सकिन। त्यही भएर पनि होला उनले बीचबीचमा अफिसियल काम गर्दै हामीसँगको कुराकानीलाई निरन्तरता दिइरहेका थिए।

‘हामी भक्तपुरका नेवार हौँ, हाम्रा बाजेबराजु व्यापारको सिलसिलामा पोखरा पुग्नुभएछ। त्यसपछि उतै व्यापार, उतै परिवार,’ सरुभक्तले कुराकानीको सुरुवातमै भने। पोखराको बागबजारमा २०१२ साल भदौ महिनाको तीजको दिन आमा लक्ष्मी श्रेष्ठ तथा बुबा गणेशबहादुर श्रेष्ठको ७ सन्तानमध्ये सबैभन्दा जेठो सन्तानको रूपमा उनी जन्मिए।

ब्राह्मण–क्षेत्री तथा अन्य जातको बीचमा नेवारहरूको बस्ती थियो। बुबाआमाको किराना पसल व्यापारीको छोरा उनको बाल्यकाल सुखमय बित्यो। बुबाआमा व्यापारी भए पनि आफूलाई भने व्यापारले कहिल्यै नतानेको उनले बताए। उनले भने, ‘म व्यापारीको छोरा भए पनि व्यापार गर्न कहिल्यै जानिनँ। पुख्र्यौली पेसा भाइहरूले धाने। म भने यसबाट अलग रहेँ।’

सानैदेखि पढ्न तीक्ष्ण सरुभक्त त्यतिबेला मिसनरी स्कुलको रूपमा खुलेको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ६ देखि पढ्न थाले। सानैदेखिको पढ्नमा लगाव भएकै कारण उनलाई घरमा पढ्ने वातावरण मिलाइदिए।

त्यतिबेला गण्डकी बोर्डिङ स्कुल भनेपछि दार्जिलिङ बेलायततिरबाट आएका शिक्षक–शिक्षिकाले पढाउँथे । कक्षा पाँचसम्म सरकारी स्कुल पढेका सरुभक्त गण्डकी बोर्डिङ स्कुल पुगेपछि भने कडा अनुशासनमा बस्नु प-यो । होस्टलमै बस्नुपरेको कारण घरमा आउजाउ कम भयो । दिनभरि स्कुलमा पढ्ने अनि रातभरि पनि पढिरहने गर्नुप-यो । खुल्लमखुला हिँडिरहेका सरुभक्त सुरुमा स्कुलसँग आफूलाई तादाम्य मिलाउन हम्मेहम्मे प-यो तर उनी पढ्न मग्न हुन थाले र त्यसमाथि गुरुबा गुरुआमाको प्रेमको कारण उनी स्कुलमा रमाउँदै गए । 

‘पागलबस्ती’की त्यो मार्था 

स्कुलमा त्यतिबेला छात्र मात्र अध्ययन गर्ने हुनाले थोरै विद्यार्थी थिए । उनको कक्षामा त्यही १०/१२ जनाको संख्यामा मात्र विद्यार्थी थिए। उनीहरूलाई पढाउने गुरुआमाले केही प्रश्न विद्यार्थीमाझ सोधिछन्, सरुभक्तबाहेक कसैले जानेनन् । सबैजना प्रश्नको उत्तर भन्न नसकेपछि उभिए । म्याडमले उनीहरूलाई झपार्नु झपारिन् । 

किशोर अवस्थाका सरुभक्त आफू मात्रै बसेको र साथीभाइ सबै उभिनुपरेपछि हाँसोले आफूले आफूलाई रोक्न सकेनन् साथीहरूतर्फ हेर्दै मज्जाले हाँसिदिएछन् । त्यसपछि मार्था गुरुआमाको रिसले पारो चढेछ । अरूलाई बसाएर स्टिलको स्केलले उनैले कुटाइ खाएछन् । त्यो घटना सम्झिँदै रोमाञ्चित भएका सरुभक्तले थपे, ‘आफू मात्रै बसेको, अरू सबै उठेको त्यो दृश्य देख्दा हिजोआज त हाँसो उठ्छ झन् त्यतिबेला किन नउठ्नु ?’ 

स्कुल पढ्दा उनलाई सबैभन्दा प्रभावित भएको भनेकै उनै मार्था गुरुआमाबाटै रहेछ । उनी यतिसम्म प्रभावित भए कि उनले लेखेको चर्चित उपन्यासको प्रमुख पात्रको नामै मार्था राखिदिए । त्यही उपन्यासमार्फत उनले मदन पुरस्कार पनि जिते । 

पागलबस्तीका धेरै दृश्य त्यतिबेलाको बोर्डिङ स्कुल भएको उनले बताए । चित्रा मान्द्रा बेरेर बनाइने स्कुल अनि होस्टल पनि त्यस्तै । जाडो महिनामा हिमालको हावा चलेर साँठले जाडो भएको उनलाई आजसम्म पनि याद आइरहन्छ। त्यसो हुँदा पनि उनीहरू रमाइ रमार्इ पढ्थे । साथीभाइको मायाप्रेम, घुलमिल, गुरुबा–गुरुआमाको आत्मीयताका कारण ती दिनहरू अझै पनि स्मरणीय लाग्छ । उनी मार्था म्याडमबाट किन यति धेरै प्रभावित भए त ? उनी भन्छन्, ‘उहाँले विद्यार्थीलाई छोराछोरीलाई जस्तो मायाको व्यवहार गर्नुहुन्थ्यो सायद त्यतिबेला परिवारसँग छुट्टिएर बस्नुपरेको म उहाँको लाडप्यारमा आफ्नो बा–आमाको छायाँ पो देख्थेँ कि !’

शिक्षक र विद्यार्थीको अनन्य सम्बन्ध

‘अहिले त शिक्षक र विद्यार्थीको सम्बन्ध व्यवसायिक भएको छ,’ सरुभक्त भन्छन्, ‘हाम्रो पालामा त आत्मीय सम्बन्ध हुन्थ्यो, जस्तो बा–आमासँग हुन्थ्यो।’ स्कुलमा पढाइ मात्र हुँदैनथ्यो । उनीहरूलाई भलिबल, फुटबल भर्खरभर्खर नेपाल भित्रिएको क्रिकेट पनि खेलाइन्थ्यो । नाचगान संस्कृति कार्यक्रमहरू भइ नै रहन्थे । कक्षा ६ देखि कविता लेख्न थालेका सरुभक्तको सानैबाट साहित्यमा अभिरुचि थियो । ‘त्यतिबेला कविता त लेखिन्थ्यो तर कुनै गम्भीरपना भने थिएन,’ उनले कविता प्रभावबारे बताए । 

आँखा छलेर पौडी 

कक्षामा सधैँ प्रथम हुने उनी स्कुलमा छँदा स्कुल नजिकै रहेको सेती खोलामा साथीहरुसँग पौडी खेल्न जान्थे । पौडी खेल्न गुरुबा–गुरुआमाले बेलाबेलामा नलैजाने हैनन् तर उनीहरू सबैको आँखा छलेर पौडी खेल्न जान्थे । उनी भन्छन्, ‘साथीहरू मिलेर सेतीमा नाउँ बनाएका थियौँ, त्यहीमार्फत वारिपारि गथ्र्यौँ । जति चिसो पानी भए पनि पौडी खेल्थ्यौँ । यसरी छलेर जाँदा गाली खाने चान्स धेरै हुन्थ्यो तर अटेर गरेर जानुको मज्जा बेग्लै थियो ।’ 

एसएलसी पास हुँदा रोएँ 

एसएलसी भने उनले घरनजिकैको बहुउद्देश्य स्कुलबाट दिए । गण्डकीबाट नदिनुको कारण खोल्दै उनले भने, ‘त्यतिबेला एकजना दार्जिलिङतिरको सरलाई प्रशासनले हटाएछ त्यसैको विरोधमा स्कुल छोडिदिएँ । घर परिवार, स्कुलबाट जति नै सम्झाए पनि म सम्झिनँ र घर नजिकैको स्कुलबाट एसएलसी परीक्षा दिएँ।’ २०२६ सालमा लुइँटेल स्कुलबाट बाबुराम भट्टराईले बोर्डफस्ट ल्याएका थिए। उनलाई पनि गण्डकी स्कुलबाट बोर्डफस्टको प्रत्यासीका रुपमा हेरिन्थ्यो। तर उनले स्कुल छाडे। यसले स्कुललाई मात्र घाटा पारेन, उनलाई पनि घाटा लाग्यो। एसएलसीमा उनी सेकेन्ड डिभिजनमा पास भए। ‘अरू एसएलसी पास हुँदा बडो मज्जाले खुसी हुन्छन् म भने कोठाभित्र चुकुल लगाएर रोएँ,’ उनी भन्छन्, ‘कहाँको नेपाल टप्ने सपना, कहाँको सेकेन्ड डिभिजन!’

डाक्टर बन्ने सपनामा तुषारापात

उनले एसएलसी दिनुभन्दा अगाडि उनको सपना डाक्टर बन्ने थियो किनभने त्यतिबेला पढ्नमा जान्ने अनि कक्षामा फस्ट हुने डाक्टर इन्जिनियर हुनेबाहेक अरू सपना देख्दैनथे । उनलाई बा–आमाले पनि पढ्नमा स्वतन्त्र छाडिदिएका थिए तर जब एकजना सरलाई निकालेको विरोधमा उनले स्कुलै छाडे, त्यसपछि उनको यात्रा नै अलग भयो । 

एसएलसीमा सेकेन्ड डिभिजन आए पनि विज्ञान पढ्ने उनको भित्री इच्छालाई छाडेनन् । उनी घर नजिकैको पिएन क्याम्पसमा आइएस्सीमा भर्ना भए । 

परीक्षाको दिन बगरमा 

उनी आइएस्सी भर्ना त भए तर परीक्षा भने दिएनछन् । परीक्षाको दिन उनी घरबाट निस्कँदा परीक्षाको तयारीका साथ निस्कने अनि क्याम्पस पुगेपछि खोलाको बगरमा पुग्ने जतिबेला परीक्षा सकिन्छ, त्यही समयमा बल्ल क्याम्पसमा आउने गर्थे । तर एकदिन कसो कसो उनका माइला भाइले थाहा पाएछन् र घरमा पोल लगाइदिए । उनी भन्छन्, ‘त्यसपछि घरमा सुरु भइहाल्यो महाभारत !’ 

यही निहुँले उनको घरमा झगडा पर्लाजस्तो भयो । ‘डाक्टर बनाउने सपना देखेको छोरो नपढेपछि बा–आमाको चित्त पनि दुख्यो होला,’ उनी भन्छन्, ‘त्यसपछि म पनि केही सोच्न बाध्य भएँ ।’

उनका बाले यही निहुँले खाना पनि खाएनछन् । सरुभक्त सम्झन्छन्, ‘त्यतिबेला बाले खाना नखाएपछि आमाले पनि नखाने घरमा त यस्तो स्थिति आयो अनि मैले काठमाडौं अस्कल क्याम्पसमा गएर पढ्छु भनिदिएँ ।’ 

पोखरा बसेर नपढ्ने भनेपछि उनलाई अस्कलमा पढाउन परिवार राजी भयो । 
हामीले बीचैमा रोकेर पढाइ छोड्नुपर्ने के त्यस्तो कारण प-यो ? भनेर साैध्याैं।
‘विभिन्न कारण थिए,’ सरुभक्तले जवाफमा भने । 

यत्तिकैमा उनलाई केहीबेर आइदिनु भनेर एक कर्मचारी बोलाउन आए । उनले ५ मिनेट है भनेर कार्यकक्षमा गए । 
आधा घण्टापछि आएका सरुभक्तले साेधे, हामी कहाँ थियौँ रे ?

पढाइ अस्कलसम्म पुगेको बताएपछि उनले थपे, ‘अस्कल आएपछि बायोलोजी लिएर पढेँ । होस्टलको बसाइ थियो ।’
उनले बायोलोजी लिएर पढे पनि कक्षामा नियमित गएर कहिल्यै पढेनन् । फुर्सद हुनेबित्तिकै उनी नेपाल–भारत पुस्ताकालय गएर दिनभरि पढ्न थाले । त्यहाँ उनले बंगाली, हिन्दी, अंग्रेजी तथा नेपाली साहित्यको गहिरो अध्ययन गरे ।

त्यति मात्रै हैन उनले जयनेपाल गएर सिनेमा पनि हेरे । उनी भन्छन्, ‘एक वर्ष त मैले कहिले सिनेमा घर त कहिले पुस्तकालय गरेर बिताइदिएँ ।’ उनका साथीहरू रात धेरै बेरसम्म पढ्ने अनि बिहानै सबेरै उठेर पढ्ने गर्थे तर उनी भने पढ्दैनथेँ । 

रिसाएरै थाके बुबाआमा 

पढ्ने परीक्षा नदिने नियति यहाँ पनि दोहोरियो । उनले अस्कलबाट पनि आइए पास गरेनन् । बरु होस्टलको ढोकामा हस्तलिखित बुलेटिन राखिन्थ्यो । त्यसैको सम्पादक मण्डलको सदस्य भए । हातैले लेखेर छाप्ने काम गरे ।

तपाईंले परीक्षा नदिनुको पछाडि के कारण थियो ? साहित्यमा त्यत्रो प्रेमबारे लेख्नुहुने तपाईं प्रेममा गडबड भएकै कारण त्यसो भएको हो ? यस प्रश्नमा सरुभक्तले भने, ‘कहाँ त्यसो हुनु ? प्रेम घृणा जे को बारे पनि मैले लेखेको छु, अहिले यसबारे कुरा नगरौँ । जति तपाईंले यी कुरा कोट्याए पनि म भन्दै भन्दिनँ ।’

किन र ?

‘छाडिदिनुस् त्यो कुरा, बरु सुन्नुस,’ सरुभक्तले कुरा अन्तै मोड्दै भने, ‘अस्कलमा पढ्न मन नभएपछि म महाराजगञ्ज शिक्षाशास्त्र अध्ययनमा गएर पढ्छु भनेर सोच बनाएँ । त्यहाँ सिधै पढेपछि, उच्च अंक ल्याउने र बाहिर गएर पढ्ने योजनाका साथ घर सल्लाह गर्न गएँ । जसै घर गएँ, त्यसपछि फेरि यता आइनँ ।’ 

३/४ वर्ष घरी काठमाडौं घरि पोखरामा बरालिएको छोरा देखेर उनका बा–आमा रिसाउँदा–रिसाउँदा थाकिसकेका थिए । उनी भन्छन्, ‘रिसाएर सम्झाएर नभएपछि म आफैं फस्ट्रेसनजस्तो पनि भएँ र पछि आर्ट्स् लिएर आइएमा भर्ना भएँ।’

उनी कहिलेकाहीँ महिनाको एकदुई पटक कलेज गए । २०३८ सालमा बिए पास गरे तर साहित्यमा निरन्तर लागिरहे । कथा–कविता लेख्न थालिसकेका थिए, उनलाई धेरैले मास्टर्स पढ्दासम्म साहित्यकारको रूपमा चिन्न थालिसकेका थिए । 

प्राध्यापकको गुनासो 

उनी राम्रोसँग मास्टर्स पढ्ने योजनाको साथ काठमाडौं आए । अंग्रेजी साहित्य पढ्ने उद्देश्यका साथ काठमाडौं आएका उनलाई ग्रुप नपुगेपछि बाध्य भएर अर्थशास्त्र पढ्नु प-यो तर उनी कक्षामा कहिल्यै गएनन् । एकदिन त एकजना प्राध्यापकले उनको साथीसँग गुनासो गरेछन्, ‘त्यो सरुभक्त मेरो कक्षामा किन बस्दैन ? मलाई भ्यालु पो नदिएको हो कि ?’ त्यतिबेला उनी लेखक भनेर दरिन थालिसकेको थिए । यस्तोमा प्राध्यापकलाई सरुभक्तले हेपेको ठानेछन् तर अर्का साथीले कसैको क्लासमा पनि ऊ बस्दैन भनेर सुनाएपछि बल्ल कुरा बुझेछन् । 

उनले २०३८ सालदेखि २०४४ सालसम्म कहिले अर्थशास्त्र त कहिले दर्शनशास्त्र र अन्त्यमा उनले अंग्रेजी साहित्य पनि पढे तर कतिको जाँच दिए, कतिको दिएनन् । 

औपचारिक साहित्ययात्रा कलेजबाट 

जब उनले आर्ट्स्मा पढ्न भनेर आए, साहित्यप्रतिको उनको सानैदेखिको आस्था अरू बढेर गयो । उनलाई कवि बन्ने सपना बढेर आयो । 

त्यही मेसोमा उनीहरूले पोखरेली युवा साहित्यिक परिवार गठन गरे । अरुण थापा, विक्रम गुरुङ, सरोज गोपाल लगायतका साथी मिलेर खोलेको समाजमा उनी सचिव भए । त्यहीँ उनले ‘डढेलोले खाएको वन’ भन्ने नाटक लेखे । आफैँले निर्देशन तथा मुख्य भूमिका निर्वाह गरे । यसपछि नाटकको सिलसिला जारी रह्यो । उनीहरूले अर्काे नाटक पनि देखाए, त्यो नाटकमा अर्जुन र दुर्गा भन्नेको रोल प्रमुख थियो । उनी भन्छन्, ‘उनीहरूको प्रेम त्यस नाटकले झनै गहिराइदियो । पछि उनीहरूले विवाह पनि गरे ।’ 

प्रज्ञा प्रतिष्ठानमा पनि उनले नाटक देखाए । उनी खलपात्रमा थिए तर नाटक उत्कृष्ट नबनाई उत्कृष्ट भिलेनको पुरस्कार पाउने भएपछि उनले पुरस्कार लिएनन् । साथीहरुले चित्त दुखाएको पाएपछि उनले पुरस्कार अस्वीकार गरेका थिए ।

राजनीतिक दुस्मनी मेटाउने सेतु नाटक

सरुभक्त कुनै पनि राजनीतिक दलमा लागेनन् तर उनीहरूको नाटकमा अभिनय गर्नेहरू भने कोही राजावादी, कोही प्रजातन्त्रको पक्षधर थिए । दिनभरि एकअर्काको विरोध र ढुंगामुढा गरेका साथीहरू बेलुका मिलेर नाटक खेल्थे । सरुभक्त भन्छन्, ‘त्यतिबेला मैले नै सबै कुरा मिलाइदिएको थिएँ । राजनीतिक आस्था जे सुकै राख्नुस्, यहाँ आउँदा शुद्ध कलाकार भएर आउनुस् ।’ भयो पनि त्यस्तै कोही पनि नाटकमा आएपछि राजनीतिक दुस्मनी साटेनन् । 

त्रिविको सबैभन्दा खराब विद्यार्थी

पढ्ने तर परीक्षा भने नदिएका सरुभक्त आफूलाई त्रिविको खराब विद्यार्थी भएको ख्यालठट्टामा बताउने गर्छन् । उनी भन्छन्, ‘पढ्ने तर जाँच नदिने म त साह्रै खराब विद्यार्थी पो हुँ त ।’ उनले यो कुरा पोखरातिरका सबैलाई भनेका थिए । पिएन क्याम्पसनजिकै एकदिन सरुभक्त पत्रिका किन्दै थिए । त्यत्तिकैमा एकजना छात्रा नजिकै आएर आफू उनको फ्यान भएको बताइन् । उनले तपार्इंले जस्तै पढ्न चाहिँ पढ्ने तर परीक्षा भने नदिने बताइन् । उनी भन्छन्, ‘मैले त्यसो गर्नु हुन्न नानी भनेर सम्झाउन खोज्दै थिएँ ऊ त यति भनेर हिडिँहाली । कहिलेकाहीँ लाग्छ– नराम्रो कुरा पनि मान्छेले सिक्दोरहेछ ।’ 

गुन्द्रुकजस्तो जिन्दगी 

सबै कुरा भन्नुभयो एउटा कुरा भन्नुभएन नि ? ‘परिवार’कर्मीले यसो भन्नेबित्तिकै उनले कुरा बुझिहाले क्यारे ! हत्त न पत्त त्यो एउटा कुरा नभन्ने भनेर उम्कन खोजे ।

प्रेम किन गर्नु भएन ? हामीले प्रश्न राख्यौँ तर उनी प्रेमबारे एक शब्द पनि बोल्न राजी भएनन् । अविवाहित सरुभक्तसँग यसबारेमा केहीबेर गलफत्ती नै प-यो । 

उनी अलि गम्भीर भएर भने, ‘गज्याङगुजुङ गुन्द्रुकजस्तो छ मेरो जिन्दगी । त्यही भएर मलाई कसैले भेट्न खोज्यो भने अत्यास लाग्छ ।’

के प्रेमको कुरा सोध्छन् भनेर हो ?

‘त्यस्तो त होइन तर सोध्नेले सोधी नै हाल्छन् नि ! त्यो कुरा म कुनै दिन आत्मकथामा लेखुँला है !’ 

तपाईंको सरुभक्त नाम कसरी रह्यो ? हाम्रो जिज्ञासा सकिएन ।

‘सरु प्लस भक्त, सरुको भक्त यसमा कुनै अनौठो कुरा छ र ?’

कसैप्रति पनि प्रेम सम्बन्ध भएन त ?

सरुभक्त अलि झोँक्किए, ‘हुन त धेरैले सोध्छन् यो कुरा मलाई तर मलाई के लाग्छ भने प्रेम भनेको आस्था हो । म यसबारे किन बोल्दिनँ भने त्यो बोल्ने खालको कुरा छैन । दुनियाँलाई सुनाइहिँड्ने कुरा हो जस्तो पनि मलाई लाग्दैन । प्रेम त आफूले अनुभव गर्ने कुरा हो । दुनियाँलाई म यस्तो प्रेम गर्छु भनेर सुनाइहिँड्ने कुरा होइन ।’

सरुभक्त यसको अर्थ चाहिँ के हो ?

‘हाहाहा...’ उनी मज्जाले हाँसे अनि भने, ‘कुनै दिन आत्मकथा लेखौँला । सरुभक्त, सरुको भक्त ।’

एकजना अर्थशास्त्रीको प्रेम सम्बन्ध छुटेपछि उनले कसैलाई प्रेम गरेनन् उनी दार्शनिक भएर निस्किए । तपार्इं पनि कसैको प्रेमका लागि आफूलाई समर्पण गर्नुभएको हो ? ‘तपार्इंले जे उदाहरण दिएर सोधे पनि म यो कुरा अहिले भन्दिन, आत्मकथामै लेख्छु,’ उनले जोड दिए ।

प्रकाशित: २२ आश्विन २०७५ १०:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App