११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

‘मन्दिर होइन, कलेज बनाउनू’

बल, बल, बल (नेपाल भाषामा यसको अर्थ हुन्छ– आयो, आयो, आयो)। त्यस समयको आतंकित अँध्यारो झमक्क भर्खर परेको रातमा आधारहिन भयले कुनैसमय कराउँथे । त्यो बल बलको साँझ असन, इन्द्रचोक, किलागल, बांगेमुढाहरू तर्फको आतंकपूर्ण हल्लाको कारण पनि झूठो कल्पना थियो कि राणाजीहरूले काठमाडौंको पूर्व, उत्तर, पश्चिम र दक्षिणतिरका जिल्लाहरूमा काठमाडौंमा आक्रमण गरी फेरि राणाशाही फर्काउन खुकुरी दल खडा गरेका छन् । २००७ सालको क्रान्तिपछिको समय थियो त्यो । त्यतिबेला मोहनशम्शेर जबरा प्रधानमन्त्री र बीपी कोइराला गृहमन्त्री थिए।

एकातिर सहरवासीहरू झुटो हल्लाले आतंकित थिए भने अर्कोतिर रोलवाला राणाहरूका दरबार निवासी ‘ए क्लास’ राणाहरू उनीहरूका आठपहरियाहरू ढोके छाते हुक्के इत्यादि आफ्नो शान, सौकत र रवाफ भर्खर गुमेकोबाट उत्तेजित थिए । रोलवाला ‘ए क्लास’ राणाहरूको एक खण्डले ‘राष्ट्रिय गोर्खा दल’ संगठन बनाएका थिए । त्यसको जनरल सेक्रेटरी थिए, भरतशमशेर जंगबहादुर राणा।

हल्लाहरूले भयभीत काठमाडौंका नेपाली कांग्रेसका कार्यकर्ताहरू गृहमन्त्री बीपी कोइराला र उद्योग तथा बाणिज्यमन्त्री गणेशमान सिंहलाई भरतशमशेरलाई पक्राउ गर्नुपर्छ भनिरहेका थिए । गुप्तचरहरूको रिपोर्ट पनि कुरा सुनेको भरमा बन्ने गथ्र्यो कि भरतशमशेरले खुकुरी दलको उपद्रो मचाउने सल्लाह गर्दैछन् भनेर।

बीपीलाई थाहा थियो कि आर्मी कमान्डर बबरशमशेरका नाति, मृगेन्द्रशमशेरका छोरा ‘ए क्लास’ राणालाई पक्रन गाह्रो छ । बीपीले आफूले बनाएको आइजिपी तोरणशमशेरलाई भरतशमशेरलाई समात्न सक्नुहुन्छ कि हुन्न भन्नु भएछ । तोरणले भनेछन्– तपाईंले पक्रने आदेश दिए मैले जसरी भए पनि समात्नुपर्छ । भरतशमशेरलाई पक्राउ गरेर एक रात जेलमा के राखिएको थियो, भोलिपल्टै २÷३ हजार व्यक्तिहरू खुकुरी भिरेका र खुकुरी चम्काउँदै जेलतर्फ लागे र जेलको फाटक तोडेर भरतशमशेरलाई निकाले । एउटा चारघोडे बग्गीमा चढाएर र टुँडिखेलतर्फ लैजान थाले।

बीपी त्यस समय जेलको केही दक्षिण मात्र त्रिपुरेश्वरमा (हाल दूर सञ्चारको छेउ) परराष्ट्र मामिला अध्ययन केन्द्र भएको ठाउँ त्यस समय सरकारी गेस्ट हाउस थिए, त्यहाँमध्ये एउटामा बस्नुहुन्थ्यो । सिंहदरबारमा प्रधानमन्त्री श्री ३ मोहनशमशेर बस्थे । त्यो सिंहदरबारभित्रको ब्यारेकमा त्यस समय राष्ट्रिय सेनाको एक ब्रिगेड बस्थ्यो । गृहमन्त्री बीपीको साथ तीन–चार जना पेस्तोलधारी बडिगार्ड मात्र बस्थे । खुकुरी दलको एउटा ४०–५० जनाको हुल बीपी बस्ने ठाउँतर्फ लाग्यो । उनीहरूका नाइके बबरमहलका प्रमुख आठपहरियाले सँगै बसिरहेका दीर्घराज कोइरालालाई बीपी कोइराला भन्ठानी कुट्दै घिसारेर लगे । तर, टुँडिखेलनिर पुग्दा कसैले यो बीपी कोइराला होइन भनेपछि फेरि बीपी कोइरालालाई पक्रेर घिसार्दै ल्याउन गेस्ट हाउसतर्फ लागे । बीपीले आफ्ना बडीगार्डहरूलाई फाटक बन्द गर्न भन्नुभयो। तर, त्यो खुकुरी भिरेको भीडले फाटक तोडिदियो र भित्र पस्यो।

गणेशमान सिंहको विवरण
गणेशमान सिंह मन्त्री हुनुहुन्थ्यो र त्यस समय बीपी बस्ने ठाउँमै गएको बखत थियो । गणेशमान सिंहले पछि आफ्ना साथीहरूलाई सुनाएको विवरण अनुसार दीर्घराज कोइरालालाई कुट्दै घिसार्दै लगिसके अब यहाँ बस्नु ठीक हुँदैन भागेर सहरतिर जानुपर्छ भन्ने मनमा आयो । तर, मैले सोचे– भर्खर केही दिनअघि जनताको जुलुसले ‘वीर गणेशमान जिन्दावाद’ भन्दै म छुट्दा साँझ सहर घुमाउँदै घर पु-याएको थियो । यो ‘बर्मु’ (बाहुन) बीपी कोइराला पनि भाग्न लागेको देखेँ भनेचाहिँ म पनि कुलेलम ठोक्छु।

फेरि दोस्रो पटक खुकुरी भिरेका हुल्याहाहरूले विनय उपाध्याय (बीपीका भानिज) स्टेनगन लिएर उभिएका थिए । तर, उनलाई ताकेर टाउकोमा ढुंगाले हानेपछि बेहोस भएर लडे । बीपीको अफिसका सबै कागज जलाइदिए । बीपी चढ्ने कार पनि जलाइदिए । एकजना मोटो आठपहरिया केही खुकुरी भिरेकाहरूलाई लिएर बीपी कोइराला, म र अरु बसेको ठाउँतिर लम्कँदै थियो । बीपीले कड्केर सोध्नुभयो, ‘कसको पर्मिसन लिएर गृहमन्त्रीको कोठाभित्र पस्यौं ? अनि त्यो व्यक्तिले खुकुरी चम्काउँदै अगाडि बढ्दा बीपीले आफू बसेको ड्रअरबाट पेस्तोल निकाली ड्याङ्ग गोली हानेपछि त्यो मान्छे लड्यो । हात्तीको बिड भएको लामो खुकुरी उछिट्टिएर कार्पेटमा खस्यो । बीपीले ड्याङ ड्याङ गरी कोठाका पसेका अरुलाई पनि गोली हान्दा त्यसरी एकजनाको ठहरै मृत्यु भयो र अरु तीनजना घाइते भए । अरु आक्रमणकारीहरू भागाभाग भए । उतातिर जेलबाट छुटाएर बग्गीमा चढाएर भरतशमशेरलाई टुँडिखेल र सहर माझको सडकमा पुग्दा काठमाडौं सहरवासीहरूले ढुंगामुढा हान्दै ‘भरतशमशेर मुर्दावाद’, ‘राणाशाही मुर्दावाद’ नारा लगाउँदै लखेट्न थाले । भरतशमशेरका मान्छेहरूले एउटा मोटरकारमा चढाई दौडाएर उम्काए।

त्यसपछि भरतशमशेर कांग्रेसीहरू र प्रजातन्त्र पक्षधरहरूको लागि भिलियन नं. वान भए । बीपी कोइरालालाई राजा त्रिभुवनले आफ्ना एडिसी जनरल योगविक्रमलाई पठाई सपरिवार नारायणहिटी ल्याउन लगाए । बीपी कोइराला २०–२१ दिन नारायणहिटीमा पाहुना भएर बसे।

तर, सात आठ वर्षपछि भरतशमशेर धादिङबाट निर्वाचित भएर २०१५ साल (सन् १९६९) को आम चुनावमा विजयी भए । राष्ट्रवादी गोर्खा परिषद्ले पनि प्रतिनिधिसभामा १९ स्थान र महासभामा ३ स्थान गरी २२ जनाको नेपाली कांग्रेसपछिको सबैभन्दा ठूलो संसदीय दल भयो । पहिले मृगेन्द्रशमशेर गोर्खा परिषद्को संसदीय दलका नेता भए । तर, २०१६ माघ ९ गते मृगेन्द्रशमशेरले राजीनामा दिए । भरतशमशेर त्यो पार्टीको संसदीय दलका नेता बनाइए । त्यसबखत संसदमा कोही पनि विधिवत् प्रतिपक्षी दलको नेता थिएन । २०१७ असार ४ गते उनी संसदमा विधिवत् प्रतिपक्षी दलका नेता मानिए । उनले बीपी कोइरालालाई भनेछन् कि कसैले संसद विथोल्ने कोसिस ग-यो भने म त्यो हुन नदिन तपाईंलाई साथ दिन्छु।

२०१७ पुस १ गते भरतशमशेरलाई केही आशंका वा पूर्व जानकारी भएर एकाबिहानै बीपी कोइरालाकहाँ फोन गरेर भने म अहिले नै भेट गर्न चाहन्छु । बीपीले खाना खाएर आए पनि हुन्छ भन्दा भरतशमशेरले भनेछन् म अहिले नै भेट्न चाहन्छु । भरतशमशेरले त्यस समय बीपी बस्ने नक्साल नागपोखरीसामुको घरमा पुग्दा जाडोको समय बीपी बिछ्यौनामै ओढ्ने ओढेर बसिरहेका थिए । (त्यो बेला एअरकन्डिसनको व्यवस्था थिएन) । भरतशमशेरले त्यो कोठामा रहेको सोफामा बसेर भनेछन् कि उनले त्यसै दिन (पुस १ गते २०१७)को बिहान ११ बजेको हवाइजहाजबाट कलकत्ता जाने टिकट लिइसकेका रहेछन् । तर, राजा महेन्द्रले अचानक त्यसै दिन ३ बजे नारायणहिटीमा भेट्न बोलाएको खबर त्यहाँबाट आएछ । बीपीले भनेका थिए, ‘राजाले सल्लाह मागे संसदीय व्यवस्था राजाको पनि हितमा छ, त्यसलाई ध्वस्त गर्नु हुन्न भन्ने सल्लाह दिनु होला । तर, नभेटी कलकत्ता नजानुहोला।’

बीपीका उपप्रधानमन्त्री सुवर्णशमशेर भने केही सुइँको पाएर वा के हो कलकत्ता उडिसकेका थिए । त्यसै दिन पुस १ गते दिउँसो तरुण दलको स्थलबाटै सेनाले प्रधानमन्त्री बीपी कोइरालालगायत गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, प्रेमराज आङदम्बेलगायत कांग्रेसका नेताहरूलाई पक्रेर लग्यो । विराटनगरमा पनि मनमोहन अधिकारी र मातृकाप्रसाद कोइरालालाई अपरान्ह ३ बजे एउटा जरुरी सल्लाह गर्नु छ त्यसैले त्यो टाइमभन्दा अगाडि नै पुग्नु होला भनी वडाहाकिम हीरा गिरीले खबर गरेका रहेछन्।

३ बजे प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर नारायणहिटीको पश्चिम गेटमा पुग्नासाथ सेनाले उनलाई समाएर लग्यो । तर, केही समय थुनामा रहेपछि राजालाई साथ दिन्छु भनी झुठो सन्देश पठाएर भरतशमशेर छुटे । त्यसपछि कलकत्ता गए । त्यहाँ उनले निर्वाचनमा रहेका नेपाली कांग्रेसका कार्यवाहक सभापति सुवर्णशमशेरलाई भेटे । भरतशमशेरले औपचारिक रूपमै राष्ट्रवादी गोर्खा परिषद् नेपाली कांग्रेसमा विलय भएको घोषणा गरे । उनीसँगै वेणीबहादुर कार्की, सांसद सुरेन्द्रप्रसाद उपाध्यायलगायत कैयौं गोर्खा परिषद्का कार्यकर्ताहरू नेपाली कांग्रेसमा गए । भरतशमशेरमाथि कलकत्तामा बम प्रहार गर्न खोज्दा एकजना भारतीय मुसलमान नपड्किएको सजीवन ह्याण्ड ग्रिनेडको साथ पक्राउ परेको हल्ला पनि मैले काशी वाराणसीमा कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा निर्वासनमा रहँदा सुनेको थिएँ।

जेलबाट छुटेर बीपी कोइराला गणेशमान सिंहहरू निर्वासनमा गएपछि भरतशम्शेर बीपीका सहयोगी भए । सुवर्णशमशेरले चाहिँ चीन–भारत युद्धपछि फिर्ता लिएको सशस्त्र विद्रोह फेरि प्रारम्भ गर्न मानेनन् । भारतले चीन भारत सीमा युद्धपछि राजा महेन्द्रलाई खुसी पार्ने नीति नेहरूकै पछिल्लो शासनकालमा सुरु भइसकेको थियो । लालबहादुर शास्त्री र इन्दिरा गान्धी प्रधानमन्त्रीकालमा त्यो नीति झन्झन् कसिलो पारियो।

भारतमा बसेर नेपालका राजाको शासनको विरोधमा कुनै काम गर्न नदिने नीति लिएका कारण बिपी कोइरालालाई बाराणसी छेउ सारनाथमा सशस्त्र पहरामा राखिएको थियो र वनारस छाडी अरु ठाउँ जाँदा भारत सरकारको अनुमति बिना जान नपाइने बन्दोवस्त गरिएको थियो । त्यस्तै गरी भरतशमशेरलाई पनि कलकत्ता सहर छाडी अन्य जान नपाइने र जानै परे भारत सरकारको पूर्व अनुमति लिनुपर्ने बन्दोवस्त गरिएको थियो।

२०३३ सालमा राजा वीरेन्द्रसँग राष्ट्रिय मेलमिलाप भन्दै बीपी कोइराला गणेशमान सिंह र शैलजा आचार्य आदि फर्के पनि भरत शमशेर कलकत्तामै रहिरहे । उतै उनले बंगाली फिल्महरूमा लगानी गरिरहे । कविता, प्रतिज्ञा, निमन्त्रण कैयौं बंगाली फिल्महरूका उनी निर्माता भए।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)ले ज्योति बसु पश्चिम बंगालका मुख्यमन्त्री रहेका बखत आयोजित एक अन्तर्राष्ट्रिय विचार गोष्ठीमा भागलिन कोलकाता पुगेका बखत मदन भण्डारीले पनि भरतशमशेरसँग भेटेछन् । तर, त्यस अवसरमा रेड वाइन खाँदै दुवैबीच घन्टौं कुराकानी हुँदा त्यही बैठकमा बसे पनि केही पर बसेका कारण ईश्वर पोखरेल र पत्रकार राजेन्द्र स्थापितले सुन्नजान्न सक्नु भएनछ।

गोर्खा परिषद्को हिन्दू धर्मवादी राजनीति थियो । मृगेन्द्रशमशेरका छोरा भरतशमशेर, जगदीश शमशेर कलकत्तामा पढ्दादेखि नै अनिश्वरवादी (एग्नोस्टिक) भए । यो कुरोमा राम्ररी जानकारी छ किनभने मैले यो कुरा स्वयं जगदीशशम्शेरको मुखबाट सुनेको थिएँ । २०१६ सालमा म बनारस हिन्दू युनिभर्सिटीमा पढ्दै थिएँ, त्यसबखतको भारतीय राजदूताबासमा एकजना हिन्दी कवि शिवमंगल सिंह ‘सुमन’ सांस्कृतिक सहचारी थिए । नेपालका विभिन्न राजनीतिक दलका सांसदहरूको एउटा टोली भारत भ्रमण गर्दै वाराणसीमा पनि पुग्यो । त्यो भ्रमण टोलीका सहयोगीको रूपमा शिवमंगल सिंह ‘सुमन’ थिए । त्यस प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका वीरगन्जबाट निर्वाचित र मसँग पूर्वपरिचित तेजबहादुर अमात्य पनि थिए । वाराणसीको होटल क्लार्कमा ककटेल डिनरपछि म केहीबेर जगदीश शमशेर र देववीर पाण्डे बसेको कोठामा गएँ । जगदीश शमशेरले पनि दुई पेग ह्विस्की डिनरअघि लिएको देखेको थिएँ । तर, पाण्डेले भने रक्सी नलिई सफ्ट ड्रिक्स लिएका थिए । जगदीशशम्शेरले भने तपाईंहरू कांग्रेस र कम्युनिष्टको गोर्खा परिषद्ले राणाशाही फर्काउन खोज्दैछ भन्ने प्रचार गर्दैछन् । ‘के हामी यति मूर्ख हौं कि अब फेरि जहाँनिया राणा शासन फर्कन सक्छ भन्ने सोच्न सक्छौं । तर, झूठो प्रचारको काउन्टर गर्न हामीले हिन्दूवादी राजनीति लिएका हौं । वास्तवमा भरत दाइ, हामी एग्नोस्टिक हौं हामीहरूको रोलमोडल ब्रिटेनको कन्जर्भेटिव पार्टी हो । अनि देववीर पाण्डेतिर हेर्दै भने, उहाँहरू धर्मकर्मवादी हुनुहुन्छ । तर, हामी सोच्दछौं कि नेपालमा अब मन्दिर बनाउने होइन कलेजहरू बनाउनुपर्छ।’

हालै हामी सबैले अखबारहरूमा पढ्यौं कि भरतशमशेरले आफ्ना छोराछोरीलाई एउटा इच्छा पत्रमा लेखेका रहेछन्, ‘मेरो हिन्दू रितीले दाहसंस्कार नगर्नू र मेरो शरीर कलकत्ताको मेडिकल कलेजलाई दिनू।’ आफ्नो जीवन दर्शन र राजनीतिप्रति स्पष्ट, प्रजातान्त्रिक विचार भएका भरतशम्शेरको योगदान यत्तिकै बिर्सन सकिँदैन।

उनीप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित: २ भाद्र २०७५ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App