काठमाडौें तिनकुनेमा बस्ने शुशिल बस्नेतको कोठामा दुई सातादेखिको फोहोर छ । फोहोर उठाउने गाडि नआउँदा उनी कोठामै फोहर पाको पारेर राख्न बाध्य छन्।
कोठामा फोहोर राख्दा कोठा नै गन्हाउन थालेको उनको गुनासो छ । उनी भन्छन्, ‘बाहिर राखौं घरबेटी कराउँछन्, कोठामा राखौं गन्हाएर बसीसक्नु हुन्न, महानगरको गाडि फोहर उठाउन नआएको धेरै भयो, यसले ठूलो समस्या थपेको छ।’
उनीमात्रै होइन, काठमाडौंमा डेरा गरी बस्ने डेरावाला तथा घरबेटीहरू फोहोर उठाउने गाडि नआउँदा दिक्क छन् । दुइसाताभन्दा बढी फोहर उठाउन महानगरको गाडि नआउँदा कोठामै फोहोर गुम्स्याएर राख्नुपरेको छ सहरवासीलाई । यद्यपी फाट्टफुटट् ठाउँमा भने फोहोर उठ्ने गरेको छ । तिनकुने, नयाँ वानेश्वर, कोटेश्वर, गौशाला, सातदोबाटोलगायत मुख्य ठाउँमा फोहर उठाउन महानगरको गाडि आएको छैन।
पछिल्लो समय सरकारी निकायबीचको फोहर व्यवस्थापन गर्ने विवाद पनि सतहीमा पुगेको थियो । काठमाडौंको फोहर कसरी समाधान गर्ने होला ? धेरैले यसबारे अडकलबाजी गर्न थाले ।तर, सरकारी निकायले यसको दीगो समाधान भने निकाल्न सकेका छैनन । घरधनी र डेरावाला मात्रै होइन, उपत्यको फोहोर व्यवस्थापन गर्ने पक्ष अहिले सबैको टाउँको दुखाईको विषय बन्न थालेको छ । सरकारी निकायको परिपक्व निर्णय नहुँदा यो समस्या बल्झिरहनेको हो।
उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले दीर्घकालीन उपाय अवलम्बन नगर्दा देखिएका समस्या मान्न सकिन्छ । हरेक वर्षजसो विभिन्न बहानामा उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध आउने गर्छ । अवरोधले उपत्यकावासीलाई समस्यामा पार्छ भने सडकभर फोहोरको थुप्रो लाग्छ ।१२ बर्षदेखि फोहोर फाल्दै आएको सिसडोल भरिएपछि उपत्यकामा त्यसको असर परेको हो । यसको समाधान गर्न ९ बर्षअघि सरकारले लगानी बोर्डको कार्यालय अन्र्तगतको प्रोजेक्टलाई अघि सारेको थियो । तर, उक्त प्रोजेक्टले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको लागि पूर्वाधार तयार पार्न सकेको छैन । महानगरले ६ महिना अघि नै ३ महिना भन्दा धेरैको फोहोर सिसडोलमा नअट्ने बताएको थियो ।
तर, ६ महिना बित्दापनि बञ्चरेडाँडालाई तयार पार्न सकेको छैन ।१२ बर्षदेखि फोहोर फाल्ने ठाउँ सिसडोलको आयु समाप्त भइसहकेको छ । विकल्पमा अर्को साइट तयार नहुँदा यही साइटको क्षमता बढाउँदै फोहोर चाङ लगाएर राख्ने गरिएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले यसबारे काम अघि बढेको जानकारी दिए । ‘यो समस्याको हामीले दिर्घकालीन समाधान खोजेका छौं,’ उनले भने, ‘बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट तयार भएपछि त्यसले लामो समय थेग्छ ।’ उनले बञ्चरेडाँडा नै दीर्घकालीन उपाय नभएको जानकारी दिए।
उपत्यकाका तीन जिल्लाबाट सिसडोलमा दैनिक करीव ११ सय मेट्रिक टन फोहोर पुग्छ । महानगरले व्यवस्थापन गरिरहेको सिसडोलमा अन्य नगर तथा संस्थाले शुल्क तिरेर फोहोर विर्सजन गर्दै आएका छन् । महानगरले न्युनतम ८ टनसम्म रु १ सय ५० र ८ टन माथिको फोहोरको शुल्क २ सय ५० रुपैँया लिएर फोहोर विर्सजन गर्न दिन्छ ।
सरकारले २०५८ सालमै नुवाकोटकै बञ्चरेडाँडालाई ल्याण्ड फिल्ड साइड बनाउन स्थानीयलाई मुआब्जा बुझाइसकेको थियो । हालको ककनी गाउँपालिका वडा २ मा पर्ने यस क्षेत्रमा ल्याण्ड फिल्ड साइट बनाउनको निम्ति २०६१÷६२ देखि वार्षिक ढेड करोडभन्दा बढी रकम विनियोजन गर्दै आएको छ।
निजी कम्पनीले सुरु गरेन काम
सरकारले साउन १ गते काठमाडौं फोहर व्यवस्थापनको जिम्मा निजी कम्पनी दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको बैठकले नेपवेस्ट प्रालिलाई फोहोरको जिम्मा दिने निर्णय गरेको थियो । तर, प्रालीले फोहर प्रसोधन केन्द्र निर्माण गर्ने कार्यलाई सुरु गरेको देखिन्न ।
३ वर्षभित्र फोहरबाट ग्यास र मल समेत उत्पादन हुने गरी काम थाल्न उक्त कम्पनीलाई जिम्मा लगाइएको हो । यो आयोजना निर्माणका लागि ८ अर्ब रुपैयाँ लगानी छुट्याइएको छ । लगानी बोर्डले यो आयोजना सम्पन्नपछि २० बर्षसम्मको फोहोर यही फाल्न सकिने जनाएको छ ।
प्रकाशित: १८ श्रावण २०७५ ०३:२५ शुक्रबार