१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

निःसन्तानको सन्ताप

धादिङकी एक महिलाको केही गर्दा पनि बच्चा भएन । गाउँमा एक जना आफन्तको विवाह थियो, ती महिलाकी आफ्नै सानिमाले ‘तँ बाँझी, तैँले जग्गेमा आएर छोए अशुभ हुन्छ’ भन्दै कपाल समातेर हटाइन् । विवाहको त्यो माहोलमा सिंगारिएर गएकी उनको सार्वजनिक बेइज्जती र अपहेलना भयो । उनी विवाह छोडेर हिँडिन् । धेरैबेरसम्म दिदी नदेखेपछि भाइ खोजीमा निस्किए, खोजी गर्दैजाँदा उनी त्रिशूली किनारै पुगिसकेकी रहिछन् । धन्न समयमा भाइ पुगेर ज्यान बचाए । 

केही वर्षअघि पश्चिम नेपालबाट एउटा विपन्न दम्पति निःसन्तानको उपचारका लागि डा. उमा श्रीवास्तवको बानेश्वरस्थित निःसन्तान उपचार केन्द्रमा आइपुग्यो । डा.श्रीवास्तवले संभावित कारण उपचारका विकल्पबारे विस्तृतमा परामर्श गरिन् । श्रीमान्ले पैसा कति लाग्छ भनेर सोधे, डाक्टरले कारण थाहा पाउने तहको परीक्षणका लागि करिब दश हजार लाग्ने बताइन् । त्यसपछि पुरुष जुरुक्क उठेर र श्रीमतीको पाखुरा ताने र हिँड् बुढी भनेर ताने । ‘१० हजारले त दोस्रो विवाह नै गर्न पुग्छ नि,’ भन्दै उनी उपचार नगराई घर फर्के र दोस्रो विवाह गरे । 

काठमाडौंको एउटा सम्पन्न परिवारमा एक्लो छोरासँग प्रेम विवाह भयो । शिलशोभा भएकी र राम्री भएपछि परिवारको प्रिया नै थिइन् । एक वर्ष दुई वर्ष भन्दाभन्दै सन्तान भएन । घर परिवारले एक्लो छोरो भएकाले वंशलाई निरन्तता दिन पनि सन्तान चाहिन्छ भन्दै दोस्रो विवाह गर्न दबाब आयो । लामो समय प्रेम गरेर भित्र्याएकी पत्नीलाई सौता हाल्न पति तयार थिएनन् । यसपछि उपचार खोज्ने सहमति भयो । पति अस्पताल पुगे । जाँच गर्दा निको हुने खालकै समस्या थियो, हर्मनको समस्याका कारण, डिम्ब विकास भएको थिएन । पाठेघरमा समेत सिस्ट थियो । सात महिनाभन्दा लामो उपचारपछि उनी गर्भवती भइन् । अहिले त्यो परिवार खुसी छ। 

यी कथा कुनै सिनेमाका हैनन् । विवाह गरेको लामो समयसम्म सन्तान सुख प्राप्त गर्न नसकेका दम्पतिमा आइपरेका प्रतिनिधि घटना मात्रै हुन् ।  

आँखै अगाडि छुनुमुनु गर्दै नाचेर खेलेको हेर्ने रहर दम्पतिलाई मात्रै होइन, सिंगो परिवारलाई नै हुन्छ । सहजै रुपमा सन्तान नहुँदाको पीडा सन्तानको चाहनामा भौँतारिएर  थाकेकाहरुले जति कसले महसुस गर्न सक्ला र ? 

परिपक्व र प्रजनन् उमेर भएका दम्पतिबीच समागम हुँदा सन्तान हुने कुरा जैविक विषय हो तर त्यही सन्तान जन्माउने कुरामा उत्पन्न हुने शारीरिक तथा स्वास्थ्यजन्य समस्याका कारण सिंगो परिवार नै आजीवन तनावको दलदलमा फँसिरहेको हुन्छ । आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक रुपमा समेत सन्तानको आवश्यकता ठान्ने नेपाली समाजमा त झन्ै सुसुप्त रुपमा यो समस्या भयावह रुपमा भुसको आगोझैँ फैलिरहेको छ । 

चिकित्सा विज्ञानले निःसन्तान समस्यालाई गम्भीर प्रकृतिको स्वास्थ्य समस्या मात्रै होइन, समान्य जैविक सावधानी र चेतनाको उपजसमेत भएको प्रमाणित छ ।

बाँझोपनले उत्पन्न हुने सामाजिक र मानसिक समस्यामा समाज जति पिरोलिइरहेको छ समाधानको सरल बाटोको खोजीमा नलागी पीडा पालेर बस्ने वा विष्फोट भएर गलत निर्णय गर्नेहरुको समेत कमी छैन । जसका परिणाम परिवार आज सामाजिक जटिलतामा फँस्दै गएको छ । 

आखिर किन हुँदैन त सन्तान ? 

सन्तान प्राप्तिलाई जति सजिलोगरी स्वास्थ्यको कारण भन्छौँ, दम्पतिको स्वास्थ्य अवस्थामा मात्रैका कारणले हुन्न । चिकित्सकहरुका अनुसार सन्तान हुने÷नहुने विषय विवाहित दम्पतिको पेसा, जीवनशैली, स्वभाव, पारिवारिक वातारण आदिमा भर पर्छ ।

ओम अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.भोला रिजालका शब्दमा मानिस आफ्नो सुरक्षा, भविष्य, सामाजिक लोकलाजका लागि सन्तान सुख चाहन्छन् । ‘दम्पति सन्तान चाहन्छन् र भएन भने बिस्तारै दम्पतिबीच, परिवारबीच तनाव बढ्दै जान्छ,’ डा.रिजालका अनुभवमा अन्य बिरामीप्रति सहानुभूति राख्ने समाज पनि सन्तान नहुने समस्या भएका दम्पतिलाई हेयको दृष्टिले हेर्छन् । ‘दम्पतिहरु आफ्ना वेदना सुनाउँदा सुनाउँदै भक्कानो छाडेर रुन्छन्,’ उनले भने, ‘यसरी पीडा पोख्न नभएर मन गुम्स्याएर बस्नेहरु त कति होलान् कति ?’ 

चिकित्सकहरुका अनुसार धेरै दम्पतिमा व्याप्त यस्ता बाँझोपन अर्थात् निःसन्ताको समस्या सामान्य (निको बनाउन सकिने) स्वास्थ्य समस्याकै कारणले भएको हुन्छ ।

विवाहित दम्पति एक वर्षसम्म सँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरी शारीरिक सम्पर्क गर्दा पनि गर्भाधान नभए त्यसलाई निःसन्तान समस्या वा बाँझोपन भन्छन् । सन्तान प्राप्तिका लागि महिनावारीको चक्रलाई समेत पछ्याएर सावधानीपूर्वक प्रयास गर्दा एक वर्षभित्र गर्भ रहेन भने परीक्षण एवं उपचार थाल्नुपर्छ । उपचारमा जानुअघि धेरै दम्पतिले यौन सम्पर्कको अवधि र महिनावारी चक्रबीच तालमेल ल्याउँदा मात्रै पनि गर्भ रहेको अनुभव विशेषज्ञ चिकित्सकहरुको छ ।

गर्भाधानका लागि जैविक रुपमा महिनावारी भएर डिम्ब निस्किएको समयमा डिम्बवाहिनी नलीभित्र पुरूषको शुक्रकीट र महिलाको डिम्बको मिलन हुनुपर्छ । सामान्यतः महिनावारी भएको १४ औँ दिनमा मात्रै डिम्बासयबाट डिम्ब निस्किन्छ । महिनावारीमा तलमाथि हुने महिलाको सन्दर्भमा एक÷दुई दिन तलमाथि हुन्छ । यौन सम्पर्कपछि पाठेघरको मुख हुँदै डिम्ब नलीतर्फ लाग्ने शुक्रकीट र डिम्बाशयबाट नलीतर्फ आउने निस्किएको डिम्ब (अण्डा)को भेटपछि गर्भाधान हुन्छ । 

सामान्य चक्र नजानेर र कहिले गर्भ रहन सक्छ भन्ने थाहा नपाएर पनि सन्तान नहुने दम्पति थुपै छन् । ‘यसरी गर्भ रहन्छ, यस्तो सयममा शारीरिक सम्पर्क गर्दा हुन्छ भनेर मात्रै सिकाउँदा पनि धेरैको गर्भाधान भएको छ,’ स्त्री रोग विशेषज्ञ डा.ज्योति अग्रवाल भन्छिन् । 

चिकित्सकका अनुसार विवाहित दम्पतीमध्ये करिब १५ प्रतिशतमा निःसन्तानको समस्या हुने गरेको छ । तीमध्ये ८५ प्रतिशतको उपचारबाटै सन्तान हुने र १५ प्रतिशतलाई मात्रै टेस्ट ट्युब बेबी चाहिने हर्मन तथा निःसन्तान विशेषज्ञ डा.उमा श्रीवास्तव बताउँछिन् । 

आम रुपमा त्यसमा करिब ३० देखि ४० प्रतिशतमा पुरुषमा खराबी, ४० देखि ५० प्रतिशतमा महिलामा खराबी, १० प्रतिशतमा दुवैमा खराबी तथा बाँकी १० प्रतिशतमा कुनै कारण नै पत्ता लाग्न नसक्ने चिकित्सकहरु बताउँछन् । 

निःसन्तानको उपचारका क्रममा महिला, पुरुष तथा दुवैमा रहेको प्रस्ट कारणको औषधि वा शल्यक्रियाद्वारा गरिने उपचारको अलावा निःसन्तानका कारण तिनीहरुमा व्याप्त हुने मानसिक चिन्ता तथा उदासी पनि कारक बन्ने चिकित्सकहरु बताउँछन् । ‘राम्रो परामर्श दिने, आवश्यक परे खानपिनमा परहेज गरी तौल घटाउने धूमपान एवं मद्यपान त्याग्ने र  महिनावारी चक्रबारे राम्ररी बुझाउँदा मात्रै पनि गर्भ रहन सक्ने अनुभव चिकित्सकहरुको छ । 

दम्पतिलाई अधिकांश अवस्थामा विभिन्न तरिका सिकाएर चलिआएको र पारम्परिक उपचार गर्ने भए पनि महिलाको उमेर ३५ र पुरुषको उमेर ४० नाघिसकेको छ भने ६ महिना सम्ममा बच्चा भएन भने सम्बन्धितमार्फत् अन्य परीक्षणका लागि ढिला नगर्न सुझाव दिन्छन् । विवाहको दोस्रो वर्षपछि नै दम्पतिको प्रजनन् क्षमता दरमा निकै कमी आउँदै क्रमशः घट्दै जाने हुनाले चाँडै स्वास्थ्य परीक्षण गराउने वा सामान्य जानकारी एवं सल्लाहबाट ठीक पार्न सकिने समस्याहरुका लागि ढिलो गर्न नहुने डा. ताम्राकार बताउँछन् । 

चिकित्सकहरुका अनुसार अधिकांश निःसन्तानमा परीक्षणबाट डिम्बवाहिनी नली खुला छ/छैन यकिन गर्ने, पुरुषको वीर्य उत्पादन क्षमता वा संख्याको जाँच गर्ने र महिलामा डिम्बवाहिनी नली खुला छ भन्ने प्रमाणित भए कारण थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा महिलामा डिम्ब बढी उत्पादन हुने हर्मन प्रयोग गरेर प्राकृतिक यौन सम्पर्क वा कृत्रिम गर्भाधान बच्चा जन्माउन सकिन्छ । ‘निःसन्तानका समस्या भएका दम्पतिमा जाँच पड्तालको दुई वर्ष अवधिमै ३०–४० प्रतिशतले गर्भाधान गर्न सक्छ,’ डा. ताम्राकार भन्छन्, ‘कृत्रिम गर्भाधान (टेस्ट ट्युब बेबी)को सहायता लिएको खण्डमा ६० प्रतिशतसम्म सफलता हुन्छ ।’ 

निःसन्तान समस्यामा कुनै उपचार प्रविधिबाट गर्भ आए पनि गर्भ तुहिने, पाठेघर बाहिर गर्भ रहने सम्भावना दोब्बर हुने र शिशु वा नवजात शिशुको मुत्यु हुने जोखिम पनि उत्तिकै हुने चिकित्सकहरु बताउँछन् ।

डा.अग्रवालको अनुभवमा नेपालमा धेरै बाँझोपन पीडितहरू सुरूमा तयारी थालेको एउटै महिनामा सफलता नपाएपछि तनावमा फँस्ने गरेका छन् । ‘जति तनाव लिन्छन्, उति संभावना कम हुन्छ, निस्फिक्री भएर गरिएको सहवासमा सम्भावना बढी हुन्छ ।’ सामान्यतः ९२ देखि ९५ प्रतिशत बाँझोपनको शल्यक्रिया र औषधिबाट निको पार्न सकिने भएकाले बढी चिन्ता लिन नहुने उनी बताउँछिन् ।

चिकित्सकका अनुसार पुरूषमा हुने बाँझोपनको प्रमुख कारण सुत्केरी अवस्थामा बच्चाको गुप्ताङ्गमा सेक्ने प्रचलन हो । जसले गर्दा शुक्रकीटको स्रोत नै नष्ट गरेर पनि बाँझोपनको समस्या निम्तिने गरेको छ । 

त्यहीअनुसार वैदेशिक रोजगारमा जाने युवाहरु तातो मौसममा काम गर्ने कारखानामा काम गर्नेहरुमा निःसन्ताको समस्या बढ्दै गएको अर्की विशेषज्ञ डा.सृजना श्रेष्ठको भनाइ छ ।

डा.ताम्राकारका अनुसार पुरुषमा अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबीको कारणले शुक्रकीट बन्न सक्दैन । ‘कहिलेकाहीँ त शुक्रकीटवाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिएर पनि बाँझोपन हुनसक्छ,’ डा.ताम्राकारले भने । कतिपय पुरूषहरुमा मानसिक समस्या (लिङ्ग नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) पनि निःसन्तानको समस्या जन्माउन सक्छ । 

डा. अग्रवालका अनुसार महिलामा पाठेघरको आकार नै सानो हुनु, डिम्बासयले डिम्ब उत्पादन नै गर्न नसक्नु, डिम्ब नलीले डिम्ब नटिप्नु, पाठेघरमा हुने संक्रमणले शुक्रकीट मर्नु, डिम्बासयको नली सानो हुनु, यौनसम्पर्क राख्दा हुने अधिक पीडा र शुक्रकीटलाई असर पु-याउने (योनिमार्ग चिप्लो बनाउन प्रयोग गरिने) जेल वा क्रिमको प्रयोगका कारण पनि गर्भ रहन नसकिरहेको हुनसक्छ । 

‘पोसिलो खाना खाने, शारीरिक तौल नियन्त्रणमा राख्ने, धूमपान मद्यपान त्याग्ने, भिटामिन ई, सी तथा बी १२, फोलिक एसिडयुक्त खानेकुराले शुक्रकीट बन्न मद्दत गर्छ,’ डा. ताम्राकार थप्छन्, ‘वीर्यमा शुक्रकीटको संख्या कम छ भने कृत्रिम रुपमा वीर्य निकाली सामान्य सरसफाईपछि विशेष किसिमको पाइप (क्याथेटर)बाट महिलाको पाठेघरमा राखिदिन सकिन्छ । त्यस्तै शिघ्रपतन, लिङ्ग नउठ्ने तथा योनिभित्र लिङ्ग छिराउन समस्या भएकामा मनोवैज्ञानिक परामर्श दिनुपर्दछ ।’ 

वीर्यको जाँचका क्रममा खराबी नपाइए पनि महिलाको योनिमार्ग, पाठेघरको मुख, पाठेघरको बनावट (भित्री तह) एवं डिम्बवाहिनी नली छ/छैन भनी जाँचिने अग्रवाल बताउँछिन् । ‘योनिमार्गदेखि डिम्बवाहिनी नलीसम्म कुनै खराबी छैन भने प्रत्येक महिना एउटाभन्दा बढी डिम्ब उत्पादन तथा निष्काशन हुने (सम्बन्धित चिकित्सकको निगरानीमा) औषधि/सुई दिन सकिन्छ,’ उनले भनिन्।

चिकित्सकहरुका अनुसार औषधि सेवनपश्चात् आशातीत संख्यामा डिम्ब परिपक्व हुँदै गइरहेको छ÷छैन भनी अल्ट्रासाउन्डबाट जाँचिन्छ । यसपछि डिम्ब परिपक्व भएको प्रमाण देखिएपछि प्राकृतिक रुपमै यौनसम्पर्क राख्न (यदि उनको पार्टनरको वीर्य निकाली सामान्य सरसफाईपछि क्याथेटरको माध्यमबाट पाठेघरमा राखिदिने तथा अन्य पुरुषको वीर्य (यदि उनको आफ्नै पार्टनरमा वीर्य छँदैछैन भने) राखिदिने कृत्रिम गर्भाधानको उपचार दिन सकिने चिकित्सकहरु बताउँछन् ।  

चिकित्सकहरुका अनुसार पुरूषको शुक्रकीट नै नआउने अवस्थामा उपचारबाट पनि सुधार भएन भने, श्रीमान् श्रीमतीको सहमतिमा अर्को मान्छेको शुक्रकीट लिएर सफा गरेर पाइपको माध्यमले सिधै पाठेघरमा हाल्न मिल्छ । महिलामा पाठेघर नै नभएको अवस्था र जन्मजात डिम्ब नबन्ने महिलाबाट पनि बच्चा सम्भव हुन्छ । डिम्ब मात्रै नभएको अवस्थामा त अन्य महिलाको पाकेको डिम्ब निकालेर टेस्ट ट्युब प्रविधिबाट पनि सन्तान दिन सकिने उनी बताउँछिन् । ‘डिम्बवाहिनी नली थुनिएको वा पहिलेको स्त्री जनेन्द्रिय संक्रमण वा शल्यक्रियाबाट काम नलाग्ने छ भने टेस्ट ट्युब बेबीमा विकल्पमा लाग्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

कहिले रहन्छ गर्भ ?

धुलिखेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सुमन ताम्राकारका अनुसार यस्तो डिम्ब एवं शुक्रकीटले उपयुक्त वातावरण भए कम्तिमा दुईदेखि तीन दिनसम्म बाँच्ने भएकाले सामान्यतः १३ देखि १७ दिनसम्ममा गर्भाधानको सम्भावना रहन्छ । ‘जतिसुकै इच्छा राख्दा पनि महिनावारीको ७ दिनपछि र ७ दिनअघि गर्भाधानको सम्भावना रहन्न, डिम्ब र शुक्रकीट पाठेघर वा डिम्बनलीमा २ देखि ३ दिनसम्म बाँच्न सक्ने भएको सो समयमा भेट हुँदा मात्रै गर्भाधान हुने हो ।’ 

डा.ताम्राकार भन्छन्, ‘यही सामान्य तालिकालाई मात्रै बुझेर पनि सम्पर्क नराख्दा धेरैले सन्तानविहीन बन्नु परेको छ । धुलिखेल अस्पतालमा यस्ता समस्या लिएर आउनेहरुका श्रीमान् काठमाडौँ बस्छन् र साताको एक पटक मात्रै भेट हुन्छ । वर्षौंदेखि यौन सम्पर्क भइरहेको छ तर डिम्ब र शुक्रकीट मिल्ने संयोग नै जुरेको हुन्न ।’ उनले सन्तान हुन नसक्नुबारेको प्रमुख र औसत कारण सुनाए । 

डिम्बासयबाट निस्किएको डिम्ब (अण्डा) नलीहुँदै पाठेघरतिर आउने गर्छ । शुक्रकीट पाठेघरको मुखमा जम्मा भएर डिब्बबाहिनी नलीतिर लाग्छ । करिब १० सेन्टिमिटर लामो नलीमा नमर्दै भेटिएपछि मात्रै गर्भाधान हुन्छ । अर्का स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योति अग्रवालका अनुसार सबै अवस्थामा गर्भाधान हुनासाथ बच्चा बनिहाल्दैन । ‘थाहा नपाएरै पनि थुपै गर्भहरु खेर गइरहन्छन्,’ डा. अग्रवालले थपिन्, ‘डिम्ब र शुक्रकीटको भेट हुनासाथ गर्भाधान हुन्न ।’ 

चिकित्सकहरुका अनुसार गर्भाधान भएर सन्तान लाभ हुनका लागि धेरै ‘स्टेप’ पार गर्नुपर्छ । कुनै ‘स्टेप’मा पनि अवरोध नभए मात्रै गर्भाधान र सन्तानलाभ हुन्छ । विशेषज्ञ अग्रवालका अनुभवमा धेरै जसो दम्पतिहरु सन्तान चाहना राखेर बिना अस्थायी साधन सहवास गरेको पहिलो पटकमै सन्तान लाभ हुनुपर्छ भन्ने भ्रममा छन् । ‘महिलाको प्रत्येक महिना डिम्ब निस्किन्छ भन्ने छैन, डिम्ब ननिस्की गर्भ रहन्न,’ अग्रवाल भन्छिन्, ‘त्यसैले पनि कम्तिमा एक वर्षको नियमित सम्पर्कको हिस्ट्रीपछि क्रमशः जाँच एवं उपचार गर्नुपर्छ ।’ गर्भ रहेपछि पनि समयअनुसार वृद्धि नहुने, केही समय वृद्धि भएर रोकिने, बच्चा बस्ने ठाउँ नै नहुने पनि हुनसक्छ ।

महिलाजन्य कारण 

पुरुषमा कुनै खराबी छैन भने महिलाको योनि मार्ग, पाठेघरको मुख, पाठेघरको बनावट, डिम्बवाहिनी नलीको अवस्था ठीक हुनुपर्छ। मधुमेह, अधिक मोटोपना तथा शरीरमा प्रोल्याक्टिनको मात्रा बढी भएमा स–साना डिम्ब धेरै उत्पादन हुने तर परिपक्व नहुने समस्याले महिलामा बच्चा हुन्न । 

त्यसैगरी इन्डोमेट्रिओसिस, स्त्री जनेन्द्रियको माथिल्लो भागको संक्रमण, पाठेघरको मुख साँघुरो हुनु र पाठेघरको भित्री तहमा मासु पलाएको, भित्री तह टाँसिएको छ वा डिम्बवाहिनी नली वरिपरिमा आन्द्रामा टाँसिएको, पाठेघरको बनावटमा जन्मजात खराबी भए पनि बच्चा हुँदैन । 

योनिमार्गदेखि डिम्बवाहिनी नलीसम्म कुनै खराबी नभई डिम्ब उत्पादन र निष्कासनका लागि औषधि दिन सकिन्छ । औषधिले डिम्ब परिपक्व भएको नभएको यकीन गर्न अल्ट्रासाउन्ड गर्नुपर्छ । 

डिम्ब परिपक्व भएमा सुरुमा प्राकृतिक रुपमै यौन सम्पर्क राख्न वा पुरुषको वीर्य  निकालेर सफा गरेर क्याथेटरको माध्यमबाट पाठेघरमा राखिदिन सकिन्छ । 

डिम्बवाहिनी दुवै नली थुनिएको वा पहिलेको स्त्री जनेन्द्रिय संक्रमण वा शल्यक्रियाबाट काम नलाग्ने छ भने यस्ता खाले बिरामीमा अनावश्यक थप जाँच पड्ताल, औषधोपचारमा भन्दा कृत्रिम गर्भाधान (टेस्ट ट्युब बेबी)मा लाग्नुपर्छ । 

यति महिनाबारीको बेला रगत डिम्बवाहिनी नली हुँदै पेटतिर फर्किने अवस्था नली खुलाउन शल्यक्रिया नै गर्नुपर्ने समेत हुनसक्छ । निःसन्तानका समस्या भएकामा कुनै उपचार प्रविधिबाट कथंकदाचित गर्भ बसे पनि गर्भ तुहिने, पाठेघरबाहिर गर्भ रहने सम्भावनादेखि बच्चाको मुत्यु हुने सम्भावनासमेत दोब्बर हुन्छ ।

पुरुषजन्य कारण 

शुक्रकीट बन्ने प्रक्रिया, वीर्य निस्कासन मार्गमा समस्या, योनिमा स्खलन हुन समस्या र शुक्रकीट बनावटमै समस्या आउँदा पुरुषका कारण सन्तान हुन समस्या आउँछ । 

अण्डाशय अण्डकोषमा नझर्नाले, अण्डकोष सुन्निनाले, वंशाणुगत वा कतिपय औषधि तथा इन्डोक्राइन (अन्तश्राव) ग्रन्थिको कार्यमा खराबीका कारणले शुक्रकीट बन्ने समस्या हुने गर्छ । 

कतिपय पुरुषमा शुक्रकीट वाहिनी नली नै नहुने, शुक्रकीटको चाल नै ढिलो हुने एवं संक्रमण तथा चोटका कारणले शुक्रकीटवाहिनी नली नै थुनिने पनि हुनसक्छ । कतिपय अवस्थामा शुक्रकीटको चाल, संख्या, बनावटमा तथा यसमा पोषिलो पदार्थ नपुग्दा पनि निःसन्तानको समस्या हुन्छ । 

मानसिक समस्या (लिङ्ग नउठ्ने वा उत्तेजित नहुने, शीघ्र स्खलन हुने) तथा पुरुषमा पिसाब खुल्ने प्वाल सही ठाउँमा भएन भने वीर्य योनिमा जम्मा हुन पाउँदैन । यति पुरुष ४० वर्ष नाघिसकेका छन् भने चिकित्सकसँग विशेष जाँच गराउनुपर्छ किनभने विवाहपछि प्रजनन् क्षमता दरमा निकै कमी हुने भएको जतिसक्दो छिटो सन्तान जन्माउन लाग्नुपर्छ । 

सामान्य शारीरिक जाँचबाट नै अनुभवी चिकित्सकले कारण पहिचान गर्न सक्छन् । पुरुषका कारण हुने निःसन्तानको जाँच पड्ताल यौन रोग, हाँडे, मधुमेह, अण्डकोष वरिपरि कुनै समस्या भएको वा पहिले कुनै शल्यक्रिया गरिसकेको, लामो समयसम्म तापमा बसेर गर्नुपर्ने कार्य गरे/नगरेको जानकारी लिनुपर्छ ।

यौन सम्पर्कका दौरान यौनाङ्ग उठाउन (उत्तेजित पार्न), राम्रोसँग छिराउन तथा वीर्य स्खलनसम्बन्धी कुनै समस्या छ÷छैन पत्ता लगाउनु पर्दछ । त्यसबाहेक वीर्य जाँच, शुक्रकीटको संख्या, शुक्रकीटको चाल, बनावट तथा अन्य कुनै पिप वा संक्रमण छ÷छैन भन्ने पनि थाहा पाउनुपर्छ । तीबाहेक कतिपय पुरुषमा रगतमा शुक्रकीट उत्पादन तथा परिपक्व बनाउन मद्दत गर्ने हर्मोन अण्डकोषको भिडियो एक्सरे वा अण्डाशयको बायोप्सी जाँचबाट पनि कारण पत्ता लाग्न मद्दत गर्छ । 

प्रकाशित: २६ असार २०७५ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App