१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अवैध निकासीले साघुँरियो वनक्षेत्र

जनप्रतिनिधिले अवैध ढंगले गरेको ढुंगा निकासीले ललितपुरको दक्षिणी भेगका वनक्षेत्र साघुँरिँदै गएका छन् । ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टिकाभैरव र देवीचौर क्षेत्रका वन साधुँरिएका हुन्।

अबैध निकासीले ५ रोपनी भन्दा बढी वन क्षेत्रको जग्गा मासिएको स्थानीय बताउँछन । ‘पानी निस्कने मुहानमा जथाभाबी उत्खनन् भइरहेको छ,’ लेलेका स्थानीय शुरेस तिमल्सिनाले भने, ‘हामीले कैयौंपल्ट विरोध गर्दा पनि नगरपालिका र जनप्रतिनिधिको ध्यान गएन । उनका अनुसार यो क्षेत्रका वनमा हिजोआज हरेकदिन दर्जर्नौ स्काभेटर (हेभी इक्युप्मेन्ट) र भ्रेकर (भाइब्रेसनका मद्दतले ठूल्ठूला ढुङ्गा फोर्ने मेसिन) को प्रयोग गरी ढुङ्गा उत्खनन् गर्न कार्य भइरहेको छ ।

यी क्षेत्रको बनमा ढुंगा उत्खनन् गर्नेमा मुख्य हात गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनको छ । उनीसँगै स्थानीय व्यापारी विरेन्द्र महर्जन, श्याम महर्जन, मधुसुदन डोटेल लगायतले पनि ढुंगा निकासीमा लागेका छन्।

बिहिबार नागरिक दैनिकसँग कुरा गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शुक्रबारै अनुगमन पठाइ अवैध निकासी रोक्ने बताएका थिए । तर, उनले कुनै अनुगमन टोली पठाएका छैनन् । नगरपालिकाले निगरानी नराख्दा रुख काटिदै छन् भने भित्तो उधिनेर ढुंगा निकासी बढ्दो छ । यसबारे नगरपालिकाका मेयर गजेन्द्र महर्जनले आफूहरुको ध्यान त्यसतर्फ गएको बताए । उनले भने, ‘एकै दिनमा बन्द गर्छु भनेर सकिन्न, अवैध रुपमा सञ्चालन भएका छन् भने तीनलाई बन्द गर्छौं वैध रुपमा सञ्चालन भएका खानी र क्रसर उद्योगलाई थप व्यवस्थित पार्छौ।’

टिकाभैरवका अर्का स्थानीय लक्ष्मण रानाका अनुसार निर्वाचित भएयता जनप्रतिनिधिहरू यस क्षेत्रका विभिन्न ठेकेदार र टोलका जग्गा व्यवसायी उठाएर दर्तै नगरी खानी सञ्चालन गरेका छन् । अवैध निकासी थालिएसँगै टिकाभैरव र देवीचौर क्षेत्रका वनको क्षेत्रफल घट्न थालेको छ । करिब १० रोपनी क्षेत्रफलमा ढुंगा निकासी भइरहेको छ । महर्जनले सोही वडा कै दुम्सीडोल ठूलो सामुदायिक वन, दैवीचौर सामुदायिक वन मासेर अवैध ढुङ्गा खानी सञ्चालन गर्न ठेकेदारहरुलाई अनुमति दिएका छन् ।

यस क्षेत्रबाट भित्रने मुख्य चेकपोष्ट महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खियजुले मेगर गजेन्द्र महर्जनसँग यसबारे कुरा राखेपनि चासो नदिएको बताए । ‘यो विषयमा दक्षिण ललितपुरका धेरै स्थानीयले गुनासो गरिरहनुहन्छ,’ उनले भने, ‘प्रहरीको काम सुरक्षा दिने, खानी चलाउने नचलाउने विषयमा नगरपालिकाकै मुख्य हात रहन्छ ।’ उनले प्रहरीलाई बीचमा हालेर नगरपालिका पन्छिन खोजेको आरोप लगाए । ‘ढुंगा, बालुवाको विवादले यस क्षेत्रको सुरक्षा पनि थप चुनौतिवूर्ण बन्दै गएको छ,’ उनले भने, ‘नगरपालिकाले प्रहरीलाई थप समस्या दिएको छ।’

एक बर्षअघि संसदको प्राकृतिक स्रोत साधन समितिले समेत यस ठाउँमा वातावरणीय प्रभाव, वन विनास, धूलो धुवाँ लगायतका प्रदुषण, स्थानीयको कष्टकर जनजीवनलाई हेरेर खानी तथा क्रसर सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको थियो । तर, जनप्रतिनिधिले नै उक्त निर्देशन विपरीत खानी सञ्चालन गर्न दिएका छन् ।

 

प्रकाशित: २५ असार २०७५ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App