सानुकाजी खत्री
वडाध्यक्ष, तारकेश्वर नगरपालिका वडा नं ७
जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस हुने के–के काम गर्नुभयो ?
लामो समय स्थानीय तह जनप्रतिनिधी विहीन रह्यो । जनप्रतिनिधी नहुँदा स्थानीय तह राजनीतिक सयन्त्र र कर्मचारीतन्त्रकै कारणले चल्थ्यो ।जनप्रतिनिधि नहुँदा सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपथ्र्याे।
हामी आएसँगै वडा कार्यालयको सेवालाई सरल र सहज बनाएका छौँ । लामो समयसम्म स्थानीय तह सञ्चालन सम्बन्धि कार्यविधि तथा निर्देशिका बन्न सकेन् । जसको कारणले स्थानीय तहले जनताले अपेक्षाकृत काम गर्न सकेनन् । हामी आएसँगै टुसालदेखि नागपोखरीसम्मको छ सय मिटर सडक कालोपत्रे गर्यौं । त्यस्तै गरी चिम्मरपोखरीदेखि काभ्रेस्थलीसम्म नौं लाखको लागतमा करिव ८ सय मिटर सडक पिच गयौं । वडा कार्यालयले आधा दर्जन भन्दा धेरै भित्रीसडकमा कालोपत्रे तथा ढलान कार्य धमाधम गरिरहेको छ।
तपाईको वडामा सडक लथालिंग छ, कहिलेसम्म मर्मतसम्भार गर्नुहुन्छ ?
वर्षाैदेखि बालाजु–वाइपास– गुर्जुभञ्जाङ सडक खण्ड लथालिंग छ ।जताततै खाल्डाखुल्डी र भत्किएर सडक जीर्ण अवस्था रहेको छ । जसको कारणले सडकमा आउजाउ गर्न निकै सास्ती भइरहेको छ ।
वडा कार्यालयले डिभिजन सडक कार्यालय टेकुलाई बारम्बार सडक मर्मतसम्भार गर्न अनुरोध गरिसक्यौं ।तर, सडक जस्ताको तस्तै छ । २४ किलोमिटर दुरी रहेको सडक व्यवस्थित गर्न सम्पूर्ण निकायसँग समन्वय गरिरहेका छौं । अबको केही समयभित्रै मर्मतसम्भार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाईँको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
सुख्खायाम लागेसँगै वडामा खानेपानीको प्रर्याप्त आपूर्ति गर्न सकिएको छैन, जसको कारणले जसका कारण विभिन्न टोलमा खानेपानीको समस्या देखिएको छ ।
वडामा पुरानाभन्दा नयाँवस्ती एरियामा खानेपानीको धेरै समस्या रहेको छ । त्यसैले नगरपालिका र वडा कार्यालय दुवै मिलेर खानेपानी व्यवस्थापनको लागि स्रोत तथा बजेटको खोजी गरेका छौं । पछिल्लो समय नयाँ वस्तीमा वडा कार्यालयले १० लाखको लागतमा खानेपानीको पाइपलाइन विस्तार कार्य तिव्र गतिमा अघि सारेको छ । आगमी असोजसम्म खानेपानी वितरण गर्ने तयारी गरेका छौं ।
भूकम्पपीडीत कहिलेसम्म टहरामा नै बस्नुपर्ने होला ?
भूकम्प गएको तीन वर्ष बितिसक्यो ।तर, भूकम्पपीडीतको हालत भने उस्तै छ । अहिले पनि भूकम्पपीडीत टहरा र छाप्रोमा नै बस्न बाध्य छन् । भूकम्पले वडामा चार सय भन्दा धेरै प्रभावित भएका थिए । वडामा रहेका अधिकांश भूकम्पपीडीतको जग्गामा मोही र तहसिल विवाद कायमै छ ।
उनीहरुसँग लालपूर्जा नहुँदा राहत वापतको रकम पाउन सकेका छैनन् । भूकम्प गएसगै भूकम्पीडीतको जग्गाको किताकाट हुन सकेको छैन् । जसको कारणले उनीहरुको नक्सापास लगायतका काम रोकिएका छन् । वडामा एक सय जना भूकम्पपीडीतले आफ्नो घर ठडाउन सकेका छैनन् । वर्षात् सुरु भइसक्यो ।तर, अहिलेसम्म घर बनाउन नसक्दा यसवर्षको बर्खा पनि भूकम्पपीडीत टहरामा नै बस्नुपर्ने बाध्यता रहेको छ । वडा कार्र्यालयले भूकम्पपीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग समन्वय गरे पनि अपेक्षाकृत उपलब्धी हात पार्न सकेको छैन।
तपाईँको वडामा कृषियोग्य जमिन छ, किसानका लागि कस्तो योजना अघि सार्नुभएको छ ?
मेरो वडामा कृषियोग्य जमिन पर्याप्त छ । किसानहरूले आलु, तरकारी, धान, मकै, गहुँलगायत अन्नबाली उब्जाउँदै आइराखेका छन् । किसानहरूले आलुको व्यावसायिक खेती गर्दै आइराखेका छन् । त्यसैले वडा कार्यालयले कृषि उपज तथा विउविजनमा अनुदान दिदैं आएको छ । जसबाट किसानलाई खेती गर्न प्रोत्साहन मिलेको छ । त्यसैगरी सीपमूलक तथा अन्य अभिमुखीकरण कार्यक्रम नियमित चलाउँदै आएका छौं ।
नगरपरिषदबाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि एक करोड ५० लाख रुपैयाँ बिनियोजन भएको थियो । बिनियोजन भएको रकममध्ये ७५ प्रतिशत काम भइसक्यो ।
बाकीँ २५ प्रतिशत धमाधम भइराखेको छ । सडक, खानेपानी तथा भूकम्पपीडितका लागि भवन निर्माणलगायत योजनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यस आर्थिक वर्षमा गत वर्षको तुलनामा २५ लाख रुपैयाँ बजेट घट्ने देखिएको छ । नगरपालिकाले १ करोड २५ लाखको सिलिङ टोकेको छ । वडामा प्रर्याप्त बजेट नहुँदा जनताका सपना पुरा गर्न समस्या भइराखेको छ।
तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि ?
लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेका थिए । जनप्रतिनिधी आएसँगै वडामा सार्वजनिक जग्गा अतिक्रमण रोकिएको छ । वडामा एक हजार देखि १५ सय रोपनी सार्वजनिक जग्गा रहेको छ ।
अधिकांश पर्ती तथा ऐलानी जग्गा मिलेर सर्वसाधारणले घर तथा खेती गर्दै आएका छन् । सरकारले समयमा नै पहल नगर्दा वडा कार्यालयलाई सार्वजनिक जग्गा आफ्नो मातहत ल्याउन समस्या भइराखेको छ । वडा कार्यालयले सार्वजनिक जग्गा फिर्ता गराउनको लागि पहलकदमी गरिरहेको छ । अब छिट्टै मिचिएको सार्वजनिक जग्गा फिर्ता ल्याउनेछौं।
तपाईको वडामा वर्षात्को समयमा भेलबाढी र डुबानको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
वर्षात्को समयमा वडाको विभिन्न स्थानमा भेलबाढी र डुबानको समस्या देखिएको छ ।पछिल्लो समय नयाँवस्तीमा ढलको समस्या देखिएको थियो ।
त्यसलाई मध्यनगर गरेर वडा कार्यालय र जनताको सहभागितामा करिव ५५ लाखको लागतमा ढलको व्यवस्थित गर्न लागेका छौं । अधिकार सम्पन्न वागमती सभ्यता विकास समितिले डुबान हुने टोखातर्फको भागमा पर्खाल लगाउने काम सम्पन्न गरिसक्यौं । त्यसको साथसाथै तारकेश्वरतर्फको पर्खाल लगाउने योजना बनाइरहेका छौं।
कस्तो वडा बनाउने सपना बोक्नुभएको छ ?
वडामा अहिले व्यवस्थित सडक र खानेपानी पुगेको छैन ।त्यसैले आगमी चारवर्षसम्म वडामा सबै स्थानमा व्यवस्थित सडक पुर्याउने योजना बनाएको छु ।त्यसको साथसाथै एक घर एक खानेपानीको व्यवस्थापनमा जुट्नेछु । त्यसैले वडालाई सफा सुग्घर र हराभरा बनाउने लक्ष्य राखेको छु ।
प्रस्तुति : हिमाल लम्साल
प्रकाशित: ८ असार २०७५ ०२:४४ शुक्रबार