१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

सम्पदा कोर्दै कलिला हात

मंगलबजारस्थित पाटन दरबार क्षेत्रको पछाडि चित्र कोर्दै गरेका विद्यार्थी ।

कक्षा ६ मा पढ्ने प्रजित श्रेष्ठलाई चित्र कोर्न असाध्यै मन लाग्छ । जब स्कूल विदा हुन्छ वा उनी फुर्सदमा हुन्छन्, तब उनको साथी बनेका हुन्छन्,  रङ, कूची, कापी  र कलम । यी वस्तुको सहायतामा उनी चित्र बनाउँछन् ।  अन्य साथीहरू बाहिर खेल्न हिँड्दा उनी आफैंले कोरेका चित्र हेर्दै कोठाभित्र रमाएका हुन्छन्।

पाटन दरबार क्षेत्रमा आएर चित्र कोर्न सिकेको उनले सुनाए । ‘विदाको दिन पनि अलिअलि कोर्छु,’ उनी भन्छन्, ‘मलाई आर्ट पढाउने टिचरले मंगलबजारको मन्दिर साइटमा लगेर आर्ट बनाउन लगाउनु हुन्छ । अनि मैले अभ्यास गर्दैजाँदा सिकेँ ।’ उनले राष्ट्रिय र अन्र्तराष्ट्रिय आर्ट प्रतियोगितामा पनि भाग लिएका छन् ।उनीजस्तै चित्रकलामा रमाउने अर्का विद्यार्थी हुन्, पवन चौधरी । कक्षा नौ मा पढ्ने उनी चित्र कोर्न पनि उत्तिकै रुचि राख्छन् । उनले आफ्नो चित्रकलामा हिमालको चुचुरा, पहाडका घर, सङ्लो नदी, जंगलका दृश्य कोरेका थिए । उनले यो चित्रमा हिमाल, पहाड र तराईको भाव उतारेका छन्।

उनी आजभोलि चित्र कोर्न पाटन दरबार क्षेत्र पुग्छन् । बिहान वा बेलुकाको समयमा दरबार छेवैमा बसेर त्यहाँका मठ–मन्दिर र चोकहरूलाई चित्रमा उर्ताछन् । ‘चित्र कोर्न जाँदा पुराना दरबारहरू यस्ता रहेछन् भनेर थाहा पाएँ,’ उनले भने, ‘त्यहाँ बसेर चित्र कोर्न रमाइलो लाग्छ ।’ललितपुरको पाटन दरबार क्षेत्रमा सम्पदाको चित्र कोर्ने यस्ता विद्यार्थीको भिड लाग्छ । विद्यार्थीलाई चित्रकलाको अभ्यास गराउन विभिन्न स्कूलले सम्पदा क्षेत्रलाई केन्द्रमा राख्ने गरेका छन् ।

सम्पदा भएको ठाउँ भेला गराउँछन् । विभिन्न मठमन्दिर, चैत्य, टुँडाल, मूर्ति, दरबार, सालिक, पार्टी, गुम्बा लगायतको चित्र कोर्न लगाउँछन् । शनिबार र सार्वजनिक विदाको दिन विद्यालयहरूले पाटन, भक्तपुर र बसन्तपुर क्षेत्रमा चित्र कोर्ने प्रतियोगिता पनि आयोजना गर्छन् । ती प्रतियोगितामा सहभागी विद्यार्थीले सम्पदालाई दुरुस्तै चित्रमा उतार्ने गरेको बताउँछन्, पाटन संग्रहालयका अधिकृत सुरेशमान लाखे ।उनका अनुसार सम्पदा क्षेत्रमा विद्यार्थीहरूलाई सरिक गराएर चित्र कोर्न लगाउनु आफैंमा राम्रो मानिन्छ । नयाँ पुस्ताले सम्पदा बुझ्छन् । त्यसको ऐतिहासिक पक्ष थाहा पाउँछन् ।

ललितपुरको पाटन दरबार क्षेत्रमा सम्पदाको चित्र कोर्ने यस्ता विद्यार्थीको भिड लाग्छ । विद्यार्थीलाई चित्रकलाको अभ्यास गराउन स्कूलहरूले सम्पदा क्षेत्रलाई केन्द्रमा राख्ने गरेका छन् । सम्पदा भएको ठाउँ भेला गराउँछन् । विभिन्न मठ–मन्दिर, चैत्य, टुँडाल, मूर्ति, दरबार, सालिक, पार्टी, गुम्बा लगायतको चित्र कोर्न लगाउँछन् । शनिबार र सार्वजनिक विदाको दिन विद्यालयहरूले पाटन, भक्तपुर र बसन्तपुर क्षेत्रमा चित्र कोर्ने प्रतियोगिता पनि आयोजना गर्छन् ।

चित्रका माध्यमबाट अरुलाई पनि चिनाउँछन् । उनी भन्छन्, ‘यहाँ आएका धेरै भाइबहिनीलाई घुमाउने, मन्दिर, टुँडाल, दरबारभित्रका चोक, लयायतको जानकारी दिनको लागि हामीले गाइड पनि राखेका छौँ । उनीहरूले बालबालिकाकै भाषामा सम्पदा बुझाउँछन् ।’ उनका अनुसार सरकारी विद्यालयको पत्र लिएर आउने विद्यार्थीहरूलाई दरबार प्रवेश गर्दा कुनै शुल्क लाग्दैन । अन्य निजी विद्यालयबाट आएका विद्यार्थीहरू १५ रुपैयाँ तिरेर दरबार अवलोकनका साथै भित्रै बसेर पनि चित्र कोर्न सक्छन्।

विद्यार्थीलाई चित्रकला सिकाउँदै आएका योङ पिकासो,पाटनका अध्यक्ष तथा कलाकार अजय देसार सम्पदा क्षेत्रमा सहभागी बनाएर चित्र कोर्न लगाउँदा बालबालिकाले सिक्ने मात्रै नभएर कला र संस्कृति पनि बुझ्ने बताउँछन् । उनले लामो समयदेखि बालबालिकालाई चित्र कोर्न सिकाउँदै आएका छन् । इच्छुक विद्यार्थीको लागि चित्रकला सिकाइ कक्षा सञ्चालन गर्दै आएका अजयले सयौँ विद्यार्थीलाई सम्पदा क्षेत्र र अन्य ऐतिहासिक ठाउँमा लगेर चित्र कोर्न सिकाएको जानकारी दिए ।

‘प्रत्यक्ष रुपमा सम्पदा नियालेर त्यसलाई चित्रका रुपमा उतार्दा दिमागमा पनि बस्छ,’ उनले भने, ‘दरबार र यहाँका सम्पदा देख्दै नदेखेको विद्यार्थीलाई पनि यहाँ ल्याएर चित्र कोर्न लगाउँछौँ । धेरैजसोले लोभलाग्दो रचनात्कम चित्र कोर्छन् ।’ उनका अनुसार शनिबार २० भन्दा बढी विद्यालयका विद्यार्थी पाटन दरबार क्षेत्रमा चित्र कोर्न आउँछन् । पछिल्लो समय चित्रकलामा रुचि राख्ने विद्यार्थीको संख्या पनि बढेको छ । यस क्षेत्रमा आएर उनीहरूले दरबारको आँगन, डबली र पेटीमा बसेर मन्दिर, गजुर र मूर्तिलाई चित्रमा कैद गरेका हुन्छन्।

वरिष्ठ कलाकार टेकवीर मुखियाले चित्रकलामा नयाँ पुस्ताको लगाव बढ्दै गएको बताए । ‘पहिलेपहिले नगण्य मात्रामा चित्रकारहरू थिए, अहिले स्कूले जीवनदेखि नै चित्रमा रमाउनेको संख्या बढेको छ,’ उनले भने, ‘पहिले रङ र कूची त परै जाओस् कापी कलम किन्ने समेत पैसा हुन्नथ्यो, अहिले त्यस्तो छैन ।’ उनले आफू बाल्यवस्थामा हुँदा हातको औंलाले भुईँमा चित्र कार्ने, घरको भित्तामा कोर्ने र हात्ती, घोडा, चरा जस्ता पशुपंक्षीको चित्र र आकृति बनाएर सिकेको अनुभव साटे । ‘बाल्यकालमा यसो गर्दा पनि साह्रै मजा लाग्थ्यो,’ उनले थपे, ‘सिमीको पात, बेसार, कोइला, टिका लगायत घोलेर विभिन्न रङ बनाउँथ्यौँ । अहिले सबैथोक तयारी पाइन्छ । त्यसैले पनि नयाँ पुस्तालाई चित्र कोर्न सजिलो भएको छ।’

अर्का चित्रकार मदन श्रेष्ठले चार–पाँच कक्षा पढ्ने विद्यार्थीले कोरेको चित्र विदेशी पर्यटकले समेत मन पराएको सुनाए । उनी विद्यार्थीलाई आर्ट विषय पढाउँछन् । ‘सम्पदाको गहिरो अध्ययन गरुन् भन्नको लागि हामीले चित्रकला कोर्ने र सिक्ने ठाउँ सम्पदा क्षेत्रलाई बनाएका हौँ,’ उनले भने ‘चित्रकलामा रुचि राख्ने र अभ्यास गर्ने विद्यार्थीको संख्या बढेको छ।’

चित्रकलामा विद्यार्थीको ध्यान खिच्नको लागि स्कूलले नै मुख्य भूमिका खेल्ने बताउँछिन्, तिलगंगास्थित शारदा माद्यमिक विद्यालयकी शिक्षिका कमला आचार्य । उनले पछिल्लो समय चित्रकलामा बालबालिकाको मोह बढ्दै गएको सुनाइन् ।‘बालबालिकाको लागि सबैभन्दा सजिलो होमवर्क भनेको चित्र हो । उनीहरू चित्र कोर्न रमाइलो मान्छन्,’ उनले सुनाइन्, ‘यसलाई हेरेर पनि चित्रकलामा साना नानीबाबुहरूको रुचि बढ्ने अनुमान गर्न सकिन्छ ।’
 

 

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App