१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

कुशादेवी हाइकिङ

रामदेवी महर्जन

गाउँका तामाङ, बाहुन, क्षेत्री, नेवार र दलितका घरमा होमस्टे गराइन्छ । हरेक घरमा होमस्टेका लागि ४ कोठा छुट्टयाइएको छ । रामदेवी महर्जन – बसञ्त ऋतु, चारैतिर पालुवा पलाउने मौसम । कतै हरिया पालुवा त कतै पहेंला अनि सेता फूलहरु।

रमणिय वातावरण ! बारीमा कतै मकै रोपिएको त कतै चिटिक्क बाली । कोइलीको कुहुकुहु ! जंगलमा राताम्मे गुराँस । अहा ! कति सुन्दर प्रकृति !अझ बाटोमा पाइने ऐंसेलुले त यात्रालाई झन सुमधुर बनाईदिन्छ । यस्तै वातावरणमा प्रकृतिप्रेमि समूहको १३१ औं हाइकिङ चैत २६ गते गोदावरी कुण्डदेखि काभ्रेको मानेदोभान हुँदै लाँकुरीभञ्ज्याङसम्म भएको थियो।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नाराका साथ हामी हरेक महिनाको चौंथो शनिबार हाइकिङ गर्छौं । हिँड्दा शरीरमा ताजापन आउँछ तर, हाइकिङ गरेर मात्रै तौल घट्दैन, त्यसका लागि खानपान मिलाउनै पर्छ।विहानैदेखि धुम्म बादल लागेको, दर्केर पानी पर्ला जस्तो । हामी निरोगधामबाट ६ वटा गाडीमा ललितपुरको गोदावरी कुण्डसम्म पुग्यौं । गोदावरीकुण्डमा हरेक १२ बर्षमा मेला लाग्छ । त्यहाँ पोखरी छ र नजिकै मन्दिर पनि।

कुण्डबाट हामी सिधा जंगलको बाटो अघि बढ्यौं । पिकनिक स्पटमा केहीबेर हाम्रो गन्तव्य र यात्राका नियमबारे जानकारी गराएपछि पदयात्रा सुरु भयो ।घना जंगलवीच मोटरेबल उकालो । शितल अनि शान्त । उकालो चढ्दै जाँदा विस्तारै उपत्यकाका दृष्य देखिन थाले । मौसम धुम्म भएकाले हिमाल भने देखिएन । बाटोमा कतै कतै गुराँस फूलेका । बेलैमा पानी नपरेकाले यसपाली कमै गुराँस फूलेका थिए।

कुण्डबाट ४ किमिमा पर्छ लठ्ठाभञ्ज्याङ । करिब २ घण्टा उकालो चढेपछि पुगियो त्यहाँ । भञ्ज्याङमा चौर छ, नजिकै चिया पसल पनि । तामाङ जातिको बसोबास भएको भञ्ज्याङमा चौबाटो छ । भञ्ज्याङबाट उत्तर लागे १ घण्टामा चापाखर्क हुँदै लाँकुरी भञ्ज्याङ पुगिन्छ भने दक्षिण लागे दुई घण्टामा फूल्चोकी । हामी भने पूर्व गोरेटो लाग्यौं।

बाटैभरी ऐंसेलु, तर नपाकेकाले खान भने पाएनौं । आधा घण्टामै हामी तामाङ बस्ती खानी गाउँ (२०७५ मिटर) पुग्यौं । खानी गाउँ ललितपुर र काभ्रेको संगम । चारैतिर हरिया डाँडाले घेरिएको वीचको बस्ती ।  खानीगाउँ नजिकैको डाँडामा बसेर हामीले लन्च खायौं ।

भञ्ज्याङबाट ३ किमि दुरीको डाँडाबाट काभ्रेको राम्रो दृष्य दृखिन्छ । डाँडामा बसेर खाजा खाँदाखाँदै पानीले स्वागत ग¥यो । प्रकृतिको नियम कति सुन्दर, कहिले पानी पर्ने त कहिले घाम, कहिले हुरि बतास त कहिले सेतो कुहिरो । पदयात्राले प्रकृतिको नियमसंग नजिक्याउँछ ।खाजा पछि हामी ओरालो झरेर बस्ती हुँदै काभ्रेको मानेदोभान पुग्यौं । दोभान एउटा बजार हो । तामाङ बस्ती मानेदोभान उहिल्यै यातायात नचल्दा काठमाडौंबाट लाँकुरी भञ्ज्याङ हुँदै पूर्व जाने नाका थियो । यहाँ खाजा पसल र रेष्टुँरा छन्।

अचेल मानेदोभानमा ट्राउट माछा पालन गरिएको छ । मानेदोभानमा सेतो माने छ जसलाई बौद्धमार्गी छोर्तेन भन्छन् । त्यसैगरी दुइटा खोला फूल्चोकी र मुरली खोलाको दोभान छ । माने र दुई खोलाको दोभान भएकाले माने दोभान नाम रहन गएको भनाई छ।
दोभानबाट ४ किमिमा काभ्रेको कुशादेवी पुगिन्छ भने ८ किमिमा नेवार वस्ती पनौती।
झलमल्ल हिमाल मुनिको वस्ती कुशादेवी । काभ्रेपलाञ्चोक जिल्लाको बिहाबरमा कुशादेवी, ¥याले र लाँकुरी भञ्ज्याङ क्षेत्र पर्छन । गाउँमा देवीको पुरानो मन्दिर छ।

त्यहाँ कुशको देवी बनाएर मंसिरे पूर्णिमाका दिन मेला गरिन्छ । कुशको देवी बनाएर जात्रा पनि चलाइन्छ । कुशादेवीको बास भएकाले गाउँको नाउँ कुशादेवी रहेको भनाई छ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ कुशादेवी । त्यहाँबाट कञ्चनजंघादेखि माछापुच्छे«सम्म हिमालको लामो लर्कन देखिन्छ । डाँडाबाट काठमाडौं भ्याली, पनौती, धुलिखेल, नमोः बुद्धसम्मको दृश्यावलोकन गर्न मिल्छ।

  बस्तीको पूर्वमा पनौती नगर, पश्चिममा र्‍याले, उत्तरमा साँगा भञ्ज्याङ र दक्षिणमा भूमिडाँडा छन् । कुशादेवीमा अधिकाँश बाहुन, क्षेत्रीको बसोबास छ भने केही तामाङ बस्ती पनि  ।
सडक यातायात नहुँदा पूर्वबाट सिन्धुली, दाप्चा भएर आउने मानिस कुशादेवी, लाँकुरी भञ्ज्याङ हुँदै काठमाडौं पस्ने मुख्य नाका थियो कुशादेवी।

वर्षैभरि घुम्न मिल्छ कुशादेवी क्षेत्रमा । चैत–वैशाखमा गुराँसको उज्यालोले झलमल्ल बन्छ गाउँ । बाटोमा काफल, ऐंसेलु, चुत्रो आदि पाइन्छ । सिजनमा सुन्तला र अलैंची पनि पाइन्छ।  कुशादेवीमा दुई नदीको संगम छ । ती दुई खोला लीलावती (फूल्चोकीबाट बगेकी) र सुवर्ण गंगा (आशापुरीबाट बगेकी) हुन् । लीलावती पनौतीमा मिसिएपछि रोशी खोलाको नाउँले चिनिन्छ।

कुशादेवीका बासिन्दा कृषिमा निर्भर छन् । गाउँमा खाद्यान्न र दूध उत्पादन हुन्छ । धान, मकै, गहुँ, सागसब्जी फलाइन्छ । कुशादेवीमा आलु राम्रो उत्पादन हुन्छ । गाई, भैंसी र बाख्रापालन पनि गरिन्छ।  नेपाल पर्यटन वर्ष सन् २०११ मा नेपाल पर्यटन बोर्डको सहयोगमा सिँगो काठमाडौं परिक्रमा गर्न चन्द्रागिरि, चम्पादेवी, फूल्चोकी, लेले मनकामना हुँदै कुशादेवीसम्म सिँढी बनाइएको छ।

 कुशादेवीमा स–साना खाजा पसल छन् । होटल तथा लज छैन । गाउँमा २०७० सालदेखि गुप्तेश्वर होमस्टे सुरु गरिएको थियो । भुइँचालोपछि होमस्टे बन्द भयो । र, विसं ०७३ देखि फेरि होमस्टे थालिएको छ । फूल्चोकी होमस्टेको नाउँमा तामाङ, जैसी बाहुन, क्षेत्री, नेवार र दलितका घरमा होमस्टे गराइन्छ । हरेक घरमा होमस्टेका लागि ४ कोठा छुट्टयाइएका छन्।   सूर्योदय, सूर्यास्त र हिमालको झमल्लमा रमाउँदै होमस्टेमा बस्न सकिन्छ ।

फर्कंदा अग्र्यानिक सागसब्जी, आलु र तरकारी कोसेली ल्याउन सकिन्छ ।हामी भने कुशादेवी गएनौ, दोभानबाट लाँकुरीतिर लाग्यौं । दोभानमा बसेर सामुहिक फोटा खिच्यौं । त्यहाँ एक छिन अन्तरक्रिया गरेर अगाडि बढ्यौं । जंगलको बाटो, पहाडी इलाका, सुन्दर बस्तीहरु । गाउँलेहरु गाई बाख्रा चराउँदै गरेको दृष्य।

दोभानबाट लाँकुरी ६ किमि मोटरेबल बाटो तेर्सो उकालो । लाँकुरी भञ्ज्याङ प्रख्यात पर्यटकीयस्थल जहाँ खाजा पसल र होटल छन् । त्यहाँ हरेक शनिबार पिकनिक खानेको भिड लाग्छ।अहिले वनैभरी गुराँस र ऐंसेलु पाइन्छ । तपाई पनि गुराँसको लालीमा ऐंसेलु खाँदै कुशादेवी घुम्ने कि ?

कसरी पुग्ने : लगनखेलबाट गोदावरीकुण्डसम्म १४ किमि गाडीमा । कुण्डबाट लठ्ठा भञ्ज्याङ, खानी गाउँ हुँदै काभ्रे मानेदोभान र दोभानबाट लाँकुरी भञ्ज्याङसम्म पदयात्रा। गोदावरीकुण्ड–लठ्ठा भञ्ज्याङ ४ किमि । भञ्ज्याङ– खानी डाँडा ३ किमि । खानी डाँडा–मानेदोभान २ किमि र दोभान–लाँकुरी ६ किमि । जम्मा पदयात्रा दुरी १५ किमि । समय ६ घन्टा ।

 

प्रकाशित: २२ वैशाख २०७५ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App