१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

पूर्व प्रधानन्यायाधीशको पारिवारिक इजलास

सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट अवकाश पाएपछिको सुशीला कार्कीको दैनिकी सामान्य छ । प्रधानन्यायाधीशको ओहदाबाट अवकाशप्राप्त जीवनका साथी छन्, प्रजातान्त्रिक आन्दोलनका लागि जहाज अपहरण गर्ने साहसी योद्धा दुर्गा सुवेदी । धापासी हाइट पाखामा बनेको चार तले घरको कौशीमा उनीहरू एकाबिहानै परेवालाई चारो हाल्छन्, हरियाली पाखोका चराचुरूङ्गीको आवाजमा रमाउँदै उनीहरूको दैनिकी सुरु हुन्छ । होस्टल लाइफबाट घर फर्किएका छोरा प्रशान्त सुवेदी, जो काठमाडौं विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ गर्दैछन् । आमा–बाबु र पढाइमा मेधावी छोरा तीनजनाको परिवार छ अहिले उनीहरूको ।

नेपाली काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो । त्यसका लागि ठूलो रकम अावश्यक पर्थ्यो । रकम जुटाउन राष्ट्र बै‌कको पैसा बोकेकाे हवाई जहाज अपहरण गर्ने योजना बन्यो र दुर्गा सुवेदी त्यसको कार्यान्वयनकर्ता बने । रातारात उनी विद्रोहको विम्ब बने । यस्तै विद्रोही थिइन्, सुशीला कार्की जो अाफ्ना बहिनीहरुको बिहे भइसक्दा पनि एकल जीवन बाँचिरहेकी थिइन्, आफ्नै कमाईले बेग्लै घर बनाइसकेकी थिइन् । कालान्तरमा उनी प्रधानन्यायाधीशका रुपमा चिनिइन् ।

बिहानै उठेर कागती पानी, कालो चिया र फलफूल खाएर सुुरुहुन्छ उनीहरूको दैनिकी । जसको व्यवस्थापन सामान्यतया दुर्गाले गर्छन् । भात भान्साको काम कसले गर्ने कुनै नियम छैन । जसले भ्यायो उसैले पकाउने हो । आध्यात्मिक चिन्तन र योग उनीहरूको दैनिकीसँग जोडिएको छ । नास्तिक होइनन्, लामो वकालती यात्रा तय गर्दै सर्वोच्चको शिखरमा पुगेकी सुशीला र राजनीतिको नशामा डुबेका दुर्गा दुवै । उनीहरूका जीवन भोगाइमा घण्टौंसम्म मूर्तिअगाडि हात जोडेर धर्मकर्ममा लागेको अनुभव छैन र लाग्ने चाहना पनि देखिँदैन । एक अर्काप्रतिको माया, प्रेम, आध्यात्मिक चिन्तन र भगवान्मा विश्वास राख्ने जीवन पद्धतिमा उनीहरू चलेको अनुभव हुन्छ ।

अदालतका कतिपय फैसला लेख्ने चटारोमा रहेकी सुशीला भन्छिन्, ‘धेरै संघर्ष गरियो अहिले त विश्राम गर्न मन लागेको छ ।’ करिब २५ वर्षसम्म लगातार वकालतमा लागेको समयका संघर्षपूर्ण दिनहरू स्मृतिमा छन् । ‘लगातार ढुंगा घोट्यो भने ढुंगामा पनि खाल्डो पर्दै जान्छ,’ प्रधान न्यायाधीशसम्मको यात्राका बारे सुशीला भन्छिन्, ‘कुनै पनि कुरा प्राप्त गर्न लगातार त्यसमा लागिरहनु पर्छ ।’

 घरपछाडिको सानो करेसा बारीमा फलेको भुइँ स्याउको स्वाद चखाउँदै नागरिक परिवारका लागि सुशीला र दुर्गाले आफ्ना करिब ५ दसक लामो आरोह–अवरोहका कथा सुनाए । सुशीला र दुर्गा वैवाहिक सूत्रमा २०४५ सालमा मात्र बाँधिएका हुन् । त्यति बेलासम्म सुशीला विशेष गरेर विराटनगर, धरानमा वकालत गर्ने जुझारु महिलाको रूपमा परिचय कमाइसकेकी थिइन् । उता दुर्गा सशस्त्र क्रान्तिमा होमिएको कांग्रेस पार्टीका लागि विराटनगरबाट ३० लाख भारतीय रुपैयाँ लिएर काठमाडौं उडेको आरएनएसीको हवाई जहाज अपहरण गरेर विहारको फारविसगञ्जमा अवतरण गराउने साहसी तन्नेरीहरूमा दुुर्गा सुवेदी, विनोद अर्याल, वसन्त भट्टराई थिए । राजनीतिमा ख्याति कमाएका दुर्गाले सुशीलाको वकालती पेशालाई निरन्तरता दिन योगदान गरेको बताउँछिन् सुशीला । ‘म २५ दिनको छोरा उहाँको काखमा राखेर वकालत गर्न निस्किएकी हुँ,’ सुशीलाले भनिन्, ‘माया दिनु भयो, काम गर्ने सहुलियत दिनुभयो र महिलाले घर व्यवहार मात्र चलाउनु पर्छ, घर व्यवहारमा मात्र सीमित हुनुपर्छ भन्ने भएन ।’

शिक्षादीक्षा
सुशीला मोरङमा राम्रो जग्गाजमिन भएका कार्की परिवारको सदस्य हुन् । राम्रो बन्दोबस्ती भएको कार्की परिवारका डिल्लीबहादुर कार्की र लीला कार्कीको जेठो सन्तानका रूपमा सुशीलाको जन्म २००९ सालमा भएको हो । भर्खर–भर्खर छोरीलाई पढाउनुपर्छ भन्ने चेतना फैलिएको समाजमा हुनेखाने परिवारका छोरीहरू मात्र स्कुल पढ्थे । सुशीला हुनेखाने परिवारकी जेठो सदस्य थिइन् । स्कुल पढ्न थालिन् । ‘त्यसबेलाको समाज अहिलेको जस्तो खुला थिएन, सामाजिक बन्देजहरू प्रशस्त थिए,’ सुशीला भन्छिन् ‘जेठी नातिनीजस्तो भयो अरू पनि त्यस्तै हुन्छन् भनेर जेठोमाथि कडा निगरानी राखिन्थ्यो ।’ सुशीलाको प्रारम्भिक शिक्षा विराटनगरमा भयो । जनता हाइस्कुलबाट उनले एसएलसी दिएकी हुन् । ‘हाम्रो परिवारमा कसैसँग नडराउने, निडर र परिस्थितिसँग सामना गर्नसक्ने हुनुपर्छ भन्ने मान्यता थियो, म पनि त्यस्तै मान्यताका साथ अघि बढ्दै आएकी हुँ,’ मेरा बहिनी भाइहरू पनि हकी छन्, म जस्तै छन्,’ सुशीला भन्छिन्, ‘बाबु–आमामा छोरीले गृहस्थी नै चलाउनु पर्छ भन्ने मान्यता थिएन, पारिवारिक बाध्यताहरू थिएनन् ।’
सुशीलाले जनता माविबाट एसएलसीपछि उनले विराटनगरको महेन्द्र मोरङबाट आइए र बीए अध्ययनपछि काठमाडौंबाट प्राइभेट बिएल पास गरेकी छन् । वनारस विश्व हिन्दू विद्यालयबाट राजनीति शास्त्रमा प्रोस्ट ग्राजुएट र महेन्द्र मोरङबाटै एमए अध्ययन गरेकी हुन् । त्यसबेलाको राजनीतिक माहोलमा दुर्गा पछि पर्ने कुरा थिएन । उनी महेन्द्र मोरङ कलेजको विद्यार्थी राजनीतिमा नेपाल विद्यार्थी संघमा आबद्ध रहेर मैदानमा उत्रने गर्थे ।

उता बाल्यकालमै आमा गुमाएका दुर्गा भने धनकुटाका हुन् । संस्कृत पढ्ने उद्देश्यले सात वर्षको उमेरमा २०११ सालमा उनी आफन्तहरूको साथमा धरान झरेका थिए । धरानको पीण्डेश्वरमा उनी भर्ना पनि भए । संस्कृतका रुद्री, चण्डी पढ्ने, श्राद्ध, सत्यनारायण पूजा गराउने पुरेत्याइँ पढाइमा दुर्गाको मन बसेन । उनलाई अंग्रेजी पढ्ने हुट्हुटी जाग्यो । ६ महिनाको पिण्डेश्वरीको पढाइ त्यागेर उनी विराटनगर झरे । ‘मानिसको जीवनको टुंगो हुँदैन । जिन्दगी भनेको त्यस्तै हो,’ दुर्गा भन्छन्, ‘पिण्डेश्वर पढेको भए गाउँ फर्किएको थियो भने श्राद्ध र रुद्री गर्ने बाहुन होइन्थ्यो होला, त्यस्तो हुन सकेन ।’ विराटनगरबाट एसएलसी गरेका दुर्गाले राजनीतिक सक्रियतामै वनारसमै कलेज अध्ययन गरेका हुन् ।
विवाह सूत्रमा बाँधिनुअघि दुर्गा र सुशीला राजनीतिक आन्दोलनका योद्धाहरू थिए । सडकमा उत्रने उनीहरूमा दुर्गा नेताको हैसियतमा हुन्थे भने सुशीला सक्रिय कार्यकर्ता । लामो सयमसम्म राजनीतिक हिसाबले उनीहरू एक अर्कामा नजिकिएका थिए ।

वकालत दुर्गा
सुशीलाका पिताले डिल्लीबहादुर कार्कीसँग विराटनगरमा राम्रो पहिचान थियो । कांग्रेसको राजनीतिमा जोडिएका र सामाजिक क्षेत्रमा सक्रिय उनी आफन्त, छर छिमेक र गाउँलेका काम लिएर अड्डा अदालत गइरहन्थे । त्यसैले उनमा छोरीलाई राम्रो पढोस् र वकालत गरोस् भन्ने चाहना थियो भन्ने सुशीलाको बुझाइ छ । बीए पास गरेपछि सुशीला सुरुमा नेपाल खाद्य संस्थानको जागिरे भइन् । त्यसमा उनको मन अड्न सकेन । विराटनगरको समाजमा कहलिएका कार्की परिवारकी चेली कालो कोट पहिरेर अड्डा अदालत धाउने पेसामा लागिन् । यो यात्रा २०३५ सालदेखिको हो, जुन २०६५ सालमा सर्वोच्चको अस्थायी न्यायाधीश नहुञ्जेलसम्म जारी रह्यो ।

विराटनगरबाट सुरु भएको वकालतीका प्रारम्भिक दिन सम्झँदै सुशीला भन्छिन्, ‘आज भन्दा ४० वर्षअघिको समयमा महिलाले वकालत गर्नु कति चुनौतीपूर्ण थियो, अनुमान गर्न पनि सकिन्न ।’ विराटनगरको जिल्ला अदालत, सरकारी कार्यालयमा आउने मुद्दाहरू पाउनुलाई ठूलो कुरा मानिन्थ्यो त्यसबेला । ‘कसैले मुद्दा दियो भने त्यो दिन बडो खुसी हुन्थे म, क्लाइन्टले पैसा दिने नदिने भन्ने कुरा हुँदैनथ्यो,’ सुशीलाले भनिन्, ‘मुद्दा पाउनु नै ठूलो कुरा हुन्थ्यो, फिसको माने हुँदैनथ्यो । मुद्दा पाएपछि कम्तीमा बहस गर्न पाइन्छ भन्ने लाग्थ्यो ।’ त्यसबेला कानुनको सम्मान हुने र वकिलहरू पनि आफ्नो पेशागत मान्यतामा रहने गरेको सुशीलाको आँकलन छ । विराटनगरबाट सुरु भएको वकालतको यात्राले उनलाई धरानको स्थायी बासिन्दा बनाइदियो । धरानमा अञ्चल अदालत थियो भने धनकुटा क्षेत्रीय प्रशासनिक केन्द्र र अदालत थियो । सुशीलाले धरानमा वकालत गर्दागर्दै, त्यहीँ घर–घडेरी जोडिन् र हात्तीसार कलेजमा करारमा अध्यापनको काम पनि गरिन् । वकालत चलेन भनेर प्राध्यापनमा लाग्ने सोच बनाएको उनी बताउँछिन् । धरानबाट धनकुटा त्यसबेला सडक यातायातले जोडिएको थिएन । ‘पैदल जानुपर्दथ्यो धनकुटा, कतिपय अवस्थामा राति उतै बास बस्नुपर्दथ्यो,’ सुशीला भन्छिन्, ‘क्याइन्टसँग एउटा ब्यागमा कागजात बोकेर जंगलको बाटो कति हिँडियोहिँडियो भनेर साध्य छैन ।’ धरानबाट बिहानै हिँडेपछि धारापानीको उकालोमा खाना खाने, धनकुटा पुग्ने र त्यसै दिन फेरि धरान फर्किने काम सुशीलाका लागि नियमित जस्तै लाग्थ्यो । उनको मनमा अहिले पनि एकपटक २ सातासम्म धनकुटामै थुनिएको सम्झना छ । ‘भोलिपल्टै धरान फर्किने गरी लगाएको लुगाबाहेक अरू लुगा पनि थिएनन्, तर पहिरो आएर बाटो भत्कियो म त धनकुटामै थुनिएँ,’ सुशीलाले भनिन्, ‘पछि धरान आउँदा लगाएको जुत्ता च्यातियो, नाङ्गो खुट्टा बगरको बाटो धरान फर्किएकी छु, अहिले कल्पना पनि गर्न सकिन्न, त्यस्तो कहर ।’

विराटनगर, धरान र धनकुटा ओहोर–दोहोर गर्दै मुद्दाहरूमा बहस गर्ने सुशीला कार्कीले आफूलाई स्थापित गर्दै गइन् । यता २०४६ सालको राजनीतिक आन्दोलनपछिको परिवर्तनले पुनरावेदन अदालत विराटनगरमा राख्यो । सुशीला पनि धरानको क्याम्प छोडेर विराटनगर झरिन् । धरानको घर–घडेरी बेचेको पैसाले विराटनगरमा घडेरी र घर बन्योे भने विराटनगरको खेत बेचेर त्यसैले काठमाडौं घापासीमा जग बस्यो । २०४५ सालमा दुर्गासँग वैवाहिक सूत्रमा आबद्ध सुशीलाको घर व्यवहार पनि चल्दै गयो र वकालती पेशा पनि जम्दै गयो । सुशीला भन्छिन्, ‘उहाँले छोरा हुर्काउनु भयो अनि मैले आफ्नो पेशामा अनवरत लागिराख्न पाएँ ।’

३५ सालदेखिको वकालती अनुभव २०६१ सालमा अर्को फड्को मार्यो । वरिष्ठ अधिवक्ताको फुलीसँगै उनको न्यायिक यात्रा तीव्र गतिमा अघि बढ्यो । नेपालको संक्रमणकालीन राजनीतिमा उनी उकालो लाग्दैलाग्दै सर्वोच्च अदालतको प्रधानन्यायाधीशको गरिमामय जिम्मेवारी सम्हाल्न पुगिन् ।

दुर्गाको राजनीति
सात सालको राजनीतिक परिवर्तनपछिको राजनीतिमा विराटनगर चलायमान थियो । २०१५ सालको चुनावको समय स्कुल पढ्दै गरेका दुर्गा २०१७ मा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्था कु गर्दाको समयमा किशोरवयमा टेक्दै थिए । २०२० सालमा जनता माविबाट एलएससी पास गरेपछि उनी स्कुलमा शिक्षक बने । उनले त्यसबेला ४, ५ कक्षामा पढाएका विद्यार्थीहरूमध्ये सुशीला कार्की पनि एक हुन् । आफू पढ्ने, स्कुलमा पढाउने र ट्युसन पढाएर विराटनगरको खर्च धान्न्दै आएका दुर्गालाई राजनीतिक नशा लाग्यो । प्रजातन्त्र दिवसको अवसरमा महेन्द्र मोरङ कलेजमा भाषण गरेपछि उनलाई प्रशासनले दु.ख दिन थाल्यो । उनी राजनीतिमा केन्द्रित हुन थाले । विराटनगरका मेयर केशव कोइरालाले आयोजना गरेको निबन्ध प्रतियोगिताले कोइरालाहरूसँग परिचय गरायो भने राजनीतिक सक्रियताले उनलाई बीपी कोइरालाका विश्वासपात्र योद्धा बनायो ।

प्रजातन्त्र दिवसको कार्यक्रममा गरेको भाषणकै कारण स्कुलले जागिरबाट निकाल्यो भने प्रहरीले दुःख दिन थाल्यो । उनी वनारस पुगे । निर्वासनका बेला वनारसमा बसेर राजनीति गरिरहेका बीपीको रणनीति नै थियो वनारस आउने युवालाई आफ्नो सशस्त्र आन्दोलनमा लाग्न प्रेरित गर्नु । वनारस पढ्न जाने लगायतका सबै नेपालीबारे बीपीले जानकारी राख्दथे त्यसबेला । दुर्गा पनि त्यस्तैमा परे । वनारसमा रहेकै बेला राजनीतिक आन्दोलनका कारण शहरमा कफ्र्यू लागेका बेला सडकमा घुमिरहेकै समयमा प्रहरीले प्रक्राउ गर्यो, जेलमा राख्यो । ‘म र अर्को एकजना साथीलाई प्रहरीले पक्रियो र भेलपुर थानामा ३ दिन राखेर कागज गरेर छोडिदियो’ दुर्गा सम्झन्छन्, ‘नेपाली जेल परेको थाहा पाएर बीपीले मानिस पठाउनु भएको थियो भेट्नलाई र छुटाउन पनि मद्दत गर्नुभयो, त्यसरी राजनीतिमा तानिएको हो म ।’

बीपीसँगको नियमित भेटघाटपछि दुर्गा सशस्त्र क्रान्तिका लागि लडाकु तालिम लिन थाले । ‘आइए पास भएर बिए पढ्न थालेका मात्र थिए, लडाइँ सुरु भइहाल्यो, त्यसैमा सहभागी भए’ दुर्गा भन्छन्, ‘मैले मुक्ति सेनाको तालिम लिएँ, बन्दुक, हातहतियार र गोलाबारुद चलाउन त्यसैबेला सिकेको हुँ ।’

२०३० सालमा सशस्त्र क्रान्तिका लागि कांग्रेसलाई हतियार चाहिएको थियो र हतियार किन्नका लागि पैसा । त्यसै पनि निर्वासनमा जसोतसो गुजारा चलाइरहेका कोइरालाहरूका लागि क्रान्तिका लागि पैसा बगाउन सहज थिएन । त्यसबेला, विराटनगरका बैंकहरूमा जम्मा भएको भारु पैसा काठमाडौं ल्याइन्थ्यो । प्लेन अपहरण गर्ने र राष्ट्र बैंकको भारु पैसा नियन्त्रणमा लिने योजना बन्यो र त्यस काममा लागि खटिए दुर्गा, नरेन्द्र ढुंगेल र वसन्त भट्टराई । प्लेन विराटनगरबाट उडेको केही मिनेटमै कोशी कट्न लाग्ने बेलामा दुर्गा र नरेन्द्र कक्पिटमा प्रवेश गरे, ३२ क्यालिवरको रिभल्वर कन्चटमा राख्दै जहाज फारविसगञ्जमा ओराल्न आदेश दिए । ट्विनअटर जहाजमा भरिभराउ यात्रु थिए, यात्रुहरूकै बीच वसन्त भट्टराई थिए, उनको हातमा ग्रिनेड ३६ थियो । दोस्रो विश्व युद्धका बेला सैनिक जहाजहरू अवतरण र उडान भर्न बनाइएको फारविसगञ्जको एयरपोर्ट खासमा गौचरणमा परिणत भएको थियो ।

फारविसगञ्जमा पैसा बुझ्न सुशील कोइराला, मनहरि बराल, विनोद अर्याल एयरपोर्ट नजिकै र गिरिजाप्रसाद कोइराला, चक्र बास्तोला एयर पोर्टनजिकै तैनाथ थिए । अहिले जस्तो सेक्युरिटी चेक हुँदैनन्थ्यो, त्यसबेला जहाजमा यात्रा गर्ने क्रममा । ‘आउनुहोस्, आउँनु होस् प्लेन जाने बेला भयो भनेर कराउँथे र यात्रुहरू धमाधम चढ्थे,’ दुर्गा भन्छन्, ‘हामीले पनि पैसा बोक्ने प्लेनकै टिकट काटेका थियौं, चढ्यौं, कोशी ब्यारेज आएपछि पाइलटलाई रिभल्भर देखाएर फारविसगञ्जमा ओराल्यांै, त्यहाँ पैसा निकालेपछि जहाज छोडिदियौं, जहाज अरू यात्रु बोकेर काठमाडौं आयो, हामीले चक्रलाई ३० लाख भारु बुझायौं ।’ जहाज अपहरण गरेको र पैसा लुटेको समाचार संसारभरि फैलिएको र आफूहरू भारतमा सुरक्षा सतर्कताका साथ बसोबास गरेको दुर्गाको अनुभव छ । अपहरण प्रकरणपछि करिब डेढ वर्ष उनीहरू भूमिगत बसे । त्यसपछि भारतको प्रहरीले धमाधम पक्रन थाल्यो ।

बीपीको सशस्त्र कान्तिले सफलता प्राप्त नगरिरहेको समयमा भारतमा इन्दिरा गान्धीले संकटकाल लगाइन् । गान्धीको संकटकालको परिणाम बीपी राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कने राजनीति खेलिरहेको समयमा दुर्गा प्रदीप गिरिको डेराबाट २०३२ मा पक्राउ परे । बीपी नेपाल फर्किसकेको र भारतको संकटकालीन समयमा दुर्गालाई पूर्णिया जेलमा २ वर्षसम्म राखियो । उनले बारम्बार अदालतमा तारिख खेप्नुपर्दथ्यो र भारत छोडेर अन्यत्र जान नमिल्दै आदेश थियो । नेपालमा प्रजातन्त्र आइसकेपछि र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि मात्र उनीहरूमाथिको मुद्दा किनारा लाग्यो । ‘गिरिजाप्रसादले हामीहरूको मुद्दा फिर्ता नहुञ्जेलसम्म भारतको भ्रमण गर्दिन भन्ने अडान राख्नुभएको थियो,’ दुर्गा भन्छन्, ‘हामीमाथि लागेको मुद्दा फिर्ता लिने काम नेपालमा प्रजातन्त्र आएको तीन वर्षपछि मात्र भएको हो ।’

शैलजाको सल्लाहमा विवाह
दुर्गा र सुशीलाको चिनजान लामो समयदेखिको हो । सुशीला बाल्यकालमा ४ र ५ कक्षामा अध्ययन गरिरहेको बेला दुर्गा शिक्षकको भूमिकामा थिए । समयसँगै प्रजातन्त्रका लागि विराटनगरमा हुने आन्दोलनमा उनीहरू सहभागी हुन्थे । विद्यार्थी राजनीतिका क्रममा भेटघाट भइरहने, कुराकानी हुने गथ्र्यो उनीहरूबीच । ‘मलाई राम्रो मान्छे लाग्थ्यो उहाँ’ सुशीला भन्छिन्, ‘स्वतन्त्रता चाहने, सामान्य जीवन पद्धतिमा रहने उहाँको स्वभाव थियो ।’ उनीहरूको मन भने कहिलेदेखि मिल्यो, दुवैलाई थाहा छैन । विवाहको कुरा कसले गर्ने ? कसरी गर्ने ? उनीहरू मौन जस्तै थिए । दुर्गा खासमा विवाह गर्ने मुडमा थिएनन् । सम्पत्ति सर्वस्व भएको र जहाज हाइज्याक गर्नेलाई घरमा डेरासमेत नदिने समाजमा घर व्यवहार कठिन लाग्दथ्यो उनीहरूलाई । यस्तै अवस्थामा शैलजा आचार्यले दुर्गालाई सुशीलासँग विवाह गर्न सल्लाह दिइन् । ‘मलाई शैलजाले सुशीलासँग विवाह गर्न भनेपछि मैले उनलाई आफूले विवाह किन नगरेको भनेको थिएँ’ दुर्गा भन्छन्, ‘मेरो त त्यस्तै भयो तपाईं विवाह गर्नुस् भनिन ।’ सुशीलासँगको भेटमा दुर्गाले शैलजाले दिएको सुझाव सुनाएका थिए । ‘मैले सुशीलालाई शैलजाको सुझाव सुनाएँ, उहाँबाट कुनै प्रतिक्रिया आएन’ दुर्गा भन्छन्, ‘मौन प्रस्ताव, मौन स्विकृतिको अवस्था हो ।’ शैलजाको प्रस्तावपछि विराटनगरको वकालत पेशामा लागेका भरतमोहन अधिकारीलगायतका वकिलहरूले अगाडि बढाएको दुर्गा बताउँछन् ।

न्यायालय वातावरण बिग्रिएको छ
३० वर्ष वकालत र करिब एक दशक न्यायमूर्तिको भूमिकामा रहेकी सुशीला आजकल न्यायिक क्षेत्रमा विकृतिले जरा गाडेकोमा चिन्तित छन् । कतिपय वकिल र न्यायाधीश मिलेर मुद्दाहरूमा सौदाबाजी गर्ने गरिरहेको अवस्था आँकलन गर्दै सुशीला भन्छिन्, ‘ अहिले न्यायिक वातावरण बिग्रिँदै गएको छ, कतिपय वकिल हिजोका जस्ता पेशाप्रति प्रतिबद्ध आज छैनन, कतिपय न्यायाधीशहरू पनि न्यायाधीशको गरिमामय जिम्मेवारीमा छैनन् ।’ अहिले वकिलहरू आसपमा मिलेर पक्ष र विपक्ष दुवैको मुद्दा लिने, प्रहरीसँग मिलेर फौजदारी मुद्दाहरू चलखेल गर्ने प्रवृति हाबी भएको सुशीलाको आँकलन छ । ‘ वकालती पेशा भनेको सामाजिक सेवा पनि हो, जसरी पनि कमाउने मोजमस्ती गर्ने भन्ने होइन,’ सुशीला भन्छिन्, ‘सामाजिक अभियन्ता हो वकिल भनेको, समाजमा इज्जतिलो पेशा हो वकालत तर आजकल कतिवय वकिलहरू मुद्दा मिलाउने काममा लागेको सुन्छु , बिग्रिँदै गएको छ यो क्षेत्र ।’

वकिलले क्लाइन्टको विश्वास जित्न सक्नुपर्छ र क्लाइन्ट दोषी छ भने उसलाई जिताउने भन्दा पनि सजाय कम हुने उपायहरू सिकाउनु वकिलको धर्म हो भन्ने मान्यता छ सुशीलाको । उनी भन्छन्, ‘वकिलको काम मुद्दा जिताउने नै हो भन्ने होइन, सबै मुद्दा जितिँदैनन्, उचित सल्लाह दिनुपर्छ वकिलहरूले र त्यसै आधारमा न्यायाधीशले फैसला पनि गर्नुपर्छ ।’

वकिलले फीको नाममा जथाभावी क्लाइन्टबाट पैसा लिएको चित्त बुझेको छैन सुशीलालाई । ‘वकिल भनेको समाजको सम्मानित पेशा बन्न सक्नुपर्छ,’ सुशीलाले भनिन्, ‘तामझाम देखाउने, पैसाको बलमा जे पनि हुन्छ, जस्तो पनि मुद्दा जितिन्छ भन्न, गर्न हुँदैन वकिलले ।’

बियाँ छान्ने उद्यम
सुशीलालाई दुर्गाले पकाएको खाना मन पर्छ । ‘उहाँ खाना बनाउन सिपालु हुनुहुन्छ, उहाँले पकाएको भात फरर्र हुन्छ, मैले पकाउँदा कहिलेकाहीँ गिलो भैहाल्छ,’ सुशीला भन्छिन्, ‘उहाँलाई सफा सुग्घर चाहिन्छ र साग ६, ७ पटक नपखाली पकाउनु हुन्न ।’ सुशीलाको भनाइ काट्दैनन् दुर्गा तर उनको कथन छ, सबै करामत जेल बसाइको । ‘जेल बसेको बेला, निर्वासनमा रहेको समयमा काम हुँदैनथ्यो के गर्ने’ दुर्गा भन्छन्, ‘घण्टौं लगाएर चामल केलायो, त्यसलाई हामी बियाँ छान्ने भन्थ्यौं, गणेशमानजी समय लगाएर बियाँ केलाउने गर्नु हुन्थ्यो ।’ सुशीला र दुर्गा दुवै बीपी कोइरालाबाट मासु पकाउने कला सिकेको बताउँछन् । सुशीला र दुर्गाले एकै स्वरमा भने, ‘बीपी राम्रो, मीठो खानेकुरा पकाउनु हुन्थ्यो, हामीलाई सिकाउनु पनि हुन्थ्यो ।

सुशीलाले आफूले टाटा कम्पनीको टीका म्यानेजरबाट चिया पकाउन सिकेको बताउँदै हामीलाई चियाको अफर गरिन् । चिया आयो, हामीले चियाको स्वाद लियौं, दुर्गाले उद्घोष गरे— चियापत्ति नै राम्रो हो । सुशीलाले प्रतिक्रिया जनाइन् । उनको गुनासो छ, दुर्गाले कतिपय काममा हल्का टिप्पणी गर्छन् र डोमिनेट गर्छन् ।

झगडाका मुद्दा
चखेवाका जोडी जस्ता सुशीला र दुर्गा बीचमा घरायसी झगडा हुन्छ कि हुँदैन ? कस्ता विषयमा हुन्छ ?
हामीले जान्न चाह्यौं । सुशीला मौन बस्न रुचाइन् । यत्ति मात्र भनिन्, त्यस्तो झगडा हुँदैन । दुर्गाले भने, ‘झगडा हुन कुनै विषय चाहिँँदैन, त्यत्तिकै झगडा हुन्छ, त्यत्तिकै मिलिहाल्छ । हाम्रो झगडा लामो समय टिक्दैन, झगडा बढ्न नदिने दुर्गाको सूत्र छ, ‘एकजनाले मौन धारण गर्ने, बोलीले झगडा निम्त्याउँछ ।’ दुर्गाले आफूहरूका बारे बताएनन् । एउटा उदाहरण दिए । जो गान्धीसँग सम्बन्धित थियो । दुर्गाका शब्दमा एकजना विदेशी पत्रकारले गान्धीलाई भेटेर अन्तर्वार्ता लिइन् । गान्धीको कुराकानीबाट प्रभावित उनले सोचिन्, यिनको घरमा पतिपत्नीबीच कुनै विवाद छैन होला । पत्रकारले गान्धीको पत्नी कस्तुरवा गान्धीलाई भेटेर जिज्ञासा राखिन्, ‘तपाईंहरूबीच त विवाद हुँदैन होला ? कस्तुरवाको जवाफ थियो, आज पाँच दिन भयो, बोलचाल छैन ।’

छोराको स्याहार
२५ दिनको शिशु दुर्गाको काखमा राखेर सुशीला वकालतमा सक्रिय बनेकी थिइन् । सानो नानीको स्याहार कत्तिको कठिन काम हो ? दुर्गा भन्छन्, ‘यो सामान्य काम हुँदै होइन, तर यो एउटा जिम्मेवारी हो, जो निर्वाह गर्नैपर्छ ।’ जिम्मेवारी भन्दै उनी यस मामलामा २३ वर्ष अघिका दिन खोतल्न चाहँदैनन् । आमा र बाबुको व्यवहारमा के भिन्नता ? दुर्गाको विचारमा आमाले बच्चाहरू गाली ग¥यो, पिट्यो भने पनि बच्चा आमासँगै लेपासिन्छ, बाबुले त्यस्तो ग¥यो भने ऊ परपर जान्छ ।

श्रीपेचधारी समाज
नेपाली समाज भड्किलो, प्रदर्शनमुखी बन्दै गएकोमा चिन्ता व्यक्त गर्छन् सुशीला र दुर्गा । उनीहरूको विचारमा सामान्य जीवनमा मानिस बढी सुखी र खुसी हुनसक्छ । दुर्गाको विश्लेषणमा नेपाली समाजको बनोट र यहाँ सामाजिक अभियान चल्न नसक्नुलाई दोष दिन्छन् । ‘भारतमा गान्धीको अभियानले काम गरेको छ, त्यहाँ सादगी जीवन अपनाउनेको संख्या ठूलो छ’ दुर्गा भन्छन्, ‘हामीकहाँ श्रीपेचधारी राजाहरूको देखासिकि र व्यवहारको प्रभाव परेको छ, शान देखाउने हाम्रो चलन श्रीपेचधारी चलन हो । यस्तो चलनबाट पार पाउन ठूलो मिहिनेत र सामाजिक अभियान आवश्यक छ, अभियान चलाउने नेताको अभाव छ ।’

प्रकाशित: २० वैशाख २०७५ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App