३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अन्य

पाल्पाको शब्दचित्र

हरि पाण्डेय ‘पथिक’

पश्चिम नेपालको सुन्दर नगरी पाल्पा, तानसेन नेपाल एकीकरणभन्दा पहिलेदेखिकै प्रसिद्ध सहर हो । सेन राजाहरूको राजधानी भएका कारण उसैबेलादेखि सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले सम्पन्न यो सहर त्यस क्षेत्रको आर्थिक तथा शैक्षिक गतिविधिको केन्द्र पनि थियो ।

 यहाँका करुवा र ढाका कपडाले नेपालभित्र मात्र नभई नेपालबाहिर पनि प्रसिद्धि कमाएका छन् । पञ्चायतकालसम्म पनि गुल्मी, अर्घाखाँची र पाल्पाको प्रशासनिक केन्द्र रहेको तानसेनले प्राकृतिक सौन्दर्य, शील्पकारिता, उद्यमशीलता, जातीय तथा सांस्कृतिक विविधता, धार्मिक सहिष्णुताजस्ता कुरामा ख्याति कमाएको त छँदै छ, हिजोआज आधुनिक भौतिक सुविधाले गर्दा पनि यो नगरी आकर्षक बन्न पुगेको छ ।

तानसेन नगरीमा जन्मे–हुर्केर ४० वर्ष त्यहाँका विद्यालय तथा महाविद्यालयमा अध्यापन गरेकी कमला देवकोटाले ‘मेरो पाल्पा तानसेन’ (खण्डकाव्य, २०७४) ल्याएकी छन् । यसअघि कृष्णचन्द्र (शोककाव्य, २०५६), उर्वरा मरुभूमि (उपन्यास, २०६९) र आमाको सम्झनामा दुई थोपा आँसु (शोककाव्य) प्रकाशन गरिसकेकी देवकोटाको चौथो कृति यो । मुनामदनी लोकछन्दलाई चतुष्पदीका रूपमा प्रयोग गरेर १५३ पद्यमा रचित यो कृति खण्डकाव्यका तहको रचना बन्न पुगेको छ ।

लेखकीय मन्तव्यमा कवयित्रीले आफ्नो संक्षिप्त परिचय दिनुका साथै पाल्पा शब्दको निरुक्ति, यसको ऐतिहासिकता, भौगोलिक बनोट, पाल्पाका ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्ध स्थलहरूको संक्षिप्त चिनारी, त्यहाँको सामाजिक, आर्थिक, धार्मिक र सांस्कृतिक जीवन, भौतिक विकासका पहलु, उद्योग र उत्पादनको अवस्था, शैक्षिक अवस्थाबारे अनुसन्धानात्मक ढंगले तथ्यांकसहित जानकारी गराएकी छन् ।
तानसेन भौतिक विकास र जनघनत्वका कारण सहर भए पनि मूलतः प्राकृतिक सौन्दर्यले धनी ठाउँ हो ।

महाभारत पर्वत शृंखलाको माथमा रहेको यस ठाउँबाट उत्तरमा निम्नोन्नत पर्वतीय भूभाग एवं वर्षैभरि हिमाच्छन्न माछापुच्छे, अन्नपूर्ण र धवलागिरि हिमाल देख्न सकिन्छ भने दक्षिणमा बालीनालीले भरिपूर्ण फाँट देख्न पाइन्छ ।जातीय विविधतायुक्त तानसेन धार्मिक सांस्कृतिक दृष्टिले सम्पन्न सहर हो । यहाँ विविधतापूर्ण नेपाली संस्कृतिको सजीवता देख्न पाइन्छ । विविधता भए पनि सबैका बीचमा सहिष्णुता र एकताको भावले गर्दा पाल्पावासीमा मेलमिलाप छ र ‘सहवीर्य करवावहै’को भाव भरिएको छ ।  

सेनवंशी राजाहरूको राजधानी भएका कारण मध्यकालदेखि नै तानसेन सहरका रूपमा विकसित भएको हो। यसले वीरताको गौरवमय इतिहास साँचेको छ । बहादुर शाहका पालामा पश्चिमतिर नेपालको राज्य विस्तार गर्ने बेला पाल्पाको सामरिक शक्ति मजबुत भएकै कारण पाल्पासित मिलेर अघि बढेको र पाल्पाकै बलमा अंग्रेजसँगको युद्धमा विजय प्राप्त गरेको हुनाले पाल्पालाई पछिसम्म पनि स्वतन्त्र राज्यको मान्यता दिएको पाइन्छ । यसबाट पाल्पाको शासनव्यवस्था, आर्थिक सबलता, सैन्यशक्ति एवं पाल्पाली वीरताको परिचय पाइन्छ । काव्यमा तानसेन–पाल्पाका गौरवमय इतिहासको स्मरण यत्रतत्र भएको छ ।पाल्पा–तानसेन पश्चिम क्षेत्रको शैक्षिक केन्द्र पनि हो । राणाशासनकालमा त्यहाँका पढे–लेखेका युवाको सक्रियतामा खुलेको ‘पुस्तक पढ्ने दलान’ र पछि धवल पुस्तकालय, देववाणी संस्कृत पाठशाला, पद्मोदय पब्लिक हाइस्कुल नेपालको शैक्षिक इतिहासमा पटकपटक पढिने–सुनिने नाम हुन् । २०११ सालमा स्थापित त्रिभुवन इन्टर कलेज नेपालका पुराना कलेजमध्ये एक हो ।

देशका अन्य क्षेत्रका तुलनामा अलिअघि नै शैक्षिक क्रियाकलाप हुन थालेको पाल्पा जिल्लामा हाल पनि अरू जिल्लाका तुलनामा साक्षरता प्रतिशत बढी नै छ । कवि माधवप्रसाद देवकोटाले तानसेनको यही शैक्षिक परिवेशमा संस्कृत एवं नेपाली काव्यकृति लेखेका हुन्, जुन त्यसबेलाका उल्लेख्य कृति मानिन्छन् । त्यसै परिवारकी सदस्य हुन्– कवयित्री देवकोटा । यिनले पनि तानसेनका विभिन्न शैक्षिक संस्थामा अध्यापन गरेको अनुभवका सिलसिलामा प्राप्त त्यहाँको इतिहासलाई उनले काव्यमा राम्रोसँग प्रस्तुत गरेकी छन् ।पाल्पा घरेलु उद्योगका दृष्टिले पनि प्रख्यात छ । यहाँ उत्पादित करुवा र ढाकाले देशभरि नै ख्याति कमाएका छन् । घरघरमा ढाका बुन्ने उद्योग अहिले पनि पाल्पामा देख्न सकिन्छ । पाल्पाको यो औद्योगिक पहिचान र उद्यमशीलताको चर्चा पनि काव्यमा पटकपटक आएको छ ।

यीलगायत पाल्पाका प्राकृतिक स्रोत, कृषि उपज, भौतिक संरचना, बाटाघाटा, उद्यान, शिक्षा, स्वास्थ्य, सूचना, सञ्चारजगत्मा भएका प्रगति, पर्यटकीय स्थल, मठमन्दिरजस्ता कुराको इतिहास खोतलेर तथ्य–तथ्यांकसहित जानकारी गराउने काम यस काव्यमा भएको छ । पाल्पा जिल्लामा रहेका भैरवस्थान, रम्भादेवी, हृषीकेश मन्दिर, सत्यवती ताल, रणउजिरेश्वरी आदि देवीदेवताका मन्दिरका विशेषता, त्यहाँका जात्रा–पर्व एवं पौराणिक–ऐतिहासिक महत्वबारे काव्यमा व्यापक चर्चा गरिएको छ । समग्रमा पाल्पा कस्तो छ भन्ने कुरा शब्दचित्रमा जति उत्रिन सक्छ, त्यति यस काव्यमा उतारिएको छ र एकचोटि पाल्पा पुग्नैपर्ने प्रेरणा दिन यो कृति सफल भएको छ ।

पाल्पाका विविध पक्षको चिनारी दिँदादिँदै कवयित्री देवकोटाले कतै देशभक्तिको भाव व्यक्त गरेकी छन् भने कतै व्यावहारिक तथा जीवनोपयोगी सन्देश पनि दिएकी छन् ।जन्मभूमि र कर्मभूमिको गुणगानमा रचित यो कृतिले पाल्पाको समग्र चिनारी दिन्छ । लेखिका तथ्यांकशास्त्री भएका कारण होला, वण्र्यविषयका तथ्यांकप्रति बढी झुकाव देखिन्छ, तापनि नेपाली लोकलयको प्रयोगले लयात्मकता र किञ्चित् रागात्मकता समेत पाइने भएकाले यो कृति वर्णनात्मक काव्य बन्न पुगेको छ ।

पुस्तक : मेरो पाल्पा तानसेन
विधा :   कविता
पृष्ठ :    ८८
मूल्य :  २९९

प्रकाशित: १३ माघ २०७४ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App