२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

स्मृतिमा मगर्नी

बिना तामाङ

मेरो स्मृतिमा आज पनि मस्त, निर्बाध ओहोरदोहोर गरिरहन्छिन्, एउटी मगर्नी अर्थात् बिजमाया मगर । गोलगोल पुक्कपुक्क परेका गाला, हल्का चिम्सा दुई आँखाबीचको चेप्टो नाक, सानो गोलो ओठ र अगाडिको पूरै कपाल उचालेर भुक्क पारेको कालो कपालसहितकोे फराकिलो निधार, छोटाछोटा पोटिला हातसहितको होचीहोची तर सग्लो आकृतिकी बिजमाया विशेषतः हिउँदका दिनहरूमा बढी चलायमान रहन्छिन्, मेरो मस्तिष्कमा । चिसा शारदीय दिनहरूमा न्यानो प्रेम बोकेर मलाई पछ्यौराले बेरिदिने मगर्नी आजभोलि कसलाई प्रेमले घनीभूत पार्दै होलिन् ?
यो प्रश्न उब्जेको दुई दशक बितेछ । यो दुईवटा दशकमा जतिवटा ऋतु आए–गए, तिनले सिर्फ उनको याद दिलाइरह्यो तर कुनै निदान दिलाएन । 
चिम्सा आँखाभित्रको एउटा अनौठो चमकसँगै उनी सधैँ भन्थिन्, ‘म थुप्रै पढ्छु । ठूलो मान्छे बन्छु । बुबालाई खुब खुसी राख्छु । म कहिल्यै बिहे गर्दिनँ ।’
म सोध्थेँ, ‘किन ?’
‘बिहे गरेँ भने बुवालाई कसले पाल्छ र ?’ उनको सरल जवाफ हुन्थ्यो । 
वास्तवमा यो सरल जवाफभित्रको जटिल प्रश्नले मलाई आज पनि गिजोलिरहन्छ । के बिजमायाले विवाह गरिन् होलिन् ? उनले भनेजस्तै छोरी मान्छेले बा–आमा पालेर बस्न यो समाजले सहज परिवेश तयार ग¥यो होला ? यो पित्तृसत्तात्मक राज्य व्यवस्थाले छोरी मान्छेलाई उसको बाबुको सम्पत्तिमाथिको अधिकार कुन हदसम्म प्रत्याभूत गरायो होला ? कतिको सहजता छ आज ? सम्पत्तिका लागि अविवाहित बस्नुपर्ने कानुनको लेग्रो कति तन्कियो खै ?
त्यतिखेर यस्ता सवाल कहीँकतै कुनै कोणबाट पनि मेरो मगजमा आएन, तर आज यही प्रश्नले यो मस्तिष्क थिलथिलो पारेको छ । यही होला, समयसँगै परिपक्वताको सिकाइ र यही सिकाइले जन्माउँदो रहेछ, नवीन चेतना । 
खैर, यतिखेर म यी प्रश्नको उत्तर पाउन उद्यत् छैन । बरु ती मगर्नी अहिले कहाँ होलिन् ? के गर्दै होलिन् ? कति पढेकी होलिन् ? के आफूले चाहैजस्तै जीवन भोग्दै होलिन् ? यो थाहा पाउन उद्यत छु । 
उनी त मेरो जीवनको एक अंश भोगेर बेपत्ता भएकी छन् । सायदै पाउँछु, अब उनको खबर किनकि यतिखेर उनीसँग जोडिएका सबै हाँगा भाँचिएका छन्, मेरो जीवन वृक्षबाट । उनीसम्म पुग्ने बाटो कतै अलप भएको छ, म कसरी उनीसम्म पुगुँ ? एक किसिमको छटपटाहट छ मनभरि । म व्यवस्थापन चाहन्छु यसको तर सम्भावनाका सबै पुल भत्किएपछि यो संस्मरण लेख्दै छु ।
००० 
दुई वर्ष नपुग्दै बिजमायाले आमा गुमाइन् । आमाको मृत्युपछि उनलाई कसैले भनिदिएको थियो, ‘तिम्री आमा नुन लिन जानुभएको छ । नरोऊ है, भरे आउनुहुन्छ ।’
कसैले आमा खै भनी सोध्दा उनी लर्बराएको बोलीमा भन्थिन्, ‘आमा नुन लिन जानुभा छ । भले आउनुहुन्छ ।’ 
पाँच वर्ष पुगेपछि भने उनले यसो भन्न छाडिन् । किनकि उनले आमा पाएकी छन्, अर्की आमा अर्थात् कान्छीआमा । उनका बाबुले दोस्रो बिहे गरे । तर उनी आमा खसेदेखि नै हामीसँग बसिन्, ठूली आमासँग (मेरी आमालाई ठूलीआमा भन्थी) । 
आमाको देहान्तपछि उनका बाबुले हाम्रो घरलाई डेरा होइन, घर बनाइदिए । आफू भने अन्तै कतै डेरामा सरे । खै किन हो, बाबुले उनलाई सँगै लिएर गएनन्, ढुक्कै हामीसँग छाडिदिए । हप्ता, महिना दिनमा चकलेट बोकेर भेट्न आउँथे । कहिलेकाहीँ कपडा पनि ल्याइदिन्थे । खुब माया गर्थे छोरीलाई । तर, आफूसँगै लैजान्नथे । बुझिनसक्नुको थियो, बिजमायाका बाबुछोरीको माया । फेरि बिजमाया पनि रमाएकै थिइन्, हामीसँग । मसँगै सुत्ने, उठ्ने, पढ्ने, हाँस्ने र रुने भएकी थिइन् । 
मलाई आउने प्रत्येक उपहारमा उनको नाम पनि जोडिन थाल्यो । कपडा, जुत्ता, हेयरब्यान्ड सबै जोर–जोर भित्रिन थाले घरमा । बिजमाया मभन्दा दुई वर्ष जेठी थिइन्, तर हामीलाई एउटै साइजका लत्ताकपडा लाग्थ्यो । उनी बिस्तारै हाम्रो परिवारसँग अभ्यस्त हुँदै आइन् । केही हिउँद जेठी भएकीले होला, उनी मभन्दा बढी अभ्यस्त थिइन्, कामकाजमा । भान्छामा आमालाई सघाउन पनि थालिन् । उनलाई खानाको रेसिपी थोरै–थोरै कण्ठ हुन थाल्यो, तर पढाइमा त्यति अघि बढ्न सकिनन् । लेख्न–पढ्नभन्दा भान्छा काममा सहज मान्थिन् । यसो भनौँ, उनी आमालाई भान्छामा सघाउँथिन्, म उनलाई पढाइमा सघाउँथेँ, गृहकार्य सार्न दिएर । आखिर हामी एउटै कक्षामा अध्ययन जो गथ्र्यौं ।
यसरी पाँच, सातवटा हिउँद र वर्षा बित्यो । बिजमाया आमाको दाहिने हात भइन् । कपडा धुन, मकै पोल्न, चामलको माड काट्न, फर्सीको मुन्टा केलाउन उनका ठिक्क पुटुक्क परेका हात दिनानुदिन सिपालु हुँदै गयो । म भने दिनदिनै लबस्तरी हुँदै गएँ । एचआईडी औद्योगिक परिसरमा बेपत्ता साइकल कुदाउँथे, स्कुलमा भलिबल खेल्थेँ, तिहारमा साथीहरूसँग नृत्यको कोरियोग्राफी गर्थें, हल्काफुल्का गीत कोरी टोपल्थेँ । अलि पछि तेक्वान्दो पनि ज्वाइन गरेँ । 
हामीबीच स्वभावमा पनि उस्तै भिन्नता देखाप¥यो । उनको आवाज मसिनो थियो, मेरो धोद्रो । उनी सालीन थिइन्, म उटपट्याङ । अझ भनौँ, म बदमास छु, उनी सोझी । म सत्यकथा र जासुसी उपन्यास सिरान हाल्थेँ, उनी माधुरी दीक्षित, श्रीदेवी, जयाप्रदाको पोस्टकार्ड सिरान हाल्थिन् । म काँम्किसको, कहानीको गफ झिक्थेँ, उनी फिल्मको । हाम्रो स्वभाव र विचारहरूमा स्पष्ट भिन्नता देखियो । हाम्रो व्यवहार र काम गर्ने शैलीमा उमेरगत, संरचनागत र समूहगत फरक देखिएको छ । उनका र मेरा साथी सर्कलको झुन्ड पनि फरक–फरक । हामीबीचको दूरी पनि उस्तै बढेर गयो । हामी कहिलेकाहीँ वादविवाद पनि गथ्र्यौं तर एकदम भेजिटेरियन ।
जे जस्तो भए पनि उनी मलाई माया गर्थिन् । कुखुराको मासु पकाउँदा मेरा लागि घट्ट पोलेर राखिदिन्थिन् । उनी मेरो खुब वास्ता गर्थिन्, उनको ख्याल भने आमाले गर्नुहुन्थ्यो । 
अचानक एक दिन बिजमायाको बाबु आए र भने, ‘बिजमायालाई सँगै लैजान्छु । यसको कान्छी आमाले ल्याउनु भनेकी छे । ऊबाट कुनै सन्तान भएका छैनन्, यसले माया पाउँछे ।’ 
बिजमायाले ठूलीआमाको अनुहारमा याचना बोकेर पुलुक्क हेरी । वर्षौंदेखि पढ्दै आएको त्यो निश्चल अनुहार पढ्न आमालाई कुनै कठिनाइ भएन ।
‘त्यति सानैदेखि स्याहारेँ । माया लाग्छ । यहाँ बसेकै छे, पढेकै छे, खुसी नै छे । केमा चित्त दुखाइएकी छ र ? भैगो यो यहीँ बस्छे । उस्तै परे मै कन्यादान गरिदिउँला । अब त यो पनि मेरो आफ्नै छोरी जत्तिकै प्यारी भाकी छे । किन लैजानुप¥यो ?’ आमाले ममताको आँचल फिँजाउनुभयो । 
बिजमायाका बाबुले त्यो आँचल भरिदिए र फर्किए । ढुक्क भइन् बिजमाया, ढुक्क भएँ म पनि । आमाको अनुहार उज्यालो देखियो । बिजमायाले मेरो हात बेस्सरी अँठ्याइरहेकी थिइन्, खुकुलो पारिन् । उनी रुन्चे हाँसो हाँसिन्, म पनि हाँसे । आमा पनि हाँस्नुभयो । 
बा आइपुग्नुभयो, वीरगन्जबाट माल्दा आँपको टोकरी नै बोकेर । कोठा पूरै आँपको बास्नाले मगमगायो, हामी पनि मगमगाउँयौँ ।
अर्को वर्ष कक्षा ८ को परीक्षाफल प्रकाशित भयो । म पास भएँ, बिजमाया फेल । उनी खुब रोइन्, भन्नेले भनिदिए, ‘बिजमायाले पढ्नै पाइन, काम गरिरहनुप¥यो । त्यसैले फेल भई ।’
उनलाई पनि हो जस्तो लाग्यो । केही महिनादेखि उनी संकुचित हुन थालिन् । माथि मुजुरधापको एकजना साथीकहाँ गएर बस्छु भनिन्, आमाले हुर्केकी छोरी मान्छे, त्यसरी रात बिताउने गरी जान हुन्न भनेदेखि उनी अलि परिवर्तन भएकी थिइन् । 
‘आफ्नै आमा भएको भए जान पाइन्थ्यो,’ यस्तै भनेकी थिइन् मसँग । 
भन्नेहरूले यो पनि भनिदिए, ‘आफ्नै आमा भएको भए अथवा आफ्नै बाबुसँग बसेको भए चाहेको जस्तो लाउन, खान र डुल्न पाउँथी । स्वतन्त्र हुन्थी । खुब माया गर्थे । अर्काको आमा पनि कहिल्यै आफ्नो आमाजस्तो हुन सक्छ र ?’
उनलाई यो पनि हो जस्तो लाग्यो । बिस्तारै बिस्तारै उनी परिवर्तित हुँदै गइन् । चुकुल लाएर धेरै बेर कोठाभित्र थुनिएर बस्न थालिन् । काममा मन दिइनन्, खानामा अरुचि देखाइन्, दुब्लाउँदै गइन् ।
अचानक अर्को महिना बिजमायाको बाबु आइपुगे । योपटक आक्रोशित थिए, बिजमायाका बाबु । 
‘मेरो एउटा छोरी हाइहाईमा पाल्छु । सँगै लैजान्छु ।’ 
आमा छक्क पर्नुभयो । मन भाँचियो । कति तिखो हो, वचन पनि । योपटक बिजमायाले ठूलीआमाको अनुहारमा हेरिनन् । कुनै याचना पनि गरिनन् । उनी आतुर भइन्, बाबुसँग जान । गाजल, पोलिस, लिपिस्टिक, हेयरब्यान्ड सबै झोलामा हालिन् । कपडा पोको पारिन् । यतिन्जेल आमालाई एकपटक पनि हेरिनन् । मेरो हात पनि अँठ्याइनन् । खै के भएको थियो उनलाई ? एकदम रिसाएजस्तो गरिन् । लाग्थ्यो, उनीमा भूत सवार थियो । मलाई उनको नजिक जान पनि डर लाग्यो । यो सब एकदम छिटो छिटो भयो । आमा मौन हुनुहुन्थ्यो । 
बिजमाया र उनका बाबु हतार–हतार पोको पन्तुरो बोकेर निस्किए । घरबाहिर जात्रा लागेको थियो । यस्तो लाग्थ्यो, थुप्रै मान्छे मेला भर्न आएका छन् । कोही भनिरहेका थिए, ‘बिचरा, त्यति सानैदेखि आफ्नै छोरीसरह हुर्काई, हातखुट्टा लागेपछि, शरीरमा बल पसेपछि ल हेर बाबुछोरी भएर लात र बात हानेका । कलियुग लागेछ । कति निर्दयी, कति स्वार्थी हँुदा रहेछन् ।’
कोही भनिरहेका थिए, ‘उसको बाबुको एउटै छोरी त हो । हाइहाईमै पाल्न सक्छ नि । यहाँ बेस्सरी भात पकाउन, कपडा धुन लाउँछन् । जाओस् न । अहिले त कान्छी आमा पनि छैन रे । बाबुछोरी राजसुखमा पर्छन् ।’ 
यी सब कुराबाट बेखबर मेरी आमा अर्थात् बिजमायाकी ठूलीआमाले घरभित्र आफ्ना आँखाहरू चुपचाप भिजाएको मैले देखेँ । एकदम शान्त देखेँ तर भित्री हृदयमा पक्कै पनि हुरी चलेको हुनुपर्छ । सामुद्रिक छालजस्तै ममताको छाल चलेको हुनुपर्छ । 
घाम अस्ताउँदो थियो । म पूर्वतिर फर्किएर बिजमाया र उनका बाबु गएको हेरिरहेँ । बस् हेरिरहेँ । सायद उनीहरू लालबन्दीतिर लागे । 

प्रकाशित: १ पुस २०७४ ०४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App