१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

‘भाषा, धर्म र संस्कृतिबारे लेखनले मुलुकलाई जोड्छ’

मोहना अन्सारी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य अन्सारी समाज बुझ्नका लागि पनि विविध विषयमा अध्ययन गर्छिन् । आयोगको कामबाट फुर्सद मिल्नेबित्तिकै उनी समसामयिक विषयमा लेखिएका पुस्तकमा घोत्लिन पुग्छिन् । अन्सारीको अध्ययन एउटै विषयमा मात्र केन्द्रित छैन । आख्यान र गैरआख्यान दुवैखाले पुस्तकमा रुचि राख्ने अन्सारीलाई पछिल्लो समय गैरआख्यान लेखकले समीक्षकको रूपमा सार्वजनिक समारोहमा बोलाउने गरेका छन् । सामाजिक विषयमा विभिन्न पत्रपत्रिकामा आलेख समेत लेख्दै आएकी अन्सारी विशेषगरी समाजसँग जोडिएका विषयमा लेखिएकै पुस्तक पढ्ने गर्छिन् ।
   
अहिले तपाईंंको हातमा कुन पुस्तक छ ?
अरुन्धती रायको ‘द मिनिस्ट्री अफ अटमस्ट ह्याप्पिनेस’  पढ्दै छु ।
यसअघि कुन पुस्तक पढ्नुभएको थियो ?
यसअघि कठपुतला, भुइयाँ र दृष्टिभ्रम पढेकी थिएँ ।
मनप¥यो कि परेन, किन ?
तीनवटै पुस्तक निकै मनप¥यो । यी पुस्तक रुचिकर विषयमा लेखिएका छन् । मानवअधिकारसँग सम्बन्धित विषयमा लेखिएका यी पुस्तकले समाजमा व्याप्त अन्धविश्वासलाई चित्रण गरेका छन् ।

अब के पढ्ने योजना छ ?
अब राजनीतिक विषयमा लेखिएका पुस्तक पढ्न मन छ । त्यसमा पनि विभिन्न मुलुकका राष्ट्र प्रमुखको आत्मकथा पढ्न मन छ । त्यस्तैखाले पुस्तक पढ्ने सोचमा छ ।
कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ ?
हाम्रा भाषा, धर्म–संस्कृतिका विषयमा पुस्तक लेखिन आवश्यक छ । हाम्रो विविधताबारे पुस्तक लेख्न सकियो भने त्यसले फरक समुदायका नेपालीलाई जोड्न मद्दत गर्छ । हिमालबारे तराईले जान्ने अवसर पाउँछ, तराईबारे हिमालले बुझ्न पाउँछ । यसले छायामा परेका विषयवस्तुको प्रचार हुन्छ । जस्तो, काठमाडौं उपत्यकाको संस्कृति, परम्पराबारे म आफैँ पनि जानकार थिइनँ । जब काठमाडौं बस्न थालेँ, त्यसपछि मात्र यहाँका बारेमा धेरै कुरा जान्ने अवसर पाएँ । त्यसैले यस्ता विषयमा पुस्तकमा लेखिन आवश्यक छ ।
पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक ? किन ?
शारदा शर्माको ‘ताप’ मनपरेको पुस्तक हो । यसले मस्तिष्कलाई नै हल्लाइदिन्छ । त्यस्तै, झमक घिमिरेको जीवन काँडा कि फूल पनि निकै मनपरेको पुस्तक हो । यसले भित्री मनलाई नै छोयो ।

पाठ्यक्रम बाहेकका पुस्तक पनि पढ्नुपर्छ भन्ने सोच कहिले आयो ?
एसएलसी परीक्षा दिएपछि पुस्तकसँग बढी जोडिन थालेँ । त्यतिबेला एसएलसी पछि ६ महिनाको बिदा हुन्थ्यो । त्यो अवधिमा धेरैभन्दा धेरै पुस्तक संकलन गरेँ र पढेँ । सहजै पुस्तक पाउन गाह्रो हुने भएकाले भारतबाट मगाएर समेत बढियो । पुस्तक अध्ययनका लागि राजधानीभन्दा मोफसलको अवस्था निकै फरक छ । राजधानीमा बस्ने मानिसका लागि अध्ययनको वातावरण जति सहज छ, मोफसलमा त्यत्तिकै गाह्रो छ । यहाँ कैयाँै फोरम छन् । प्रत्येक हप्ता पुस्तक बहस हुन्छ, नयाँ पुस्तक सार्वजनिक कार्यक्रम हुन्छन् । त्यस्ता कार्यक्रमले अध्ययनका लागि  प्रोत्साहन गर्छन् । मोफसलमा पनि पुस्तक अध्ययनको वातावरण तयार गर्न आवश्यक छ ।  
नपढी नहुने पुस्तक ?
मान्छेको रुचिअनुसार पुस्तक छनोट पनि फरक हुने भएकाले यही पुस्तक पढ्नुपर्छ भन्न अप्ठेरो छ ।
तपाईंको रोजाइमा नेपाली भाषामा लेखिएका पुस्तक बढी पर्छन् कि अंग्रेजी ?
दुवै भाषाका उत्तिकै मनपर्छ, अली बढी नेपाली भाषामा लेखिएका पुस्तक पढ्छु ।
नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका ?
एउटा कारण त भाषा हो जस्तो लाग्छ । नेपाली लेखकका पुस्तक निकै कम मात्रामा अंग्रेजीमा प्रकाशित छन् । अंग्रेजी अनुवादका लागि लेखकलाई स्पोन्सरको पनि अभाव छ । अर्काे कुरा लेखकमा कमान्ड नभएर पनि हुन सक्छ ।
आख्यान र गैरआख्यानमा बढी कुन पढ्नुहुन्छ ?
म सबै किसिमका पुस्तक पढ्छु । तथापि तुलनात्मक रूपमा ननफिक्सन बढी पढ्छु ।
हालसम्म कति पुस्तक पढ्नुभएको छ ?
ठ्याक्कै यत्ति भन्न गाह्रो छ । सयौँको संख्यामा पढेँ हुँला । पछिल्लो आठ–नौ वर्षको अवधिमा सबैभन्दा धेरै पुस्तक पढेकी छु ।

प्रस्तुति : वसन्त खड्का

प्रकाशित: २५ कार्तिक २०७४ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App