८ पुस २०८१ सोमबार
image/svg+xml
अन्य

कथा : गोलु गैंडा घर फर्कियो

–क्रान्ति पाण्डे
शनिबारको दिन थियो । गोलु गैंडा चितवन निकुञ्जको जंगलको धाप नजिकै सुकेका पातहरुमाथि आरामसँग सुतेको थियो ।
‘गोलुका बाबा आज शनिबार, साँझलाई केही हरियो घाँसपात ल्याउन पाए बेस हुन्थ्यो । बर्खायाम छ । पछि पानी पर्यो भने गाह्रो हुन्छ । बाबु सुतिरहेको छ । हामी नजिकै गएर घाँस लिएर आऔं ।’ गोलुकी आमाले बाबा गैंडासँग भनी ।
‘हुन्छ । त्यसै गरौं ।’ बाबा गैंडाले आकाशतिर हेर्दै भन्यो ।
गोलु गैंडा सुतिरहेकै थियो । बाबा र आमा गैंडा घाँस बटुल्न जंगलभित्र पसे । आफू र गोलुका लागि मीठो घाँस खोज्दै जाँदा उनीहरु घना जंगलको अलि भित्रै पुगे । जंगल गएको केही समयमै जंगलमा बाढी पस्यो । बाबा र आमा गैंडा आत्तिए । खानेकुरा खोज्न आएका अरु जनावरहरु पनि भागाभाग गर्न थाले । ‘गोलुलाई के भयो होला ।’ आमा गैंडा पिरले रुन पो थाली ।
‘केही भएको छैन गोलुलाई । तर यतिबेला बाबु भन्दा पनि आफ्नो ज्यानको चिन्ता छ । हिँड अरु जनावरहरुसँगै सुरक्षित ठाउँतिर लागौं । अनि गोलुलाई हेर्न जाउँला ।’ बाबा गैंडाले हतारिँदै भन्यो ।
‘हैन बाबा, गोलुलाई के भयो ? एकपटक हेर्न जाउँ न !’ आमा गैंडालाई गोलुको निकै चिन्ता लाग्यो । उनीहरु घाँस लिन गएको जंगलमा बाढी निकै माथि आइसकेको थियो । उनीहरुका गोडाहरु सबै पानीमा डुबेर पानीले कम्मरसम्म छोइसकेको थियो ।
उता धापमा बाढी पसेर गोलु गैंडालाई बाढीले बगाइसकेको थियो । गहिरो निद्रामा परेको गोलु बग्दै अलि पर गएर एउटा रुखमा ठोक्किँदा पो झसङ्गै भयो । उसको निद्रा उतिबेलै कहाँ गयो कहाँ ? ऊ पौडन जानेको थियो । तर, पानीको बहाव यति जोडको थियो कि उसले आफूलाई सम्हाल्न सकेन । उसले जसोतसो आफ्नो टाउको र मुख मात्र पानी बाहिर राख्न सकिरहेको थियो । वरिपरि पानीबाहेक केही देखिँदैनथ्यो । गोलुलाई सबै संसार नै पानीमा डुबेकोजस्तो लाग्यो ।
‘बाबा !, आमा !!’ भन्दै गोलु बेस्सरी चिच्यायो ।
सबै आआफ्नो ज्यान जोगाउनमा लागेका थिए । उसको आवाज कसैले सुनेन ।
केही घन्टासम्म पानीमा तैरँदै, बग्दै जाँदा गोलु निकै टाढाको जंगलको छेउमा पुग्यो । अलिकति अग्लो परेको ठाउँमा पुग्दा त्यहाँ पानीको बहाब अलि कम थियो । त्यहाँ पुगेर ऊ बल्लबल्ल अडियो । टक्क उभिएर उसले वरिपरि हे¥यो । त्यो ठाउँ नयाँ थियो, त्यहाँका सबै कुराहरु नयाँ देखिन्थे ।
नयाँ जंगलमा उसले कसैलाई चिनेन । उसलाई चिन्ने जनावर पनि कोही थिएन । उसलाई देखेर त्यहाँका जनावरहरुका बच्चाहरु पनि अचम्म मानेर गोलुलाई हेर्न थाले ।
गैंडाको नयाँ केटो नेपालबाट बाढीमा बगेर आएको छ भनेर जंगलमा निकै हल्लिखल्लि भयो । त्यहाँका साना ठूला सबै जनावरहरु उसले अलिअलि मात्र बुझ्ने भाषामा बोलिरहेका थिए । यस्तै हल्लाका बीचमा त्यहाँको जंगलका जनावरहरुको नाइके हात्ती आयो । उसले नेपालमा बाढी आएको कुरा अरु जनावरहरुबाट थाहा पाएको थियो । गोलु नजिकै पुगेर उसले भन्यो, ‘छोटे गैंडाजी, भारत में आप का स्वागत है !’
नाइके हात्तीको कुरा सुनेर ऊ आत्तियो । उसले आफू बग्दैबग्दै भारतमा आइपुगेको थाहा पायो । अब के हुने हो भनेर ऊ खूब डरायो । उसले ‘प्याँ !’ गरेर रुँदै भन्यो, ‘अब घर कसरी फर्कने ? मलाई मेरै घरमा जानु छ !’
हात्तीले हिन्दीमै सोध्यो ‘साँच्ची तिम्रो नाम के हो कुन्नी ?’
‘म..म... मेरो नाम ... गो..गो...गोलु गैंडा हो ।’ गोलुले हड्बढाउँदै भन्यो ।
गोलु हड्बढाएको थाहा पाएपछि नाइके हात्तीले मायालु पाराले भन्यो, ‘तिमी डराएजस्तो छ । यो जंगल पनि यहाँको निकुञ्जको जंगल हो । हामी तिमीलाई तिम्रो घरसम्म पु¥याउन मद्दत गर्नेछौं ।’ सबै जनावरहरुले एकै स्वरमा भने, ‘परेको बेलामा त हो नि सहयोग गर्ने !’ उनीहरु सबै गोलुलाई सहयोग गर्न तयार भए ।
गोलु गैंडा नाइके हात्तीको पछिपछि लाग्यो । अनि उनीहरु जंगलको बिच भागमा गए । ‘तिमी निकै थाकेको जस्तो देखिन्छौं । पक्कै भोकाएका पनि छौ । आजको दिन यहाँ हामीहरुसँगै बस । तिमीलाई भोली बिहानै घर फर्काउने जिम्मा हाम्रो भयो ।’ नाइके हात्तीले गोलुलाई सुँडले काँधमा थपथपाउँदै भन्यो ।
गोलुको स्वागत गर्न त्यहाँका जनावरहरुले फलफूल र कलिला मुनाहरु तयार पारेका थिए । दिनभर भोकाएको गोलुले मजासँग मिठामिठा फलफूल खायो । विस्तारै उसको डर हराउँदै गयो । साँझतिर उसले जंगलका सबैजसो जनावरहरुसँग परिचय ग¥यो । एकछिनका लागि भए पनि नयाँ साथी पाउँदा त्यहाँका जनावरहरु पनि दंग देखिन्थे ।
...
अर्कोदिन बिहानै नाइके हात्तीले गोलुलाई जंगल नजिकै रहेको त्यहाँको निकुञ्जको कार्यालय वरपर लग्यो । निकुञ्जका कर्मचारीहरुले पनि नेपालको चितवनबाट बाढीले गैंडा बगाएको खबर पाएका थिए । उनीहरु गैंडा खोज्न तम्तयार थिए ।
‘ऊ हेर त ! त्यो नौलो एकसिंगे गैंडाको केटा ! नेपालबाटै आएको जस्तो छ ।’ त्यहाँमध्येको एक बूढो कर्मचारीले बिस्तारै भन्यो । नाइके हात्तीले कर्मचारीको कुरा सुन्यो । अनि गोलु गैंडालाई कर्मचारी छेऊ जान भन्यो, ‘तिमीलाई भेट्दा र  सहयोग गर्न पाउँदा खुसी लाग्यो । मौका मिलेछ भने फेरि भेट होला । उनीहरुले तिमीलाई घर फर्काउन सहयोग गर्नेछन् । नडराई जाऊ ल !’ नाइके हात्तीले लामो सुँडले गोलुलाई केहीबेर सुम्सुम्याएर छोडिदियो ।
नाइके हात्तीका कुरा सुनेर गोलु पनि नाइकेलाई पुलुक्क हेर्दै, ‘अंकल तपाईंलाई धेरै धेरै धन्यवाद  । म तपाईंलाई सधैं सम्झिरहनेछु !’ भन्यो र निकुञ्जका कर्मचारी छेऊ डराइडराइ बिस्तारै गयो ।
गोलु आफू नजिक आफै आएको देख्दा कर्मचारी खुसी भए । गोलुको कानको मुनितिर रहेको जिपिएस ट्रयाक जाँच गर्दा गोलु नेपालबाटै आएको उनीहरुलाई थाहा भयो ।
‘केटा एकछिन पख है’ भन्दै रेन्जर(कर्मचारी)ले झोलाबाट एउटा बन्दुकजस्तो सुई निकाल्यो । अनि गोलुको पेटमा बिस्तारै ताक्यो । गोलुलाई चसक्क भयो अनि उसलाई केही थाहा भएन ।
...
रेन्जरहरु(कर्मचारी)ले बेहोस गोलुलाई ट्रकमा चढाए । अनि ढ्याम्म ढोका लगाए । ट्रक भारतको निकुञ्ज हुँदै बिस्तारै मुख्य सडक आयो । खेत र बस्ती हुँदै ट्रक दिउँसोपख चितवन निकुञ्ज आइपुग्यो ।
चितवनमा गोलुका बाबा र आमासँगै अन्य जनावर एकै स्थानमा बसेका थिए । ट्रक उनीहरु बसेको चउर छेउमा रोकिँदै गर्दा गोलुका बाबा र आमा केही खुसी देखिए ।
चितवन आइपुग्दा गोलुको होस् अलि अलि खुलेको थियो । गोलुको मायामा छट्पटिएका गैंडाहरु मानिससँग रिसाउन सक्ने भन्दै उनीहरु सुरक्षित रुपमा ट्रकको छत र भित्ताहरुमा झुन्डिएका थिए । निकुन्जका कर्मचारीले ट्रकको ढोका खोले । अलिअलि होस्मा रहेको गोलु वरीपरी नहेरी सिधैं ट्रकबाट बाहिरियो । ट्रकबाट बाहिरिँदै गरेको गोलुलाई देख्दा गोलुका आमा बाबु खुसी देखिए । गोलुलाई देखेर आमा र बाबा गैंडा छिटो छिटो गोलु छेऊ आए ।
गोलु आफू नजिक आइपुग्ने बित्तिकै आमा गैंडाका आँखाभरि आँसु आए । ‘बाबु हामीले तिमीलाई एक्लै छाडेर जानु हुँदैन थियो । बर्खाको समय कति बेला के हुन्छ थाहा नै हुँदैन । धन्न तिमी फर्केर घर आयौं ।’
‘आमा मलाई के भएको छ र म घर फर्किहालें नि ! अब केको चिन्ता । आमा नरुनुस् न !’ गोलुले मलिनो स्वरमा भन्यो ।
‘अनि नि आमा, त्यो भारतको जंगलका जनावरहरु पनि हाम्रो यहाँका जनावरहरुजस्तै दयालु रहेछन् । अप्ठेरो परेको समयमा कोही कहाँबाट आयो, कसको आफन्त हो भनेर केही नहेरी सक्दो सहयोग गर्ने रहेछन् ।’ गोलुले थप्यो ।
‘धन्यवाद हाम्रा असल छिमेकीहरुलाई ! असल छिमेकी भए दुःख पाइँदैन भनेको यही रहेछ ! अस्ति उताको निकुञ्जमा डढेलो लाग्दा उनीहरुलाई हामीले गरेको सहयोगको गुन तिरेकोमा फेरि पनि धन्यवाद !’ बाबा गैंडाले भन्यो ।
गोलु सकुशल घर फर्केको देखेपछि निकुञ्जका अन्य जनावरहरु पनि खुसीले रमाए ।

प्रकाशित: २४ भाद्र २०७४ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App