१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

तराई–मधेसमा लैंगिक भ्रूण हत्यास : अव्यक्त पीडाका अकथित कथा

आमाको पेटबाट नजन्मिदै छोरीको भ्रूण अवस्थामै हत्या गर्ने परिपाटी भारतको बिहारसँग जोडिएका तराईका जिल्लामा बढ्न थालेपछि यसका अनेक दुश्प्रभाव देखिन थालेका छन् । ‘२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकले समेत देखाएको लैंगिक असन्तुलनको पृष्ठभूमिमा तराई–मधेसमा सामाजिक स्तर, आमाहरुको स्वास्थ्य र महिलाको समग्र जीवनमा देखिएका असरले विभिन्न खाले खतराको संकेत दिन थालेको छ,’ तराईको जनसंख्यामा लैंगिक असन्तुलनबाट चिन्तित जनसंख्या विज्ञ सुष्मा तिवारी द्विवेदीले भनिन्, ‘तराईको मधेसी समुदायका लागि र समग्रमा समाज र राज्यकै लागि यो गम्भीर विषय हो, यसको सूक्ष्म विश्लेषण गरेर हेर्ने हो भने चिन्तित हुने अवस्था छ ।’
नेपालको जनसंख्यामा लैंगिक अनुपात प्रत्येक सय जना पुरुषको तुलनामा ९४ महिला आफैँमा असन्तुलन देखाइरहेकामा तराईमा यो अनुपात प्रति १ सय ९ जना पुरुषमा सय महिलाको अनुपात छ । यहाँ केटा मान्छेको बिहेका लागि केटी नपाइने समस्या सुरु भइसकेको उनले बताइन् । ‘जहाँ केटीको संख्या केटाको तुलनामा कम हुन्छ, स्वभाविक रुपमा बिहेबारीमा समस्या हुन्छ,’ उनले भनिन्, ‘त्यहाँ केटीहरुमाथि लैंगिक हिंसाको जोखिम अधिक हुन्छ, बलात्कारका शिकार बन्ने अवस्था सिर्जना हुन्छ र यो कल्पना वा अनुमान गरिएको कुरा होइन, प्रत्यक्ष देखिन थालेको विषय हो । ठाकुरराम बहुमुखी क्याम्पसमा जनसंख्याशास्त्रकी उपप्रध्यापक द्विवेदीले भनिन्, ‘योभन्दा चिन्ताको विषय अर्को पनि छ, जुन आमाको पेटमा सन्तान नष्ट गरिन्छ, उसको स्वास्थ्य र मनोवैज्ञानिक रुपमा कस्तो असर कस्तो हुन्छ कसैले सोचेको छैन ।’
गर्भको सन्तान छोरी भएकाले भ्रूण हत्या गर्दा परिवारका अरु सदस्य वा पुरुषमा खासै असर नपरे पनि दबाबमा गर्भपतन गराइएकी महिलाले धेरै तह र किसिमको पीडा भोग्नुपर्ने उनको बुझाइ छ । ‘भ्रूणको लिंग परीक्षण गैैरकानूनी हो, गर्भपतनका लागि कानुनी व्यवस्थाअनुसार लिंगमा आधारित गर्भपतन अमान्य छ, नियमले रोकेको छ, त्यस कारण लुकीचोरी भ्रूण हत्या गराउनु पर्दाको पीडा महिलालाई कति हुन्छ होला, कसैले कल्पेको छ ?’ द्विवेदीले भन्छिन्, ‘त्यसमाथि उनीहरुको स्वास्थ्यको जोखिम त छँदैछ । लुकीचोरी गर्भपतन गराउँदा महिलाको ज्यानै जान सक्छ । उनीहरुमा यौन रोग, पाठेघरमा संक्रमण हुने गरेको छ । यस्तोमा उनीहरुको मनोबल खस्केको हुन्छ, मनोविज्ञानमा नराम्रो असर परेको हुन्छ र सबभन्दा दुखद् कुरा आफूमाथि भइरहेका यी सबै पीडा उनीहरुले कसैलाई पनि सुनाउन सक्दैनन् ।’
द्विवेदीले भनेजस्तै ताजा घटना गएको चैतमा पर्सामा घट्यो । फेरि पनि छोरी जन्मिन नदिन गोप्य ढंगले अदक्ष व्यक्तिबाट गर्भपतन गराउँदा पाठेघरमा संक्रमण हुँदा वीरगन्जको सिर्सिया घर भएकी २० वर्षीया चन्दाकुमारी प्रजापति मृत्युको मुखमा पुगिन् । उनको उपचार स्थानीय अस्पतालमा सम्भव नभएपछि चैत २८ मा काठमाडौँस्थित शिक्षण अस्पताल पुर्याइयो । चिकित्सासम्बन्धी कुनै प्रकारको औपचारिक शिक्षा वा तालिम नलिएका सिसियाडी बैरियाका दशरथ साहले आफ्नै जुक्तिको भरमा चैत २३ मा चन्दाको गर्भपतन गराएका थिए ।
कक्षा ९ सम्म पढेका दशरथ वीरगन्जको मुख्य बजार क्षेत्रभन्दा ५ किलोमिटर पश्चिममा रहेको बिन्दवासिनी चोकमा बिना दर्ताको औषधि पसल चलाउँछन् । चितवनको देवघाट माइती भएकी चन्दाको बिहे सिर्सियाका शिवकुमार पण्डितसँग भएको करिब चार वर्षपछि दुई वटा छोरी जन्मिए । यस पटक चन्दाले गर्भधारण गर्दा परिवारका सदस्यले छोरा पाउने आशा गरेको गरेका थिए । पछि रक्सोलको एक निजी क्लिनिकमा भ्रूणको लिंग पत्ता लगाए । फेरि पनि छोरी हुने थाहा पाएपछि दशरथको भागमा गर्भपतन गराउने जिम्मा आइप¥यो ।
‘उनीहरुले धेरै कर गरे, मेरो चिनजानको मान्छेलाई लिएर आए,’ दशरथले कहानी सुनाए, ‘ गरिब मान्छेको काम गरिदिनु पर्यो भनेर दबाब नै दिएपछि मैले गर्भ पतन गराएँ । पछि उनीहरुले थप औषधि र पौष्टिक तत्व खुवाएनन् । केही दिन भात खान नदिनू भनेको पनि मानेनन् । त्यसैले चन्दा बिरामी परिन्, यसमा मेरो गल्ती छैन ।’
औषधिमुलो गर्दा पाठेघरमा घाउ कसरी लाग्यो भन्नेबारे दशरथ बोल्न चाहेनन् । पाठेघरमा समस्या देखिएपछि रक्सोल डंकन अस्पताल लैजान भनी आफूले दिएको सल्लाह नमानेर अवस्था धेरै बिग्रेको उनको दाबी छ । असुरक्षित गर्भपतनपछि चन्दाको स्वास्थ्य बिग्रेपछि वीरगन्जको नेसनल मेडिकल लगिएको थियो । महिलाको पाठेघरमा औजारको प्रयोग असुरक्षित तरिकाले गरिएको त्यहाँका चिकित्सकहरुले ठम्याएका थिए ।
वीरगञ्जमा करिब एक महिनाको उपचारपछि चन्दालाई काठमाडौँमा उपचार गरियो । हाल काठमाडौँबाट चन्दालाई फिर्ता ल्याइएपछि उपचार राम्रोसँग नगरेको आरोप लगाई पञ्चायती बसेर दशरथले ४० हजार जरिवाना तिराएको छ ।
मधेसका गाउँगाउँमा यस्ता कयौँ चन्दाहरु छन्, जसका अव्यक्त पीडाका अकथित कथा प्रकाशमा आउँदैनन् । र, समाजमा छोरीको संख्या घट्न थालेको छ । छोरीको अचेल चाँडै बिहे हुने गरेको छ भने केटी पाउन कुनुपर्ने भएकोले केटाको बिहे ढिलो हुन थालेको छ । ‘केटीहरुको १३ देखि २५ वर्षसम्ममा बिहे भइसक्ने गरेको छ,’ ग्रामीण विषयका जानकार पत्रकार आरके पटलले भने, ‘औसत निकाल्दा कानुनले तोकेको १८ वर्ष उमेरभन्दा कमै करिब १६/१७ को उमेर निस्किन आउँछ । केटाहरुको बिहेमा समस्या छ । ३५ वर्षभन्दा बढी उमेरका अविवाहित युवाहरु यहाँ भेटिन्छन् । केटाहरुको बिहेको उमेर औसत २२/२३ वर्ष छ ।’
मधेसी समुदायमा केटी पक्षले केटा माग्न आउने चलन रहेकाले केटा पक्ष आफैँ अगाडि नसरेर माध्यमहरु भिडाएर बिहे गराउने अवस्था पढेलेखेका परिवारहरुमा आउन थालेको उनले बताए । तराईमा देखिएको यो समस्याको असरबाट समग्र देश नै अछुतो नरहने द्विवेदीको भनाइ छ । छोरीलाई भ्रूणमै हत्या गरेर जन्मिनै नदिने यस्तै अवस्था रहे अन्य ठाउँबाट किनेर बिहे गर्ने अवस्था भविष्यमा आउन सक्ने उनको चिन्ता छ । यस्तोमा  चेलीबेटी बेचविखन तीव्र रुपमा बढ्ने उनको आशंका छ ।
यस्तो समस्या समाधानका लागि जागरुकतादेखि कडा कानुनी कारबाहीसम्मका कदमहरु चाल्नु पर्ने अर्का सामाजिक अभियन्ता तबरेज अहमद बताउँछन् । ‘छोरी जोगाउन सामाजिक जागरणदेखि बहससम्म चलाउनु पर्ने देखिन्छ,’ उनी भन्छन्, ‘जुन किसिमले अवैध गर्भपतनको चक्र छ, यसले देशलाई दुरगामी असर पार्ने छ ।’ समाजिक अभियन्ता तबरेज अहमदले भन्छन्, ‘पढेलेखेका भनिएका, समाजिक सचेतनाका मुद्दामा काम गर्ने एनजिओकर्मी, शिक्षक लगायत पनि छोरीको जन्म रोक्ने काममा संलग्न भएका भेटिन्छन् ।’
सीमावर्ती भारतीय बजारहरुमा खुलेका वैध र अवैध क्लिनिकका बारेमा सीमावारि तराईका एफएम रेडियोमा प्रचार गराएर र दलाल लगाएर गर्भपतन गराउन चाहनेहरुलाई पनि आकर्षित गर्ने गरिएको छ । हरेक एफएम रेडियोमा दर्जनभन्दा बढी सीमापारिका क्लिनिकहरुको प्रचार आउने गरेको छ भने गाउँका स–साना औषधि पसलेहरु एजेन्टका काम गर्ने गरेका छन् । दशरथजस्ता औषधि पसलेहरुले पनि यस अवैध कामका लागि सामाजिक स्वीकृति पाएका छन् ।
भ्रूण हत्याका कारण
–    भ्रूणको लिंग पहिचान गर्ने मेसिनको सर्वसुलभता ।
–    छिमेकी मुलुकका बिहार राज्यमा व्याप्त दाइजो प्रथाका कारण वारि पनि यस्तो कुप्रथा व्याप्त भएकाले ।
–    विद्यालय जाने छोरीहरुमा पोइल जाने क्रम बढेपछि त्यसलाई प्रतिष्ठा बनाउँदा अभिभावकले ‘न जन्मिन्छे छोरी, न जान्छ प्रतिष्ठा’ सोच्ने गरेकाले ।

प्रकाशित: १८ भाद्र २०७४ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App