१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

फूलमतीको तीज

विमलेन्द्र मिश्र
सधैँझैँ यस वर्ष पनि तीज आयो । कार्यालयका पुरुष साथीले महिला सहकर्मी साथीहरूलाई दिदीबहिनी सम्झेर दर खुवाउने कार्यक्रम राखे । कार्यालयमा यस्तो चलन चल्न थालेको पनि केही वर्ष भइसकेको थियो । यसरी नै महिलाले पनि भाइटीकामा पुरुष साथीलाई भोजको आयोजना गर्थे । यसरी कार्यालयमा दाजुभाइ, दिदीबहिनी जसरी एकापसमा सम्बन्ध विकास हुँदै गइरहेको थियो । 

तीजको दरको कार्यक्रम लामो नै भयो । टाढा–टाढा माइती भएका महिला कर्मचारीले आफ्नो माइती जान पाएका थिएनन् । कार्यालयको तीज कार्यक्रमले महिला कर्मचारीको माइती बिर्साइदिएको थियो । कार्यक्रममा तीजको गीत घन्कियो । गीतसँगै महिला दिदीबहिनी नाच्न थाले । मादलको तालमा नृत्यको रौनक बेग्लै भयो । फोटो खिचियो, भिडियो खिचियो । जो–जो सहभागी कर्मचारी थिए, ती सबैले आ–आफ्नो प्रतिभा देखाए । कसैले नाचे, कसैले गाए । मनका पीडालाई गीतले मलमपट्टी लगायो । समय बितेको पत्तै भएन । 

कार्यक्रममा बुहार्तनका पीडा, नन्द–आमाजूले दिएका दुःखदेखि श्रीमान्का आनीबानीसम्मका गीत गुन्जिए । पुराना तीजका गीत मात्र नभई नयाँ–नयाँ तीजका गीत पनि बजे । वातावरण मोहक बन्दै गयो ।

कार्यक्रम अगाडि बढ्दै गयो । यसै क्रममा एक सहकर्मी पुरुष साथी पनि आफ्नो प्रतिभा देखाउन मञ्चमा उक्लिए । उनले तीजमा महिलाका पीडा मात्र छैनन्, पुरुषका पनि पीडा पनि छन् भन्न थाले । उनी के भन्दै छन् भनेर सबैको ध्यान खिचियो । उनी तीजकै लोकभाकामा गीत गाउन थाले । तीजको दर खाने बखत आएर दिदीबहिनीले भकारीको अन्न, बारीका अम्बा, घिरौँला, फर्सी, काँक्रा सबै सकेको कुरा व्यक्त गरे । जे कुरा पनि तीजलाई चाहिने भनेर सँगालेर राखेको, जनैपूर्णेको दर खाने दिन आफूले मीठो–मसिनो केही पनि खान नपाएको, महिलाले तीजको दरमा मादक पदार्थ खाई श्रीमान्लाई दुःख दिएकोजस्ता भावना पोखिएका गीत पस्किएपछि एकछिन वातावरणमा सन्नाटा छायो । 

यसै क्रममा एक सहकर्मी पुरुष साथी पनि आफ्नो प्रतिभा देखाउन मञ्चमा उक्लिए । उनले तीजमा महिलाका पीडा मात्र छैनन्, पुरुषका पनि पीडा पनि छन् भन्न थाले । गीतमार्फत उनले तीजका दर खाने बखत आएर दिदीबहिनीले भकारीको अन्न, बारीका अम्बा, घिरौँला, फर्सी, काँक्रा सबै सकेका कुरा व्यक्त गरे । महिलाले तीजको दरमा मादक पदार्थ खाई श्रीमान्लाई दुःख दिएकोजस्ता भावना पोखिएका गीत पस्किएपछि एकछिन वातावरणमा सन्नाटा छायो । 

हुन त, यी सबै कुरा हाम्रै समाजमा घटना थिए । यस्ता गीतका प्रतिउत्तरमा एक महिलाले फेरि अर्को गीत गाइन् । एकैछिन् त जुहारी नै चल्यो । वातावरण झनै रमाइलो बन्यो । 

फूलमतीको समय दिनभर कार्यालयको तीज कार्यक्रममा बित्यो । साँझ घर फर्किएपछि उनी चुपचाप बसिरहिन् । उनलाई केही गर्न जाँगर चलेन । उनले फेरि दिउँसोको तीजको कार्यक्रम सम्झिइन् । कार्यक्रमको मोबाइलमा खिचिएको भिडियो हेर्न थालिन्, हेर्दाहेर्दै उनलाई पतिको याद आउन थाल्यो । मन खल्लो भएर आयो । 

उनको पतिले उनलाई असाध्यै माया गर्थे । तीजमा निराहार बस्न दिँदैनथे । दर खाने दिनमा पनि फलफूल, मिठाई र मीठामीठा कुरा ल्याई खान कर गर्थे । श्रीमान्को यस्तो बानीले फूलमतीलाई कहिलेकाहीँ झिजो लाग्थ्यो । उनी रिसाउँथिन्, धुर्की लगाउँथिन् । 

अहिले उनलाई श्रीमान्को यादले सताउन थाल्यो । कोठा शून्य थियो । माया गर्ने श्रीमान् कोठामा थिएनन् । रात बोझिलो बन्दै गयो । श्रीमान्को कल्पना मनमा झन्झन् ताजा हुँदै गयो । निद्रादेवीले शरण लिइनन् । रात छिप्पिँदै थियो । विवाहका दिनदेखिका स्मृति चलचित्रझैँ उनको मानसपटलमा आउन थाल्यो । भित्तामा झुन्डाइएको श्रीमान्को फोटोतिर उनले नजर लगाइन् । मनभरि कुरा खेल्न थाले ।

उनलाई श्रीमान्ले गरेको पहिलेदेखिका गाली, माया, किचकिच सबै रमाइलो लाग्न थाल्यो । अहिले पनि उनलाई त्यसरी नै किचकिच गर्न आइदिए हुनेझैँ लाग्यो, जुन सम्भव थिएन, त्यसको कल्पना मात्रै सम्भव थियो । 

कहिलेकाहीँ अफिसबाट फर्कंदा उनका श्रीमान् मादक पदार्थ पिएर आउँथे । पिएर आएको दिन झगडा गर्दैनथे, अघिपछिभन्दा बढी माया पो गर्थे । मैले तिमीलाई धेरै दुःख मात्र दिएँ भनेर रुन्थेँ । फूलमतीको काखमा टाउको राखी पल्टन्थेँ । गाला मुसार्थे । फूलमती सम्झाउन थाल्थिन् । पिउने नगर्नुस्, यसले स्वास्थ्य बिग्रन्छ भन्थिन् । उनी भोलिदेखि कहिले पनि पिउँदिनँ भन्थे । फेरि केही दिनपछि घटना दोहोरिन्थ्यो । फूलमतीको यसरी नै घरी कार्यालयको तीज कार्यक्रम र कहिले श्रीमान्लाई सम्झँदासम्झँदै भुसुक्क निदाइन् ।

भोलिपल्ट । चराहरू चिर्बिराउन थाले । फूलमती पनि बिउँझिइन् । तीजको दिन थियो । महिलालाई कार्यालयमा बिदा थियो । नुवाइधुवाई गरी उनी मन्दिर गइन् । बाटाभरि रातो सारी लगाएका नारी प्रशस्त देखिन्थे । कति त श्रीमान्को पाखुरी समाई हिँडेका थिए । फेरि फूलमतीलाई आफ्नै श्रीमान्को यादले सताउन थाल्यो । 

बिछोड भन्ने कुराले पनि निकै पीडा दिने रहेछ । बिछोडको पीडाले नै फूलमती फूलजस्तो हाँस्न सकेकी थिइनन् । बैँसमा पनि एक्लो जीवन बिताउनुपरेको थियो । विवाह भएको दुई वर्ष नबित्दै श्रीमान् उनलाई छोडी धन कमाउन बिदेसिएका थिए । श्रीमान् बिदेसिएपछि श्रीमती अर्कैसँग उठबस गर्ने चलन समाजमा देखिन थालेको थियो । तर, फूलमती त्यस्ती खालकी थिइनन् । उनको मति भ्रष्ट कहिले भएन । फूलले सबैभन्दा चम्किलो, उज्यालो सूर्यलाई देख्छ । त्यसरी नै फूलमती पनि आफ्नो श्रीमान्लाई सबैभन्दा उज्यालो र सर्वशक्तिमान् पुरुष देख्थिन् । त्यसै भएर होला, फूलको जस्तै मति भएर संयोगले नै उनको नाम फूलमती रहन गएको । 

उनलाई आफ्ना श्रीमान् सबैभन्दा प्यार्रा थिए । हुन त उनीमाथि आँखा लगाउने गुन्डाहरू पनि थिए । विदेशबाट श्रीमान्ले दुःखले कमाएर पठाउने र यहाँ परपुरुषसँग मोजमस्ती गरेर धनको स्वाहा गर्ने श्रीमतीहरू पनि थिए । तर उनको मति त्यस्तो थिएन ।

फूलमती तीजको बाहिरी रमझममा धेरैबेर टिक्न सकिनन् । माइती टाढा थियो । त्यसैले तीजमा जान पनि सकिनन् । खान पनि मन लागेको थिएन । बारम्बार फोन गर्ने श्रीमान्ले पनि धेरै दिनदेखि फोन गरेका थिएनन् । उनलाई दिन नै अँध्यारो लागिरहेको थियो । आफैँले श्रीमान्लाई धेरैचोटि फोन गरिन् । तर सम्पर्क हुन सकिरहेको थिएन । काममा व्यस्त रहेका बखत उनी यसरी नै धेरै दिन आफ्नी प्यारीलाई फोन गर्न सक्दैनथे । 

सम्झनाका लहर एकपछि अर्कौ तरंगित हुँदै थियो । त्यति नै बेला मोबाइलमा म्यासेजको घन्टी बज्न थाल्यो । फूलमतीले म्यासेज खोलेर हेरिन् । म्यासेज आफ्नै प्याराको थियो । म्यासेज यस्तो थियो, ‘अहिले व्यस्त छु । भरे कुरा गरौँला । तीजका लागि मनी ट्रान्सफरबाट रकम पठाएको छुु । आजै गई लिनू ल ।’ 

म्यासेज पढ्नेबित्तिकै फूलमतीका आँखा रसाए । उनले तुरुन्तै म्यासेज पठाइन्, ‘अब हजुरले पठाएको रकमले मलाई पुग्दैन । मलाई हजुर नै चाहिन्छ । अब हजुर सधैँ मसँगै हुनुपर्छ ।’ 

म्यासेजको घन्टी उता फूलमतीको श्रीमान्को मोबाइलमा बज्न थाल्यो । यता भने फूलमतीको झ्यालनजिकै रहेको रूखमा एक जोडी जुरेली आएर खेल्न थाले । फूलमतीको आँखामा आँसु टलपलाउन थाल्यो । साँझ पर्दै गयो । केही थोपा आँसु फूलमतीको गाला हुँदै छातीमा तप्प तप्प खस्यो । 

प्रकाशित: २८ श्रावण २०७४ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App