काठमाडौं उपत्यकामा जात्राको मौसम सुरु भएको छ । जेष्ठ शुक्ल षष्ठी सिथि नखःबाट अन्त्य भएका जात्राहरू साउनकृष्ण चतुर्दशीको गथांमुगः (गठेमंगल)सँगै सुरु भएका हुन् ।
गत शुक्रबार गठेमंगल मनाइएपछि उपत्यका र आसपासका नेवार बस्तीमा विभिन्न जात्राको लहर सुरु भएको हो । दोबाटो र चौबाटोमा नर्कट, गहुँको छ्वालीलगायतले बनाएको राक्षसरूपी गथांमुगःको शुक्रबार साँझ दाहसंस्कार गरेपछि उपत्यकामा विभिन्न जात्राका लागि बाटो खुलेको छ ।
नेवारी परम्पराअनुसार गठेमंगलपछि अब उपत्यकाका विभिन्न स्थानमा एकैखालका र केही स्थानमा फरक–फरक जात्रा लगाइने गरेको संस्कृतिविद् ओम धौभडेलले बताए । उनका अनुसार गठेमंगलमा पर्यावरणीय र वैज्ञानिक कारण समेत जोडिएको छ ।
धौभडेलका अनुसार खेतीपाती सकिएपछि टोल–छिमेकमा आउने लामखुट्टे र भुसुनालाई आगो बालेर भगाउन गठेमंगल मनाइने गरेको हुनसक्छ । यसलाई वैज्ञानिक हिसाबले पनि हेर्न सकिने उनी बताउँछन् । सांस्कृतिक र वैज्ञानिक दुवै हिसाबले उपत्यकाका जात्राको महत्त्व रहेको उनको दाबी छ ।
उपत्यकामा वर्षभरि जस्तो नै जात्रा हुने गर्छन् । सिथि नखःदेखि गठेमंगलसम्म भने खेतीको समय भएकाले कुनै पनि जात्रा हुँदैनन् ।
उपत्यकाभित्रका जात्रामा भक्तपुरको बिस्केट, काठमाडौंको इन्द्रजात्रा र ललितपुरको मच्छिन्द्रनाथ जात्राको विशेष महत्व छ । यिनलाई तीन सहरका मुख्य जात्राको रूपमा लिइन्छ । यीबाहेक तीनवटै सहरमा आ–आफ्नो चलनअनुसार फरक जात्रा पनि मनाइने गरेको धौभडेलले बताए ।
कृषिमा आधारित समाजमा खेतीपातीका लागि जेठदेखि साउनसम्म भने जात्रा नभएका हुन् । ‘जेष्ठ कृष्ण षष्ठीदेखि साउन कृष्ण चतुर्दशीसम्म जात्रा ब्रेकको समय हो,’ धौभडेल भन्छन्, ‘अब जात्राको लहर सुरु भयो ।’
जनैपूर्णिमा र नागपञ्चमीसँगै उपत्यकामा जात्राको माहोल बन्न थाल्छ । जनैपूर्णिमालगत्तै नेवार बस्तीमा मृतआत्मको शान्तिको कामना गर्दै गाईजात्रा मनाइन्छ । पाटनमा भने उज्यालोको पर्व मतयाः गाईजात्राको भोलिपल्ट मनाइन्छ ।
अर्का संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ जात्रासँग उपत्यकावासीको जीवन जोडिएको बताउँछन् । ‘जात्रा यहाँका मानिसको ढुकढुकी हो,’ उनले भने, ‘जात्रा चलुन्जेल संस्कृति बाँच्छ ।’
कतिपयले जात्राले उपत्यकावासीको आर्थिकस्तर नउकासेको व्यंग्य समेत गर्छन् । भोजका कारण भक्तपुरवासीले सोचेजस्तो प्रगति गर्न नसकेको कतिपयको आलोचनालाई संस्कृतिविद् भने स्विकार्दैनन् ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः नेवार समुदायको अर्थतन्त्र खेतीमा आधारित रहेको बताउँछन् । जात्राले अर्थतन्त्रमा नराम्रो प्रभाव नपार्ने उनको दाबी छ । ‘खेतीको सिजनमा उनीहरु खेतमै मस्त रहन्छन्,’ उनले भने, ‘खेती सकाएपछि जात्रामा रमाउँछन् ।’
जात्राका विसंगतिप्रति भने चनाखो हुनुपर्ने उनको तर्क छ । ‘जात्राको मौलिकता नगुम्ने गरी यसलाई समयअनुसार सुधार्न जरुरी छ,’ उनले भने, ‘जात्रासँग जोडिएको विभिन्न आयाम बुझाउन जरुरी छ ।’
उपत्यकाका महत्त्वपूर्ण जात्रा तथा पर्व
गथांमुगः चःह्रे
यो जात्रामा टोलटोलमा छ्वाली र नकर्टको मूर्ति बनाई ठड्याउने गरिन्छ । साँझपख बाजागाजासहित दोबाटो र चौबाटोमा जलाउने, तान्त्रिक विद्याअनुसार भूतप्रेत पन्छाउने गरिन्छ । नेवार समुदायमा यसलाई वर्षको पहिलो चाड पनि मानिन्छ ।
गुंपुन्हि
रक्षाबन्धन र जनैपूर्णिमालाई नेवार समुदायमा गुंपुन्हि भनिन्छ । यसमा नौ थरीका गेडागुडीबाट बनेको क्वाँटी र रोटी खाने गरिन्छ । यसमा भ्यागुतोलाई भात खुवाइन्छ । भक्तपुरमा नौवटा पूर्व फर्केका धारामा मेला लगाउने गरिन्छ । ललितपुरको कुम्भेश्वरमा, नगरकोट महादेव पोखरीमा पनि यस दिन मेला लाग्छ ।
सापारू (गाइजात्रा)
दिवंगत व्यक्तिको सम्झनामा वर्षभरि मृत्यु भएका व्यक्तिको नाममा सा–ताहासा, दोकसा र गाई बनाई घेन्ताघिसी नाचसहित नगर परिक्रमा गरिन्छ । काठमाडौंमा पनि गाइजात्रा निकालिन्छ । गाईजात्राको भोलिपल्ट पाटनमा उज्यालाको पर्व मतयाः धुमधामका साथ मनाइन्छ ।
बिस्काः जात्रा (बिस्केट)
यो भक्तपुरको प्रमुख जात्रा हो । चैत्र मसान्तको चार दिनअगाडि टौमढी भैरवनाथको रथ तानेर सुरु हुन्छ । चैत मसान्तमा लिंगो ठडाएर वैशाख १ गते ढालिन्छ । यस क्रममा यःसिं थनेगु, यःसिं क्वथलेगु, बाराही, इन्द्रायणी, माहेश्वरी, महाकाली, ब्रह्मायणी छुम्हा गणेशलगायतको जात्रा हुन्छ । वैशाख ५ गते जात्रा सकिन्छ ।
यीबाहेक बौया ख्वाः स्वयेगु (बुबाको मुख हेर्ने), मांया ख्वाः स्वयेगु (आमाको मुख हेर्ने), गणेश चौथी, येँयाः पुन्हि, इन्द्रजात्रा, मोहनि (दशैं), तिहार, हरिबोधनी एकादशी, बालाचतुर्दशी, योमरी पुन्हि, घ्यःचाकु संल्हु (माघे सक्रान्ति), स्वस्थानी, श्रीपञ्चमी, सिलाःचह्रे (शिवरात्री), होली पुन्हि, पाहाँचःह्रे, अक्षय तृतीया लगायत थुप्रै पर्वका अवसरमा पनि विभिन्न जात्रा हुन्छन् ।
प्रकाशित: ९ श्रावण २०७४ ०३:४९ सोमबार