- शोभा ज्ञवाली
केहि दिनका लागि भए पनि काठमाडांैको व्यस्त दिनचर्या अनि गर्मी तथा धुवाँ धुलो छल्न यस पटक उपल्लो मुस्ताङ जाने निधो गर्यौं ।
केही गैरआवसीय नेपाली पारिवारिक साथीहरूका साथ पोखराबाट सो यात्रा सुरु गरेका थियौं । पोखराबाट बेनी हुँदै ६ देखि ७ घण्टाको गाडिबाट यात्रा गरी हामी जोमसोम पुग्दा बाटोमा पर्ने रुप्से झरनाले मन नै आनन्दित तुल्यायो । नेपाल छोडेर विदेशिएका साथीहरू समेत रमाएको देख्दा रुप्सेले नायग्रा फल भन्दा पनि उनीहरूलाई बढी रोमाञ्चित बनाएको मैले अनुभव गरेँ । रुप्से हेर्दा लाग्थ्यो झरनाको पानीसँगै नेपालीको निश्चल भावना पनि यसैगरी बगिरहेछ ।
रुप्सेले मन तानिरहे पनि हामीलाई अघि बढ्नु नै थियो । रुप्सेपछि आउने म्याग्दीको तातोपानी कुण्ड पनि उत्तिकै आकर्षक लाग्यो । कयौं तिर्थालुहरू पौराणिक मान्यतामा तातोपानी कुण्डमा स्नान वा डुबुल्की लगाएमा वा आफूले गरेको सम्पूर्ण पापबाट मुक्ति पाइन्छ भन्दै डुबुल्की मार्दै थिए । धार्मिक मान्यता भन्दा पनि तातोपानीमा स्नान गर्नुको मज्जा बेग्दै रह्यो । तातोपानी स्नानले हामीलाई निकै ताजा बनायो । तातोपानी कुण्डमा नुहाएर स्फूर्तिका साथ हामी लेते मार्फा हुँदै जोमसोम तर्फ लाग्यौं । जोमसोम आफैमा सुन्दर ठाउँ थियो । एकरात जोमसोममा बसेर अर्काे दिन मुक्तिनाथको दर्शन गरी उपल्लो मुस्ताङ्गको यात्राको तयारी गर्यौं । टलक्क टल्किएका हिमालको श्रीपेच लगाउँदै आफ्नो देशप्रति गौरवान्वित तथा हर्षविभोर हुँदै हामी उपल्लो मुस्ताङ्गतर्फ लाग्यौं । बाटाहरू अफ्ठ्यारा भएपनि त्याहाँ देखिने मनोरम प्रकृतिका छटाले हामीलाई उत्साहित बनाउँथ्यो । प्रकृतिको सुन्दरतामा मन्त्रमुग्ध हुँदै हाम्रो यात्रा फेरि सुरु भयो ।
यात्राका क्रममा आँखामा झल्झली आइरहने साहैं नै रमणीय दृश्यावलोकन गर्न पाइयो । हाम्रा सवारी चालक भाईले जस्तोसुकै असजिलो बाटो भए पनि सहज रूपमा गाडि चलाइरहेका थिए । अफ्ठ्यारो बाटो भए पनि हाम्रो दृश्य अवलोकनमा वाधा नहुने गरी गाडी चलाएकाले उनी यस्तो बाटोमा पनि गाडि चलाउन निकै पोख्त रहेछन् भन्ने अनुभव गर्यौं हामीले । कतै काला, कतै पहेला, त कतै रातो चट्टानले बनेका पहाड अनि हजारौं वर्ष पुराना ६/७ तल्ले गुफा तथा गुम्वा । जसले पनि एकपटक हेरेर सुन्दर दृष्यको तस्वीर दिन खोज्थ्यो । टल्लक टल्कने कोहिनुर हिराको हार जस्तै निलगिरी हिमाल देख्दा त झन् स्वर्गमा पनि त्यति आनन्दको अनुभव गर्न पाइदैन होला भन्ने जस्तो अनुभूति हुने ।
प्रकृतिका अनुपम उपहारका रूपमा रहेका यी दृश्य सकेसम्म क्यामरामा नसके आँखामा भए पनि कैद गदै हामी लोमाङ्गथाङ पुग्यौ । अहिले लोमाङ्गथान पनि निकै परिवर्तन भएसकेको रहेछ । यसको वरपर सडक बन्ने क्रममा रहेछ । बाटो निर्माणकै लागि ८/१० ओटा स्क्याभेटरहरू चलाइरहेको दृष्य पनि देख्न सकिन्थ्यो । यहाँको विकासमा त्यसमा चीन सरकारले पनि सहयोग गरेको रहेछ । तर समरभिररदेखि लोमाङ्गथाङसम्म जाने बाटोमा सडक विभागले स्पष्ट रूपमा सडक डाइभर्सन संकेत नराखिदिँदा बाटो अलमलले सास्ती हुने रहेछ । संकेत नहुँदा केही बाटो पार गरेपछि फेरि अगाडि जान नसकी फर्किनु पर्ने अवस्था रहेछ ।
लोमाङ्गथाङमा रहेको व्यवस्थित होटलमध्ये ‘लोटस’होटल पनि एक रहेछ । तर त्यसमा कोठा पाउन भने १०/१५ दिन अगाडि नै बुक गर्नपर्ने रहेछ । त्याहाँको अर्को राम्रो होटलमध्ये लोमाङ्गथाङ गेष्टहाउस पनि रहेछ । यस होटलमा एक रातको ५ सय रुपैयाँमा ‘एट्याच’ ट्वाइलेट बाथरुमका साथै तातो र चिसो पानीको सुविधा समेत रहेछ । हामी दुई रात त्यहि गेष्टहाउसमा बस्याँै । लोमाङ्गथाङबासीमा रहेको सादापन र सहयोगी भावनाले हामीलाई निकै पुलकित बनायोे । यस स्थानमा विदेशी पर्यटकको आवत जावत पनि रामै्र देखियो । सयौं वर्ष पूराना गुफा, लोमाङ्गथाङ राजपरिवार बस्ने दरवार तथा भारतको सहयोगमा बनेको बौद्ध स्कुल सबै अवलोकन गरियो । दरवारमा भने १२ बैशाख २०७२ सालमा गएकोे भुकम्पपछि क्षति पुगेको कारण भित्र जान रोकिएको रहेछ । अनि हामी नेपाल चीनबीच महत्वपूर्ण मानिएको कोरला नाका पुग्यौं । यात्राको क्रममा नेपाल–चीन सिमामा पनि पुग्ने मौका पाइयोे । यहाँको बाटो जुन गतिले बाटो बनेको देखिन्थ्यो त्यो हेर्दा अब चाँडै नै देशको विकास दिन गुणा रात चौगुणा हुन्छ जस्तो आभास भयो ।
मुस्ताङ यात्राको क्रममा सुन्दरतासँगै विकासको सम्भावना पनि प्रशस्त देखियो । मुलुकमा भर्खरै सम्पन्न पहिलो चरणको निर्वाचनसँगै अब गाउँको विकासले अझ गति लिने आशा मनभरी छाइरह्यो । विकास र पर्यटनका विभिन्न सम्भावना पहिल्याउँदै हामी रमणीय लोमाङ्गथाङको दृष्यावलोकन गर्यौं । यात्राको तेस्रो दिन जोमसोम हुँदै पोखरा अनि काठमाडौं आयौं । यस पटकको यात्राले प्रकृतिको नजिक लगेर आफूलाइृ उभ्यायो । आफ्नो व्यस्त जीवनका तीन दिन प्रकृतिको छटासँग रम्न पाएकोमा म अफैंलाई भायमानी ठानिरहेकी छु ।
(नागरिक परिवारबाट साभार)
प्रकाशित: १९ असार २०७४ ०९:१८ सोमबार