डा. जसवन शाक्य
कन्स्ट्रक्टिभ एन्ड प्लास्टिक सर्जन
सुन्दरता बढाउन गरिने तथा कतिपय अवस्थामा अनिवार्य हुने ‘कस्मेटिक’ तथा ‘कन्स्ट्रक्टिभ सर्जरी’बारे सही जानकारी पाउन नसक्दा यस्तो सेवा लिन खोज्नेहरू अलमलमा पर्ने गरेको पाइन्छ । प्लास्टिक सर्जरीकै एक अंश कस्मेटिक सर्जरी गरेपछि धेरै नै सुन्दर भइन्छ भन्ने भ्रम र यस्ता सर्जरी गराउन विदेश नै जानुपर्छ भन्ने सोचका कारणले धेरैले बर्सेनि लाखौँ रुपैयाँ गुमाउने गरेका छन् । नेपालमा सर्वसुलभ ढंगले गरिँदै आइएका धेरै खालका ‘कन्स्ट्रक्टिभ’ तथा ‘प्लास्टिक’ सर्जरीका लागि पनि नेपालीहरू विदेश गइरहेका छन् । गुगल सर्च गरेकै भरमा विदेशमा गएर कस्मेटिक सर्जरी गराएर फर्केकाहरू सर्जरीपछि देखिएका ‘डिफेक्ट करेक्सन’ गर्न भने नेपाली चिकित्सककोमा पुग्ने गरेका छन् । नजिकको तीर्थ हेलाँ भनेजस्तो भइरहेको छ ।
केस नं. १
विवाहित २९ वर्षीया एक महिलाले इन्टरनेटमा सर्च गरेर भारतको एक निजी क्लिनिकमा गएर पेटमा लागेको बोसो निकालेकी थिइन् । बच्चा नजन्माएकी ती महिलाले पेटका कारण आफ्नो सुन्दरतामा ह्रास आएको महसुस गरेर ‘टमी टक’ भनिने पेट घटाउने सर्जरी गरेकी थिइन् । साढे दुई लाख भारु खर्च गरेर सर्जरी गर्दा पनि उनको पेट खासै घटेको छैन । त्यसमा पनि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएपछि उनी उपचारका लागि चिकित्सककहाँ पुगेकी थिइन् । उनलाई नेपालमा यस्तो सर्जरी हुन्छ भन्ने थाहा थिएन ।
केस नं. २
मोडलिङमा करिअर बनाउँदै गरेकी एक युवतीले भारतमा गएर स्तन ठूलो बनाउन ‘ब्रेस्ट इम्प्लान्ट’ गराएकी थिइन् । भारतमा स्तन ठूलो बनाउने अप्रेसन हुन्छ भन्ने सुनेकै भरमा उनी ब्रेस्ट इम्प्लान्ट गर्न त्यहाँ गएकी थिइन् । करिब चार लाख रुपैयाँ खर्च गरेर गरिएको स्तन ठूलो देखाउने अप्रेसन असफल भएपछि उनी उपचारका लागि सुषमा कोइराला मेमोरियल अस्पताल आएकी थिइन् । स्तन ठूला देखाउन स्तनभित्र राखिने सिलिकन राख्ने क्रममा भएको गडबडीका कारण उनमा समस्या देखिएको थियो । स्तनभित्र सिलिकन पसाउन स्तनमुनि पारिएको प्वालबाट भित्र राखिएको सिलिकन नै बाहिर निस्किएको अवस्थामा उनी अस्पताल आएकी थिइन् । बेलैमा उपचारका लागि अस्पताल आएका कारण उनको स्तनमा थप इन्फेक्सन हुन पाएन । केही समय ढिला भएको भए उनमा जटिल समस्या पनि देखिन सक्थ्यो ।
स्तनभित्र सिलिकन राखेर स्तनको साइज बढाउने अप्रेसन त्यति सजिलो छैन । स्तनजस्तो संवेदनशील अंगमा गरिने यस्तो सर्जरी दक्ष सर्जन तथा सुविधासम्पन्न अस्पतालमा गर्नुपर्ने हुन्छ । इम्प्लान्ट निकै होसियारीपूर्वक गरिने प्रक्रिया हो । इम्प्लान्ट गर्दा सिलिकन डल्लो प¥यो वा राखेको मिलेन भने यसले समस्या निम्त्याउन सक्छ । इम्प्लान्ट गर्दा चिरेको घाउ पाक्न थाल्यो भने तुरुन्त सिलिकन निकाल्नुपर्छ । इम्प्लान्ट गरेपछि एक महिनासम्म एक्सरसाइज पूर्ण रूपमा बन्द गर्नुपर्छ । अहिले इन्टरनेटमा धेरै कुरा उपलब्ध छन् । तर, इन्टरनेटकै भरमा सर्जरी गर्ने जस्तो विषयमा निर्णय लिनुहुँदैन । सम्बन्धित चिकित्सकसँग सल्लाह गर्ने र जिज्ञासा मेटाएर मात्रै प्रक्रियामा जानुपर्छ । इम्प्लान्ट गर्ने डाक्टर कत्तिको अनुभवी र जान्ने छ भन्ने पत्ता लगाउन उसले गरेको सफल र असफल केस स्टडी गरेर मात्र सर्जरी गराउनुपर्छ ।
केस नं. ३
रोजगारीका क्रममा कोरियामा रहेका एक युवाले घर फर्किनुअघि लिंग ठूलो बनाउन लिंगमा सिलिकन इम्प्लान्ट गरे । कस्मेटिक सर्जरी धेरै गरिने देशमा कोरिया पनि पर्छ । त्यहाँ काम गर्दा उनले कसैले नाकको, कसैले ओठको तथा लिंग ठूलो बनाउने सर्जरी पनि गराएको गफ सुनेकै भरमा लिंगमा सिलिकन राखेका थिए । सानो लिंगले कम र ठूलो लिंगले बढी यौन सन्तुष्टि दिने भ्रम ती युवामा थियो । तर, सिलिकन राख्ने प्रक्रियामा भएको गडबडीका कारण नेपाल फर्किनेबित्तिकै समस्या आयो । नेपाल फर्किएपछि उनले श्रीमतीसँग सहवास गर्न पनि सकेनन् । उपचारका लागि आएका उनको लिंगमा इम्प्लान्ट गरिएको सिलिकन निकालेर फालिदिएपछि उनको समस्या समाधान भयो । कसैको लहैलहैमा लागेर गरिने निर्णयले पछि दुःख पाइन्छ भन्ने उदाहरण हुन् यी युवा ।
मोडलिङमा करिअर बनाउँदै गरेकी एक युवतीले भारतमा गएर स्तन ठूलो बनाउन ‘ब्रेस्ट इम्प्लान्ट’ गराएकी थिइन् । करिब चार लाख रुपैयाँ खर्च गरे पनि स्तनभित्र सिलिकन राख्ने क्रममा भएको गडबडीका कारण उनमा समस्या देखियो ।
केस नं. ४
एक जना नर्सको स्तनको निप्पल भित्र गएको थियो । मेडिकल भाषामा यसलाई ‘इन्भर्टेट निप्पल’ भनिन्छ । उनले बिहे गरिन् । बच्चा जन्मियो । बच्चा १९ महिनाको हुँदासम्म उनले दूध चुसाउन पाइनन् । कारण, इन्भर्टेट निप्पल भएकाहरूको दूध आउने बाटो नै बन्द हुन्छ । उनले धेरै स्त्रीरोग विशेषज्ञलाई आफ्नो समस्या बताइन् । तर, कसैले पनि यसको उपचार हुन सक्छ भन्न सकेनन् । प्लास्टिक सर्जनले अपरेसन गरेर भित्र दबेर बसेको निप्पल बाहिर निकालिदिन सक्छन् भन्ने सुनेर उपचारका लागि उनी आएकी थिइन् । यस्तो समस्या सामान्य अपरेसन गरेर समाधान गर्न सकिन्छ । तर, सही जानकारी नपाउँदा ती नर्सले बेलैमा उपचार पाउन सकिनन् । यी नर्सको जस्तै शरीर तथा अनुहारमा भएका कैयौँ डिफेक्ट जसलाई सर्जरीमार्फत मिलाउन सकिन्छ त्यसका लागि विदेशतिर भौँतारिने र लाखौँ खर्च गर्दा पनि सही समाधान नपाउनेहरू थुप्रै छन् । नेपालमा सजिलै उपलब्ध हुने सेवाका लागि पनि विदेश धाउने र दुःख पाउने पनि त्यति नै छन् ।
नेपालमा हुने केही कस्मेटिक सर्जरी
एसियन्स आइलिड सर्जरी
आदिवासी जनजाति अर्थात् मंगोलियन मूलका मान्छेका आँखा साना हुन्छन् । विशेष गरेर नेपालमा राई, लिम्बू, तामाङलगायत जातिका मान्छेका आँखा साना अर्थात् चिम्सा हुन्छन् । चिम्सा आँखा हुनु समस्या होइन । तर, चिम्सा आँखाका कारण सुन्दर देखिएन भन्दै आँखाको साइज ठूलो देखाउन मद्दत गर्ने अप्रेसन नेपालमा हुने गरेको छ ।
मंगोलियन आँखा भएकाहरूको परेला र आँखाको ढकनीको बीचमा जुन सानो स्पेस हुन्छ, त्यो फोल्ड नहुन सक्छ । परेला बाहिरसम्म निस्किएका हुँदैनन् । कतिपयको त परेला नै देखिँदैनन् । जसले गर्दा आँखा एकदमै साना देखिन्छन् । अप्रेसनमार्फत ढकनी फोल्ड हुने र परेला पनि प्रस्टसँग देखिने बनाउन सकिन्छ । यसो गर्दा आँखा पनि केही ठूलो देखिन्छ । एक पटक अपरेसन गराएपछि यो स्थायी हुने र अप्रेसन गरेको भागमै फोल्ड हुने भएकाले आँखाको ढकनीमा दाग पनि देखिँदैन ।
आई ब्याग हटाउने सर्जरी
चालिस वर्ष कटेपछि कतिपयको आँखाको ढकनी झोलिने समस्या देखापर्छ । माथिल्लो ढकनी झोलिएर हेर्नै समस्या भएकाहरूका लागि पनि प्लास्टिक सर्जरी गरेर झोलिएको समस्याको उपचार गर्न सकिन्छ । आँखाको तल्लो भागमा जमेको बोसो (आई ब्याग)लाई पनि अप्रेसनमार्फत हटाउन सकिन्छ ।
नाक मिलाउने अप्रेसन
‘नोज रिसेपिङ’ भनिने नाकको मर्मत गर्ने प्रक्रियामा ठूलोलाई काटेर ठिक्कको बनाउने र सानोलाई कुर्करे हाड जोडेर ठूलो बनाउने गरिन्छ । नदेखिने भागबाट गरिने नाकको मर्मतमा ठूलो हुनेको कुर्कुरे हाड फालिने र सानो हुनेको शरीरका अन्य भागबाट कुर्कुरे हाड लिएर जोडिने गरिएको छ । थेप्चो नाकलाई इम्प्लान्ट राखेर चुच्चो बनाउने सुविधा पनि नेपालमा उपलब्ध छ ।
ओठ मिलाउने तथा गालामा डिम्पल बनाउने अप्रेसन
ओठ मिलाउने ‘लिप इन्ह्यान्समेन्ट’ अप्रेसन पनि नेपालमा हुने गरेको छ । पातलो ओठलाई ‘फिर्लस’ राखेर ठूलो देखाउन सकिन्छ । ओठमा राखिने ‘फिर्लस’ मानव शरीरमा पाइने एक प्रकारको तत्वबाट बनाइने भएकाले यसले कुनै असर नगर्ने र नेचुरल लुक दिन्छ । ‘डिम्पल क्रिएसन’ नाम दिएको गालामा डिम्पल बनाउने अप्रेसन पनि नेपालमा हुन्छ । चिउँडोको आकृति बदल्ने ‘चिन काउन्टरिङ’, कानका लागि ‘इअर रिफ्रेसिङ’ सर्जरी पनि नेपालमा हुन्छ ।
स्तन घटाउन र बढाउन
स्तनमा सिलिकन राखेर ठूलो देखाउने, झोल्लिएको स्तन टाइट बनाउने र ठूलो स्तन घटाएर सानो बनाउने सर्जरी नेपालमा हुन थालेको धेरै भइसकेको छ । स्तनभित्र सिलिकन राखेर यसको साइज ठूलो देखाउने विधिलाई ‘ब्रेस्ट इम्प्लान्ट’ भनिन्छ । यो बिलकुलै कस्मेटिक कुरा हो । यसले बिग्रेको स्तनको साइजलाई सुन्दर देखाउन मद्दत गर्छ । सिलिकन मानिसको शरीरभित्र ‘एड्जस्ट’ भएर बस्ने र कुनै पनि हानि नगर्ने विशेष प्रकारको रबर हो ।
नेपालमा सर्वसुलभ ढंगले गरिँदै आएका धेरै खालका ‘कन्स्ट्रक्टिभ’ तथा ‘प्लास्टिक’ सर्जरीका लागि पनि नेपालीहरू विदेश गइरहेका छन् । गुगल सर्च गरेकै भरमा विदेशमा गएर कस्मेटिक सर्जरी गराएर फर्केकाहरू सर्जरीपछि देखिएका त्रुटि सच्याउन भने नेपाली चिकित्सककोमा पुग्ने गरेका छन् । नजिकको तीर्थ हेलाँ भनेजस्तो भइरहेको छ ।
स्तन सानो भएर चिन्ता गर्नेहरू जति छन् त्योभन्दा धेरै स्तन ठूलो भएका कारण समस्या भोग्नेहरू छन् । अस्वाभाविक देखिने ठूला स्तनका कारण ढाड तथा गर्धन दुख्ने समस्या हुने, हिँड्डुल गर्न अप्ठ्यारो हुने तथा कपडा लगाउँदा मिल्दै नमिल्ने भन्दै कतिपय अविवाहित युवती स्तनको साइज घटाउन आउने गरेका छन् । यसै गरी झोलिएका स्तनलाई अपलिफ्ट गर्ने अपरेसनका लागि पनि महिलाहरू आउने गरेका छन् ।
पेट र हिप रिपेयर गर्न मिल्छ
खानपान र आरामदायी जीवनशैलीले पेट वरिपरि बोसो लागेर भद्दा देखिने समस्या शहरवासीमा धेरै नै देखिन्छ । एक्सरसाइज गर्ने जटिल र लामो प्रक्रियाका सट्टामा सर्जरीकै माध्यमबाट छिनेको कम्मर बनाउन चाहने महिला र पुरुषको संख्या बढ्दो छ । त्यसै गरी ठूलो हिप र थाइ भएकाहरूले पनि अप्रेसन गरेर नै सानो बनाइरहेका छन् । लाइपोसक्सन प्रक्रियाद्वारा पेट वरिपरिको बोसो घटाउन सकिन्छ । यो प्रविधिबाट सानो प्वाल बनाएर अनावश्यक बोसो झिक्ने गरिन्छ । त्यसै गरी पेटमा झोल्लिएको छालासमेत चिटिक्क पारेर मिलाउने ‘टमी टक’ अप्रेसन पनि नेपालमा उपलब्ध छ ।
प्रकाशित: २९ जेष्ठ २०७४ ०६:५१ सोमबार