२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अन्य

फूलप्रेमी धरान

गोपाल दाहाल

धरानको महेन्द्र बहुमुखी क्याम्पसनजिकै होमकुमारी लिम्बूको घर वरिपरि बेगमबेली, हेविस्कस, पिटेनिया, लालुपातेजस्ता फूल ढकमक्क फुलेका छन् । उनको बगैँचामा फूलका सयौँ बोटबिरुवा छन् । घरको छतमा पनि उसै गरी सजाइएका छन् फूलका गमला । झट्ट हेर्दा नर्सरीजस्तो लाग्छ तर उनले सोखका लागि यतिका फूल रोपेकी हुन् । होमकुमारी भन्छिन्, ‘फूलले मनमा आनन्द दिन्छ, शान्ति दिन्छ । सकारात्मक सोचाइ आउँछ ।’

आफन्तका घरमा र विदेशमा घुम्दा फूल बगैँचा देखेकी उनले यसरी घरमा फूलबारी बनाएको दश वर्षभन्दा बढी भयो । पहिला आफैँ फूल रोप्न, गोडमेल गर्न खट्ने होमकुमारी अहिले नर्सरीबाटै मान्छे बोलाएर रोप्ने, गोड्ने गराउँछिन् । फूल स्याहार्न मात्र उनको वर्षमा करिब ७० हजार खर्च हुन्छ । बाटो हिँड्ने जो कोही पनि एक पटक राम्ररी उनको ढकमक्क फूलबारी ननियाली जाँदैन । कतिले त भित्रै पसेर फोटो पनि खिच्छन् । त्यसले उनलाई झनै खुशी बनाउने गरेको छ । भन्छिन्, ‘फूल रोप्दा आफू मात्र होइन अरूलाई पनि खुशी दिन सकिँदो रहेछ ।’

लाहुरे समुदायको बाक्लो बस्ती भएको धरानका घर–घरमा यस्ता बगैँचा छन् । धरान कल्याणचोककी उर्मिला प्रधानको घर सोखले फूल रोप्दारोप्दै नर्सरीमा परिणत भयो । ब्रिटिस आर्मीमा रहेका उनका ससुरा दिलबहादुर प्रधानले तीन दशकअघि पुस्तक पढ्दै नयाँ–नयाँ फूलका बिरुवा ल्याउँथे । उर्मिलाकी सासु अमिताले त्यसलाई निरन्तरता दिइन् । घरैभरि फूलैफूल देखेपछि छिमेकी किन्न आउन थाले । त्यसो गर्दागर्दै घरको फूल बगैँचाबाट बिक्री सुरु भयो । १५ वर्षअघि धरान नर्सरीका रूपमा दर्ता गरेर उनीहरूले त्यसलाई व्यावसायिक रूप दिए । अहिले उर्मिलासँगै श्रीमान् सुन्दर प्रधान, जेठाजु सन्तोष प्रधान र छोराहरू पनि नर्सरीको काममा आबद्ध छन् । उनको नर्सरीमा तीन सयभन्दा बढी प्रजातिका फूल रहेका छन् । धरान, पोखरा, इलामदेखि विभिन्न ठाउँबाट आफ्नो नर्सरीमा फूल किन्न आउने उर्मिला बताउँछिन् । ‘नर्सरीमा भएको नयाँ फूलको फोटो खिचेर फेसबुकमा हाल्नेबित्तिकै किन्नेहरू घरमै आइपुग्छन्,’ उनी भन्छिन् । प्रधानस्टोरकी सञ्चालिकासमेत रहेकी उर्मिला नर्सरीबाट वर्षमा १० लाखभन्दा बढीको फूल बिक्री हुने बताउँछिन् ।
धरान–१० की शान्ति देवान राईले पनि घर सजाउनका लागि फूल रोपिन् । फूलमा १० लाखभन्दा बढी लगानी गरेकी उनलाई यसैमा रमाउन व्यावायिक रूप दिन मन लाग्यो । उनको परिवारले दुई वर्षअघि चन्द्रमा नर्सरी सुरु ग¥यो । १५ रुपैयाँदेखि १२ हजारसम्म मूल्यका बिरुवा घर, होटल, अफिसमा बिक्री गर्ने उनीहरूले पाँच जनालाई रोजगारी पनि दिएका छन् ।
 
धरान–७ शान्तिपथमा क्यामेलिया नर्सरी सञ्चालन गरिरहेका राजेश राई र प्रमिला राईले यसैबाट मासिक ७० हजार हाराहारीमा कमाउँछन् । धरान–१४ मा घर किनेपछि खाली रहेको जग्गामा प्रेम पराजुलीले बिरुवा किन्दै लगेर रोप्न थाले । एक दिन नर्सरीमा फूलका बिरुवाको दाम सुन्दा उनी चकित परे । ‘हामीले बारीमा काटेर फ्याँकेका हाँगाबिँगा त डेढ सयमा बिक्री हुँदा रहेछन्,’ उनी भन्छन् ।

घर आएका पाहुनालाई समय दिन गाह्रो भएपछि धरान–१९ की कल्पना लिम्बूले ट्राभल एजेन्सीको काम छोडिन् । घर सुन्दर बनाउन इन्डोर प्लान्ट किनिन् । घर सजाउँदासजाउँदै धेरै फूल र बिरुवा जम्मा भए । त्यसपछि उनले २०६२ मा पवित्र नर्सरी सुरु गरिन् । अहिले कल्पनासँग करिब २५ लाखका फूल र बिरुवा छन् । भेडेटारको कार्की छाप र इनरुवामा फर्म खोलेर बिरुवा उत्पादन गर्छिन् । वार्षिक २५ देखि ३० लाखको फूल, आलंकारिक बोट र बिरुवा बेच्ने उनी बताउँछिन् । ‘बिक्री गर्ने ८० प्रतिशत बिरुवाको उत्पादन आफैँ गर्छु,’

फूलले धरानलाई अन्य शहरभन्दा बेग्लै परिचय दिएको छ । धरानलाई कसैले फूलैफूलको शहर भन्छन् त कसैले बगैँचाको शहर । लाहुरेका  घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र फूल देख्न सकिन्छन् । त्यसो त धरानमा घरसँगै अलिकति खाली ठाउँ छाडेर फूल र बोटबिरुवा रोप्ने चलन छ । विजयपुरबाट हेर्दा धरान बगैँचाभित्र घरैघर भएको शहरजस्तो देखिन्छ ।

धरानेहरूको फूलप्रतिको उत्साह देखेर केही वर्षअघि धरानलाई फूलैफूलको शहर बनाउने अभियान स्वरूप धरान उपमहानगरपालिकाको सहयोगमा छलफल, अन्तरक्रिया पनि चलाइयो । उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत सुनील नेपाल घरमा राम्रोसँग फूलको सजावट गर्नेलाई पुरस्कृत गर्ने गरिएको र सामुदायिक वनलाई नर्सरीका रूपमा विकास गर्ने योजना रहेको बताउँछन् ।

यसरी गर्ने फूलको स्याहार

प्रेम पराजुली, सञ्चालक
बुढासुब्बा नर्सरी, धरान–१४

–कुन फूल कुन सिजनमा फुल्छ भन्ने बुझेर मलजल गर्नुपर्छ ।
–एउटै प्रजातिका फूल पनि ठाउँ र हावापानीअनुसार फरक समयमा फुल्छन्, त्यसको ख्याल गरेर रोप्ने ।
–कलमी गरिएका बिरुवामा माथिल्लो भागमा उन्नत र तल्लो भागमा जंगली प्रजाति मिश्रण गरिएको हुन्छ । त्यस्ता बिरुवामा कहिलेकाहीँ तल्लो भाग बढेर समस्या आउँछ । विशेष गरी गुलाब प्रजातिमा यस्तो हुन्छ । तलको भागलाई बढ्न नदिई काट्नुपर्छ ।
–गोडमेल र मलजल गर्दा पञ्जा लगाउने र औजार प्रयोग गर्नुपर्छ ।
–सकेसम्म विषादी प्रयोग नगर्ने, गरे पनि प्राकृतिक पद्धति अपनाउने ।
–फूल र बिरुवामा देखिने सबै किरा खराब हुँदैनन्, त्यसैले सबैलाई मार्नु हुँदैन ।
–राति लाग्ने किरालाई मार्न माथि बत्ती बालेर त्यसको मुनि मट्टितेल राख्ने, त्यसो गर्दा ती किरा बत्तीबाट झरेर मट्टितेलमा परी मर्छन् ।


‘फूलसँग बात मार्छु’
टेकबहादुर राई,
दमक, झापा
फूल र बोटबिरुवासँग नजिक भएको ३२ वर्ष भयो । भारतमा लामो समय फूल संकलकको काम गरेर नेपाल फर्किएको हुँ । अन्य पेशामा लागेँ तर मनै मानेन । त्यसपछि फूल र बिरुवासँगै रमाउने विचार गरेँ । दमकमा महादेव नर्सरी खोलेँ । वार्षिक करिब २० लाखको बिरुवा बेच्छु । नर्सरीमा पाँच सयभन्दा बढी फूल र बिरुवा छन्, तिनीहरूलाई स्याहार्छु । म त फूलसँग बात मार्छु ।


‘जागिर छाडेर फूलखेतीमा लागेँ’
हरिनारायण चौधरी
, इटहरी, सुनसरी
कृषि मन्त्रालय अन्तर्गतको कृषि सामग्री संस्थानमा सुब्बाको जागिर थियो । संस्थानकै बिउबिजन कम्पनीमा काम गरेँ । सिंगापुरलगायत देश घुमेर तालिम लिएँ । आईएससी एजी र जेटिए पढेको मैले सरकारी जागिरमा पढेको कुरा व्यवहारमा लागू गर्न पाइनँ । त्यसपछि चट्ट जागिर छाडेर इटहरीको तरहरामा न्यु गोरखा मिलिनियम फलफूल नर्सरी खोलेँ ।
आफैँ अनुसन्धान गरेर बिरुवा उत्पादन गर्ने भएकाले मेरो नर्सरीमा अहिले दुई सय प्रजातिका फल र फूलका सयौँ बिरुवा छन् । ५० हजारबाट सुरु गरेको नर्सरीमा अहिले २० लाखका बिरुवा छन् । एक वर्षमा ६० लाख रुपैयाँबराबरको फल र फूल बिक्री गर्छु । फलफूल लगाउँदा कुनै घाटा छैन, फाइदैफाइदा छ ।

 

प्रकाशित: २४ वैशाख २०७४ ०८:१६ आइतबार

फूलप्रेमी धरान नागरिक परिवार