११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

परिवारमा योगको सुख

–रामकुमार डिसी
ललितपुर, भैँसेपाटीस्थित डाँडोमा रहेको मन्दिरमा प्रत्येक शनिवार बिहान योग साधना हुने गर्छ । पारिवारिक योग साधना केन्द्रले जुराउने यो अवसरमा उपत्यकाका विभिन्न ठाउँबाट सम्भव भएसम्म मानिसहरू परिवारसहित सहभागी हुन्छन् । योगगुरु शिवराज घिमिरे सहभागीहरूलाई योगका विभिन्न आसन सिकाउँछन् । योगबाटै स्वस्थ हुने काइदा सिकाउँछन् ।
खानपिनमा परिर्वतन
सूचना विभाग, प्रेस शाखामा काम गर्ने रामेश्वर कार्की योगका लागि हरेक शनिवार प्रायः परिवारसहित त्यहाँ पुग्छन् । चार वर्षदेखि केन्द्रमा आउने उनी योग साधनाबाट आफ्नो खानपिनमा व्यापक सुधार भएको बताउँछन् । ‘खानपानमा सुधार आएको छ । अहिले परिवारका सबै शाहाकारी भएका छौँ,’ उनी भन्छन्, ‘पहिले टन्न खाना खाइन्थ्यो । अहिले थोरै तर धेरै पटक खाइन्छ । खानामा मसला पनि कम हाल्छौँ ।’ खानपिनमा गरेको सुधारका कारण आफ्नो तौल ८४ किलोबाट घटेर ७४ किलो भएको उनी बताउँछन् । ‘योग गरेपछि तनाव त कम हुन्छ नै निद्रा पनि राम्रो लाग्छ,’ उनी भन्छन्, ‘शनिवार मात्रै होइन घरमा पनि दैनिक योग गर्छु । समय पाएमा अफिसमा पनि गर्छु ।’
टेन्सन गायब
केन्द्रमै भेटिए भैँसेपाटी बस्ने भोजपुरका मीना राई र उनका श्रीमान् बिर्खबहादुर । चौधरी ग्रुपमा जागिरे रहेका बिर्खबहादुर पहिले अत्यधिक रक्सी पिउँथे । यसैका कारण श्रीमान्–श्रीमतीबीच खूब झगडा हुने बिर्खबहादुर बताउँछन् । ‘घरको खुशी खोसिएको थियो । हाम्रो जातमा जाँडरक्सीको चलन अलि बढी हुन्छ । काठमाडौँ आएपछि एक्लो भइयो । जे मन लाग्यो त्यही खाइयो,’ उनी भन्छन्, ‘मेरो पूरै रगतमा अल्कोहल मिसिएको छ जस्तो लाग्थ्यो । घरमा झगडा भइरहन्थ्यो ।’
झगडाको ओखती खोज्न आफू विभिन्न ठाउँ धाउने मीना बताउँछिन् । ‘एक दिन मेरो भेट योग साधक शिवराज गुरुसँग भयो । उहाँलाई भेटेपछि २०६४ सालदेखि नियमित योग गर्न यहाँ आउँछु,’ उनी भन्छिन्, ‘योगले हाम्रो खानपान, स्वास्थ्यमा  सुधार भयो । झगडा पनि कम हुन थाल्यो ।’ बिर्ख पहिले आफूले योगमा आउँदा पनि झगडा गर्ने उनी बताउँछिन् । ‘पहिले म योग गर्न आउँदा पनि उहाँ रिसाउनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘गुरुसँग कुरा गरेर उहाँलाई पनि योगबारे सिकाए । बिस्तारै उहाँले कुरा बुझ्न थाल्नुभो । अहिले धेरै सुधार भएको छ । तनाव छैन, झगडा पनि हुँदैन ।’
७७ वर्षीय कृष्णबहादुर खड्का योग गरेपछि रिस नउठ्ने बताउँछन् । ‘योग गर्दा रिस त उठ्दै उठ्दैन,’ उनी भन्छन्, ‘रिसै नउठेपछि केको तनाव ? केको झगडा ?’

रोगबाट मुक्ति
खुमलटारका ६३ वर्षीय रामप्रसाद निरौला र उनकी श्रीमती सविता चार वर्षयता निरन्तर योग गरिरहेका छन् । अनिद्रा र श्वासप्रश्वासको समस्याबाट पीडित भएपछि नियमित योग गर्न थालेको रामप्रसाद बताउँछन् । ‘पहिले निद्रा नै पर्दैन्थ्यो । श्वाप्रश्वासमा पनि समस्या थियो । मेसिन लगाउनुपथ्र्यो । एक लाख खर्चेर मेसिन ल्याएको थिएँ,’ उनी भन्छन्, ‘योग गर्न थालेपछि त मज्जाले निद्रा लाग्छ । श्वासप्रश्वासका लागि कहिलेकाहीँ मात्र मेसिन लगाउँछु ।’
पारिवारिक योग साधना केन्द्रमा कहिलेकाहीँ आउने धुम्बाराहीकी सन्चुकुमारी मगर आफूलाई पायक पर्ने भएकाले धुम्बाराहीमै रहेका लिटिल बुद्ध र युनिर्भसल स्कुलमा नियमित योग गर्ने बताउँछिन् । पहिले चस्मा नलगाई हिँड्न नसक्ने उनी योग गरेपछि चस्मा लगाउन नपरेको बताउँछिन् । ‘पहिले चस्मा नलाई हिँड्न सक्दिन्थे । योग गर्न थालेको तीन महिनापछि चस्मा लगाउनै छोडेँ,’ उनी भन्छिन्,  ‘पहिले हप्तामा एक पटक नुहाउँदा पनि पानी तताएर नुहाउनुपथ्र्यो । नङ दुख्ने समस्या थियो । अहिले हप्तामा एक पटक चिसो पानीले नुहाउँछु । कुनै समस्या छैन ।’


‘पूरै परिवारले योग गर्नुपर्छ’
शिवराज घिमिरे

योग साधक, पारिवारिक योग साधनका केन्द्र
म अस्वस्थ थिएँ । स्वस्थ जीवनका लागि लामो समय भौतारिएँ । लगभग २० वर्षसम्म स्वास्थ्यकै लागि भनेर दौडधूप गरें । मलाई पेटको रोग थियो । त्यसलाई निको पार्ने औषधि कहीँ भेटिनँ । मेडिकल विज्ञानका सबै उपाय अपनाएँ । इन्डोस्कोपी, कोलोनस्कोपी गरेँ । कोलोनस्कोपी गर्दा मलाई असह्य पीडा भयो । यसपछि मेडिकल उपचार नगरी आफैँ उपचार गर्छु भन्ने लाग्यो । त्यसपछि मेरो भेट योगगुरु डा. योगी विकासानन्दसँग भयो । उहाँको प्रेरणाले योग गर्न थालेँ । मेरो स्वास्थ्यमा सुधार हुन थाल्यो । पछि, पूरै परिवारले योग साधना गर्दा ठीक हुन्छ भन्ने लागेर २०६७ सालमा पारिवारिक योग साधना केन्द्र स्थापना ग¥यौँ ।

 

 

प्रकाशित: २१ वैशाख २०७४ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App