१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

तौल घटाउन मात्र व्यायाम गरिँदैन

रोजी पुन, जिम इन्स्ट्रक्टर

गर्मी बढेयता जिम/ क्लब भरिभराउ हुन थालेका छन् । व्यायामले शरीर स्वस्थ बनाउँछ । साथै, आकर्षक र बलियो पनि बनाउँछ । आकर्षक र बलियो शरीर चाहनेका लागि यी उपाय उपयोगी हुन सक्छन्ः
योजना बनाउनुहोस्
फिट रहनका लागि कुनै एउटा व्यायाम सूत्र मात्र पर्याप्त हुँदैन । सर्वप्रथम व्यायामको ढाँचा छान्नुपर्छ । तौल घटाउन चाहनेले एरोबिक गर्नुपर्छ ।  एरोबिकले शरीरलाई बलियो बनाउँछ । जुम्बा, ट्रेडमिल, साइक्लिङ, लिफ्टिङजस्ता अभ्यास गर्नुपर्छ ।
पोषण र पानी
व्यायामसँगै पोषण र पानीले पनि फिट रहन मद्दत गर्छ । तौल घटाउन चाहनेले एक्कासि खाना कम गर्नु हुँदैन । अचानक खाना घटाउँदा स्वास्थ्यमा असर पुग्छ । खाना छोड्नुभन्दा शरीरलाई आवश्यक पर्ने पोषणसहित  सन्तुलित भोजन गर्नु उपयुक्त हुन्छ । फास्टफुड भरसक खानु हुँदैन । दिनहुँ कम्तीमा आठ गिलास पानी पिउनुपर्छ ।
पर्याप्त निद्रा
निद्राले शरीरलाई आराम दिन्छ । राति पर्याप्त निदाउनु अत्यावश्यक हुन्छ । निद्राले हाम्रो शरीरलाई ‘रिकभर, रिपेयर र रिचार्ज’ गर्ने काम गर्छ ।
नकारात्मक सोचबाट मुक्ति
हामीमध्ये धेरै चाँडै परिणाम खोज्छौँ र नपाउँदा निराश हुन्छौँ । परिर्वतन रातारात हुँदैन । प्रत्येक कामको आफ्नै प्रक्रिया हुन्छ र त्यसले समय पनि लिन्छ । नकारात्मक सोच राख्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । तौल घटाउन र मांसपेशी बढाउने काममा यसले बाधा पु¥याउँछ ।
तौल नाप्ने भूत
तौल घटाउनकै लागि फिटनेस क्लब आउने अधिकांशमाथि तौल लिने भूत सवार हुन्छ । उनीहरू दिनैपिच्छै तौल नाप्ने गर्छन् । तौललाई मात्रै फिटनेसको मापक ठान्नु गलत हो । व्यायामले तौल मात्रै घटाउँदैन, सकारात्मक मानसिक र शारीरिक परिर्वतन पनि ल्याउँछ ।


‘जिम नगएको दिन खल्लो हुन्छ’

गजित विष्ट, अभिनेता
व्यायामसँग मेरो लगाव पहिलेदेखि नै हो । १५ वर्षदेखि जिमखाना धाइरहेको छु । नृत्य र मार्सल आट्र्स पनि सिकाउँछु । यो पनि व्यायामसँगै जोडिन्छ । सुटिङमा व्यस्त रहने भएकाले नियमित रूपमा जिमखाना जान सक्दिनँ । जिम नगएको दिन के–के छुटेजस्तो लाग्छ । खल्लो लाग्छ । तर, म सुटिङस्थलमै सामान्य व्यायाम गरिरहेको हुन्छु । पुसअप, वार्मअपलगायत अभ्यास गर्छु ।
जिमखानामा बडी बनाउनभन्दा पनि स्वस्थ रहनका लागि जान्छु । व्यायाम गर्दा तनाव कम हुन्छ । सकारात्मक सोचको विकास हुन्छ । व्यायामले शरीरमा ऊर्जासमेत थप्छ । जिम जान थालेपछि खानपानमा पनि विशेष ध्यान दिन्छु । पहिला डाइट चार्टअनुसार मात्र खाना खान्थेँ । अहिले पनि नियमित रूपमा चना, अण्डा, केरा खान्छु । पानी पनि धेरै पिउने गर्छु । धेरै पानी पिउँदा शरीरमा रहेका विकार बाहिर निस्कन्छन् । नियमित व्यायामले हाम्रो छालालाई पनि छिट्टै चाउरिन दिँदैन । व्यायामले मानिसलाई अनुशासित हुन मद्दत गर्छ ।

‘फिटनेसप्रति सचेत छन् गजित’

दिनेश अधिकारी, गजितका जिम इन्स्ट्रक्टर
गजित मेहनती छन् । फिटनेसप्रति एकदमै सचेत छन् । व्यस्तताले गर्दा नियमित हुन नसके पनि क्लबमा आएको बेला उनको ध्यानजति व्यायाममै केन्द्रित हुन्छ । उनी ज्यान बनाउनभन्दा पनि फिट रहन रुचाउँछन् ।

प्रस्तुतिः रामकुमार

(नागिरक परिवारबाट)

प्रकाशित: ९ वैशाख २०७४ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App