१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

बर्मेली शरणार्थीको पीडा : 'आफन्तको सम्झनाले पोलिरहन्छ'

बर्मेली नागरिक रोफी आलम नेपाल बस्न थालेको झन्डै चार वर्ष हुन थाल्यो। सन् २०१२ मा दक्षिणी बर्माको राकेनीमा भएको बौद्ध–मुस्लिम द्वन्द्वमा ज्यान जोगाएर भागेका उनी बंगलादेश हुँदै पूर्वीसीमा नाकामार्फत नेपाल आएका थिए। हाल पत्नी र दुई छोरासँगै शरणार्थी जीवन बिताइरहेका उनी बाबुआमा तथा परिवारका अन्य सदस्यबारे भने बेखबर छन्।

परिवारसँग छुटेको चार वर्षसम्म पनि कुनै खबर नपाएका उनी द्वन्द्वमा परिवारका अन्य सदस्य मारिएको आशंका गर्छन्। 'द्वन्द्वका बेला प्रहरीले हाम्रो गाउँमा पेट्रोल छर्किएर आगो लगाइदिएको थियो, त्यतिबेला आफन्त मारिएका हुन सक्छन्,' परिवार सम्भि्कएर भावुक बनेका आलमले नागरिकसँग भने। गाउँमा आगजनी हुँदा आलम पत्नी र छोरासहित बाहिर थिए। उनको गाउँ खरानीमा परिणत भइसकेकाले उनी फर्केर गाउँ गएनन्। बरु भागेर बंगलादेश हुँदै महिनौँ लगाएर नेपाल आए।

बर्मेली नागरिक मोहम्मद अयुब पनि हाल नेपालमा शरणार्थी जीवन बिताइरहेका छन्। उनी पनि सोही हिंसामा ज्यान जोगाएर नेपाल आएका थिए। सन् २०१३ मा बंगलादेश हुँदै नेपाल आएका उनी गाउँमा हिंसा र आगजनी हुन थालेपछि एक्लै भागेर नेपाल आएका हुन्। डरलाग्दो विगत सम्झँदै अयुबले भने, 'म घुम्न बाहिर निस्किएका बेला गाउँमा आगो लगाइएछ, त्यो थाहा पाएपछि म गाउँ नगई भागेर बंगलादेश हुँदै नेपाल आएँ।'

उनले बर्माबाट नेपाल आउने क्रममा लामो समयसम्म जंगलमा बिताएको अनुभव सुनाए। 'जंगलमा खाने कुरा नपाउँदा जंगली कन्दमूल खाएँ,' उनी भन्छन्।

नेपाल आएपछि एक वर्षसम्म परिवारका कसैसँग पनि उनको सम्पर्क हुन सकेन। तर उनले परिवारको अवस्था थाहा पाउन बंगलादेशमा रहेका एक साथीसँग निरन्तर सम्पर्क गरिरहन्थे।

उनी नेपालमा आएर शरणार्थी जीवन बिताउन थालेको एक वर्षपछि बंगलादेशमा रहेका साथीले उनकी पत्नी तथा छोरा भेटिएको खबर पठाए। पत्नी र छोरालाई साथीले बंगलादेशमा ल्याएर राखेका थिए। पछि उनी गएर पत्नी र दुई छोरालाई पनि नेपाल ल्याए। बाबुआमा तथा भाइ र बहिनीको अवस्था भने अहिलेसम्म अज्ञात छ। आलमको जस्तै उनको पनि परिवार हिंसामा परेको अनुमान छ।

सन् २०१२ मा म्यानमारमा भएको साम्प्रदायिक दंगामा परी झन्डै एक लाख मानिसहरू विस्थापित भएका थिए भने हजाराँै घर जलाइँदा ठूलो संख्यामा हताहत भएको तथ्यांक भेटिन्छ।

त्रासदिपूर्ण विगत

नेपालमा उनीहरूलाई के खाने, के लगाउने? भन्ने चिन्ता छ तर आफ्नो मुलुकमा जस्तो बर्बरता र त्रासपूर्ण दैनिकी भने सहनुपर्दैन। बर्मामा हुँदा मुस्लिम भएकै कारण उनीहरूले विभिन्न किसिमका दुःख कष्ट सहनुपर्थ्याे।

आफ्नो विगत सम्झँदै आलम भन्छन्, 'बर्मामा हुँदा बौद्ध समुदायले हामीलाई सधैँ दुःख दिन्थे, त्यहाँको प्रहरीले समेत उनीहरूकै पक्ष लिएर हामीमाथि दमन गर्थे।' बर्मामा मुस्लिमलाई मोबाइल राख्ने छुट समेत नमिल्ने र घरमा तरकारी काट्न राखेको चक्कु फेला पारेमा समेत प्रहरीले जेल हालिदिने आलमको भनाइ छ।

मुस्लिमले पसल सञ्चालन गर्दा अतिरिक्त कर लगाउने तथा गैरमुस्लिमले मुस्लिमको पसलबाट सामान लिएर पैसा नदिनेलगायत दुःख दिने गरेको उनी बताउँछन्। आलमको कुरामा अयुब पनि समर्थन गर्छन्। एक बौद्ध महिलाको हत्या भएको विषयबाट सुरु भएको हिंसाले हजारौँको ज्यान लिएको आलम बताउँछन्।

म्यानमार सरकारले उक्त हिंसामा कम क्षति देखाए पनि हजारौँ मुस्लिम परिवार बेपत्ता भएको उनको भनाइ थियो। अयुब दर्दनाक र त्रासपूर्ण विगत सम्झन्छन्, 'गाउँ–गाउँमा बर्मेली प्रहरीले घरको ढोका थुनेर आगो लगाइदियो, मस्जिदहरू डोजर लगाएर ध्वस्त बनाइयो।'

आफन्तको सम्झनासँगै गुजाराको चिन्ता

आलम र अयुब हाल रानीपोखरीस्थित जामे मस्जिदमा काम गर्छन्। काम गरेबापतको खर्चले उनीहरूको जीवन केही सहज भएको छ। उनीहरूजस्तै काठमाडौं कपनस्थित आकाशे धारानजिकै बस्दै आएका बर्मेली शरणार्थीको जीवन भने निकै दुःखदायी छ।

अयुब भन्छन्, 'हामी शरणार्थीलाई दैनिक के खाने के लाउने भन्ने चिन्ता छँदै छ, त्यसमाथि परिवारको सम्झनाले पनि उत्तिकै सताउने गर्छ।' आफ्ना बाबुआमा, भाइबहिनी तथा आफन्तको अवस्था कस्तो होला? जीवितै होलान् कि हिंसाको चपेटामा परे? चिन्ताले पिरोलिरहने अयुब बताउँछन्।

सुरुसुरुमा संयुक्त राष्ट्रसंघले खर्चबापत केही रकम दिए पनि पछिल्लो दुई वर्षयता आफूहरूले कुनै सहयोग नपाएको आलमको भनाइ छ। सहयोग आउने रकम पनि बन्द भएपछि अहिले शरणार्थी परिवारलाई दैनिकी चलाउनै धौ–धौ भएको उनको भनाइ छ। सहयोग निरन्तर गराउन माग गर्दै उनीहरूले बेलाबेला नेपालस्थित युएनको कार्यालय समेत घेर्ने गरेका छन्। तर कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

नेपाल–मुस्लिम एसोसिएसन अध्यक्ष सलिम खान पनि नेपालमा रहेका बर्मेली शरणार्थीको अवस्था निकै कमजोर भएको जनाउँछन्। 'उनीहरूले विगतमा विभिन्न क्षेत्रबाट पाइरहेको सहयोग रकम पनि रोकिएको छ। आम्दानीको स्रोत नहुँदा उनीहरूको दैनिकी कठिन हुँदै गइरहेको छ,' खानले भने। जामे मस्जिद तथा विभिन्न मुस्लिम संगठन एवं अन्य सहयोगीले गर्ने सानोतिनो सहयोगबाटै शरणार्थीको दैनिक चलिरहेको उनको भनाइ छ।

नेपालमा सोमालिया, बंगलादेशलगायत देशका मुस्लिम शरणार्थी रहे पनि सबैभन्दा दयनीय अवस्था बर्मेली शरणार्थीको रहेको खान बताउँछन्। उनी भन्छन्, 'अन्य देशका शरणार्थीलाई सहयोग आउँछ र उनीहरू आफैँले पनि विभिन्न व्यवसाय गरिरहेका छन् तर बर्मेलीलाई कुनै सहयोग आउँदैन र उनीहरू आफैँ केही गर्न पाइरहेका छैनन्।'

बर्मेली शरणार्थीलाई दैनिकी चलाउनेसँगै बेपत्ता आफन्तको पनि चिन्ता रहेको खान बताउँछन्। हाल जामे मस्जिदले केही बर्मेलीका बालबालिकालाई निःशुल्क पढाइरहेको खानले जानकारी दिए।

स्वदेश फर्कने आशा

अयुब नेपालमा रहेका शरणार्थीलाई पुनर्वासका लागि अमेरिकालगायत विभिन्न मुलुकमा पठाउनेबारे चर्चा सुनेको जनाउँछन्। उनी आफूहरूका लागि भने स्वदेश फर्कनुभन्दा ठूलो कुरा अन्य नहुने जनाउँछन्। 'यहाँबाट हामीजस्ता शरणार्थीलाई पुनर्वासका लागि अन्य मुलुकमा पठाइन्छ भन्ने सुनेका छौँ तर हाम्रा लागि आफ्नो देश फर्कन पाउनु सबैभन्दा ठूलो कुरा हो,' अयुबले भने।

उनीहरूलाई आफ्नै देश प्यारो छ। 'हामी सबैको एउटै सपना छ– एक दिन आफ्नै देश फर्कने,' अयुबले भने। अर्का शरणार्थी आलम शरणार्थी जीवन बिताउनुपरे पनि आफ्नो देश फर्किने आशा जीवितै रहेको बताउँछन्।

प्रकाशित: २६ चैत्र २०७३ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App