११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

सम्पादकसँग लेखक

विमल भौकाजी

०६३ माघमा शारदाको पुनर्प्रकाशन गरिएको प्रथम अंकमा वरिष्ठ कथाकार रमेश विकलको जीवनको अन्तिम कथा 'एउटा स्वतन्त्र राष्ट्रियताको हत्या' शीर्षकमा प्रकाशित भएको थियो। छापिनुपूर्व उनीद्वारा हस्तलिखित उक्त कथाको सम्पादन गर्ने क्रममा केही अक्षर र शब्द स्पष्ट नबुझिएका कारण सो प्रस्ट्याइदिनका निम्ति मैले फोनमा उनलाई आग्रह गरेँ र सच्याउँदै गएँ। यस क्रममा उनले मलाई चित्त नबुझेका पंक्तिहरूमा सामान्य हेरफेर गर्न पाउनेसम्मको सहुलियत दिएका थिए। म अलिक बढी नै उत्साहित भएँछु। मैले धक फुकाएर भनेँ, 'दाइ, मलाई कथाको शीर्षक लामो लाग्यो। शीर्षक चेन्ज गरेर अलिक सानो राखुँ है!'

एकछिनसम्म कुनै जवाफ आएन। सम्भवतः मेरो प्रस्ताव उनलाई स्वीकार्य थिएन। लगत्तै त्यो अस्वीकारोक्ति उनको बोलीबाट पुष्टि भयो, 'तपाईंले मेरा अरू कथाहरू अध्ययन गर्नुभएको छैन जस्तो लाग्यो।'

सिनेमा खेल्दा कुनै नायक वा नायिकाको निम्ति निर्देशकको पनि आवश्यकता कहाँ रहला र? उनीहरू स्वयं अभिनय गर्नमा पोख्त नै हुन्छन्। खेलाडी आफैँ खेल्नमा निपुण नै हुन्छन् भन्ने तर्क गरेर कोचको आवश्यकतालाई नकार्न सकिन्छ? यसो भनिनुको एउटै माने यो हो कि प्रकाशनअघिको सम्पादन एउटा त्यस्तो आधारस्तम्भ हो, जोबिना त्यो प्रकाशन प्राणशून्य शरीरबराबर हुन पुग्छ।

 

हठात्, १२–१४ को उमेरमै पाएसम्म मैले उनका कथा पढिसकेको छु भन्ने मेरो अभिमान उनको त्यो वाक्यले चकनाचुर हुन पुग्यो। सोचमग्न भएँ म, मैले छाप्न लागेको उनको यो कथासँग अन्य अघिल्ला कथा पढ्नु–नपढ्नुसँगको के सम्बन्ध? तर कथाको शीर्षक सामान्यभन्दा अलिक लामो नै राख्ने उनको प्रवृत्तिलाई केही क्षणपछि उनले सुनाएपछि मात्रै म यथास्थितिमा आएँ।

मैले त्यहाँ सम्पादकको अधिकार प्रत्यायोजन गरेर कथाको शीर्षक परिवर्तन गरिदिएको भए पक्कै पनि लेखकको मर्मलाई आघात पुग्न जान्थ्यो। यस अर्थमा, सम्पादकको मूल धर्म भनेको खास गरेर साहित्यको क्षेत्रमा लेखकीय भावनालाई आत्मसात् गर्नु हो।

त्यसो त आजभोलि 'प्रुफ हेरिनु'लाई नै सम्पादन गरिएको भन्ने मान्यता स्थापित गरिन लागेको छनक देखिन्छ। अर्कोतिर सामान्य ह्रस्व–दीर्घसमेत हेर्न नसक्ने वा नजान्नेले दोस्रो जानिफकारलाई प्रुफ हेर्न लगाएर मात्रै होइन, सम्पूर्ण रूपमा सम्पादन गराई सम्पादकका रूपमा नाम छपाउने प्रचलन समेतले व्याप्ति पाएको छ।

यसो भन्दैमा के सम्पादक सर्वगुण सम्पन्न नै हुन्छन् त? वास्तवमा को हुन् सम्पादक? सम्पादक हुनलाई न्यूनतम योग्यता के–कस्तो हुनुपर्छ? के त्यसका लागि कुनै सीमारेखा कोरिएको छ? आज उठ्ने गरेका प्रश्न हुन् यी।

०००

केही लेख्दै केही पढ्दै जाँदा साहित्यिक सम्पादन क्षेत्रमा आफ्नै हैसियतले आजको मितिमा निकै व्यस्त बनेका सम्पादक भेटिन्छन्। वास्तवमा कसैलाई यहाँ रहरले ल्याइपुर्‍याएका देखिन्छन् त कतिपयलाई कुनै बाध्यताले। अथवा सम्पादन क्षेत्रमा देखिएको अस्तव्यस्ततालाई सुधार गर्छु भनेर यसमा लागिपरेका पनि पाइन्छन्।

सम्पादन गर्ने कार्य रहर गरिएको भरमा भने पक्कै हुने होइन। सम्पादन भनेको एउटा कला हो। साहित्य रच्ने कार्यलाई जति महŒवका साथ 'कला' मानिन्छ, त्यत्तिकै कला सम्पादनमा पनि छ, हुनुपर्छ। त्यसो त, सम्पादन गर्नेको क्षमतामा पनि भर पर्छ, त्यो कला। तर त्यसका लागि के–कति क्षमता भन्ने प्रश्नको जवाफमा यत्ति भन्न सकिन्छ, क्षमता भनेको आफूभित्र आफैँले विकास गर्दै जाने विषय हो। यद्यपि सम्पादक बन्ने व्यक्तिमा मूलतः यी विशेषता हुनैपर्छ–  आत्मविश्वास, लगनशीलता, इमानदारी र परिश्रम।

सम्पादन क्षेत्रको केही समयको मेरो अनुभवले यही भन्छ कि उपरोक्त चार बुँदामध्ये कदाचित् कुनै एउटा मात्रैको पनि कमी सम्पादक बन्ने व्यक्तिमा भयो भने ठोकुवापूर्वक भन्न सकिन्छ कि उसमा सम्पादन गर्ने गुण अन्तरनिहित छैन। तथापि सम्पादन–कार्यका निम्ति आधारभूत व्याकरण त जानेको हुनुपर्छ।

०००

 

किताब वा पत्रपत्रिका पढ्ने धेरै मान्छेले भनेको सुन्न पाइन्छ– जाबो लेखेको कुरो छाप्नु पनि केको परिश्रम? मानौँ तिनका विचारमा केवल हलो जोत्नु, कोदालो खन्नु, भारी बोक्नु या अन्य प्रकारका शारीरिक काम गर्नुलाई मात्रै परिश्रम भनिन्छ अथवा भनिनुपर्छ।

साँच्चै भन्नुपर्दा, प्रकाशनको सन्दर्भमा सम्पादक त्यस्तो व्यक्ति हो, जसको स्वयं लेखकको भन्दा पनि अहं भूमिका रहेको हुन्छ। आज पनि हाम्रो साहित्यको कुरा गर्ने हो भने सम्पादकको भूमिकालाई महŒवपूर्ण रूपमा हेर्ने गरिन्न। विशेषतः साहित्यिक क्षेत्रको सम्पादकलाई महŒवहीन मानिन्छ। त्यहाँ, बस् लेखकले लेखेपछि त्यो पूर्ण भयो भन्ने धारणा रहिआएको छ। मलाई लाग्छ, कसैले लेखेको कुरो अर्को दोस्रो व्यक्तिले एकपटक हेरिदिने वा सुनिदिने मात्रै हो भने पनि त्यसमा रहेका कमी–कमजोरीलाई सच्याउने अवसर प्राप्त हुन्छ। अझ संयोगले अनुभवी सम्पादककै हात पर्‍यो भने त त्यहाँ झन् मजाले परिष्कार गर्न समेत सकिन्छ।

०००

कतिपय स्वघोषित लोकप्रिय लेखक–कविहरूको मान्यता अझै यही छ कि कुनै पनि किताबमा सम्पादक भनेर लेखिनु हुँदैन। तिनका धारणामा, त्यसरी लेखियो भने लेखकलाई सम्पादकले लेखक बनाइदिएजस्तो हुन्छ। वास्तवमा, यस्तो मान्यता राख्ने तथाकथित लेखकलाई आफ्नो कलमप्रति भरोसा नरहेको भनेर बु‰न कत्ति पनि गाह्रो पर्दैन। हेक्का रहोस्, अंगे्रजी भाषाका नामी–नामी लेखकका किताबमा सम्पादकको नाम राखिएको पाइन्छ।

वास्तवमा सम्पादन नगरिएको पुस्तकभन्दा सम्पादन गरिएको पुस्तक तुलनात्मक रूपले राम्रै हुन्छ भन्नुमा केही गल्ती गरेको ठहरिन्न। हुन पनि सम्पादन गरिनु भनेको त नदेखिएको मैलो–धैलोलाई सफा गर्नु हो, उजिल्याउनु नै हो। कहीँकतै दाग रहेछ भने त्यसलाई मेटाउनु हो। लेखक मात्रै सर्वज्ञानी हुँदैनन्। लेखकले लेखेपछि मात्रै त्यो ढुंगाको अक्षर हुन्छ भन्ने हुँदैन। लेखकको लेखनभित्र पनि अनेक त्रुटि हुन सक्छ। तर यसको अर्थ सम्पादकचाहिँ कुनै अर्कै शक्ति बोकेको जीव हो भन्न खोजिएको पनि होइन। कदाचित् यति सामान्य कुरोलाई पनि नबुझेको बहाना गर्ने हो भने त कुरो बेग्लै हो। अन्यथा सिनेमा खेल्दा कुनै नायक वा नायिकाको निम्ति निर्देशकको पनि आवश्यकता कहाँ रहला र? उनीहरू स्वयं अभिनय गर्नमा पोख्त नै हुन्छन्। यसै प्रकार कुनै पनि खेलकुदको क्षेत्रमा खेलाडी आफैँ खेल्नमा निपुण नै हुन्छन् भन्ने तर्क गरेर कोचको आवश्यकतालाई नकार्न सकिन्छ? र, यस्तो कुतर्कलाई मान्यता दिने हो भने त्यसले निम्त्याउने अराजकतालाई कसले सम्हाल्ने? कसरी सम्हाल्ने? यसो भनिनुको एउटै माने यो हो कि प्रकाशनअघिको सम्पादन एउटा त्यस्तो आधारस्तम्भ हो, जोबिना त्यो प्रकाशन प्राणशून्य शरीरबराबर हुन पुग्छ।

०००

कतिपय लेखक यस्ता पनि भेटिन्छन्, जसले पूर्ण रूपमा अनुभवी सम्पादकलाई आफ्नो पाण्डुलिपि सम्पादन गराएर पुस्तक छपाउँछन् र आफू सीधै मंगलग्रहबाट महान् लेखकका रूपमा यो धर्तीमा अवतरित भएका रूपमा प्रस्तुत हुन्छन्। स्वयं मैले सम्पादन गरेका पुस्तकमध्ये कतिपय लेखकको लेखनलाई सम्पादन गर्दागर्दा झन्डै–झन्डै पूरै आफैँले रिराइट नै पनि गरिएको छ। विडम्बना, त्यस्ता कच्चा राइटिङलाई पढ्न लायकको बनाएर चार–पाँच हजार प्रति बिकिसकेको समयपछि हेर्दा त्यो लेखक त आफूलाई महान् 'सेलिब्रेटी' बनिसकेको भ्रममा जमिनमा नभएर जमिनमाथि पुगेको भेटिएका छन्। यो कुनै व्यक्तिगत आक्षेप होइन, प्रसंगले तानेको उदाहरण मात्रै हो।

निचोडमा, लेखक यही समाजको प्राणी हो, ऊ यहीँ जन्मेपछि लेखक बनेको हो। जन्मँदै कलम समातेर कोही जन्मँदैनन्। यस अर्थमा यति भन्न सकिन्छ– उसले लेख्न जानिसकेपछिको अवस्थामा लेखन–यात्रा गर्दै गर्दा बाटोमा भेटेको अर्को यात्री, जो संयोगले सम्पादक हो भने उसलाई सहयात्री बनाएर यात्रा तय गर्ने हो भने त्यो यात्रा पक्कै पनि फलदायी नै हुन्छ।

प्रकाशित: २६ चैत्र २०७३ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App