एक दिन मेरा परममित्र आरडी प्रभास चटौतजीले समय लिएर बौद्ध महांकालस्थित मेरो घरमा आएर एउटा ठूलो पुस्तक उपहार दिनुभयो । खोली हेरें, अनुसन्धानात्मक कृति ‘प्रभास–गीता–महाकाव्य’ रहेछ ।
चटौतजीको भूमिकामा बताइएअनुसार वेदान्तका तीन प्रस्थान छन् । श्रौत प्रस्थान, स्मार्त प्रस्थान र दार्शनिक प्रस्थान । श्रौत प्रस्थान उपनिषद्हरू हुन्, स्मार्त प्रस्थान गीता हो र दार्शनिक प्रस्थान वेदव्यास प्रणीत ब्रह्मसूत्र भएकाले उपनिषद्, गीता र ब्रह्मसूत्रलाई प्रस्थानत्रयी पनि भन्दछन् ।
म नित्य बिहान एक अध्याय गीता पाठ गर्ने गर्दछुु र शांकरभाष्य, गीतालोक भाष्य लगायत गीतासम्बन्धी धेरै पुस्तक पढ्ने सौभाग्य पाएको छु । तर चटौतजीले दिनुुभएको प्रभास–गीता–महाकाव्य भिन्दै विशेषता र भिन्दै मिठास रहेको छ र आकारमा पनि मैले आजसम्म पढेका गीताभाष्यभन्दा यो धेरै ठूलो छ, महान् छ । जम्मा ७०० श्लोक भएको गीताको चटौतजीले प्रत्येक श्लोकको व्याख्या गर्दा २३,९,१२ श्लोकको बनाउनुभएको छ । त्यसका अतिरिक्त पाद टिप्पणी श्लोक संख्या १०५३ छ । पाद टिप्पणी संस्कृति श्लोक सम्भवतः अन्यग्रन्थबाट लिइएकाले संख्या १४६ छ र नेपाली अनुवाद श्लोकहरू शब्द संख्या लेखकको भनाइ अनुसार ३,९०,६०२ को एउटा स्तम्भ बनेको छ ।
महाकाव्यकारले आफ्नो २२ पेजको भूमिकाभित्र जोशी मठाधीश शंकराचार्य स्वामी माधवाश्रमको लेखकलाई दिइएको आशीर्वचन पत्र १ र मदन पुरस्कार पुस्तकालयाध्यक्ष कमलमणिजीको शुभकामना पत्र १ गरी २ पनि आफ्नो नम्र निवेदन शीर्षकको भूमिकामा राख्नुभएको छ ।
यो पुस्तक नई प्रकाशनले प्रकाशित गरेको छ । मुखपृष्ठमा कृष्णले अर्जुनलाई गीता सुनाउन लागेको चित्र र एघारौँ अध्यायमा कृष्णले अर्जुनलाई देखाएको विश्वरुप समेतको रंगीन स्पष्ट चित्र देख्न पाइन्छ । लेखकको यो भूमिका पढेपछि लेखकको बाल्यकालदेखि आजसम्मको जीवन कथा सविवरण जसमा शिक्षा, जागिर र साहित्य सेवा, जसभित्र डोटेली बृहत् शब्दकोशलगायत २०–२२ किताबको सूची एवं प्रस्तुत ग्रन्थसम्बन्धी विवेचना पढ्न पाइन्छ । पुस्तकको प्रारम्भममै उहाँले आफूले पाएका विभूषण तथा पदक आदिको विवरण पनि दिनुभएको छ । चटौतजीको भूमिकामा बताइएअनुसार वेदान्तका तीन प्रस्थान छन् । श्रौत प्रस्थान, स्मार्त प्रस्थान र दार्शनिक प्रस्थान । श्रौत प्रस्थान उपनिषद्हरू हुन्, स्मार्त प्रस्थान गीता हो र दार्शनिक प्रस्थान वेदव्यास प्रणीत ब्रह्मसूत्र भएकाले उपनिषद्, गीता र ब्रह्मसूत्रलाई प्रस्थानत्रयी पनि भन्दछन् । गीता महाभारतको भीष्म पर्वका २३ देखि ४० सम्मका अध्याय हुन् । वास्तवमा गीता भिन्दै एउटा पुस्तक नभएर महाभारतबाट उद्धृत सानो अंश मात्र हो । त्यति भएर पनि गीता विश्वप्रसिद्ध सबै भाषामा अनुदित सर्वप्रशंसित ग्रन्थ बनेको छ । अद्वैत, द्वैत विशिष्टाद्वैत, शुद्धाद्वैत वादी आचार्यले आ–आफ्ना मान्यताका आधारमा गीताको व्याख्या गरेका छन् ।
श्रीमद्भगवद्गीताका ६–६–६ अध्यायलाई तीनपटक बनाएर १८ अध्यायलाई क्रमशः कर्मयोग, भक्तियोग र ज्ञानयोगमा बाँडिएको लेखकले आफ्नो भूमिकामा बताउनुभएको छ ।
लेखकले सर्वारम्भ भनेर गीताको प्रारम्भमै १५८ नेपाली श्लोकको मंगलाचरण गर्नुभएको छ । त्यसपछि गीताका प्रत्येक श्लोकको १५–२० नेपाली श्लोकमा व्याख्या गर्नुभएको छ । व्याख्या सरल मधुर र अर्थबोधक नै छ । प्रसंगमा आएका प्राणायाम आदि विषयलाई विशेष पाद टिप्पणी गद्यमा दिइएको छ । यसै गरी १८ अध्यायसम्म ७०० श्लोकलाई माथि बताइएअनुसार २३,९१२ श्लोकले व्याख्या गरिएको छ । बीचबीचमा विशेष विषयहरूमा गद्य र पद्यमा पाद टिप्पणी लेखेर ग्रन्थलाई गरिमामय बनाइएको छ ।
जहाँसम्म महाकाव्यको कुरो छ, साहित्य दर्पणले दिएको परिभाषाअनुसार महाभारतबाट उद्धरित भीष्मपर्वका यी १८ अध्यायको व्याख्यालाई महाकाव्य भन्न मिल्दैन । तर आकारका हिसाबले सानो गीतालाई ठूलो व्याख्या गरेर महाकाव्य अर्थात् ठूलो काव्य भनी भन्न मिल्दछ । ग्रन्थको अन्तमा गीतासार सर्वस्व पनि दिनुभएको छ ।
मलाई गीतामा सबभन्दा मन पर्ने श्लोक यो छ–
‘सर्वधर्मान परित्यज्य मामेकं शरण ब्रज ।’ अहं त्वांमा सर्वपापेभ्यो मोक्षयिँष्यामि मा शुचः ।। सबै धर्म त्याग गरी मेरो शरणमा पर ।। तिमीलाई सबै पापबाट मैले बचाउँछु ।।
यसरी गीताजस्तो लोकसप्रय ग्रन्थको रौंचिरा व्याख्या सरल नेपाली पद्यमा गरी चटौतजीले जुन महाकाव्य लेखी सर्वसुलभ गराउनुभएको छ, त्यो ज्यादै प्रशंसनीय छ । गीताप्रेमी सबै पाठकले यो पुस्तक उपलब्ध गरी अध्ययन गर्न आग्रह गर्दै लेखकको यस सत्प्रयासको प्रशंसा गर्दछु । यस ग्रन्थको पेज संख्या १३३० छ । यसबाटै पाठकले यसको आकारको आधारमा महानताको परिकल्पना गर्न सक्नुहुन्छ ।
सबै धर्महरू त्यागी मेरो शरणमा पर ।।
सबै पापहरूबाट तिमीलाई बचाँउछुु
प्रकाशित: १९ चैत्र २०७३ ०४:४६ शनिबार