कृष्ण अविरल
पछिल्लो समय पुस्तक बजारको व्यावसायिकतासँगै पाठकको अवमूल्यन पनि गर्न थालिएको छ। कमजोर वा सामान्य विषयमा पाँच सय पृष्ठ लेख्नेले पनि बजार बिगारेका छन्। सय पृष्ठमा टुंग्याउँदा राम्रो हुने विषयमा जबर्जस्ती तन्काएर वा अनावश्यक घटना जोडेर उपन्यास लेख्ने चलन बाक्लिन थालेको छ। साथै, अचाक्ली मूल्य राख्ने र बिक्छ भनेर जे पनि छाप्ने प्रवृत्ति पनि मौलाउन थालेको छ। छपाइ लागत भारु ३० नपरेको पकेटसाइजको २१५ पृष्ठको पुस्तकको मूल्य तीन सय रुपैयाँ राख्ने प्रवृत्तिले पाठक बिच्कन पुगेका छन्। ठूलाखाले मिडियामा चर्को हल्ला गर्ने, तर पुस्तकमा गुदी नहुने कारणले पनि यस्ता पुस्तकप्रति पाठकको वितृष्णा बढेको छ। प्रकाशकहरूले यी कुरामा सुधार गर्न जरुरी छ।
पछिल्लो समय पुस्तक बजारको व्यावसायिकतासँगै पाठकको अवमूल्यन पनि गर्न थालिएको छ। कमजोर वा सामान्य विषयमा पाँच सय पृष्ठ लेख्नेले पनि बजार बिगारेका छन्। सय पृष्ठमा टुंग्याउँदा राम्रो हुने विषयमा जबर्जस्ती तन्काएर वा अनावश्यक घटना जोडेर उपन्यास लेख्ने चलन बाक्लिन थालेको छ। साथै, अचाक्ली मूल्य राख्ने र बिक्छ भनेर जे पनि छाप्ने प्रवृत्ति पनि मौलाउन थालेको छ।
युवा पाठक
हरेक वर्ष एसएलसी (यसवर्षदेखि एसईई) परीक्षापछि पाँच लाखभन्दा बढी युवा समाजको जिम्मेवार वर्गमा प्रवेश गर्छ, आफूलाई नयाँ पुस्ता दावी गर्दै। स्कुलजीवनको 'बन्धन'बाट मुक्ति पाएको त्यो वर्गमा चरम कौतूहल हुन्छ। असीमित उमंग र उत्साह हुन्छ। जीवनको गन्तव्य खोज्ने छटपटी हुन्छ। केही गरेर देखाउने चाहना हुन्छ। ज्ञानको क्षितिज फराकिलो बनाउने तृष्णा हुन्छ। ती पाँच लाखमध्ये करिब अढाइ लाखले साहित्यिक पुस्तकप्रति रूचि राख्छन्। तर, उनीहरूको रूचि, चाहनालाई लक्षित गरेर लेखिएका नेपाली साहित्य खोइ? दुःखका साथ भन्नुपर्छ– एक हातको औँलामा गन्न पनि पुग्दैन।
नेपाली साहित्यका पुस्तक दैनिक सरदर सात–आठ वटाका दरले निस्किरहेकै छन्। त्रिभुवन विश्वविद्यालय पुस्तकालयमा रहेको आईएसबीएन शाखाका कर्मचारीका अनुसार हरेक साता यस्तो दर्ता लिनका लागि सरदर डेढ सय आवेदन पर्छन्। डेढ सयमध्ये ५० पाठ्यक्रमसँग सम्बन्धित पुस्तकका लागि होलान्। ५० आवेदन बालसाहित्य, सीडीलगायत अन्यका होलान्। ५० चाहिँ साहित्यिक पुस्तकका हुने गरेको उनको भनाइ छ। ती ५० मध्ये पनि २५ वटा पुस्तक त पक्कै बजारमा आउँछन्। तर, अधिकांशले पाठकको मनमा राज गर्नै सक्दैनन्। आखिर किन? कहाँ छ समस्या? किन नेपाली साहित्य पढन्ते पुस्ताका निम्ति पनि आकर्षणको विषय बन्न सकेन? यसबारे न साहित्यकारहरूले खोजी गरेका छन्, न त साहित्यिक संघ–संस्थाहरूले नै! पुस्तक बेच्ने व्यवसाय गर्दै आएका प्रकाशकहरूलाई त झन् यतातिर सोच्ने फुर्सद नै छैन।
कतिपय स्रष्टाको भनाइ हुन्छ– 'बजारमा पुर्याउनै सकिँदैन। देशभर वितरण भइदिए पाठकले किन्थे नि।' दुई–चार पाठक–आफन्तले जिज्ञासा राखेको भरमा देशभर माग छ भनेर बु‰नु केवल आत्मरति हो। खासमा राम्रा कृति लेख्ने स्रष्टाले आफै बजार खोजेर हिँड्नै पर्दैन। पाठकको रूचिअनुरूपका कृति लेख्ने हो भने प्रकाशकहरू आफै स्रष्टाको पछि लाग्न र भनेअनुसारको सर्त मान्न बाध्य हुन्छन्। केही वर्षयता नेपालमा व्यावसायिक प्रकाशन संस्था यति धेरै खुलेका छन् कि हरेकलाई पाठकको मन जित्न सक्ने पाण्डुलिपिको खाँचो छ। पाठकको चाहना बुझेर, मेहनत गरेर लेख्न सक्ने स्रष्टाको खोजीमा कुन प्रकाशन संस्था छैन होला?
मूल समस्या लेखकमा
लेख्नुअघि पढ्नु जरुरी हुन्छ। प्रतिस्पर्धी स्रष्टाहरूले के–के लेखिरहेका छन्? पछिल्लो समयमा कस्ता कृतिले पाठकको मन जितिरहेका छन्? पाठकको मनोविज्ञान कतातिर गइरहेको छ? उनीहरूले के पढ्न चाहिरहेका छन्? अबको पाँच–दस वर्षपछिको साहित्यिक बजार कस्तो हुनेवाला छ? थाहा पाउन जरुरी हुन्छ। त्यतिमात्र होइन, जुन विषयमा केन्द्रित रहेर पुस्तक लेख्न खोजिएको हो त्यसका बारेमा 'फिल्ड' मै गएर अध्ययन गर्न सक्दा आधिकारिक त हुन्छ नै साथै जीवन बु‰न पनि सहयोग मिल्छ।
अरुका कृति अध्ययन तथा भ्रमणले ज्ञानको क्षितिज फराकिलो हुनेमात्र होइन, त्योभन्दा राम्रो कसरी लेख्ने भन्ने ऊर्जा र आत्मबल पनि प्राप्त हुन्छ। तर, दुःखको कुरा आफूलाई साहित्यकार भनेर चिनाउन रूचाउने हामी आफै अरुका कृति प्रायः पढ्दैनौँ। अझ आफ्नो समकालीन पुस्ताका स्रष्टाको कृति त झन् पढ्दै पढ्दैनौँ। बर्क कसैले सोध्यो भने उल्टै भनिदिन्छौँ– 'त्यो मूलाले लेख्नै के जानेको छ र? त्यसले लेखेको पनि कुनै साहित्य हो?' यस्तो हचुवा प्रतिक्रियाले लेखकको स्तर कदापि बढाउँदैन। अझ बजारमा चलेको छ भने हाम्रो स्वर थप चर्को हुन्छ– 'बजारमा त जे पनि बिक्छ। बिक्नेजति सबै स्तरीय साहित्य हुन्छ?' कुण्ठाग्रस्त यही मनोरोग नै अब्बलखालका साहित्य सिर्जनामा अवरोध ल्याउने मूल कारण हो।
सत्य हो, बजारमा चल्नेजति सबै स्तरीय साहित्य हुँदैनन्। साहित्यिक गुणवत्ता हुँदै नहोस्, बजारमा चलेका हरेक पुस्तकले पठनसंस्कृतिको विकासमा थोर–बहुत सघाउ नै पुर्याएका हुन्छन्। कहिल्यै नपढ्नेलाई पनि पुस्तकको नशा चढाइदिएकै हुन्छन्। पुस्तकको बजारलाई बढाइदिएकै हुन्छन्। तर, आफूलाई असली स्रष्टाको रूपमा चिनाउनेहरू त्यसखाले पुस्तकका राम्रा पक्ष कहिल्यै देख्दैनन्। तिनको नाम कहीँ कतै लेख्दा पनि लेख्दैनन्, राम्रो लेख्नेलाई सकेसम्म हतोत्साही बनाउने प्रयास हुन्छ।
साहित्य सिर्जनामा लाग्नेहरूले बजारमा आएका सबै कृति पढ्नुपर्छ भन्ने कामना गर्नु पनि अतिशयोक्ति हुन सक्छ। यति आग्रह हो, आफूलाई स्रष्टा हुँ भनेर चिनाउन रूचाउनेहरूले आफूलाई मन पर्ने विधाका पुस्तकचाहिँ सकेसम्म खोजीखोजी पढ्ने हो भने त्यसले साहित्य क्षेत्रको समृद्धिमा सघाउ पुग्छ। तर, दुःखको कुरा ईश्वरबल्लभको 'आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्' र कुन्ता शर्माको 'म उभिएको ठाउँ' नपढी आफूलाई कवि भनेर चिनाउन खोज्नेको निकै लामो ताँती छ यहाँ। मनु ब्राजाकी र माया ठकुरीलाई नचिनी कथाकार बन्न खोज्नेहरू कति छन् कति! धच गोतामे र वानिरा गिरि कुन चराको नाम हो भनेर सोध्नेहरू उपन्यासको पाण्डुलिपि बोकेर प्रकाशककहाँ धाउँछन्! अनि गर्वसाथ भन्छन्– 'मैले नेपाली साहित्यमा अहिलेसम्म कसैले लेख्न नसकेको विषयमा उपन्यास लेखेको छु। यो उपन्यास निस्केपछि बजारमा हटकेक हुन्छ।'
तर, साहित्यकारहरू कति छन् कति! नेपाल प्रज्ञा–प्रतिष्ठानको अन्वेषण रकम पचाउन निकालिएको 'पाचके साहित्यकार कोश'ले नसमेटेकाहरूलाई समेत गन्ने हो भने जीवितमात्रै १० हजारभन्दा बढी नै छन्। अझ देश–विदेशमा छरिएका गजलकारको समेत गणना गर्दा त साहित्यकारको संख्या पचास हजार नाघ्ने सम्भावना छ। ती सबैले आफूले रोजेको विधाका पुस्तकमात्रै पढ्ने हो भने साहित्य क्षेत्रको यस्तो कन्तविजोग पक्कै हुँदैनथ्यो। झापाली लीला अनमोल हुन् या बाँकेकी ऋचा लुइँटेल, धरानका वम देवान हुन् या रुपन्देहीका बुँद राना हरेक स्रष्टाले लेखकस्वबाटै बाँच्ने स्थिति सिर्जना हुन सक्थ्यो। खोटाङका जसराज किराती, पोखराका आरजु विष्ट सल्यानीहरूले गुमनाम जीवन बाँच्नुपर्ने थिएन। तर, दुःखको कुरा यही जुनीमा त्यो दिन देख्न पाइने सम्भावना एकदमै कम छ।
सम्भावना अपार
नेपाली पुस्तक प्रकाशनको इतिहासले भर्खरै सय वर्ष पार गरेको छ। तर, पुस्तकको व्यावसायिक प्रवर्द्धनको इतिहासले डेढ दशक पनि छोएको छैन। यद्यपि, यो छोटा अवधिमा यति धेरै प्रगति भएको छ कि लेखकस्वबाटै स्तरीय जीवन बाँच्न सक्ने स्रष्टा तयार भएका छन्। भलै तिनको संख्या एक हातको औँलामा अटाउने मात्रै किन नहोस्। 'हाम्रो पुस्ताको जिम्मेवारी भनेको लेखेरै बाँच्न सकिन्छ भन्ने मान्यता स्थापित गर्नु हो,' केही समयअघि पोखरामा भेटिएकी कवि सरस्वती प्रतीक्षाले भनेकी थिइन्, 'म यतिबेला त्यही मिसनमा छु।'
स्रष्टाले साँच्चै मेहनत गरेर, पाठकको मनोविज्ञान अध्ययन गरेर लेख्ने हो भने लेखकस्वबाटै वर्षको पाँच–सात लाख रुपैयाँ कमाउनु अब ठूलो कुरा हुन छाडेको छ। तर, दुःखको कुरा हाम्रा अधिकांश स्रष्टा मेहनत गर्नै तयार छैनन्। समकालीन पुस्ताको अर्को स्रष्टाले के लेखिरहेको छ, अध्ययन गर्ने फुर्सद निकाल्नै चाहँदैनन्! अघिकांश स्रष्टा कोठामा बसेर कुण्ठा लेख्दै आत्मरतिमा मग्न भएर आफ्नो प्रचार गरिरहेका छन्। अनि के–के न लेखेको छु भन्दै प्रकाशकको दैलोमा पुगिरहेका छन्। नयाँ प्रतिभाको खोजीमा तड्पिएको त्यो प्रकाशकले सम्पादकलाई खटाएर पाण्डुलिपि जाँच गराउँछ। अनि यी–यी कुरा सुधारेर, आवश्यक स्वसम्पादन गरेर ल्याउनोस् है भनेर पठाउँछ। तर, ती स्रष्टालाई सल्लाह कार्यान्वयन गर्ने फुर्सद नै हुँदैन। बरु त्यो प्रकाशकको ढोकाबाट बाहिरिना साथ अर्को प्रकाशकलाई फोन लगाउन भ्याइहाल्छन्। फेरि पनि त्यही प्रवृत्ति! उनीहरू पटक्कै थाहा पाउँदैनन्, प्रकाशक–प्रकाशकबीच पनि संवाद हुन्छ भनेर।
कतिपय नवोदित स्रष्टामा बुद्धिसागर, अमर न्यौपाने, सुविन भट्टराई, नयनराज पाण्डे, घनश्याम खडका, सरस्वती प्रतीक्षा, अश्विनी कोइराला आदिलाई उछिन्ने तीव्र चाहना छ। तर, उनीहरूले गरेको जस्तो मेहनत गर्न भने उनीहरू पटक्कै तयार छैनन्। उनीहरू कुन हदसम्मको संघर्षबाट यो अवस्थामा आइपुगेका हुन्, बजारमा आएका पुस्तकमा कसरी अपडेट भइरहेका छन्, के–के पढेर उनीहरूले आफूलाई तिखारेका हुन् भन्ने सन्दर्भ बु‰ने र खोज्ने चासो कमैलाई मात्र छ। हरेक सफल मान्छेका पछाडि असफलता, संघर्ष र स्वाध्ययनको लामो समय जोडिएको हुन्छ भन्ने कुरा आत्मसात गर्ने विरलै छन्। अनि कहाँबाट जन्मन्छ स्तरीय साहित्य?
चर्चाको अर्को पाटो
त्यसो त स्तरीय नेपाली साहित्यिक कृति बजारमा आउँदै नआएका भने होइनन्। छिटपुट रूपमा हरेक वर्षजस्तो आएकै छन्। नवप्रतिभा रविचन्द्र भट्टराईको उपन्यास 'तृष्णा', शारदा शर्माको 'कम्प', जनक सापकोटाको 'कहर', सीमा आभासको कवितासंग्रह 'म स्त्री अर्थात् आइमाई', राजेन्द्र पराजुलीको कथासंग्रह 'शुक्रराज शास्त्रीको चस्मा' यस वर्ष निस्केका अब्बलकोटिका पुस्तक हुन्। तर, यिनले चर्चाको बजारमा खासै स्थान पाएनन्। समीक्षकहरूले ध्यान दिनै भ्याएनन् वा निशुल्क प्राप्त हुने आशामा तिनले यी कृति किनेर पढेनन्! नयाँ पुस्ताका कतिपयको हालत पनि यस्तै रह्यो।
गत वर्ष बजारमा आएकामध्येको उत्कृष्ट पुस्तक डा. शंकरप्रसाद उप्रेतीको आत्मकथा 'जीवन एक सपना' मान्न सकिन्छ। तर, यो पुस्तकले पाउनुपर्ने जति चर्चा नै पाएन। पुरस्कार गुठीहरूमा दर्ता नगरिनु अलग कुरा। त्यसैगरी, अघिल्लो सालको राम्रो कृति गिरिश गिरीको 'वीरगन्ज' त झन् पुरस्कार गुठीहरूको सूचीमै परेन। पूर्वाग्रहको सिकार भएको रोशन दाहालको उपन्यास 'काँचुली' चाहिँ लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको अनिवार्य नेपाली विषयमा समावेश हुन सफल भयो। यही कारण यसले विस्तारै चर्चा पाउन थालेको छ। २०७१ सालमा मनु ब्राजाकीको कथासंग्रह 'अन्नपूर्णाको भोज'को हालत पनि कमजोर रह्यो। ब्राजाकीलाई नेपाली आधुनिक कथाजगत्का 'टे्रन्डसेटर' मान्नेको जमात ठूलै छ। तर, तिनकै कथासंग्रह किन बिकेन होला? अग्रज कवि दिनेश अधिकारीले ब्राजाकीको कथासंग्रह नबिक्नुको कारण सोध्नु हुँदा पंक्तिकारले भनेको थियो– 'अघिल्लो पुस्ताले ब्राजाकी किन्दैन, पछिल्लो पुस्ताले उनलाई चिन्दैन। अनि कसरी बिक्छ त?'
बजारको बिजोग
कुनै पनि नयाँ पुस्तक निकालिसकेपछि प्रवर्द्धनका लागि कम्तीमा एक महिना समय खर्चन जरुरी हुन्छ। किनकि, देश–विदेशमा छरिएका पाठकलाई थाहा दिन, आवश्यक समीक्षा–समालोचना गराउनका लागि पनि त्यति समय आवश्यक पर्छ। तर, केही प्रकाशकले सातैपिच्छे पुस्तक निकाल्दै आएका छन्। यसबाट स्रष्टामाथि अन्याय त भएको छ नै, पाठक पनि राम्रा पुस्तकबारे थाहा पाउनबाट वञ्चित भएका छन्।
कतिपयले भन्न सक्छन्– 'कृति राम्रो हुने हो भने एक दिन आफै चर्चा पाउँछ। प्रवर्द्धन गरिराख्नैपर्दैन।' तर, यो बजारमुखी समयमा यस्ता तर्कले काम गर्दैनन्। सबै पुस्तक 'उलार' वा 'ऐना' हुन सक्दैनन्। पछिल्लो समयको पुस्तक बिक्रीको पहिलो आधार गुणवत्ता र 'माउथ पब्लिसिटी' नै हो। पत्रिकामा छापिने पुस्तक समीक्षाप्रतिको विश्वसनीयता स्वयं समीक्षकले नै लगभग समाप्त पारेको स्थिति छ। माउथ पब्लिसिटीको तहमा पुर्याउनका लागि पनि केही प्रचार–प्रसार जरुरी हुन्छ। त्यसका निम्ति प्रकाशले आवश्यक गृहकार्य गर्नु जरुरी छ। दुर्भाग्य, यतातिर कमै प्रकाशकले ध्यान दिएका छन्।
पछिल्लो समय पाठकले राजनीतिकेन्द्रित साहित्य पढ्न कम रूचि राखेको देखिएको छ। आँसु वा रोदन, शोषण, अत्याचार, यौनका कुरा पढ्दापढ्दा वाक्क भइसकेका छन् पाठक। उनीहरू कृतिमा बिल्कुलै नयाँपन खोजिरहेका छन्। कवितामा नयाँ शिल्प मन पराउँछन्। आख्यान हो भने त्यसभित्र आफूलाई खोज्छन्, माटो जमिनको स्पर्श चाहन्छन्। आफ्नो समाजलाई खोज्छन्। पाठकले आफू र आफ्नो समाज भेटेका कृतिले बजार लिइरहकै छन्। आफूले खोजको विषय वा शिल्प नभेटेका कृतिका बारेमा चर्को वितृष्णा ओकलेका छन्। चाहे बिक्रीमा रेकर्ड बनाएका पुस्तक नै किन नहुन्! हरेक पाठकको हातमा सूचना प्राप्त गर्ने साधन (मल्टिमिडिया) भएको अवस्थामा पाठकलाई अवमूल्यन गरेर कृति लेख्नु ठूलो जोखिम मोल्नु हो, यस्तो जोखिमले सम्बन्धित लेखकलाई त घाटा हुन्छ नै साथमा समग्र नेपाली साहित्यप्रति पनि वितृष्णा उत्पन्न हुन सक्छ। यतिमात्र होइन, पछिल्लो सयम कतिपय लेखक असाध्यै अल्छे हुँदै गएका छन्। उनीहरूमा पाठकको मनोविज्ञान–अपेक्षा बु‰ने, स्वसम्पादन गर्ने जाँगर नै छैन। लेखकले हेक्का के राख्नुपर्छ भने, लेखकभन्दा पाठक कैयौँ गुणा चतुर छन्, पढन्ते पाठकलाई देश–विदेशमा कस्ता साहित्य लेखिँदै छन् भन्ने जानकारी राम्रै छ। तोकिएको पैसा तिरेर कुनै पुस्तक किन्दा पाठक त्यसबाट आफ्नो लगानी पूरापूर असुल गर्न चाहन्छ। यो पाठकको अधिकार हो। आशा गरौँ, नयाँ पुस्ता पाठकको अपेक्षामा खरो उत्रने छ।
कुनै पनि प्रकाशन सफल हुन कभर डिजाइन एकदम व्यावसायिक हुनुपर्छ र यो प्राथमिकतामा पनि पर्नुपर्छ।
प्रकाशित: १२ चैत्र २०७३ ०५:२८ शनिबार