पदम श्रेष्ठ
प्रत्येक वर्ष फागु पूर्णिमाका दिन होली पर्व धूमधामका साथ मनाइन्छ नेपालमा । उपत्यकामा होली फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर कुमारीघरको दाहिने कुनामा नेपालमा प्रचलित विभिन्न जातजातिले पहिरने कपडाको छत्रलिंग चीर गाडेपछि पूर्णिमासम्म आठ दिन रंग अबिर र पानी छ्यापी मनाइन्छ ।
अबिरया होली तँ चाया ला ल्यासे
अबिरं छंगु ख्वा हिसि दयका बिई
न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों
ख्वालय् मखु नेतालय् अबिर तया क्यों
वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने यो पर्वमा गाइने होली गीतमा युवायुवती खुलेर हास्ने र रंग छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिइन्छ । तर, कतिपयले वसन्तपुरमा उठाइने सिंहसार्थबाहले तिब्बतमा अति सुन्दरी लाखें लक्षीबाट बचेर नेपाल फर्किन सफल भएको खुसियालीमा उठाइने चीरलाई हिन्दुस्थानी आख्यानमा आधारित होलीका दहनसँग जोडेर अपव्याख्या गर्ने गरेको पनि पाइन्छ ।
सिंहसार्थवाह होली र सिंगै राँगाको मासु
उपत्यकाको छुट्टै कथाअनुसार परापूर्वकालमा थबहिल(ठमेल) निवासी प्रख्यात व्यापारी सिंहसार्थवाह आफ्ना ७ सय व्यापारीका साथमा तिब्बतको ल्हासा पुगेर फर्कने क्रममा ब्रह्मपुत्र नदी पार गर्न लाग्दा अति सुन्दरी केटीको भेषमा राक्षस्नीहरूले प्रेमजालमा फसाउँछन् र राति तिनले आहारा बनाइदिन्छन्, तर सिंहसार्थवाह मात्र करुणामय भगवान्को प्रतापले वायुपंखी घोडामा बसी काठमाडौँ पुग्न सक्षम हुन्छन् । यही खुसियालीमा प्रत्येक वर्ष वसन्तपुर कुमारीघरनेर चीर उठाई हर्षोल्लासपूर्वक सप्ताहव्यापी होली मनाउन थालिएको बताइन्छ । उनै राक्षस्नीको प्रतिकृति स्वरूप फागु पूर्णिमाको रात वसन्तपुरको चीर लगी टुँडिखेलमा दहन गर्ने र इतुम्बहालबाट एउटा सिंगै राँगाको मासु र एकमुरी चामलको भात लगी गुरुमापा राक्षसलाई चढाउने गरिन्छ । यसबारे प्रचलित आख्यानुसार रोएर दुःख दिने बच्चाबच्चीलाई फकाउन जब आमाबाबुले चूप लाग नत्र गुरुमापालाई दिएर पठाइदिन्छु भनेपछि जब बच्चा सुत्थे तत्कालै गुरुमापा रातमा आई साँच्चै लिएर गई बच्चा खाइदिन्थे । यसबाट आजित अभिभावक इतुम्बहालका निर्माता केशचन्द्रकहाँ शरण लिन पुग्दा गुरुमापालाई बाचा गराइन्छ कि प्रत्येक वर्ष फागुपूर्णिमाको रात एकमुरी चामलको भात र एउटा सिंगै राँगोको मासु चढाइनेछ । तर, बालबच्चाको रक्षा गर्नुपर्नेछ । यही बाचा पूरा गर्दै प्रत्येक वर्ष सो परम्पराले निरन्तरता पाएको हो, जुन परम्परालाई हिन्दुस्थानको कथामा आधारित होलिका दहनसँग जोडेर अपव्याख्या हुँदै आइरहेको पाइन्छ भने चीर दहनसँगै टुँडिखेलमा गुरुमापालाई दिइने राँगाको मासुका सम्बन्धलाई धूमिल पार्ने कार्य हँुदै आइरहेको छ ।
चकँद्यः थँबहिल जात्रा र सिंहसार्थवाह
फागुन शुक्ल अष्टमीमा वसन्तपुरमा चीर उठाएकै दिन ठमेलस्थित विक्रमशील महाविहार
(सिंहसार्थबाहु) थबहिलको गजुरदेखि भुइँसम्म तोरणपताकाद्वारा अभिषेक गरेपछि होली पर्व सुरु हुन्छ । आठ दिने होली पर्वपछि विधिपूर्वक चीर जलाएपछि थँबहिलको चकँद्यः जात्रा ज्याठा, छुस्याबहाल, असन, इन्द्रचोक, हनुमानढोका, कुमारीघर, मरु नगरपरिक्रमा गरी मनाइन्छ । त्यहाँबाट प्याफल, नरदेवी, टेंगल, बांगेमुढा, ठँहिटी, क्वाबहाल हुँदै थँबहिल भिœयाएपछि चकँद्यः (सिंहसार्थबाहु) जात्रा सम्पन्न हुन्छ ।
चाँगुनारायण खटजात्रा
भक्तपुरको चाँगुनारायणमा वंश गोपालकृष्ण रथयात्रा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन भव्य खटजात्राका रूपमा हुने गर्छ । कृष्ण र राधाबीचको रंग खेललाई आधार बनाई हुने चाँगुनारायण वंश गोपाल खटजात्रा तान्त्रिक अनुष्ठान पूजापाठसहित राधाकृष्ण रुक्मिणीको सुन्दर मूर्तिसमेत नगरपरिक्रमा गर्दै मनाइन्छ । यसलाई सिन्दूरे जात्रा गर्दै चाँगु क्षेत्रको बलम्बू, तखादों, ढोका टोललगायतका स्थानमा परिक्रमा गर्ने गरिन्छ ।
तराई क्षेत्रमा होली पर्व
सत्ययुगमा विष्णुभक्त प्रल्हादलाई आफ्नै पिता दैत्यराज हिरण्यकश्यपुले हत्या गर्न गरेको अनेक प्रयासबाट पनि केही नलागेपछि आफ्नै बहिनी होलिका(जसले शिव भगवान्को आगोबाट नडढ्ने वरदान पाएकी थिइन्)को काखमा राखी जलाउन खोज्दा होलिका जलिन्, तर प्रल्हाद जस्ताको तस्तै आगोबाट बाहिर निस्किए । यसरी असत्यमाथि सत्यको विजयस्वरूप होलिकादहन उत्सवका रूपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन तराई र भारतमा हर्सोल्लासपूर्वक होली पर्व मनाइन्छ ।
त्यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न गोकुलबाट पठाइएको पुतना नाम गरेकी राक्षस्नीको स्तन चुसेर मारिदिएको खुसियालीमा होली खेल्न थालिएको कथन छ भने शिवपुराणमा सतीदेवीको वियोगमा तपस्या गरिरहेका शिवलाई कामवाण प्रहार गरी ब्युँझाउने दुष्प्रयास गर्ने कामदेवलाई तेस्रो नेत्रद्वारा भष्म गरिएको खुसियालीमा होली पर्व मनाउन थालिएको पनि अर्को आख्यान पाइन्छ ।
मिथिला होली
मिथिला क्षेत्र(जनकपुर) परिक्रमाको सातौँ दिन फागुन शुक्ल सप्तमीका दिन राम र सीताका सखीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ । त्रेतायुगको सो पर्वको स्मृति गर्दै होली खेल्न बिहान सबेरै ध्रुवकुण्डबाट रंग अबिर खेल्दै ८ किलोमिटरको यात्रासहित जनकपुरको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चनवनमा होलीको सुरुआत गरिन्छ । मिथिलावासीका लागि दशैँतिहार भन्दा पनि ठूलो चाड होली हुन्छ । कञ्चनवनलाई सीता र रामबीच यौनक्रिया भएको पवित्र स्थलका रूपमा लिने गरिन्छ ।
थकालीको तोरन्ल्ह
इष्टदेवता र पितृको स्मरण गर्दै हिमालपारीको जिल्ला मुस्ताङमा आदिवासी थकालीले मनाउने तोरन्ल्ह प्रत्येक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । थकालीभित्रका चार चन अर्थात् शेरचन, तुलाचन, हिराचन र भट्टचनले आआफ्ना इष्टदेवताको विशेष पूजा र तारो खेल्दै तोरन्ल्ह मनाइन्छ ।
ग्याल्बो ल्होसार
फागु प्रतिपदादेखि धान, जौ, मकै, गहुँको जहरा(जमरा) भगवान् बुद्धको मूर्तिमा उमारेर थालिने ग्याल्बो ल्होसार होली पूर्णिमासम्म विविध पूजा तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ । गहुँ, जौ, चामल वा अन्नको पिठो चिनी र घिउमा मुछी बनाइएको खाप्से– एक प्रकारको भिर रोटी फापर, कोदो आदि पिठोमा मासु हालेको पानीरोटी, तरुल भ्याकुर, सख्खरखण्डलगायतका कण्दमूल, सुन्तला, बदाम, नरिवलजस्ता फलफूल र माछामासुका परिकार खाने–खुवाउने र विविध झाँक्री नृत्यसहित ल्होसार मनाइन्छ । फागुपूर्णिमाका दिन महायानी गुम्बामा आयोजित भव्य सांस्कृतिक झाँक्री, पूजाका साथ गुरु रिम्पोछेबाट आशिर्वाद र शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
सहभागीलाई चिनी, सख्खर, महको सर्बत, दूध, दही, नौनी मिलाएर बनाएको कारसुम वा तामा, फलाम, सुन, चाँदी पवित्र रत्नको सर्बतका साथ गाता ओढाएर आकाशमा पिठो छरेर फागुपूर्णिमा मनाइन्छ ।
प्रेम दिवस : मुख खोल्ने दिन
नेपालमा मनाइने प्रेम दिवस फागुन महिनामा पर्ने फागू पूर्णिमा हो । यस दिन युवक–युवती अबिर, रंग खेल्दै ठूलो रौनकका साथ होली खेलिन्छ । नेपालमा भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस अंग्रेजी शिक्षा र क्रिश्चियन संस्कारसँगसँगै प्रवेश भएको हो । अझै पनि राजधानीछेउछाउका गाउँमा भ्यालेन्टाइन डे के हो थाहा छैन भने सहरी क्षेत्रका शिक्षित युवक–युवतीमा प्रेम दिवस भ्यालेन्टाइन्स डेमा कार्ड आदानप्रदान गर्दै मनाउने क्रम व्यापक बन्न पुगेको छ ।
यस दिन प्रेमभावना व्यक्त गर्न नसकेका युवक–युवतीले पनि आफ्नो भावना पोख्ने, इमेल, च्याट र अन्य सञ्चारमाध्यमबाट मन माझ्ने र प्रेमी–प्रेमिका नयाँ ठाउँ घुम्न जाने गर्छन् । कतिपय युवक–युवती भ्यालेन्टाइन्स डे(प्रेम दिवस) किन मनाइन्छ भन्ने कुरो नबुझेरै पनि आफूलाई आधुनिक देखाउन देखासिकीमा यसको पछि लागिरहेका पाइन्छन् । तर, जुनसुकै पर्व पनि जानेर–बुझेर अनि देश सुहाउँदो भए मात्र स्वीकार्नुपर्छ भन्ने आजको माग हो । एक रोमन शासकले आफ्ना सैनिकलाई विवाह गर्न दिए राम्ररी काम गर्न सक्दैनन् भन्ने गलत मानसिकताका कारण जीवनभर विवाह गर्न दिएनन् । तर, सेन्ट भ्यालेन्टाइनले आफ्नो हातमा शासन पर्नासाथ रोमन शासकको प्रेमविरोधी निर्णय हटाई सबै सैनिकको एक समारोहमा विवाह गराइदिएका थिए । त्यसै दिन अर्थात् फेबु्रअरी १४ तारिखलाई उनैको नाउँबाट भ्यालेन्टाइन्स डे नाउँले प्रेम दिवस मनाउन थालिएको हो ।
प्रणय दिवस उपहार आदानप्रदान गर्ने सर्वोत्तम दिन मात्र होइन, प्रेमी–प्रेमिकाबीच सम्बन्ध सुमधुर पार्ने तथा एकअर्कालाई निकट बनाउने पवित्र अवसर पनि हो । कतिपय प्रेमी–प्रेमिका यस दिनलाई शरीर प्राप्तिको अवसरका रूपमा दुरूपयोग पनि गर्छन् । भ्यालेन्टाइन्स डेलाई शारीरिक स्पर्शभन्दा एकले अर्कालाई बुझ्ने अवसरका रूपमा लिइनुपर्ने धारणा कतिपयको छ । तर, यस दिन प्रेमी–प्रेमिकाबीच भेटघाट÷मन माझ्ने र अनुभव आदानप्रदान गर्ने कार्य हुन सकेन भने चौरासी व्यञ्जनपछिको ढिँडो, दसैँ सकिएपछिको टीको, भाइपूजाको भोलिपल्टको ढोग, लगनपछिको पोते भनिएजस्तै भ्यालेन्टाइन्स डेको अर्थ हुँदैन ।
प्रकाशित: २८ फाल्गुन २०७३ ०५:४३ शनिबार