रामेश श्रेष्ठ
‘स्वागत छ हङकङमा दाजु–भाउजुलाई । सन्चोसुबिस्तै आउनुभयो नि दाजु !’ किसन भाइले पहेँलो खादा ओढाउँदै एयरपोर्टमा स्वागत गर्दै भन्नुभयो– ‘काओलिन क्याफेमा साथीहरू पर्खिरहनुभएको छ ।’
‘ओहो, मेरो दाइ ! रोक्ने को हो दूरदर्शी विचारका धारा, को हो नयाँ नेपालको बोक्ने अभिभारा ?’ अब भन्नुस् कल्ले बनाउँछ दाजु नयाँ नेपाल ? दाजुसँग भेटेर यही सोध्न हामी सबै कुरेर बसिरा’को ।’ शिव सुब्बा भाइले अँगालोसँगै प्रश्न पनि गरिहाल्नुभयो ।
दोश्रो विश्वयुद्ध लडेका ती पुराना वीरले मेरो सानो परिचय लिइसकेपछि झम्म रुखहरूले घेरेको सानो पार्कमा नेपालको राजनीति र तिनका नेताका चर्तिकला सुनाएर जिउ हल्का पारे । बिदा हुनेबेलामा भेटघाट, कुराकानीको बिट मार्दै उनले भने– ‘लौ हङकङको दुःख यस्तै छ है सर ।’ विस्तारै त्यहाँबाट हिडे बूढा योद्धा । आँखामा अग्लाअग्ला सुइरेघरका दृश्य परे पनि मन चैँ मेरो कताकता हराइरहेको थियो ।
‘सबै विकल्प सकियो दाइ, सबै उस्तै रहेछन् । सात सालदेखि हेरियो, यसले पो गर्ला कि, उसले पो गर्ला कि ! गर्छु भन्नेहरू सबै सत्तामा चढेपछि आलु कुहिएझैँ कुहिएर सकिए । जनताका कोखमा जन्मेका जननेता राणा, शाहका नयाँ रूप भएर पो निस्किए ! पन्चायतीभन्दा पनि खराब । अब हामी नेपालीको भविष्य के पो होला त दाइ ?’ अर्को प्रश्न थियो इन्द्र वनेमको ।
‘यो काओलिन पार्क हो । पुराना मान्छेहरू भन्छन्– विश्वयुद्धताका गोरखा सैनिकको ठूलो छाउनी थियो यहाँ । यी हेर्नोस्, पार्कको छेउकुनामा फलामका पुराना तोपहरू...! यिनै तोपबाट हाम्रा बाजेहरूले शत्रुलाई मार हाने । तर, कसका शत्रु थिए ती ? किन लड्नुप¥यो तिनीहरूसँग ? विचरा हाम्रा पूर्खाहरूलाई के थाहा ? राणा सरकारको उर्दी थियो– ‘संसारका अगाडि नाक राख्नू ।’ त्यै नाक राख्न के गरे, के गरेनन् हाम्रा बराजुहरूले ! तिनकै बहादुरीको झरलपरल खान हामी यहाँ आएका छौँ दाइ । यसमा केही गौरव छैन ।’ भोलिपल्ट बिहान इन्द्र वनेमले पार्क घुमाउँदै अनेक जानकारी दिइरहनुभएको थियो । ‘यत्रायत्रा फलामे तोपहरू कहाँ–कहाँबाट कसरी ल्याए होलान् पूर्खाले ! भयावह विश्वयुद्धमा आगोको गोला ओकलेर मान्छे मार्ने यी फलामे दैँत्यहरू आज यहाँ खिया खाएर बसिरा’को हेर...!’
‘हेलो...।’ कसैले छेउबाट नाकेस्वरमा अभिवादन ग¥यो । लौ चारैतिरबाट ‘हेलो हेलो हेलो’को आवाजले पो छोप्न थाल्यो हामीलाई त ! अरे, सुगैसुगा राखेको ठाउँमै पो आइपुगेछौँ हामी त ! हँसाए सुगाहरूले पनि ! हामीले पनि ‘हेलो हेलोे’ भनेर सुगालाई जवाफ फर्कायौँ । ठूलो जिउ परेको निला, राता, काला, हरिया, पहेँला, सेता रंगका रहरलाग्दा सुगा । सफा निलो तलाउ । छेउमै हरिया झ्याम्म रुखहरू । उड्न–खेल्नका लागि फराकिलो ठाउँ । कति राम्रो व्यवस्था चराचुरुंगीका लागि पनि हङकङमा ! हामीलाई नै हेर्न निस्केझैँ तलाउबाट निस्केका थिए एक बगाल ससाना कछुवा । रुखको ठुटामा लहरै, बिहानको पारिलो घाम ताप्न, आहा...!
‘आफूलाई गाली गरे सहन्छु, राष्ट्रलाई गाली गरे झम्टन्छु’ कालो कपाल सर्लक्क निधारमाथि कोरेका एक ओजिला व्यक्ति आफू ब्रिटिस सैनिकमा काम गर्दा गोरे अफिसरहरूसँग लडेभिडेको वर्णन काओलिन क्याफेमा चिया पिउँदै वरिपरि बसेकालाई सुनाइरहेका थिए । ब्रिटिस फौजका ती गोरा सा’बसँग घनघोर परिगो नि एकदिन । रिसले धुवाँ छुटिगो । ‘भन्त तैँ, म तेरो देशका लागि मर्न सक्छु भने मेरो आफ्नो देशको लागि चैँ मर्न सक्दिनँ ?’ नेपाली सैनिकहरूलाई गोराले गरेको पक्षपात र शोषणको एकएक हिसाब अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लडेरै भए पनि लिएरै छोडने अभियानमा जुटेका थिए भुतपूर्व नेपाली ब्रिटिस लाहुरेहरू । उनीहरूको संगठन गेसोको बैठक हँुदैथ्यो हङकङमा । त्यसैमा सहभागी हुन आएका थिए उनी । नजिकै गएर मैले उनको शुभनाम सोधेँ ।
‘मणि किरात बान्तवा ।’
बलियो हात मिलाए मसँग, ती नेपाली छोराले ।’
अर्को दिन बिहानै इन्द्र आउनुभयो । कुराकै सिलसिलामा उहाँले सोध्नुभयो– ‘हैन दाइ, कम्युनिस्ट भनेको कस्तो पो हुन्छ ? आफूलाई कम्युनिस्ट हुँ भन्ने कमरेडहरू अरुलाई बुर्जुवा भन्दै बहुत हेप्ने, गाली गर्ने गर्छन् । तर तिनले गाली गर्ने बुर्जुवा र आफूलाई कम्युनिस्ट भन्ने तिनको चरित्र र व्यवहार हेर्दा–भोग्दा त्यस्तो क्यै फरक देख्तिनँ नि त हौ दाइ म त ! के हो ?’
माले पार्टीका नेता कमरेडहरूले उहिले हामी कार्यकर्तालाई ‘असल कम्युनिस्ट कसरी बन्न सकिन्छ’ भनेर शिक्षादिक्षा दिएका कुरा बिस्तारै इन्द्रभाइलाई सुनाउन थाल्छु । ‘कम्युनिस्ट बन्न चाहनेले आफ्नो निजी जीवन त्याग गरेर सामूहिक जीवनमा बाँच्ने सिद्धान्त र पद्धतिलाई स्विकार्नुपर्छ । कम्युन अथवा सामूहिक ढंगबाट उच्च विचार र सरल सादगी जीवनशैलीमा रहने–बाँच्ने भएकाले नै उनीहरूलाई ‘कम्युनिस्ट’ भनेको हो । अनि व्यक्तिवादी ढंगबाट शानसौकत ऐयासी बिलासी ढंगबाट बाँच्न खोज्नु पुँजीवादी बुर्जुवा वा सामन्ती जीवनशैली रोज्नु हो । त्यसैले सामुदायिक जीवनशैली अपनाउने कम्युनिस्टहरूको व्यक्तिगत वा निजी सम्पत्ति किमार्थ हुनु हुन्न । किनकि, झगडाको बीऊ भनेकै निजी सम्पत्ति हो । म र मेरो भन्ने भावना र व्यवहार नै हो । यसैकारण हर क्षेत्रमा श्रम गर्ने श्रमिकलाई ठगेर धनी बनेका वर्ग बैरीहरूसँग संघर्ष गरेर तिनलाई परास्त पार्दै बहुसंख्यक शोषित पिडित वर्गको हित गर्ने समाजवादी राज्यव्यवस्था स्थापित गर्नेहरूलाई नै कम्युनिस्ट भनिन्छ । जसको जीवनशैली जनतालाई आदर र विश्वास लाग्ने उच्च आदर्शमा बाँधिएको हुनु अनिवार्य छ ।’
‘अनि नेपालका कम्युनिस्ट तपाईंले भनेजस्तै छन् त दाइ ?’ मेरो बोली पूरा नहुँदै उहाँले सोध्नुभयो । मैले गम्भीर जवाफ दिएँ– ‘ २०४६ सालदेखि नेपालका कम्युनिस्टहरू सत्तामा चढे, चढ्दै गए, चढिरहेका छन्— कहिले एमाले, कहिले माओवादीका रूपमा । अब सोध्नोस् सारा नेपाली जनतालाई, उनीहरूले भनेजस्तै कम्युनिस्ट जीवनशैली आफैले व्यवहारमा उतारे कि उतारेनन् ? त्यो नै तपाईंको प्रश्नको जिउँदो उत्तर हुनेछ ।’
समुद्रको पानी नुनिलो हुन्छ भनेर बच्चामा पढेको थिएँ । आज जाँचियो । हो रैछ । कडा नुनिलो...! घाँटी नै खि¥याउने ! समुद्रको किनारामा छुट्टी मनाउन आएका नेपालीको निम्तोमा हामी गोल्डकोस्ट समुद्री किनार पुगेका थियौँ । प्रायः सबै स्टलमा नेपाली अनुहार देखिए, भेटिए । पुराना साथीभाइले अँगालो हाले । नयाँहरूसँग ताजा परिचय भयो ।
‘दाइ, क्या मस्तिमा देखिन्छन् हगि नेपालीहरू ? आगोका भरभराउँदा बडाबडा भुंग्रामा मासु पोल्दाछन्, खाँदाछन् । नमात्ने गरी अलिअलि लगाएका पनि छन् । हाँसेका छन्, नाचेका छन् । प्रायः सबैका हातमा महँगो आइफोन देखिन्छ । क्या सुखी हगि दाइ ?’ तर, एकैछिनमा उदास स्वरमा कताकता हराउँदै, त्यो रमाइलोभित्र गहिरो दुःख लुकेको कुरा गर्नुभयो शिव भाइले ।
‘अरबको मरुभूमिमा राति सग्लै सुतेका नेपाली बिहान उठ्दैनन् भन्ने खबर संसारभरि फैलिन्छ, तर हङकङको चैँ कता हराउँछ कता ! यहाँ पनि त त्यस्तै छ नि दाइ । भर्खरैका तीन–चार महिनाभित्र मात्र चार जनाजति त्यसरी नै राति हाँस्दैबोल्दै सुतेका, बिहान उठेनन् ! मलेसियाबाट पनि त्यस्तै खबर आइरहन्छ । यस्तो खबर सुन्दासुन्दा कोही साथीहरू त सहन नसकेर बेस्सरी धोकेर ढल्छन् । अनि बिहान आफूलाई जिउँदै भेट्टाए ‘हुर्रे’ भन्दै हाँस्दै उठने गर्छन् । हङकङमा पनि जिन्दगीको क्यै ठेगान छैन दाइ, हामी नेपालीको । आजको यो रमाइलो हाम्रो बेठेगान जिन्दगीको रमाइलो भनेर बुझिदिनुहुोस् है दाजु ।’ नरम, सभ्य अनुरोध थियो शिव सुब्बा भाइको ।
समुद्री किनारमा हिँड्दाहिँड्दै शिव भाइले दुःखको अरु व्यहोरा बताउन थाल्नुभयो– ‘हङकङका हामीलाई कति न सुखी सम्झन्छन् नेपालमा बसिरहेका नागरिक । तर, त्यसो होइन, नेपालीको काम जहाँ गए पनि त्यै त हो नि दाइ । अरुले गर्न नचाहने, नसक्ने काम मात्र त हो हाम्रो भागमा । ८० तल्ले, १०० तल्ले घरमाथि झ्याल–ढोका, सिसा फिट गर्नुपर्छ । तल हेर्न हुँदैन, रिंगटा लागेर भक्कै हाडखोर पनि नपाइएलाजस्तो ! के के मात्र बनाएनन् नेपालीले हङकङमा ? गोराले छाडेको भन्दा पाँच गुना प्रगति भएको छ भन्छन् हङकङेहरू । तर, ती सब बनाउने पहिलो पंक्तिमा हामी नेपाली नै त हुन्छौँ । अझ नेपाली महिला लोग्नेमान्छे भन्दा अगाडि छन् त्यस्ता काममा । समुद्र पुरेर एयरपोर्ट बनाउँदा, बडाबडा–लामालामा पुलहरू समुद्रमाथि लगाउँदा नेपाली महिलाले देखाएको बहादुरीको तारिफ कसले गरेन ? हङकङमा त्यसै टिकेका छन् र नेपाली ?’
‘एइ एमएस्सी, कता छस् आजकाल ? कस्तो काममा, काँ लागिस्, ल मलाई खबर दे त ।’ बोल्दाबोल्दै बाटोमा हिँडिरहेका एकजना भाइलाई च्याप्प समातेर सोधे शिव भाइले । ‘दाजु यहाँ एमएस्सी, एमबीबीएस पास गरेका थुप्रै नेपाली विद्यार्थी काम गर्न आउँछन् । रामै्र नम्बरमा पास गरेका छन्, तर पढेको रकम लागत कहिले उठाउने ? काम पनि काँ पाइन्छ र त्यत्तिकै ’ कसै गरेर हङकङ छि¥यो अनि डाक्टर–इन्जिनियरसापहरू लागे है नाइटोको नसा चुँड्ने गरी कन्स्ट्रक्सनको काममा । हामी पनि उनीहरूलाई नामले चाहिँ बोलाउँदैनौँ । उनीहरूले पाएको डिग्रीले नै बोलाउँछौँ...‘ए एमबीबीएस, ए एमएस्सी, ए डिग्री कान्छा...!’ माया चैँ सारो गर्छौं है उनीहरूलाई फेरि । आफूलाई भन्दा बेसी नै माया गर्छौं । हामी नपढेकाले गर्ने काम पढेकाले गर्न आएका छन् । कठै जस्तो पनि लाग्छ !’
नेपालीले आफ्नो कलासंस्कृति जोगाएका छन् हङकङमा । ससाना नेपाली कार्यक्रम र समारोह नभएको दिनै हुँदैन । एउटा कार्यक्रममा पुुग्दा नेपाली दौरासुरुवाल लगाएका एक लिम्बू युवक उद्घोषण गरिरहेका थिए । नेपाली भाषामा अति आकर्षक ढंगमा बोलिरहेका थिए । त्यहाँ त भेट्न सकिनँ, अर्को कार्यक्रममा मैले उनलाई भेटेँ । हाम्रो परिचय भयो । चलचित्र बनाउने थुप्रै तालिम पनि लिएका रहेछन् । केही काम पनि गरेका रहेछन् । उनले भने– ‘दाजु, काठमाडौँमा टिक्न नसकेर हङकङ पसेँ । बाबु–बराजुहरूले विश्वयुद्ध लडेर गोरासाबहरू रिझाएका रहेछन्, त्यै मेसोबाट निकै नेपाली यता छिरेका छन् । के गर्नु दाइ हामी नेपाली बेचिनै जन्मँदा रैछौँ । बुद्धिभा’काहरू बुद्धि बेच्न गोराका देशतिर पश्चिम लाग्छन् । बल बेच्नेहरू खाडी, कोरिया, मलेसिया, हङकङतिर... यस्तै हो ! नेपालीसँग बल छ, इमानदार छन् हैन र दाजु ? त्यै बल र इमान किन्न त दुनियाँका मालिकहरू होडाबाजी गर्दै मान्छे बेच्ने बजारमा हामीलाई खसीबोकाझैँ किनेर आआफ्ना देशतिर लान्छन् । एक किसिमले यस्तै पेशाबाट संसारैभर छरिएका छौँ हामी नेपाली ।’ कोठाको छततिर निकैबेर हेरेपछि उनले मलाई हेर्दै भने– ‘नेपालमा दाजुका गीत सुन्नेहरूले तपाईंहरूका गीत यता पनि ल्याइपु¥याएका छन् । तिनै गीतहरूले हामी तपाईंलाई चिन्छौँ ।’ राजनीतिक चेतना भएका युवा थिए । देशको सेवा गर्ने मन भएको कुरा गर्दै उनले थपे– ‘बाध्यता छ दाजु, चलचित्र निर्माणमा रूचि राख्ने म र मजस्ता हङकङको समुद्रमुनि कन्स्ट्रक्सनका काममा धसिएका छौँ । पृथ्वीको गर्भभित्र सय–दुई सय मिटरमुनि सुरुङमा निस्सासिँदै काम गर्दा कहिलेकाहीँ आज चैँ पक्कै माथि आइँदैनजस्तो लाग्छ । यताको सरकारले लेबरलाई प्रशस्तै सुविधा र सुरक्षा दिँदादिँदै पनि धर्तीभित्र नब्युँझिने गरी निँदाउने कति छन् कति ! तर, अलि धनको जोहो गरेर देश फर्कन्छु म । साथीहरू पनि थुप्रै बनाउँदैछु । ढिलोचाँडो उनीहरू पनि देशैमा आउँछन् ।’ छुट्टिनेबेलामा उनले भने–‘लौ त रामेश दाजु, भाइ मौसम लिम्बूको बाईबाई है...।’
‘खत्तम छ सर हङकङमा पनि । नेपालीलाई काँ मिल्न दिएका छन् र पार्टीहरूले ! कोइ एमाले, कोइ कांग्रेस, कोइ माओवादी । यता त मसिना भुरा पार्टीहरू पनि ‘मै हुँ’ पो भन्छन् त । सप्पैले आआफ्ना पार्टी च्यापेका छन् । सप्पैका आआफ्नै नेता ठूला । काठमाडौँबाट ठूला नेता आउँदा ओहो कत्रो हर्ष ! कत्तिका मानमनितो ! आफ्नो बाबु–आमा सप्पै बिर्सिन्छन् । एउटा पार्टीमा लाग्नेले अर्को पार्टीलाई देखाउनै पनि कत्रो तामझाम, फार्तिफूर्ति ! नेतालाई एयरपोर्टमा स्वागत गर्न जुलुसै हुल्न खोज्ने । नारा हान्ने पनि उध्धुमै । ठूलो हलमा टन्न मान्छे । पेशै भाषण गर्ने ! कति मीठा भाषण गरिदिने नेताहरूले फेरि ! हामी लठुवाहरू चैँ तिनका इन्द्रजाले भाषणमा मक्ख ! बूढा भएर बल सकिएपछि बुढ्यौलीमा नेपाल फिर्दा तिनले बनाइदिएको स्वर्गजस्तो मुलुकमा बस्न पाइएला भन्ने आश गर्ने हामी कत्ति मूर्ख ! भन्न त भनिदिन्छन् नेपाललाई गोडा पाँचेक वर्षमा सिंगापुर, हङकङजस्तै बनाइदिन्छौँ भनेर ! देशतिर यसो हे¥यो अझ दिनदिनै भत्केजस्तो लाग्दै गरेको मात्र देखिन्छ, अनि त ? नेतालाई क्या मस्ती हङकङमा ! पार्टीले नै मस्त घुमाउने, डुलाउने, ख्वाउने । हिँड्नेबेलामा बाटो खर्च भन्दै कार्यकर्ताहरूबाट चन्दा पनि टन्नै ! पाँच–छ सुट्केसभन्दा बढी खास्साखास्साका उपहार । कोइकोइलाई त ल्यापटपको खातमाथि खात । कसैकसैलाई सुनैसुनका लोला ।
आफू नोकर भएर मालिक रिझाउन कति जानेका हामीले ! मलाई त लाग्छ हामी नै ग्वांग्रे लाटा ! नेताहरूले पार्टी खोलेर एकोटा सभापति, सचिव अनि के के हो भिराइदिएर ट्यास्स पार्दा भाग्यै बलेको सम्झने । तिनले त्यसरी पार्टी खोलेर तिनलाई पगरी गुथाइदिएका आफूलाई मान्ने, डुलाउने, ख्वाउने, खर्च दिने झोले–झन्डे नोकरहरू तयार गरेका हैनन् ? बुझ्दैनन् लाटा नोकरहरू ! पार्टीमा लागेपछि आँधो भइहाल्छन् । म त फुक्का, सप्पै तमासा हेरेर एक्लै हाँस्दै बसिरहन्छु सर ।’ दोश्रो विश्वयुद्ध लडेका ती पुराना वीरले मेरो सानो परिचय लिइसकेपछि झम्म रुखहरूले घेरेको सानो पार्कमा नेपालको राजनीति र तिनका नेताका चर्तिकला सुनाएर जिउ हल्का पारे । बिदा हुनेबेलामा भेटघाट, कुराकानीको बिट मार्दै उनले भने– ‘लौ हङकङको दुःख यस्तै छ है सर ।’ विस्तारै त्यहाँबाट हिडे बूढा योद्धा । आँखामा अग्लाअग्ला सुइरेघरका दृश्य परे पनि मन चैँ मेरो कताकता हराइरहेको थियो । हङकङका यस्तै अनगिन्ती दुःखहरूमा...!
प्रकाशित: २८ फाल्गुन २०७३ ०५:३३ शनिबार