एउटा जोडी। एकै रथका दुई पांग्रा। जिन्दगीकै सहयात्री। यस्तो जोडी शब्दयात्रामा एकसाथ। वाह्! क्या रमाइलो! जता जाँदा पनि सँगै हुन पाइने। एकले अर्कोलाई सजिलै बु‰न सकिने। लेखनकार्यमा सहयोग हुने। बाहिरबाट देख्दा यस्तैयस्तै सोचिन्छ। वास्तवमा बाहिर अनुमान गरिए वा देखिएजस्तै दुवै जना अर्थात् बूढाबूढी नै एउटै क्षेत्रमा हुनुमा मज्जा छ त! कि अल्झन वा ईर्ष्यामात्रै बेहोनुपर्छ?
साहित्य क्षेत्रमा लागेका लेखक जोडीहरूको अवस्था कस्तो होला भन्ने जिज्ञासामा कवि तथा समीक्षक विप्लव ढकाल भन्छन, 'दुवै जना लेखनमा लाग्दा रमाइलो नै हुन्छ, तर समस्या नहुनेचाहिँ होइन।' विप्लवको अनुभवमा भने दुवै जना लेखनीमै समर्पित हुन निकै गाह्रो रहेछ। तर, श्रीमती पनि लेखक भएकैले जुनीजुनीमा तिर्न नसक्ने सहयोग गरेको विप्लव सुनाउँछन्।
साहित्यमा रचनासँगै पाठक, स्रोता तथा समालोचकको पनि महŒवपूर्ण भूमिका हुन्छ। लेख्नु ठूलो कुरा होइन, राम्रो लेख्न सक्नु ठूलो कुरा हो। आफ्नो रचना आफैलाई त राम्रो लाग्न सक्छ, तर त्यो सबैलाई राम्रो नलाग्न पनि सक्छ। त्यसका लागि लेखिसकेपछि साहित्यको ज्ञान भएकासँगै सुझाव लिनु आवश्यक हुन्छ। यस कार्यका निम्ति दुवै जना लेखक हुनुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रायः लेखक जोडीको अनुभव छ।
विप्लव र उनकी श्रीमती पद्मा आर्याल दुवै जना लेखनमा छन्। पद्मा विशेषगरी गजल, कविता, समीक्षा लेख्छिन्। पछिल्लो समय पद्मा समालोचनामा बढी केन्द्रित छिन्। विवाहपछि व्यावहारिक हुनु परेकोले लेख्ने समय कमै हुने पद्माको भनाइ छ। 'विवाहपछि महिलाको काँधमा अनेक जिम्मेवारी आउने हुँदा लेखनमा समय अपुग हुँदोरहेछ,' पद्माले अनुभव सुनाइन्, 'समय भएर लेख्न पाउने हो भने दुवै जना यही कार्यमा हुुनु रमाइलो नै हुन्छ।' घरव्यवहार तथा कार्यालयसमेत भ्याउनुपर्ने बाध्यता छ पद्माको। विप्लवले पनि उनको कार्यमा सहयोग त गर्छन्, तर प्रायः विप्लव आफ्नै काममा व्यस्त रहन्छन्। लेखिसकेपछि पहिलो स्रोता तथा समालोचक भनेकै एकअर्का हुने गरेको पद्मा बताउँछिन्। 'उहाँले राम्रो लेख्दा मलाई खुसी लाग्छ। त्यसैले त व्यावहारिक कार्य भ्याएसम्म म आफै धानेर उहाँलाई स्वतन्त्र छोडिदिएकी छु,' उनले भनिन्, 'दुवै जना लेखक नै भएका कारण एकअर्कालाई बु‰न सकेका छौं। एकअर्काको सृजना सुन्न र राम्रो बनाउन सकेका छौँ।'
जोडी लेखक राजन मुकारुङ र प्रगति राई भने दुवै जनाको लेखन दरिलो हुँदाहुँदै पनि एउटै क्षेत्रमा भएपछि एकजना छायाँमा परिने बताउँछन्। 'प्रगतिको लेखन पनि उत्तिकै दरिलो छ,' राजनले भने, 'तर उनको लेखनको चर्चा हुँदैन, किनभने प्रगति राजनकी बूढी हो अनि लेखिहाल्छ नि भन्ने भ्रम हुँदोरहेछ।' एक जनाले ख्याति कमाएपछि अर्कोको लेखनलाई त्यसकै छायाँका रूपमा हेरिने अनुभव राजनको छ। 'जोडी लेखक हुनुको ठूलै असर पर्दो रहेछ,' राजन भन्छन्। उसो त दुवै जना लेखनमा मात्रै सक्रिय भइरहँदा व्यवहार कमजोर हुने राजनको बुझाइ छ। तर, श्रीमती पनि लेखनमै भएका कारण श्रीमान्लाई बु‰ने कुरामा भने एकदमै सहयोग पुग्ने उनी बताउँछन््। 'मेरी श्रीमती लेखनमा थिइनन् भने सायद मलाई यसरी स्वतन्त्र छोडिदिने थिइनन्,' उनी भन्छन्, 'उनले साहित्यको नसा तथा यसलाई राम्ररी बुझेकै कारण मैले स्वतन्त्र हुन पाएको छु। म लेखनमै समर्पित भएर लाग्न सकेको छु।'
प्रगति पनि जोडी लेखक हुनुले घरव्यवहारमा गाह्रै हुने बताउँछिन्। लेखनबाट पर्याप्त आम्दानी नुहँदा दुवै जना एउटै क्षेत्रमा भएपछि व्यवहार धान्न गाह्रो हुने उनको अनुभव छ। 'उहाँलाई स्वतन्त्र छोडेर म भने लेखनसँगै आम्दानीको पाटोमा पनि लागेकी छु,' प्रगति भन्छिन्, 'अहिले आर्थिक हिसाबले समाजले मलाई जोड्छन् अनि लेखनको हिसाबले उहाँलाई जोड्छन्। यस्तो बेलामा भने सारै नराम्रो लाग्छ। तर, हामी अहिले आर्थिक र लेखन क्षेत्रमा दुवै जना उत्तिकै लागिरहेका छौँ। उहाँले लेखनबाट राम्रो आम्दानी गरिरहनु भएको छ भने मैले पनि अरु आम्दानी हुने काम गरेर पनि राम्रै लेखिरहेेकी छु।' आफूले घरव्यवहार धानेर श्रीमान्लाई लेख्न स्वतन्त्र छोडिदिँदा आफूलाई विषयले घोचेका बखत लेख्ने अवसर नपाएको दुखेसो पोख्छिन् प्रगति। 'लेख्छु भनेको समयमा पनि लेख्न पाउँदिन,' उनले भनिन्, 'यस्तो बेलामा भने कुनै लाहुेरसँग विवाह गर्न पाएको भए फुलटाइम लेखनमै लागेर कति धेरै लेख्न सक्थेँ होला भन्ने लाग्छ।'
नेपालमा अधिकांश लेखकका निम्ति साहित्य सोख हो, पेसा होइन। यसले पेसा वा आजीविकाको आधार बन्न अझै सकेको छैन। साहित्य जतिबेला पनि मुडअनुसार फुर्न सक्छ। र, फुरेको बेला लेख्न सक्नुपर्छ अन्यथा बिर्सन पनि सकिन्छ। साहित्यकार मन्जुल र सुस्मिता नेपालको जोडीमा पनि यस्तै हुन्छ। 'कहिलेकाहीँ दुवै जनालाई एकैपटक लेख्ने मुड चल्छ,' सुस्मिता भन्छिन्, 'व्यवहार पनि हेर्नैपर्छ तसर्थ एकैपटक दुवै जना लेख्न बस्न पाइँदैन। तर पनि हामी एकअर्कालाई राम्रोसँग बु‰ने भएकाले समय मिलाएर लेख्न बस्छौँ।'
संगतगुनाको फल भनेजस्तै सुस्मिता लेखनमा आएकी हुन्। मन्जुलसँग विवाह भएको ५ वर्षपछि मात्रै सुस्मिताले लेखनयात्रा सुरु गरेकी हुन्। 'पहिला खुब पढ्थेँ तर लेख्दिन् थिएँ,' सुस्मिता भन्छिन्, 'उहाँकै प्रेरणाले लेख्न थालेकी हुँ।' मन्जुलसँग कविता लेख्न सिक्न एकताका नयाँ–पुराना कविको भीड नै लाग्थ्यो। नयाँ कविले कविता लेखेर मन्जुललाई सुनाएको देख्दा यस्ता कविता त म पनि लेख्न सक्छु जस्तो लाग्यो सुस्मितालाई। एउटा कविता लेखेर सुस्मिताले डराइडराइ आफ्ना पति मन्जुललाई देखाइन्। मन्जुलले सुस्मिताको कविताको प्रंशसा गर्दै लेख्न हौसाएपछि लेखनी आरम्भ भएको हो। 'उहाँसँग विवाह नभएको र उहाँको साथ नपाएको भए लेखन क्षेत्रमा हुने थिइन,' सुस्मिताले भनिन्, 'मेरो लेखनको प्रेरणाको मूलस्रोत नै उहाँ (मन्जुल) हुनुुहुन्छ।'
मन्जुललाई दुवै जना लेखनमा रहँदा खुसी मिलेको छ। 'सुस्मिताले प्रशंसनीय रचना लेखिदिँदा सबैभन्दा खुसी लाग्छ,' मन्जुल भन्छन्, 'साहित्यिक गुण जन्मजात हुन्छ, तर लेख्न भने वातावरण मिल्नुपर्छ। सुस्मितालाई पनि विवाहपश्चात् त्यही वातावरण मिलेर लेख्न सकेकी हुन्।' मन्जुलका अुनसार आफूले बुझेर सहयोग गर्दागर्दै पनि पुरुषलाई जस्तो महिलालाई लेख्ने वातावरण बन्दैन। तापनि रूचि एउटै भएका श्रीमान्–श्रीमती हुँदा भने जीवन सारै रमाइलो हुने मन्जुलको अनुभव छ। एकआपसमा समझदारी हुँदा प्रशंसा, आलोचना तथा सल्लाह दिने वातावरण बन्छ। साहित्य लेख्दा कसैले सुनेर प्रशंसा गरोस् वा अझै राम्रो बनाउन सुझाव देओस् भन्ने हुन्छ। यसका लागि जोडी नै लेखक भएपछि सहज हुने मन्जुल–सुस्मिताको भनाइ छ। एक जना लेखनमा र अर्को बेग्लै क्षेत्रमा हुँदा लेखन तथा साहित्यको स्वाद थाहै नहुने वा रूचि नमिल्न सक्छ। तसर्थ, एउटै क्षेत्रमा भएमा स्वाद थाहा हुने भएकाले पनि लेखनमा थप हौसला मिल्ने उनीहरू बताउँछन्।
साहित्य जीवनमै भएका घटना हुन्। ती घटनालाई माला उनेर पस्किन जान्दा साहित्य बन्छ। चोट, वेदना, माया, अनुभूति यी सबै साहित्यका कच्चा पदार्थ हुन्। मान्छेलाई जब चोट पर्छ तब मनमा बह उत्पन्न हुन्छ र लेख्न बस्छ। पोख्ने ठाउँ बन्छ साहित्य। तर, बह हुनेबित्तिकै लेख्न थालिहालिन्छ भन्ने होइन, त्यसका लागि वातावरण अनुकूल हुनुपर्छ।
आख्यानकार जलेश्वरी श्रेष्ठको लेखनयात्रा पनि यस्तै छ। छोरीको नागरिकता बनाउन जाँदा आफ्नो नामबाट बनाउन पाइनन् उनले। यही पीडा उनले नारी साहित्यकारहरूको भेलामा पोखिन्। उनको अनुभव सुनेपछि उपस्थित साहित्यकारले लेख्न हौसाए र उनको लेखनयात्रा सुरु भयो। उसो त उनी बीसको दशकका प्रख्यात तथा प्रयोगवादी कवि द्वारिका श्रेष्ठकी श्रीमती हुन्। द्वारिका र जलेश्वरीको लेखक जोडीले एउटै क्षेत्रमा लागेर रमाइलो अनुभव बटुलेका छन्। 'लेखक जोडी हुन पाएकोमा हामी दुवै खुसी नै छौँ,' जलेश्वरीले भनिन्, 'सृजनशीलताभित्रबाट आउने कुरा हो तसर्थ एकले अर्कोलाई सिकाउने त खासै अवस्था रहँदैन, तर पुस्तक पढ्ने कुरामा भने एकले अर्कोलाई यो आख्यान, यो लेखकको किताब पढ्नु भनेर सुझाव दिन्छौँ।' उनीहरूबीच लेखनमा प्रत्यक्ष सहयोग नभए पनि अन्य कुरामा छलफल हुन्छ। 'म कविता लेख्छु, उनी कथा–उपन्यास लेख्छिन्,' द्वारिकाले भने, 'विधा नै फरक भएपछि एकअर्काको लेखनमा छायाँ देखिँदैन अर्थात् प्रभाव पर्दैन।'
जलेश्वरी आफूले लेखक पति पाएकै कारण लेखनमा जम्न सकेको बताँउछिन्। 'उहाँले मलाई बुझेर लेखनमा स्वतन्त्र छोडिदिनु भएको छ,' उनले भनिन्, 'कतिपय लेखनमा आफै पात्र बनेर नारी विद्रोह उतार्ने गरेकी छु। उहाँले यसरी लेख्नु हुँदैन भन्नु हुन्न। सायद लेखक भएर साहित्यलाई बुझेकाले मैले स्वतन्त्रता पाएकी हुँ।' लेखन कार्यमा एकअर्काले बाधा नदिने गरेको उनी सुनाउँछिन्। 'हामी एकअर्काको सुत्ने कोठा नै छुट्टाछुट्टै छ। एक्लो महसुस हुँदा मात्रै एकअर्काको कोठामा आउँछौँ,' उनले भनिन्, 'पढ्ने–लेख्ने कार्यमा रहँदा अवरोध गर्दैनौँ।' यति हुँदाहँुदै पनि व्यस्तताका कारण आफूले लेखेको रचना सुनाउने मौका कमै जुर्ने उनको भनाइ छ।
राजधानीमा मात्रै होइन, मोफसलमा बसेर लेख्ने जोडी लेखक पनि थुप्रै छन्। मोरङ तथा देशको पूर्वी भेगका अधिकांश कार्यक्रममा देखा पर्ने जोडी हुन्– इरान राई र रेखा सुवेदी। दुवै जना लेखन क्षेत्रमा रहँदा रमाइलो नै हुने यी जोडीको अुनभव छ। दुवै जनाले साहित्यलाई बु‰ने र लेख्ने भएपछि कहिलेकाहीँ मनमुटाव हुँदा समेत रचनाबाटै व्यंग्य गर्ने गरेको बताउँछिन् रेखा। 'रमाइलै हुँदो रहेछ,' उनले भनिन्, 'केही कुरामा चित्त बुझेन भने पनि साहित्य रचना गरेर पढ्न दियो अनि थाहा हुन्छ मैले यो कुरा भनेको थिएँ भन्ने।' दुवै जना लेखक हुँदा खासै समस्या नभए पनि एउटै कार्यक्रममा दुवै जना जानुपर्ने हुँदा भने घरव्यवहारमा समस्या हुने रेखाको अनुभव छ। लेखनमा सहयोग, प्रशंसा, आलोचना स्वाभाविक रहेको उनी बताउँछिन्। 'हाम्रो जोडी लेखनमा रहिरहन सकेकै दुवै जना लेखक भएर हो। क्षेत्र एउटै भएपछि एकअर्कालाई बु‰न झनै सहयोग पुग्दो रहेछ,' रेखा भन्छिन्।
इरानलाई पनि दुवै जना एउटै क्षेत्रमा रहन पाउँदा आनन्द नै लागेको छ। आफूले जानेको ज्ञान सेयर गर्न पाउने, एउटै किताब ल्याएर दुई जना पढ्न मिल्ने भएकाले एउटै क्षेत्रमा रहँदा खासै अप्ठेरो नहुने उनी बताउँछन्। रेखाले खासगरी कवितामात्रै लेख्ने र इरानले प्रायः सबै विधामा लेख्ने गर्छन्। लेख्नुअघि विषयमा छलफल नगरे पनि लेखिसकेपछि एकअर्काको रचनाबारे भने यो जोडीले छलफल गर्ने गरेको छ। लेखनमा दबाब र प्रभावमा परेर लेख्न नहुने इरानको बुझाइ छ। इरानले रेखालाई यो लेख्नु हुँदैन र यो लेख भन्ने गरेका छैनन्, तर लेखिसकेका रचनामा भने यस्तो शब्द राखे राम्रो भनेर सुझावचाहिँ दिने गरेका छन्। अचेल मोफसलमा पनि साहित्यिक कार्यक्रम अत्यधिक हुन थालेका छन्। एउटै कार्यक्रममा दुवै जना जानुपर्ने हुँदा समस्या हुने बताउँछन् इरान। 'खासै ठूलो समस्या त होइन,' उनले भने, 'सकरात्मक अप्ठेरो भने हुने रहेछ।'
कविता लेखनीमा सक्रिय जोडीको रूपमा चिनिएका छन्, स्नेह साय्मि र लक्ष्मी माली। उनीहरू दुवैलाई जोडी लेखक हुनुमा केही अल्झन छ जस्तो लाग्दैन। यद्यपि, एउटै कार्यक्रममा जाँदा भने कुनै एक जनालाई मञ्चमा बोलाउने र अर्कोलाई नबोलाउने हुँदा खल्लो महसुस हुने स्नेहको अनुभव छ। लेखिसकेपछि अरुलाई सुनाउन हतारिनु लेखकको गुण नै हो। यस्तो बेलामा भने दुवै जना लेखनमै रहँदा पाठक तथा समीक्षक खोजेर हिँड्नुनपर्ने लक्ष्मीको अनुभव छ। 'दुवैको पहिलो स्रोता नै एकअर्का हुन्छौँ,' लक्ष्मी भन्छिन्, 'सुझावपछि अझै राम्रो बनाउनतिर लाग्छौँ।' स्नेहलाई जुनसुकै लेखन पनि पूर्ण नहुने र सक्दो राम्रो बनाउन ठाउँ हुने लाग्छ। यसैले गर्दा दुवै मिलेर राम्रो बनाउन सहयोग हुने उनी बताउँछन्।
पहिलो पाठक, स्रोता तथा समालोचक
साहित्यमा रचनासँगै पाठक, स्रोता तथा समालोचकको पनि महŒवपूर्ण भूमिका हुन्छ। लेख्नु ठूलो कुरा होइन, राम्रो लेख्न सक्नु ठूलो कुरा हो। आफ्नो रचना आफैलाई त राम्रो लाग्न सक्छ, तर त्यो सबैलाई राम्रो नलाग्न पनि सक्छ। त्यसका लागि लेखिसकेपछि साहित्यको ज्ञान भएकासँगै सुझाव लिनु आवश्यक हुन्छ। यस कार्यका निम्ति दुवै जना लेखक हुनुले महŒवपूर्ण भूमिका निर्वाह गर्ने प्रायः लेखक जोडीको अनुभव छ।
'लेखिसकेपछि कसलाई सुनाऊँ भनेर हतारिनु पर्दैन,' सुस्मिता भन्छिन्, 'सर (मन्जुल)लाई नै सुनाउँछु, देखाउँछु अनि उहाँले नै यसो गर्दा अझै राम्रो हुन्थ्यो भनेर सुझाव दिनुहुन्छ।' यो लेख्नु वा नलेख्नु भनेर दबाब–प्रभाव हुनुचाहिँ उति राम्रो नहुने जोडी लेखकको भनाइ छ। यस सन्दर्भमा विप्लवको भने फरक धारणा छ। उनीहरू (विप्लव र पद्मा) भने लेख्नुअघि नै छलफल गर्छन्। लेखिसकेपछि पनि छलफल गर्छन् र निष्कर्षमा पुग्छन्। 'लेखन अर्थ बोक्नेखालको र युनिक हुनपर्छ भन्ने लाग्छ,' विप्लवले भने, 'लेखिसकेपछि हामी दुईलाई राम्रो लागेन भने आमपाठकलाई कसरी राम्रो लाग्ला भन्ने लाग्छ। तसर्थ, सार्वजनिक गर्नुअगाडि नै छलफल हुने गरेको छ।' दबाब, प्रभाव दुवैको लेखनमा नहुने पद्मा बताउँछिन्।
यता राजन र प्रगति भने लेख्नुअघि कहिल्यै छलफल गर्दैनन्। 'लेख्नुअघि कसले के लेख्दैछ भनेर गन्ध पनि थाहा हुँदैन,' प्रगति भन्छिन्, 'लेख्नुअघि नै छलफल गर्यो भने त विषय चोरी भइहाल्छ नि!' विषय सेयर गरेकै कारण आफूले लेख्न तयार गरेको दुई–चार वटा विषयमा राजनले लेखेको समेत बताउँछिन् प्रगति। तर, लेखिसकेपछि भने रचनालाई राम्रो बनाउनेबारेमा छलफल गर्छन् यी जोडी।
अभिमानको असर
दुवै जना लेख्ने भएपछि एउटाले राम्रो लेख्दा अर्कोले प्रशंसा गरिदिने हुन्छ। प्रशंसाले लेख्न सहयोग पुग्ने लेखक जोडीहरूको अनुभव छ। एउटाले राम्रो लेख्दा अर्कोले डाहा गर्ने अवस्था पनि खासै भएको देखिँदैन। यद्यपि, स्वस्थ प्रतिपस्पर्धा हुनु आवश्यक रहेको मन्जुलको धारणा छ। जसले राम्रो लेखेर जसको चर्चा भए पनि 'कहाँ पोखियो दूध आफ्नै भागमा' भएकाले डाहा नहुने पद्माको भनाइ छ। अझै राम्रो लेख्नको लागि पो हौसाउनु आवश्यक हुने जोडी लेखक बताउँछन्। यसमा प्रगतिको भने अलि फरक धारणा छ। उनीहरूबीच डाहा नहुने, तर 'एउटै हाट एउटै समानको व्यापार' गरेपछि एउटाको धेरै र अर्कोको थोरै व्यापार हुँदा मनमा नमिठो लाग्ने उनको भनाइ छ। उसो त राजन पनि दुई जना नै राम्रो लेख्दालेख्दै एउटाका कारण अर्को छायाँमा पर्ने बताउँछन्। द्वारिका–जलेश्वरीको जोडीले भने लेखनमा डाहा गर्नेभन्दा पनि कसरी राम्रो लेख्न सकिन्छ भनेर प्रयास गरेर एकले अर्कोलाई पछ्याउने गरेको छ। सार्वजनिकरूपमा नभने पनि जोडी लेखकबीच नजानिँदो प्रतिस्पर्धा रहेको बु‰न सकिन्छ। त्यसमाथि पत्नीले राम्रो लेख्दा पतिले ईर्ष्या गर्ने कतिपय जोडीको अनुभव छ। 'पुरुषमा व्याप्त अभिमानले कहिलेकाहीँ प्रकट हुने बाटो खोज्दो रहेछ,' जोडी लेखकमध्येकी एकले भनिन्, 'लेखक पनि यही मनोविज्ञानबाट सञ्चालित हुने नै भयो।'
दुवै जना लेखन क्षेत्रमा हुनुको महŒवपूर्ण फाइदा भनेकै एकले अर्कोलाई बु‰न सहयोग हुनु हो। 'उनले साहित्य नबुझेको भए सायद मलाई यसरी फुलटाइम लेखनमा बस्न दिँदैनथिइन् होला,' राजन भन्छन्, 'उनी साहित्यमा भएकै कारण मैले लेख्न सकेको हुँ।' कवि विप्लव पनि आफ्नो लेखनमा पद्माले जुनीजुनीमा तिर्न नसक्ने गुण लगाएको बताउँछन्। कुन किताब पढ्दा लेखनमा सहयोग पुग्छ भनेर एकअर्काले सुझाव दिने काम हुन्छ। पढ्न आवश्यक किताब किनेरै ल्याइदिने गरेको लक्ष्मी सुनाउँछिन्।
एक जना लेखन र अर्को फरक क्षेत्रमा रहँदा अर्को क्षेत्रमा रहनेले साहित्यको स्वाद बु‰न नसक्दा कचकच खेप्नपर्ने हुन सक्छ। तर, दुवै जना लेखनमा भएपछि एकअर्काको कचकच नहुने अनुभव अधिकांश जोडी लेखकको रहेको छ। 'नशा, कमाइ, समाजमा प्रतिष्ठा सबै दुवैले बुझेपछि समस्या नै हुँदैन,' रेखा भन्छिन्, 'आत्मीयता बढाउन सहयोग पुग्छ। भाव बु‰न सहज हुन्छ।'
एउटै कार्यक्रममा जोडी
साहित्यिक कार्यक्रम भइरहँदा लेखन क्षेत्रमा रहेकाले दुवै जनालाई पत्र आउँछन्। कतिपय अवस्थामा आलोपालो एक जना जाने गरे पनि कतिपय अवस्थामा भने दुवै जना जानैपर्ने हुँदा समस्या हुने गरेको लेखक जोडीको अनुभव छ। 'दुवै जना एउटै कार्यक्रममा जान पाउनु त राम्रो हो, तर यसले समस्या ल्याउँदो रहेछ,' इरान भन्छन्, 'घरव्यवहार, कार्यालय धान्नुपर्ने हुन्छ। दुवै जना कार्यक्रममा गएपछि समस्या हुने गरेको छ।' कुनै कार्यक्रममा दुवै जना गए पनि एक जनालाई मञ्चमा बोलाउने र अर्कोलाई नबोलाउँदा खल्लो महसुस पनि लेखक जोडीलाई भएको पाइन्छ। 'निम्ता दुवै जनालाई आएको हुन्छ। कार्यक्रममा दुवै गएका पनि हुन्छौं,' स्नेह भन्छन्, 'एउटालाई मञ्चमा अनि अर्को तलै रहन पर्दा भने खल्लो लाग्छ।' जोडीबीच सौहार्द्रता बढाउने काममा कार्यक्रम आयोजकले ध्यान पुर्याउनुपर्ने लेखकहरू बताउँछन्। मुखले नभने पनि एउटालाई बढी सम्मान र अर्कोलाई बेवास्ता गर्दा घरझगडा पर्ने सम्भावना रहने उनीहरूको बुझाइ छ। जोडी नै लेखक हुँदा सकारात्मक ढंगमा लिने र त्यसबाट भरपूर फाइदा लिने सोच बनाउन सक्दा यो रोमाञ्चक हुने कतिपय लेखकको भनाइ छ। तर, अभिमानले टाउको उठाउन खोज्यो भने दुवै जना लेखक हुनु प्रत्युत्पादक पनि हुन सक्ने जानकारहरूको अनुभव छ।
प्रकाशित: २७ कार्तिक २०७३ ०६:३३ शनिबार